काङ्ग्रेसको चियापान भव्य रुपमा सम्पन्न

काङ्ग्रेसको चियापान भव्य रुपमा सम्पन्न


विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन काङ्ग्रेसले आयोजना गर्दै आएको चियापान कार्यक्रम आज सम्पन्न गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजना गर्ने चियापान नेता चक्रप्रसाद बास्तोलाको निधनका कारण केही दिनपछि आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न गरेको हो ।

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न दलका नेताले सहमतीय राजनीतिको आवश्यकतामा जोड दिएका छन् ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाले शुरु गर्नुभएको राष्ट्रिय मेलमिलापको नीतिको हिजो जति आवश्यकता थियो आज पनि त्यतिकै आवश्यक रहेको बताए । सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकमा भएका सबै ठूला राजनीतिक परिवर्तन राष्ट्रिय एकताका आधारमा सफल भएकोले राजनीतिक दल र नागरिक बुद्धिजीवीको बीचमा एकता नभई राजनीतिक स्थिरता र विकास नहुने तर्क गरे । अब सबै दल मिलेर संविधानको मर्म र जनताको चाहनाअनुसार विकास र समृद्धिको नयाँ यात्रातिर जानुर्ने, त्यसका लागि पनि राष्ट्रिय एकता आवश्यक पर्ने उनको जिकीर थियो ।

कार्यक्रममा काङ्ग्रेस सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाले चियापान कार्यक्रम अग्रज नेता बिपीले शुरु गर्नुभएको र पार्टीका लागि ऐतिहासिक महत्वको भएको बताए । उनले भोलिको नेपाल शान्तिपूर्ण, भेदभावरहित र सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रणालीमा गतिशील होस् भनी शुभकामना दिए । मुलुकमा सहमति, सहकार्य र मेलमिलापको सधैं आवश्यकता रहिरहने र त्यसका लागि सत्तापक्षले पहल गर्नुपर्ने धारणा सभापति देउवाले व्यक्त गरे ।

नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमले सहकार्यको संस्कृतिलाई विकास गर्न मद्दत गर्ने उल्लेख गर्दै यसबीचमा आफूले राष्ट्रिय राजनीतिमा प्रतिपक्षी दल खोजिरहेको थिए, कता हरायो भन्ने लागेको थियो तर सानेपा (काङ्ग्रेस केन्द्रीय कार्यालय) आउँदा भने भव्य रुपमा चियापान कार्यक्रमको आयोजना गरिरहेको पाएँ, खुशी लाग्यो भन्ने अभिव्यक्ति दिए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको हितका लागि मेलमिलापको संस्कृति अझ अगाडि बढेर जानुपर्ने बताउँदै नेपालको राजनीतिक र भौगोलिक परिस्थितिअनुसार मेलमिलाप सधैँ आवश्यक हुने धारणा व्यक्त गरे ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शुभकामना कार्यक्रम सकारात्मक संस्कृति हो भन्दै यसले आफन्तपन र सहकार्यको विकास गर्न योगदान पुर्याउने उल्लेख गरे । उनले अहिले मुलुक राजनीतिक परिवर्तनको उपलब्धिपछि समृद्धिको नयाँ युगमा प्रवेश गरेको सन्दर्भमा यस्ता कार्यक्रमले भिन्नताका बीच पनि एकताबद्ध भएर आर्थिक विकास र समृद्धितर्फ सहयोग गर्ने वातावरण बनाउने बताए ।

सञ्चारकर्मीसँग कुरा गर्दै काङ्ग्रेस महामन्त्री डा शङ्शाक कोइरालाले पार्टीको आसन्न महासमिति बैठक केही दिनपछि सर्ने सम्भावना रहेको खुलासा गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले काङ्ग्रेसको चियापान कार्यक्रमले लोकतन्त्र संस्थागत सुदृढीकरण र मुलुकमा राम्रो सहकार्यको राजनीतिक वातावरण बनोस् भन्ने सन्देश जाने बताए ।

चियापानमा उपस्थित राजपा नेपालका नेता शरतसिंह भण्डारीले मुलुकमा असहजताको अवस्था र निषेधको विभाजनको राजनीति अघि बढेको बेला सबैले एक पटक आपसी सद्भाव र पुनर्मिलनको बाटोबाट अघि बढेर मुलुकलाई अघि बढाउनुपर्छ भन्ने आफ्नो पार्टीको भनाइ रहेको तर्क गरे । सम्पूर्ण लोकतान्त्रिक शक्ति एक ठाउँमा बसेर लोकतन्त्रलाई रक्षा गर्दै विधिको शासन अघि बढाउन लाग्नुपर्ने उनको धारणा थियो ।

आजै केन्द्रीय कार्यालयसहित ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । केन्द्रको चियापान आज दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म आयोजना गरिएको थियो ।

कार्यक्रम अवधिभर राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारगृहका प्रतिनिधि, पत्रकारलगायत हजारौँ विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो ।

अन्य वर्षको तुलनामा कांग्रेसको यस पटकको चियापान कार्यक्रम निकै भव्य र व्यवस्थित भएको भन्दै कार्यक्रममा उपस्थित अतिथिले प्रशङ्सा गरेका थिए ।

तस्बिर रासस