जाँदाजाँदै स्थापितले भने- ‘ती पार्टीका दुष्ट हुन्’

जाँदाजाँदै स्थापितले भने- ‘ती पार्टीका दुष्ट हुन्’


मुख्यमन्त्रीसँग चर्काचर्की गरेको आरोप लागेका प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मन्त्री पदबाट हटाइएको छ ।

उनलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज शुक्रबार मन्त्री पदबाट बर्खास्त गरेका हुन् ।

प्रदेश ३ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयको कार्यसम्पादनबारे छलफल हुँदा मुख्यमन्त्री पौडेलसँग उनको भनाभन भएको थियो । स्थापितलाई मन्त्री पदबाट बिदाइ गर्नुअघि हिजो मुख्यमन्त्री पौडेलले यस विषयमा प्रधानमन्त्री केपी ओलीसँग अस्पतालमै पुगेर परामर्श गरेका थिए । ओलीको ‘ग्रिन सिग्नल’पछि स्थापितलाई बर्खास्त गरिएको राजनीतिक क्षेत्रमा चर्चा छ ।

यसरी मन्त्रिमण्डलबाट हटाइएका स्थापितले चाहिँ आफू १८ घन्टा काममा खटिँदै आएको तर रातारात कामको परिणाम नदेखिँदा मुख्यमन्त्रीलाई भ्रम परेको प्रतिक्रिया दिए । मुख्यमन्त्रीले काम देखिनुपऱ्यो भन्नुभएको थियो, आफूले विकास भनेको एउटा प्रोसेसको कुरा हो, भविष्यमा राम्रो नतिजा देखिन्छ भन्ने जवाफ फर्काएको दाबी गर्दै उनले घटना र विचारसँग भने, ‘मुख्यमन्त्रीको नियत नराम्रो होइन, तर पार्टीको हित नचाहनेहरूले उक्साए । प्रधानमन्त्री बिरामी भएको बेला यसरी मुख्यमन्त्रीलाई उक्साउनेहरू दुष्ट हुन्, पार्टीका शत्रु हुन् ।