जापान सरकारद्वारा विदेशी कामदार लिने विधेयक स्वीकृत, उद्योगी–व्यवसायीबाट स्वागत

जापान सरकारद्वारा विदेशी कामदार लिने विधेयक स्वीकृत, उद्योगी–व्यवसायीबाट स्वागत


विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषद्ले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ । श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ ।

उक्त मस्यौदा विधेयक छलफलका लागि संसद्मा प्रस्तुत गरिने जापानको मन्त्रिपरिषद् सचिवालयले जनाएको छ । विधेयकमाथि विपक्षी दलसहित प्रधानमन्त्री सिन्जो आबेको दलका सांसदले समेत विरोध गरेका छन् ।

जापानी उद्योगी एवं व्यवसायीहरूले यो अत्यावश्यक रहेको भन्दै प्रधानमन्त्रीको कदमको स्वागत गरेका छन् ।

श्रमिक कामदारको अत्यन्त कमी रहेका क्षेत्रका लागि सीपयुक्त कामदार झिकाउन यो विधेयकले सहयोग गर्नेछ । विधेयकमा विदेशी कामदारलाई पाँच वर्षको भिसा दिइनेछ, तर उनीहरूका परिवारलाई सँगै ल्याउन दिइनेछैन ।

राम्रो शैक्षिक योग्यता भएका र जापानी भाषा परीक्षामा राम्रो अंक ल्याउने विदेशी कामदारले यस्तो भिसा प्राप्त गर्ने व्यवस्था विधेयकमा गरिएको छ । यो भिसालाई अनिश्चितकालसम्म थप गर्न पाइने, र केही वर्षपछि परिवारलाई समेत जापानमा ल्याउन पाइनेछ ।

प्रधानमन्त्री आबेले जापानको कठोर आप्रवासी नीतिमा आमूल परिवर्तन नगरेको स्पष्ट गरेका छन् । प्रधानमन्त्री आबेले सांसदहरूसँग छलफल गर्दै जापानको श्रमिक कमी रहेका क्षेत्रमा मात्र यो पछिल्लो व्यवस्था लागू हुने बताए ।

तर विधेयकका सम्बन्धमा व्यापक आलोचना हुन थालेको छ । वर्षको अन्त्य हुनुअघि नै यो विधेयक स्वीकृत हुने र आगामी वर्षको अप्रिलदेखि भिसा खुला हुने अपेक्षा गरिएको छ ।

विदेशी कामदारको आगमन बढेसँगै ज्यालामा कमी आउने खतरा बढेको छ । साथै, कामदारलाई जापानको सामाजिक सुरक्षा प्रणालीमा कसरी आबद्ध गर्ने र आप्रवासी कामदारमाथि हुन सक्ने शोषणलाई कसरी रोक्ने भन्ने प्रश्न उठेको छ ।

जापानमा मजदुरको माग सबैभन्दा बढी कृषि, निर्माण, आतिथ्य–पर्यटन र नर्सिङ क्षेत्रमा रहेको छ । जापानमा कार्यरत धेरै न्यून सीपयुक्त कामदारहरू प्राविधिक तालिम कार्यक्रमको नाममा छन् । यो कार्यक्रममा जापान आएका धेरै कामदारले उपयुक्त सुविधा नपाएको बताइन्छ ।

संसद्मा बोल्दै प्रधानमन्त्री आबेले भने, ‘कृपया यसलाई गलत नसम्झनुस् । हामीले आप्रवासी नीतिबारे कुरा गरिरहेका छैनौँ । जापानको मौलिक मूल्यमान्यतामा कुनै किसिमले खलल पुग्ने गरी यो नीति आउनेछैन । हामीले आपसी सम्मानका साथ सहअस्तित्वको वातावरण पनि निर्माण गर्दै जानुपर्छ ।’

उनले जापान आउने विदेशी कामदारहरू सीमित अवधिका लागि आउने र फर्कने जानकारी दिए ।

सांसदहरूले विधेयक पूर्ण विवरण नआएको बताएका छन् । विधेयकमा मुलुकलाई कति कामदार आवश्यक पर्ने हो भन्ने स्पष्ट नभएको सांसदहरूले गुनासो गरेका छन् ।

जापानमा उच्च सीप भएका कामदारलाई मात्र भिसा दिने गरिएको छ ।

व्यवसायीहरूले केही खुकुलो आप्रवासी नियमका लागि लामो समयदेखि निरन्तर पहल गरिआएका थिए । जापानमा हाल २.५ प्रतिशत मात्र बेरोजगारी दर रहेकाले कामदार फेला पार्न उद्योगी व्यवसायीलाई कठिन भएको छ ।