बीजेपी नेताको हत्यापछि कास्मिर अशान्त

बीजेपी नेताको हत्यापछि कास्मिर अशान्त


भारत अधीनस्त कास्मिरमा सत्तारुढ भारतीय जनता पार्टीका एक स्थानीय नेता र उनका भाइको हत्या भएको छ । अपरिचित बन्दुकधारीद्वारा बिहीबार राति सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का स्थानीय नेता अनिल परिहार र उनका भाइको आफ्नो पसलबाट निवास फर्किने क्रममा हत्या गरिएको हो ।

आक्रमणकारीहरूले किस्तवार भन्ने ठाउँमा रहेको परिहर निवासमा गोली प्रहार गरेका थिए । घटनास्थल कास्मिरको राजधानी श्रीनगरदेखि २१७ किलोमिटर दक्षिणतर्फ पर्दछ ।

‘गएराति बन्दुकधारीहरूले घरतर्फ जाँदै गर्दा भाजपाका प्रदेश सचिव अनिल परिहार र उहाँका भाइ अजित परिहरको हत्या गरेका छन्,’ एकजना वरिष्ठ प्रहरी अधिकारीले बताए ।

आक्रमण हुनेबित्तिकै उनीहरूलाई नजिकैको अस्पतालमा लगिए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ । भारतको प्रधानमन्त्री कार्यालयका कनिष्ट मन्त्री जितेन्द्र सिंहले घटनाप्रति दुःख व्यक्त गरेको समाचारमा जनाइएको छ ।

मुसलमान बहुल कास्मिरमा भारतीय जनता पार्टीको प्रचार–प्रसार र विस्तारमा उनको उल्लेख्य योगदान रहेको मानिन्छ । यस क्षेत्रमा हिन्दुवादी भाजपाको बढ्दो लोकप्रियतालाई रोक्न मुसलमान आतंककारीहरूले उनको हत्या गराएको कतिपय भारतीय मिडियाले प्रचार गरेका छन् ।