सर्लाही घटनामा सत्तासीन दलको बेग्लै दाबी

सर्लाही घटनामा सत्तासीन दलको बेग्लै दाबी


सर्लाहीको रामनगर गाउँपालिका–४ बोहर्वामा नेपाली काङ्ग्रेसका कार्यकर्तामाथि गरिएको आक्रमण र हत्या प्रकरणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो बेग्लै तर्क अघिसारेको छ । नेकपा सर्लाही पार्टी संयोजन जिल्ला कार्यदल सदस्य रेवती पन्तको नाममा विज्ञप्ति जारी गर्दै ‘दुईपक्षबीच भएको झडपमा गोली लागी मृत्यु भएको घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग’ समेत गरिएको छ ।

पार्टीका तर्फबाट भन्दै जारी गरिएको उक्त विज्ञप्तिमा जनाइएअनुसार दुईपक्षीय झडपमा गोली लागेर रामविलास महतोको मृत्यु भएको थियो । घटनापछि कुप्रचार गरिएको, घटनालाई अनावश्यक रुपमा उत्तेजित बनाउन खोजिएको सुनियोजित रुपमा यस्ता घटना सिर्जना गर्न विगतदेखि भएका गतिविधि र राजनीतिक पूर्वाग्रह राखी गरिएको कुप्रचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेकपा र नेपाली काङ्ग्रेसबीचको झडपमा घटना भएको भनी गरिएको प्रचार प्रायोजित हल्ला मात्र रहेको भन्दै विज्ञप्तिमा घटना राजनीतिक नभई व्यक्तिगत रिसइबीका कारण भएको दाबी गरिएको छ ।

यही कात्तिक ११ गते एक सेवाग्राहीेले वडा नं ४ का वडाध्यक्ष रामनरेश महतोसँग नागरिकता बनाउन सिफारिश लिन जाँदा वडाध्यक्ष महतोले सिफारिश नदिएपछि सामान्य विवाद भएको र त्यसै विवादलाई लिएर गोली चल्दा घटनास्थलमा एक जनाको मृत्यु भएको ब्यहोरा विज्ञप्तिमा उल्लेख छ ।

नेकपाको यस दाबीलाई नेपाली काङ्ग्रेसका नेता एवम् सांसद डा. अमरेश कुमार सिंहले झुठको पराकाष्टा भन्दै खण्डन गरेका छन् । पूर्वमाओवादी तथा हालका नेकपा कार्यकर्तासँग कथित जनयुद्धकालीन हतियार अझै रहेको, त्यसकै बलमा उनीहरूले समाजमा आतंक सिर्जना गर्ने गरेको, हत्याजस्ता जघन्य घटना घटाउने तर सरकार र पार्टीले तिनलाई संरक्षण दिने गरेको सांसद सिंहको तर्क छ । यसरी राज्यसंरक्षित दण्डहीनताको अवस्थाका कारण काङ्ग्रेस कार्यकर्ताहरूमाथि ज्यादति गर्न थालिएको र सर्लाही घटना पनि यसैको पछिल्लो एक श्रृंखला भएको डा. सिंहले दाबी गरेका छन् ।

दुई पक्षबीचको झडपमा गोली लागेर कात्तिक १३ गते मङ्गलबार बिहान मृत्यु भएका रामनगर–४ बोहर्वाका ५५ वर्षीय रामविलास महतोको शव अझै परिवारले बुझेका छैनन् । मृतकलाई शहीद घोषणा गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार गर्नुपर्ने, मृतकका परिवारलाई उचित राहत प्रदान गर्नुपर्ने, आक्रमणमा संलग्न दोषीलाई तत्काल कानूनी दायरामा ल्याउनुपर्ने लगायतका माग पूरा नभएसम्म शव नबुझ्ने नेपाली काङ्ग्रेसले अडान लिएको छ ।