कतार भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

कतार भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता


कतारको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किनुभएको छ । कतारका अमिर शेख हमाद बीन खालिदा अलथानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत सोमबार उहाँ कतार जानुभएको थियो । उहाँलाई विहिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले स्वागत गर्नुभयो । सो अवसरमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सरकारका सचिव, सुरक्षा निकायका प्रमुखलगायत सरकारका उच्चपदस्थ पदाधिकारी विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो ।

भ्रमणको अन्तिम दिन राष्ट्रपति विद्यादेवी भण्डारीले कतारस्थित नेपालीहरूको साझा मञ्चलाई सम्बोधन गर्नुभएको थियो भने त्यसअघि उहाँले कतारका अमिरलगायत उच्च सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्नुका साथै कतारका विभिन्न स्थान र सम्पदाको अवलोकन गर्नुभएको थियो ।

यस्तै, कतारमा रहँदा राष्ट्रपति भण्डारीले गैरआवासीय नेपाली कतार शाखा, कतार–नेपाल मैत्री संघ लगायत संस्थाका प्रतिनिधि र विभिन्न उद्योगी व्यवसायीहरुसँग भेटघाट तथा कुराकानी गर्नुभएको थियो ।

कतारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेको, सरकारले विकास र निर्माणका लागि लगानीमैत्री कानून र वातावरण बनाएर अगाडि बढेको उल्लेख गर्दै सम्पूर्ण नेपालीलाई विकास र समृद्धिको यात्रामा हातेमालो गर्न आग्रह गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीलगायत हुनुहुन्थ्यो ।

राष्ट्रपतिको कतार भ्रमणको उपलब्धिबारे जानकारी दिन विहिबार साँझ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमण दुईपक्षीय हितका लागि फलदायी र उपलब्धिमूलक भएको बताउनुभयो । कतारका अमिरसँगको वार्तामा द्विपक्षीय हित र आपसी सहकार्यका क्षेत्रमा घनिभूत छलफल भएको र नेपाली श्रमिकका समस्या लागायत थुप्रै विषयमा चर्चा गरिएको जानकारी उहाँले दिनुभयो ।

भेटमा अशक्त कामदारको स्वदेश फिर्ती, उनीहरुलाई नेपालमै उपचारको व्यवस्था मिलाउन तथा नेपाली कामदारको सीप र दक्षता अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको बताउँदै उहाँले नेपालमा सीप विकास र तालीमको स्थापना, वैदेशिक रोजगार सूचना केन्द्रको स्थापना, नेपालको विकासमा कतारबाट सहयोग प्राप्त गर्नेलगायत विषयमा पनि कुराकानी भएको जानकारी दिनुभयो । उक्त विषयलाई कतारले सकारात्मकरुपमा लिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।

कतारी पक्षले सम्पूर्ण कामदारको हितलाई ध्यानमा राखेर एक कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको बताउँदै उहाँले कामदार छनोट प्रक्रियामा सहजीकरणका लागि छुट्टै केन्द्र स्थापना गर्ने तयारीसमेत गरेको जानकारी गराउनुभयो ।

भ्रमण अवधिमा मुख्य गरी तीन दस्तावेजमा हस्ताक्षर भएको जानकारी गराउँदै परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, ‘दुई मुलुकका सरकारी र कूटनीतिक राहदानीवाहकका लागि प्रवेशाज्ञा अनुमति दिने विषयले उच्चस्तरीय भेटघाट र भ्रमणलई सहज बनाउनेछ ।’

तस्बिर रासस