सम्झनालाई हेर्ने सेक्सी आँखा -राजन घिमिरे





चर्चा र लोकप्रियताको आधारमा हिसाबकिताब गर्ने हो भने सम्झना बुढाथोकीको चर्चा र क्रेज नेपाली सिनेमाकी कुनै स्थापित नायिकाभन्दा कम छैन । विशेष गरेर नृत्य विधामा पोख्त सम्झना यतिबेला लोकगीतहरूको म्युजिक भिडियोमा सर्वाधिक रूपमा देखिने नाम हो । ‘नामजस्तै काम र दाम पनि राम्रै छ । म सन्तुष्ट छु,’ सम्झना भन्छिन् ।
त्यसो त सम्झना बढी मात्रामा आफूले प्रस्तुत गर्ने नृत्यमा ‘सेक्सी हाउभाउ’ देखाउँछिन् भन्ने आरोप पनि नलागेको होइन उनलाई । यसबारे उनी भन्छिन्, ‘म त राम्रै सोच र हाउभाउले नृत्य गरिरहेकी हुन्छु । तर हेर्नेले आ-आफ्नै तरिकाले हेर्छन् र मेरो मूल्याङ्कन गर्छन् । तर म सेक्सी अनि कामुक नृत्य गर्छु भनेर गर्दिनँ ।’
तर पनि सम्झनालाई कामुक नृत्य गर्नुपर्‍यो भने कसैले पनि उछिन्न सक्दैन । गीतअनुसारको हाउभाउ र नृत्यमा मादकता पस्कन सक्नुमा उनको गजबको शैली छ । केही समययता आएर नेपाली लोकगीतहरूमा सर्वाधिक मागमा पर्ने सम्झनालाई भ्याइनभ्याई पनि छ ।
अब भने उनको परिचय र कामले पनि फराकिलो रूप पाउने भएको छ । अरूहरूले निर्देशन गर्ने भिडियोमा काम गर्दै आएकी सम्झना अब आफैं यस्तो भिडियोहरूको निर्देशन गर्ने तयारीमा जुटिसकेकी छिन् । ‘यसबाहेक अरू केही पनि जानिएन । अब यही क्षेत्रमा लागिन्छ भने जानेको विधालाई पनि किन नअङ्गाल्नु भनेर निर्देशनमा हात हालेकी हुँ,’ उनले भनिन् ।
भिडियोहरूको निर्देशनसँगै यतिबेला सम्झना आफैंले पनि म्युजिक भिडियो तयार पार्न चाहिने क्यामेरा, लाइट्सहरू वा अन्य प्राविधिक सामानहरू पनि जुटाएर आफैंले प्रोडक्सन हाउस पनि खोलेकी छिन् । अबचाहिँ पूर्ण रूपमा एउटा भिडियो तयार पार्न चाहिने सम्पूर्ण प्राविधिक चिजहरूको सञ्चालकसमेत बन्न सफल भएकी सम्झनाले आफू बलियो नहुँदा दुःख पनि पाएकी रहिछिन् । ‘अरूको सामान भाडामा लिएर काम गर्दा दुःख पाइयो । कुनै सामान छ त कुनै छैन । कति अरूको पेलाइमा बस्ने भनेर आफैं जोडेँ सामान,’ सम्झनाले भनिन् ।

श्रीकृष्ण र श्वेता खुलेपछि सबै हिस्स

नेपाली सिनेमा उद्योगमा कामभन्दा बढी हल्ला हुने गर्छ । त्यसमा पनि कुनै नायिकासँग नाम जोडिएर सञ्चारमाध्यमतिर नाम आयो भने त उनीहरू आफैं सगौरव भन्ने गर्छन्, ‘मेरो फलनासँग परेको छ नि । अब उनीसँग विवाह गर्नुपर्ला ।’ नजिकको सम्बन्धलाई गलत अर्थ लगाउनेहरूको भीड जमिरहेकै अवस्थामा नायक श्रीकृष्ण श्रेष्ठ र नायिका श्वेता खड्काको सम्बन्धले भने सबैलाई आर्श्चर्यचकित नै पार्‍यो ।
दुवैको चलचित्र कहाँ भेटिएलाले नाम र दाम दुवै कमाउनुका साथै श्रीकृष्ण र श्वेताबीचको सम्बन्धका बारेमा पनि धेरैले धेरै अड्कल काटे । श्रीकृष्णले चलचित्र कहाँ भेटिएलाका लागि मात्र होइन, उनी आफैंका लागि पनि खोजिएकी श्वेता हुन् भन्ने चर्चाले पनि सिनेमा बजार निकै गर्मायो ।
त्यसो त धेरै प्रशंसकहरूको चाहना भने अविवाहित श्रीकृष्ण र श्वेताबीच विवाह होस् भन्ने रहे तापनि केहीले भने नकारात्मक चर्चा यी दुईको बारेमा चलाएर मिडियामा हाँसोको रूपमा ल्याउन पनि नखोजेका होइनन् । चलचित्र कहाँ भेटिएलाको सफलतासँगै चर्चामा आएको यो जोडीले आफ्नोबारेमा बजारमा जे-जस्ता हल्ला चले तापनि कतै कुनै बेला, समय, समारोह वा परिस्थितिमा एक शब्द पनि बोलेनन् । उनीहरूबीचको आन्तरिक सम्बन्ध जे-जस्तो भए तापनि बजारमा आफ्नोबारेमा चलेका टीका-टिप्पणीका बारेमा ‘तंै चुप मै चुप’को अवस्थामा रहेको श्रीकृष्ण र श्वेतालाई अब भने सहिनसक्नु भएछ क्यार ! ‘प्यार किया तो डर ना क्या’ भन्ने हिन्दी गीतको अंशलाई समातेर यी दुई यतिबेला खुला रूपमा हिँड्न थालेका छन् र आफ्नो जोडीको बारेमा बजारमा चलेका हल्लाहरूलाई चुनौती दिँदै यी दुई यतिबेला नेपालबाहिरको सयरमा उडेका छन् । आफूले नै अभिनय गरेको चलचित्र कहाँ भेटिएला लिएर देशबाहिर थुपै्र मुलुकको यात्रामा हिँडेका श्रीकृष्ण र श्वेताको एकसाथ विदेशको भ्रमणको खबरले अब यी दुईको बारेमा विभिन्न शङ्का र उपशङ्काका प्रश्न तेर्साउनेहरूको मुख थुनिएको मात्र छैन, सबै हिस्सा बूढी ङिच्च दाँत भएजस्तै भएका छन् भने पहिलो भेटमा नै ‘मेरो लभ पर्‍यो’ भनेर हावा गफ गर्नेहरूका लागि माया, प्रेम र लभ गर्नेले हल्ला नै नगरीकन यसरी गर्छन् भन्ने उदाहरण पनि देखाइदिए श्रीकृष्ण र श्वेताले । के अब श्रीकृष्ण र श्वेताबीचको सम्बन्धका बारेमा कुतूहलता रह्यो र ?

बाजी राजेशले नै मारे
अहिले गायक राजेशपायल राईको निकै चकाचक छ । भ्याई-नभ्याई छ उनलाई । यतिसम्म कि अवार्ड लिन जानसमेत फुर्सद नभएका कारण उनले आफूले अवार्ड पाएको समाचार पनि राजेशले साथीहरूकै मुखबाट सुन्नुपर्ने अवस्था आएको छ ।
यस्तै भयो यो हप्ता गायक राजेशपायलको जीवनमा । उनी दर्शक नमस्ते एल्बमको साङ्गीतिक कार्यक्रमको यात्रामा देशको कुना-कुनामा पुगिरहेका छन् र उता उनको यही एल्बमले पोखराको अन्नपूर्ण एफएमले आयोजना गरेको अवार्डमा सर्वाधिक चर्चित र सफल गीतमा अवार्ड जित्यो । ‘म त्यतिबेला धरानमा थिएँ । साथीहरूले भनेपछि मैले अवार्ड जितेको कुरा फोनबाट थाहा पाएँ,’ राजेश आफूलाई भोटिङ गरेर अवार्ड जिताउनुहुने सम्पूर्ण पोखरेली श्रोताहरूलाई धन्यवाद दिन्छन्, ‘यो अवार्डको वास्तविक हकदार भनेको मेरा श्रोताहरू हुन् ।’ उनी श्रोताप्रति नतमस्तक छन् ।
यतिबेला एल्बम दर्शन नमस्तेले नेपालका सहरी र गाउँ-घरमा मात्र होइन विदेशमा रहेका नेपालीमाझ पनि उत्तिकै क्रेज जमाएको छ । ‘म जहाँ-जहाँ विदेशमा जान्छु त्यहाँ यो गीतको अफर आइहाल्छ । लाग्छ अब विदेशमा नेपाली सङ्गीतले बजार पिटेछ,’ राजेश दङ्ग छन् ।

‘ग्याङस्टर’मा चौध हिरो
सिनेमा क्षेत्र यस्तो क्षेत्र हो कि यहाँ छिर्नासाथ सबैको इच्छा, आकाङ्क्षा, रहर र उद्देश्य पूरा नहुन पनि सक्छन् । तर कोही यस्तो भाग्य लिएर आउँछन् कि सोचेभन्दा पनि चाँडो चाहेजस्तो सफलता हात लाग्छ ।
सिनेमा क्षेत्रको कुनै पनि विधामा हात हाल्नासाथ सफलता हात पारिहाल्ने थोरै भाग्यमानी र फिल्मी भाषामा ‘लक्की’ चलचित्रकर्मीको रूपमा लिइन्छ रोज राणालाई । विभिन्न कारणले चर्चामा पनि आइरहन्छन् यिनी । तर पनि जे-जस्ता बाधा र व्यवधान आए आओस् भन्ने मूल नाराका साथ अगाडि बढेका कारण यिनलाई सफलता नै सफलता हात लाग्दै आएको छ ।
सुरुमा यिनी केवल सिनेमामा लगानीकर्ताको रूपमा मात्र प्रवेश गरेका थिए । ‘हेरौं ! सिनेमा क्षेत्र व्यावसायिक रूपमा कत्तिको फाप्छ त’ भन्ने सहज उद्देश्य बोकेर लगानी गर्न तम्सिएका रोज राणाले नसोचेको सफलता हात पारे । वर्षौंदेखि सिनेमा निर्माताको रूपमा स्थापित भएका निर्माताहरूको चलचित्रले पानी पनि भन्न नपाउँदै असफल भइरहेको समयमा राणाले चलचित्र ‘दादागिरी’बाट दाम मात्र कमाएनन्, आफ्नो नाम पनि स्थापित गराएरै छाडे । त्यसपछि त उनको भाग्य नै चम्किएको भन्नुपर्छ कि दादागिरीपछि राणाले निर्माण गरेको खलनायक, डन, दोस्ती अनि टक्कर दुई मुटुको नामक चलचित्रहरू पनि राम्रै चले । निर्माताको रूपमा स्थापित भइसकेपछि नायक बन्ने सोच आयो उनमा र, उनी दुई सिनेमा महान् र टक्कर दुई मुटुकोमा नायक बने । नायक बन्दा पनि दर्शकहरूले उनलाई स्वीकार गरेपछि अब यिनै रोज राणा सिनेमाको सशक्त विधा मानिने निर्देशन विधामा हात हाल्दै छन् ।
हामीले सोध्यौं, ‘अभिनय जस्तो सजिलो त छैन नि निर्देशन ?’ उनको निकै जोसिलो जवाफ थियो, ‘दिमाग खियाउने र जोखिमपूर्ण काम गर्नमा नै मजा लाग्छ मलाई । जुन काममा जोखिम हुन्न त्यो काम किन गर्ने ?’
रोजले निर्देशन गर्ने सिनेमाको नाम हो ‘ग्याङस्टर’ । सहरमा ग्याङस्टरहरूले मच्चाउने तहल्का र देखाउने क्रियाकलापका बारेमा यो सिनेमाले बोल्ने कुरा उनी बताउँछन् । ‘ग्याङहरू सही मान्छेको हातमा परे भने समाज र मुलुक सप्रन्छ तर यही ‘ग्याङ गलत मान्छेको हातमा पर्‍यो भने कसरी ब्रि्रन पुग्छ भन्ने कुरा देखाउन खोजेको छु,’ रोजले आफ्नो सिनेमाको बारेमा भने ।
चलचित्र क्षेत्रको हरेक विधासँग राम्रैसँग आबद्ध भएका कारण सिनेमाको निर्देशन गर्न सक्ने आँट आफूमा आएको कुरा उनले बताए । ‘दर्शक कस्तो चलचित्र चाहन्छन् र उनीहरूको खोजी के हो ? यी सबै कुराको नाडी मैले छामिकसेको छु,’ रोज निर्माण र नायकजस्तै आफू सिनेमाको निर्देशन क्षेत्रमा पनि सफल हुने दाबी गर्छन् । उसो भए के छ त चलचित्र ‘ग्याङस्टर’को विशेषता ? ‘यो चलचित्रमा मैले अहिलेसम्म दर्शकहरूले कुनै नि नेपाली चलचित्रमा हेर्न नपाउनुभएको एउटै चलचित्रमा १४ जना नायकलाई एकसाथ भिडाउँदै छु । रोजले ल्याएपछि केही नयाँ ल्याएरै छाड्छ । म दर्शकहरूलाई निराश बनाउने छैन,’ निकै उत्साहित मुद्रामा भने उनले ।
दुई स्रस्टालाई बसुन्धराश्री र मानश्री पुरस्कार
श्री बसुन्धरा मान प्रज्ञा-प्रतिष्ठानको विशेष बैठकले नेपाली साहित्यलाई विश्व साहित्यसमक्ष पुर्‍याउन एवम् नेपाली भाषा र साहित्यलाई उच्च र अक्षुण्ण राख्न आफ्नो जिन्दगी अर्पण गर्नुहुने विशिष्ट साहित्यकार वैरागी काइँलालाई पचास हजार राशिको विक्रम सम्वत् २०६७ सालका लागि बसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । विशिष्ट शैली, नूतन शिल्प र आयामिक दर्शन तथा संरचनाका कालजयी आधुनिक बौद्धिक नेपाली कविताको सिर्जनाद्वारा नेपाली साहित्यलाई अझ व्यापक, पठनीय र लोकप्रिय बनाउन कवि वैरागी काइँलाबाट पुर्‍याइएको योगदानका लागि उहाँलाई सो पुरस्कारद्वारा सम्मानित गरिएको प्रतिष्ठानले जनाएको छ ।
त्यसैगरी प्रतिष्ठानले शिष्ट शैली, विशिष्ट शिल्प एवम् अस्तित्ववादी यथार्थवादी धारका उत्कृष्ट, पठनीय एवम् लोकप्रिय नेपाली कविता, गीत, गजल र मुक्तकहरूको निरन्तर सिर्जनाद्वारा आधुनिक नेपाली साहित्यलाई अझ स्तरीय, लोकप्रिय एवम् पठनीय बनाई समकालीन पुस्तामा आफ्नो अलग्ग अस्तित्व, विशिष्ट पहिचान र सम्मानित उचाइ कायम गर्नुहुने युवा साहित्यकार विजय बजिमयलाई पच्चीस हजार राशिको विक्रम सम्वत् २०६७ सालका लागि मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
यसअघि बसुन्धराश्री पुरस्कारद्वारा माधवप्रसाद घिमिरे -२०५७), दौलतविक्रम विष्ट -२०५८), गोविन्दबहादुर मल्ल गोठाले -२०५९), यदुनाथ खनाल -२०६०), मदनमणि दीक्षित -२०६१), डायमनशमशेर राणा -२०६२), इन्द्रबहादुर राई -२०६३), मोहन कोइराला -२०६४), सत्यमोहन जोशी -२०६५) र कृष्णचन्द्रसिंह प्रधान -२०६६) सम्मानित भइसक्नुभएको छ भने मानश्री पुरस्कारद्वारा दिनेश अधिकारी -२०५७), विनय रावल -२०५८), अशेष मल्ल -२०५९), ज्ञानुवाकर पौडेल -२०६०), मञ्जुल -२०६१), मधुवन पौडेल -२०६२), विष्णुविभु घिमिरे -२०६३), कृष्णभूषण बल -२०६४), भुवन ढुङ्गाना -२०६५) र सनत रेग्मी
-२०६६) सम्मानित भइसक्नुभएको छ । प्रतिष्ठानले उपरोक्त दुवै पुरस्कारहरू आगामी असोज १३ गते एक विशेष समारोहका बीच र्समर्पण गर्ने बताइएको छ ।

प्रतिक्रिया