आज पनि धनगढी बन्द कायमै

आज पनि धनगढी बन्द कायमै


प्रदेश ७ को स्थायी राजधानी र नामाङकनको विरोधमा बिहिबार शुरु भएको अनिश्चितकालिन धनगढी बन्द आज पनि जारी छ । प्रदेश सरकारले जनताको सुझाव र प्रतिपक्षको उपस्थिती विना निर्णय गरेको भन्दै आज पनि धनगढी बन्दलाई निरन्तरता दिइएको हो ।

बन्दका कारण बिहानैदेखि धनगढी बजार पूर्ण बन्द छ भने शैक्षिक सस्था पनि खुलेका छैनन् । विगतमा बजारमा फाट्टफुट्ट मोटरसाइकल चलेपनि आजदेखि भने सवारी साधन ठप्प छ ।

बन्दकर्ताहरुले आज बिहान धनगढीको मुख्यबजारमा रहेको प्रदेश सभा भवन अगाडी टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । प्रदेशको स्थायी राजधानी र नामाङ्कन गर्न गठित विशेष सुझाव समितिले मंगलबार संसदमा प्रदेशको नाम ‘सुदूरपश्चिम प्रदेश’ र प्रादेशिक राजधानी कैलालीको गोदावरी नगरपालिका ४ स्थित तेघरीमा राख्न सुझावसहितको प्रतिवेदन पेश गरेपछि धनगढीवासीले असहमति जनाउदै धनगढी वन्दको आवहन गरेका हुन् ।

दुइतिहाइको दम्भमा निरंकुशतन्त्र लाद्न खोजेको बन्दै आज पनि धनगढी बन्द गरिएको र प्रतिपक्ष बिना गरिएको एकलौटी निर्णयका विरुद्धको बन्दमा साथ दिन बन्दका संयोजक हरि रेग्मीले अनुरोध गरेका छन् ।

‘सुनियोजित वन फँडानी गरेर भौतिक संरचना बनाउनु गलत हो । यसमा प्रदेश ७ का बासिन्दाको असहमति रहेकोले बाध्य भएर बन्द गरेका हौ’ नागरिक समाजका अगुवा समेत रहेका संयोजक रेग्मीले बताए ।

उनले केही नेताहरुले वन तस्कर र भू–माफियासँग साठगाठ गरी वनक्षेत्र सिध्याउँने मनसायले प्रादेशिक राजधानी तेघरीमा सिफारिस गरिएको आरोप लगाए । सुदूर भनेर चिनिने सुदूरपश्चिमलाई फेरि पनि त्यहिँ नाम सिफारिस गर्नु न्यायोचित नभएको आन्दोलनमा सहभागी धनगढी उपमहानगरपालिकाकाबासी बताउँछन् ।