कामरेड किरणलाई तीर्थ जान सल्लाह-देवप्रकाश त्रिपाठी

कामरेड किरणलाई तीर्थ जान सल्लाह-देवप्रकाश त्रिपाठी


मोहन वैद्य किरण, नेपाली कम्युनिस्ट आन्दोलनका एक प्रभावशाली र इमानदार नेता, जसको विचार पक्षसँग यस दुनियाँभरिका कुनै पनि प्रजातन्त्रवादी सहमत हुन सक्दैनन् । साम्यवाद स्थापनालाई परम् गन्तव्य बनाएर राजनीतिमा क्रियाशील किरणलाई बदल्ने तागत यस दुनियाँमा कसैसँग रहेको विश्वास गरिँदैन र किरणबाट दुनियाँ बदल्न पनि सम्भव देखिँदैन । किरण र जगत् दुई पृथक् ध्रुवमा उभिएका छन्, दुवैले एक-अर्कालाई परिवर्तन गर्ने सामर्थ्य राख्दैनन् । तथापि संसार बदल्ने किरणको आत्मविश्वासपूर्ण प्रयासलाई भने सलाम गर्नैपर्छ, संसारले त उहाँलाई बदल्नेबारेमा कुनै चासो प्रकट गरेकै छैन ।
मोहन वैद्य किरण जबदेखि कम्युनिस्ट आन्दोलनमा सरिक हुनुभयो, उहाँले पूर्ण इमानदारीका साथ क्रान्तिलाई केन्द्रमा राखेर सोच-विचार-व्यवहार गर्ने गर्नुभएको देखिन्छ । वैद्यले सम्पूर्ण क्रान्तिभन्दा तलको कुरा कहिल्यै गर्नुभएन र त्यसभन्दा तलको कुरा गरेर ‘जात फाल्ने गहतको झोलमा’ भन्ने उक्तिको चरितार्थ गर्न पनि उहाँले कहिल्यै चाहनुभएन । क्रान्तिका निम्ति कुनै पनि उच्च पद परित्याग गर्न या आफूलाई तल झार्न किञ्चित सङ्कोच नमान्नुहुने वैद्यकै निगाहमा प्रचण्डले आफूलाई पार्टीको मुख्य नेताको दर्जामा पुर्‍याउन सक्नुभएको हो भन्ने जानकारी धेरैलाई छ । एक्काइस वर्षअघि पार्टीको महामन्त्री पद प्रचण्डलाई जिम्मा लगाई आफ्नै शिष्यको मातहतमा रहेर काम गर्ने उदारता दर्शाउनुहुने किरणले संविधानसभा सदस्यको पद पनि परित्याग गर्नुभएको हो । क्रान्तिको बाटो घुमाउरो हुन्छ भन्ने सत्यलाई सिद्धान्तत: स्वीकार गर्ने तर व्यवहारत: सीधा हिँड्ने किरणको एउटा विशेषता हो । आफू कतै बिटुलिने पो हुँ कि भन्ने कुरामा सधैं खुब सचेत देखिनुहुन्छ उहाँ । संविधानसभा सदस्यको पद त्याग गर्नुका पछाडि संसदीय दलको उपनेता नबनाइनुलाई कारण मान्नेहरूले कुनै न कुनै रूपमा किरणलाई होच्याउने आकाङ्क्षा पालेका मात्र हुन् । संविधानसभाबाट क्रान्ति सम्पन्न हुन सक्दैन भन्ने स्पष्ट भइसकेपछि भत्ता खाएर समय गुजार्नेहरूको भीडमा उहाँ मिसिन चाहनुभएन, आफूलाई जोगाउन उहाँले पदबाट राजीनामा दिनुभयो । राजीनामा सही थियो भन्ने तथ्य समयाक्रममा पुष्टि भइसकेको छ । एक्काइस वर्षअघि पार्टीको महामन्त्री -कार्यकारी प्रमुख) पद प्रचण्डलाई हस्तान्तरण गर्नुको एक मात्र कारण पनि क्रान्ति नै थियो भन्ने र्छलङ्ग भइसकेको छ । कम्युनिस्ट पार्टीमा एकपटक प्रमुख भइसकेपछि
सामान्यतया कोही पनि व्यक्ति त्यसभन्दा तल झर्न चाहँदैनन् । माधव नेपालजस्ता विचारशून्य एवम् अस्थिर मानिने नेताले पनि एमालेजस्तो पार्टीको महासचिव भएर पन्ध्र वर्ष बिताए, आफूलाई महान् नैतिकवान दर्शाउन राजीनामा दिनुको परिणाम पछिल्लो कालखण्डमा उहाँले भोगिरहनुभएको छ । राजीनामा नदिएको भए उहाँलाई बल गरेर हटाउन सकिन्थ्यो या सकिँदैनथ्यो भन्न सकिन्न ।
तुल्सीलाल अमात्यले जीवनभरि कम्युनिस्ट पार्टीको महामन्त्री भएर नै देहत्याग गरेका हुन् । विष्णुबहादुर मानन्धरले दशकौंपछि महामन्त्री पद आफ्ना सुपुत्रमा सार्नुभएको हो । कृष्णदासदेखि नारायणमान र सीपी मैनालीसम्मका नेताहरूमा आफूलाई ‘दुई नम्बर’मा राख्ने साहस र उदारता कहिल्यै देखिएन । किरणशिष्य प्रचण्डले एक्काइस वर्षदेखि पार्टीप्रमुखको भूमिका निर्वाह गर्दै आउनुभएको छ, उहाँ बाँचिञ्जेल उक्त हैसियत अरू कुनै योग्य व्यक्तिमा हस्तान्तरण हुने सम्भावना देखिएको छैन । एकपटक पार्टीप्रमुख भएपछि जीवनभर सोही पदमा झुन्डिरहने चाहनाले नै नेपालमा कम्युनिस्ट पार्टीहरूको सङ्ख्या दर्जनभन्दा बढी पुर्‍याएको हो । तर, मोहन वैद्य किरण त्यस्ता नेता हुनुहुन्छ जसले आफ्नै शिष्यलाई नेतृत्व सुम्पिएर आफूलाई मातहतमा क्रियाशील गराउँदै आउनुभएको छ । क्युवाका फिडेल क्यास्त्रोले असी पार गरेपछि युवा पुस्ताको हातमा नेतृत्व सुम्पने सार्वजनिक घोषणा गर्दै उनान्सत्तरी वर्षीय आफ्नो सहोदर भाइ राहुल क्यास्त्रोलाई अगाडि सारेको तथा किम इल सुङको उत्तरकोरियामा नवराजतन्त्र तेस्रो पुस्तामा सर्दै गरेको सन्दर्भसँग किरणलाई जोड्ने हो भने उहाँ अद्वितीय हुनुहुन्छ । जसले आफ्नो नाता-सम्बन्धभन्दा बाहिरका प्रचण्डलाई पार्टीको नेतृत्व सुम्पेर एक्काइस वर्षदेखि आफ्नै कार्यकर्ताको कार्यकर्ताका रूपमा आफूलाई प्रस्तुत गर्नुभएको छ । सायद क्रान्ति नजिक तुल्याउने उत्कट चाहनाले उहाँलाई यसरी त्याग गर्न बाध्य गरेको हुनुपर्छ । तर, अब किरण आफ्नै त्यागको सिकार बन्नसक्ने सम्भावना छ । वैद्य क्रान्तिका लागि आफूलाई मेट्न तयार हुनुभयो तर प्रचण्ड आफ्ना लागि क्रान्ति मेट्न पनि तयार देखिनुहुन्छ । कम्युनिस्ट पार्टीमा जसको विचारले ‘रुल’ गर्छ पार्टीको कमाण्ड पनि उसैको हातमा रहने परम्परा हुन्छ । प्रचण्डका सवालमा पुरानो परम्परा तोडिएको छ, नीति, विचार र कार्यक्रम जसको भए पनि नेताका रूपमा चाहिँ प्रचण्डले नै भूमिका निर्वाह गरिरहनुलाई कम्युनिस्ट परम्पराको क्रमभङ्गका रूपमा बुझनु उपयुक्त हुनसक्छ । प्रचण्डलाई नेता बनाउन वैद्यले मुख्य भूमिका निर्वाह गर्नुभएको भए पनि प्रचण्डका स्वभावगत विशेषताचाहिँ गिरिजाप्रसाद कोइरालासँग धेरै हदसम्म मिल्ने देखिन्छ । गिरिजाप्रसादले जीवनभरि आफूलाई केन्द्रमा राखेर राजनीति गर्नुभयो, कतिपयले यसैलाई कोइरालाले आफूलाई केन्द्रमा राख्नका लागि राजनीति गर्नुभएको पनि भन्ने गर्छन् । म जहाँ उभिन्छु काङ्ग्रेस त्यही हो, म जे बोल्छु त्यही नै काङ्ग्रेसको बोली हो, म तल खस्नु भनेको काङ्ग्रेस नै तल खस्नु हो भन्ने सोच मनोविज्ञानका कोइरालामा जीवनको आखिरीतिर ‘म नै प्रजातन्त्र हुँ’ भन्ने अहङ्कारजन्य मनोदशा थियो । प्रचण्डमा पनि अहिले ‘म नै क्रान्ति हुँ’ भन्ने भावदशा व्याप्त देखिन्छ । आफ्नो निजी सफलता या असफलतालाई क्रान्तिको सफलता या असफलताका रूपमा ग्रहण गर्ने सोच आफैंमा क्रान्तिकारी हो कि होइन विवेचना गर्नुपर्ला, तर प्रचण्डको यस्तो सोच कोइरालासँग हुबहु मिलेको छ । माओवादी पार्टीले जनवादी क्रान्तिको पूर्वाधार कसरी निर्माण गर्ने भनी चिन्ता र चिन्तन गरिरहँदा गिरिजाप्रसाद कोइरालाचाहिँ देशको प्रथम राष्ट्रपतिका रूपमा नारायणहिटीमा कहिलेदेखि बस्न पाइएला भन्ने कुरामा फिक्री गर्दै हुनुहुन्थ्यो । गिरिजाप्रसादले आफ्नो स्थानको खोजी गरिरहँदा उहाँको भूमिकाले कहिलेकाहीँ प्रजातान्त्रिक आन्दोलनलाई सहयोग पुर्‍याएझैं प्रचण्डको भूमिकाले पनि कुनै खास अवस्थामा क्रान्तिलाई सहयोग पुर्‍याएको या पुर्‍याउन सक्ने ठान्न सकिन्छ । खासमा प्रचण्ड प्रजातन्त्र र साम्यवाद दुवैतिर इमानदार रहनुभएको विश्वास गरिँदैन । यस्ता पात्रबाट कुनै पनि समय कुनै पनि निहुँमा क्रान्ति या लोकतन्त्र दुवैले धोका खानसक्ने सम्भावना रहन्छ । किरण प्रजातान्त्रिक आन्दोलनका दुश्मन हुनुहुन्छ, तर साम्यवादी आन्दोलनप्रतिको उहाँको निष्ठा र र्समर्पणमा कुनै प्रश्न उठाउन सकिँदैन । कम्तीमा आफ्नो विचार, दर्शन र गन्तव्यप्रति उहाँ इमानदार हुनुहुन्छ । क्रान्तिलाई केन्द्रबिन्दुमा राखेर सोच्ने यही इमानदारीका कारण किरण अब आफ्नै पार्टीभित्र एक्लिने तथा खिसीको पात्र बन्नसक्ने अवस्था देखिएको छ । काङ्ग्रेसलाई परिवार ठान्ने कृष्णप्रसाद भट्टराई ‘वनवास’ जानुपरेको र परिवारलाई काङ्ग्रेस ठान्ने गिरिजाप्रसादले चाहिँ जीवनभर सत्ता र शक्तिको वरिपरि रहन पाएको नियति देख्ने-बुझनेहरूले त्यस्तै नियति मोहन वैद्य किरणले पनि भोग्नुपर्ने ठान्न थालेका छन् । पार्टीभित्रको प्राविधिक संरचना किरणको अनुकूल देखिँदैन ।
सशस्त्र युद्धकालमा युद्धविरुद्ध रहेका मानिसको ठूलो सङ्ख्या माओवादी पार्टीको नेतृत्वमा रहेको छ र तिनका दृष्टिमा मुलुकले धेरै ठूलो राजनीतिक उपलब्धि हासिल गरिसकेको छ । युद्धकालीन भूमिकाभन्दा बाहिर सबैजसो नेताहरू प्रचण्डको पक्षमा दृढतापूर्वक उभिएका छन्, तिनले किरणलाई अग्ल्याएर आफ्नो हित हुने ठानेका छैनन् । त्यसैले पार्टी नेतृत्वका बहुसङ्ख्यक सदस्यहरूले प्रचण्डलाई नै साथ दिइरहने निश्चित छ । विगतमा युद्धमैदानमा लडाकु कमान्डरका रूपमा खटेका नेताहरूको जीवनशैलीमा आएको परिवर्तनले पुन: जङ्गल जानु नपरोस् भन्ने मनोविज्ञानको विकास गरेको छ । मुस्किलले जोगाएर ल्याएको ज्यान क्रान्तिका नाममा अब फेरि युद्धमा होम्नु नपरोस् भन्ने उनीहरूको चाहना हो । त्यसैले युद्ध-कमान्डरहरूले पनि वैद्यको विद्रोहभन्दा प्रचण्डको तिकडम या चालबाजी नै उपयुक्त मार्ग हो भन्ने विश्वास गर्न थालेका छन् । विचार जो-जसको लिएर भए पनि पार्टीको कमानचाहिँ आफूमा केन्द्रित राखिरहन सफल प्रचण्डले अब माओवादीमा आफूबाहेक कसैलाई माथि उठ्न दिने सम्भावना ठ्याम्मै देखिएको छैन । धर्ैय गर्ने हो भने त्यहाँ जो कसैले पनि प्रचण्डद्वारा समयोचित उपयोग हुने अवसर प्राप्त गर्नेछन् । चुनवाङ बैठकदेखि सिंहदरबारसम्मको यात्रामा प्रचण्डद्वारा उपयोग हुने अवसर डा. बाबुराम भट्टराईले प्राप्त गर्नुभएको थियो । खरिपाटीदेखि पालुङटार भेलासम्म उपयोग हुने अवसर किरणले पनि प्राप्त गर्नुभएको हो । ठीक यतिबेला पुन: बाबुराम भट्टराईलाई उपयोग गरेर सत्ताको भर्‍याङ सोझयाउने प्रयास प्रचण्डले गर्नुभएको छ । सहज र सजिलो मार्गबाट सत्ता प्राप्त हुन नसक्ने ठहर भएमा पुन: यहाँ राष्ट्रियता र जनवादी क्रान्तिका गाना-बजाना सुरु हुने निश्चित छ । त्यस्तो अवस्थामा किरणलाई फेरि पनि प्रचण्डको निकटता प्राप्त हुने विश्वास गर्न सकिन्छ, तर त्यसका लागि किरणले लामै धर्ैयतापूर्ण प्रतीक्षा गर्नुपर्ने हुनसक्छ । यदि प्रचण्डको मन बदलिने आशा र प्रतीक्षा गर्न सकिँदैन भने किरणसँग केवल तीन विकल्प छन्- क्रान्तिका निम्ति पुन: एउटा सङ्गठित पहल गर्ने या प्रचण्डका नीति र आदेशहरूलाई चुपचाप पालन गर्ने काम गर्न सकिँदैन भने तेस्रो विकल्प- राजनीतिबाट सन्न्यास लिई तर्ीथयात्रामा निस्कनु नै उपयुक्त हुनसक्छ । क्रान्ति कुनै शास्त्रीय गीत होइन, तबला र सितारको भरमा गाउन सकियोस्, न क्रान्ति चालबाजी र धोखाधडी नै हो । किरणमा धोखाधडी गर्ने, स्थान र पात्रअनुसार बोल्ने, आवश्यक परे नगद खर्च गर्न पनि सक्ने आफूलाई केन्द्रमा राखेर अनेक चालबाजी गर्न सक्ने क्षमता नभएको हुँदा किरणका निम्ति क्रान्तिका र्व्यर्थ कुरामा लागेर दिन कटाउनुभन्दा अब प्रचण्डसमक्ष आत्मर्समर्पण गरी जीवन सहज तुल्याउनु उपयुक्त छ, होइन भने बुढेसकालमा तर्ीथयात्राले एउटा गहिरो मानसिक शीतलता प्रदान गर्न सक्छ भनेर र्स्वर्गद्वारीका किरणलाई बताइरहनुपर्ने छैन । त्यसैले किरणज्यू फेरि पनि आग्रह गरिन्छ- तपार्इं प्रचण्डसँग लडेर विजय हासिल गर्नसक्ने स्थितिमा नभएको र प्रचण्डलाई बदल्ने सफलता पनि तपाईंलाई प्राप्त हुने नदेखिएको हुँदा बाँकी जीवनमा तर्ीथयात्रा नै तपाईंको उत्तम विकल्प हुनसक्छ, सुखद् एवम् शान्तिपूर्ण यात्राका लागि शुभकामना ।