माधव र झलनाथले लिए वामदेवसँग बदला

माधव र झलनाथले लिए वामदेवसँग बदला


othernewsनेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संसदीय दलको नेता बनाउन केपी शर्मा ओलीलाई सहयोग पु-याउनुभएपछि एमाले अध्यक्ष झलनाथ खनाल र नेता माधवकुमार नेपालले नराम्रोसँग त्यसको बदला लिएका छन् । ओली–गौतमबीच एकले संसदीय दलका नेताको जिम्मेवारी लिने र अर्कोले काङ्गे्रस नेतृत्वको सरकारमा टोलीप्रमुखको रूपमा सहभागी हुने सहमति भएको थियो । सहमतिअनुसार वामदेव गौतमले एमालेको तर्फबाट नेतृत्व गरी सरकारमा सहभागिता जनाउनुपर्ने थियो र काङ्गे्रस एमालेलाई गृह मन्त्रालय दिनेबारेमा नकारात्मक पनि थिएन । तर, एमाले अध्यक्ष झलनाथ खनाल र माधवकुमार नेपालले यस घटनालाई वामदेवसँग बदला लिने सुवर्ण मौकाको रूपमा प्रयोग गरे । उनीहरूले काङ्गे्रस नेताहरूलाई टेलिफोन सम्पर्क गरी सुशील कोइरालाजस्ता स्वच्छ छविका नेताको मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी वामदेव गौतमले प्राप्त गर्ने भएपछि सरकारको स्वच्छ छवि कसरी कायम रहनसक्ला भनी प्रश्न उठाइदिए । अन्ततः सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालासम्म यो खबर पुग्यो । काङ्ग्रेस र एमालेबीच मन्त्रालयहरूको भागबन्डामा सहमति बनिसकेको थिएन । सोमबार (प्रधानमन्त्री भएकै दिन) साँझ सुशील कोइरालाले झलनाथ खनाललाई टेलिफोन गरी गृह मन्त्रालय एमालेलाई दिन नसक्ने जानकारी गराउनुभएको थियो । त्यसरी कोइरालाले गृह मन्त्रालय दिन नसक्ने बताउनुभएपछि अध्यक्ष झलनाथ खनाल मनमनै प्रसन्न बन्नुभएको, तर उक्त प्रसन्नता प्रकट गर्न भने नसक्ने अवस्थामा रहनुभएको बताइन्छ । वामदेवविरुद्धको आफ्नो षडयन्त्र छोपछाप गर्न खनालले गृह मन्त्रालय नपाए एमाले सरकारमा नजाने अभिव्यक्ति दिइरहनुभएको छ । स्मरणीय छ, वामदेव गौतम गृहबाहेक अन्य कुनै पनि मन्त्रालय लिएर सरकारमा सहभागी हुन चाहनुहुन्न । गृह मन्त्रालय एमालेलाई प्राप्त नभएमा एमाले सरकारमा सहभागी भए पनि त्यसको नेतृत्व वामदेव गौतमले गर्नुहुने छैन । झलनाथ खनाल र माधवकुमार नेपालकै ‘फिडब्याक’ का आधारमा काङ्गे्रस गृह मन्त्रालय आफैँसँग राख्ने निर्णयमा पुगेको छ । गृह मन्त्रालय नपाएकै कारण एमाले सरकारमा सहभागी हुँदैन भने पनि काङ्गे्रस त्यसको विकल्प खोज्न तयार भएको छ । तर, वामदेव गौतमलाई गृह मन्त्रालय सुम्पेर सरकारको छवि धमिल्याउने पक्षमा स्वयम् प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्न । आफ्नो छविप्रति अत्यन्त सचेत प्रधानमन्त्री कोइरालालाई एमाले नेताहरूले समयमै सचेत गराएर उहाँलाई गृह मन्त्रालयका बारेमा अडान लिन सजिलो बनाइदिएका छन् । यस प्रकरणले काङ्गे्रस–एमाले गठबन्धनमा मात्र नकारात्मक असर पार्ने नभई एमालेभित्रको आन्तरिक राजनीतिलाई समेत थप जटिल तुल्याउन सक्ने ठानिएको छ ।

मन्त्री बन्न कसैको धक्की कसैको घुर्की !
प्रधानमन्त्री पदको शपथ लिनु अगावै सुशील कोइरालामाथि मन्त्री बन्न इच्छुक केही व्यक्तिहरूले अवाञ्छित दबाब दिए । त्यसरी दबाब दिनेमा सुजाता कोइराला र महेश आचार्य प्रमुख मानिएका छन् । कोइरालानिकटको सूत्रले जनाएअनुसार उहाँ चुस्त र कार्यपरिणाममुखी मन्त्रिमण्डल बनाउन चाहनुहुन्छ । मन्त्रिमण्डलमा डा. रामशरण महत र प्रकाशमान सिंहसहित डा. नारायण खड्का, पूर्णबहादुर खड्का, चन्द्र महर्जन, सुरेन्द्रप्रसाद चौधरी, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल, धनबहादुर गुरुङ, पद्मनारायण चौधरी, ज्ञानेन्द्र कार्की, फर्मुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, नवीन्द्रराज जोशी, कमला पन्तजस्ता व्यक्तिलाई समेट्ने चाहना प्रधानमन्त्री कोइरालाले राख्नुभएको बताइन्छ । तर, सुजाता कोइरालाले आफूलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री नबनाए राम्रो नहुने भनी प्रधानमन्त्री कोइरालालाई चेतावनी दिँदै आएकी छिन् । गत साता महाराजगञ्जस्थित कोइरालानिवासमा पार्टीका प्रमुख नेताहरू कोइराला, पौडेल र देउवासमेतको उपस्थितिमा सुजाताले औँला ठड्याउँदै भनिन्, ‘हेर्नुस्, मैले उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री हुनैपर्छ, विदेशीहरूको समर्थन पनि मलाई नै छ । तपार्इंहरू (कोइराला, पौडेल र देउवा) मध्ये जसले मन्त्री बन्न सहयोग गर्नुहुन्छ म उतैपट्टि लाग्नेछु ।’ सुजाताको कुरा सुनेर उपस्थित सबै नेताहरू हाँसिमात्र रहे । तर, त्यसपछिका दिनमा पनि सुजाताले प्रधानमन्त्रीलाई धम्क्याउन छोडेकी छैनन् । यसरी सुजाताले एकातिर धम्क्याइरहेका बेला महेश आचार्यले भने सुशील कोइराला एक्लै परेका बेला घुक्र्याउने गर्दै आएका छन् । आफू लामो समयदेखि मन्त्री बन्न नपाएको र संसदीय दलको नेताका लागि भएको चुनावमा रामचन्द्र पौडेलसँग समझदारी बनाउन आफूले विशेष भूमिका निर्वाह गरेकोले मन्त्री बनाइदिनुपर्ने भनी महेश आचार्यले प्रधानमन्त्री कोइरालासँग गनगन गर्र्दै आएका छन् । आचार्यले आफूलाई अर्थमन्त्री नै बनाइनुपर्ने माग गरेका भए पनि कोइरालाले डा. रामशरण महतलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने वचन दिइसक्नुभएको थियो । डा. महतलाई अन्य मन्त्रालय दिनुपर्ने अवस्था आएमा डा. नारायण खड्कालाई अर्थमन्त्री बनाउने सोच कोइरालाले बनाउनुभएको थियो ।

को–को थपिँदै छन् संविधानसभामा ?
कर्मचारी सरकारका केही मन्त्रीहरू आफैँ संविधानसभाको सदस्य बन्न अग्रसर देखिएपछि रोकिएको सभासद् मनोनयन प्रक्रियाले अब गति लिने भएको छ । सरकारबाट छब्बीस सभासद्को मनोनयन हुने वैधानिक प्रावधानअनुरूपको प्रक्रिया अघि बढाउन खोजिएपछि माधव घिमिरे, शङ्कर कोइराला र माधव पौडेललगायतका ‘मन्त्री’हरू आफैँ सभासद् बन्न तम्सिएका थिए । स्वयम् मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसमेत संवैधानिक समितिको सभापति बन्ने गरी सभासद् बन्न इच्छुक रहेको सङ्केत दलका नेताहरूले पाएका थिए । सञ्चारमन्त्री रहेका माधव पौडेलले चाहिँ सभासद् भएर सभाध्यक्षसम्म बन्ने ख्वाब राखेको र शङ्कर कोइरालाले पुनः अर्थमन्त्री हुने सपना देखेको बताइन्छ । कोइरालाले सभासद् नभएमा अमेरिकाका लागि नेपाली राजदूत बन्न चाहेको र माधव घिमिरे भारतको राजदूत हुन इच्छुक भएको निकटवर्तीहरूले जनाएका छन् । यसरी कर्मचारी मन्त्रीहरू नै सभासद् बन्न कस्सिएपछि दलहरूले छब्बीस सभासद् मनोनयन कार्यमा रोक लगाएका थिए । संविधानअनुसार ‘राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु-याएका विशिष्ट व्यक्तिहरू’ वा निर्वाचनका माध्यमबाट प्रतिनिधित्व गर्ने मौका प्राप्त नगरेका आदिवासी र जनजातीय समुदायका व्यक्तिमध्येबाट सरकारले छब्बीस सभासद् मनोनयन गर्नुपर्ने हुन्छ । तर, संविधानमा जेसुकै लेखिएको भए पनि दलहरूले आपसी भागबन्डाकै आधारमा सभासद्हरूको मनोनयन गर्ने निश्चित मानिएको छ । जसअनुसार काङ्गे्रसले आठदेखि दश, एमालेले ६ देखि आठ, एमाओवादीले चार, राप्रपा नेपाल, राप्रपा, मधेसी जनअधिकार फोरम र तमलोपालगायतका दलहरूले कम्तीमा एक–एकजना सभासद् प्राप्त गर्ने सम्भावना रहेको बताइन्छ । नेपाली काङ्गे्रसले पूर्वमन्त्री तारिणीदत्त चटौत, वरिष्ठ पत्रकार हरिहर विरही, मजदुर नेता लक्ष्मण बस्नेत, सहिदपुत्र गणेश बिमली, पूर्वसचिव रामेश्वर खनाल, अर्थविद् डा. तिलव रावल, अधिवक्ताहरू हरिहर दाहाल, शेरबहादुर केसी र बद्रीबहादुर कार्कीमध्येबाट सभासद् मनोनयन गर्नेबारे विचार–विमर्श गरिरहेको बुझिएको छ । संविधानसभामा प्रतिनिधित्व गर्नबाट वञ्चित जनजातीय समुदायका व्यक्तिको खोजी काङ्गे्रसले गरिरहेको बताइन्छ । त्यस्तै एमालेका नेताहरू प्रदीप नेपाल, महेन्द्र पाण्डे पनि मनोनयनमा पर्नसक्ने व्यक्तिका रूपमा चर्चामा छन् । सरकार गठनको प्रक्रिया पूरा भएपछि दलहरूसँग नाम मागेर सरकारले छब्बीस सभासद्हरूको मनोनयन कार्य सम्पन्न गर्ने भएको छ ।

अख्तियारको स्थापना दिवसमा सञ्चारसंस्थाहरू पुरस्कृत
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २३औँ स्थापना दिवसको अवसरमा घटना र विचार साप्ताहिकसहित केही सञ्चारमाध्यम पुरस्कृत भएका छन् । पुरस्कृत हुने अन्य सञ्चारमाध्यमहरूमा समाचारपत्र दैनिक, राजधानी दैनिक, आर्थिक दैनिक, नयाँ पत्रिका दैनिक, दृष्टि साप्ताहिक, साँघु साप्ताहिक, तरुण साप्ताहिक, मधेसवाणी साप्ताहिक, जनधारणा साप्ताहिक, जनभावना साप्ताहिक, विमर्श साप्ताहिक र समावेशी मासिक रहेका छन् । उल्लिखित सञ्चारमाध्यमहरूले भ्रष्टाचारविरुद्धको समाचार सामग्री सम्पे्रषण गरी सुशासन कायम गराउन विशेष योगदान पु-याएबापत पुरस्कृत गरिएको अख्तियारले जनाएको छ । पुरस्कृत सञ्चारमाध्यमका प्रमुखहरूलाई राष्ट्रपति डा. रामवरण यादवले कदरपत्र प्रदान गर्नुभएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हलमा आयोजित समारोहमा प्रमुख अतिथि राष्ट्रपति डा. रामवरण यादव हुनुहुन्थ्यो भने अन्य विशिष्ट अतिथिहरूमा प्रधानन्यायाधीश दामोदर शर्मा, मुख्यसचिव लीलामणि पौडेल र गृह तथा परराष्ट्रमन्त्री रहनुभएको थियो । समारोहमा अख्तियारको ‘थिम गीत’ तथा स्मारिकाको विमोचन प्रधानन्यायाधीश दामोदर शर्माले गर्नुभएको थियो । समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा सुशासनका लागि अख्तियारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले देशमा भ्रष्टाचार नियन्त्रण गरी जनतामा सुशासनको प्रत्याभूति दिलाउन आयोग प्रतिबद्ध रहेको जनाउनुभयो । कार्कीले भन्नुभयो, ‘ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०१३ को प्रतिवेदन अनुभूति सूचकमा नेपालको स्थिति केही सुधार भई एकतीस अङ्कसहित एक सय सोह्रौँ स्थान हासिल गर्नु सकारात्मक सङ्केत भए पनि यतिमै सन्तोष लिने अवस्था छैन, सुधारको यो प्रवृत्तिलाई निरन्तरता दिन र कम्तीमा औसत सन्तुष्टिको स्तरसम्म पु-याउन चुनौतीपूर्ण भएकोले आगामी दिनमा आयोगको भूमिका अझ सशक्त र सक्रिय हुनुपर्ने मैले ठानेको छु ।’ प्रमुख आयुक्त कार्कीले अगाडि भन्नुभयो, ‘मन्त्रिपरिषद्बाट हुने नीतिगत निर्णयहरू आयोगको क्षेत्राधिकारभित्र नपर्ने हुँदा कानुनले निर्दिष्ट गरेको जिम्मेवारी र आफूमा निहित अधिकार प्रयोग नगरी मन्त्रिपरिषद्बाट निर्णय गराउने प्रवृत्तिलाई निरुत्साहित गर्नेतर्फ आयोगले ध्यानाकर्षण गराइसकेको छ ।’

वचन नदिएको कुरामा धोका दिएको आरोप
गृह नपाए संविधान बन्न नदिने
नेपाली काङ्गे्रसले गृह र अर्थ मन्त्रालय प्रधानमन्त्रीकै साथमा रहने परम्परा बसाउन गरेको प्रयासप्रति एमाले सकारात्मक हुन सकेन । पहिले माधव नेपाल प्रधानमन्त्री हुँदा पनि काङ्गे्रसले गृह र अर्थ मन्त्रालय प्रधानमन्त्रीलाई छोडिदिएको र भविष्यमा अरू कसैको नेतृत्वमा सरकार गठन हुने स्थिति आए पनि गृह र अर्थमा दाबी नगर्ने प्रतिबद्धता काङ्गे्रसले जनाएको थियो । तर, एमाले गृह मन्त्रालय नपाएसम्म सरकारमा जाँदै नजाने निर्णयमा पुग्यो र उसले आफ्नो हठ कायम राखेको छ । मंगलबार प्रधानमन्त्रीको शपथ हुनुअघि काङ्गे्रसले चारजना (दुई पार्टीको दुई–दुईजना) विनाविभागीयमन्त्री नियुक्त गर्ने र पछि पोर्टफोलियो मिलाएर कार्य विभाजन गर्ने प्रस्ताव राखेको थियो । एमाले उक्त प्रस्तावमा पनि सहमत हुन सकेन र शपथग्रहण समारोहमा भाग नलिने निर्णयमा पुग्यो । वास्तवामा काङ्गे्रसका कसैले पनि एमालेलाई गृह मन्त्रालय दिने वचन दिएका थिएनन् । काङ्गे्रसको कुन नेताले गृह मन्त्रालय दिने वचन दिएका थिए भन्नेबारेमा एमालेले स्पष्ट गर्न पनि सकेको छैन । दिँदै नदिएको वचन पालना नगरेको भन्दै एमालेले काङ्गे्रसमाथि धोका दिएको आरोप लगाएको छ ।
काङ्ग्रेसले गम्भीर धोका दिएको भन्दै एमालेले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । उसले काङ्गे्रस सहमतिबाट पछि हटेको र सहमतिका नाममा तानाशाही शैली अपनाउन खोजेको भन्दै एमालेले गृहलगायतका महत्वपूर्ण मन्त्रालय एमालेलाई दिने सम्बन्धमा गरिएको सहमति कार्यान्वयन नगरेसम्म सरकारमा नजाने निर्णय गरेको हो । मंगलबार बिहान सिंहदरबारमा बसेको एमाले स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो । बैठकको बारेमा जानकारी दिँदै एमाले सचिव विष्णु पौडेलले भने, ‘दुई दलबीच भएको सहमति कार्यान्वयन नहुँदासम्म सरकारमा नजाने निर्णय भएको छ ।’ बैठकले प्रधानमन्त्री सुशील कोइरालाको शपथग्रहण समारोहमा पनि पार्टीबाट प्रतिनिधि भएर कोही नजाने निर्णय गरेको थियो । सोहीअनुसार राष्ट्रपतिभवनमा भएको प्रधानमन्त्री कोइरालाको शपथग्रहण कार्यक्रममा एमालेबाट कोही पनि प्रतिनिधि सहभागी भएनन् । तर, पूर्वप्रधानमन्त्रीको हैसियतमा झलनाथ खनाल र माधव नेपाल भने पुगेका थिए ।
यता, उपप्रधान तथा गृहमन्त्रीको रूपमा पार्टीबाट सरकारको नेतृत्व गर्ने तयारीमा रहेका एमाले उपाध्यक्ष वामदेव गौतमले गृहमन्त्री नपाउने निश्चित भएपछि काङ्ग्रेसप्रति निकै आक्रामक बनेका छन् । आफ्नो स्वार्थअनुसार जता पनि जान सक्ने विशेष प्रतिभाका धनी नेताको रूपमा परिचित रहेका उपाध्यक्ष गौतमले काङ्ग्रेसलाई शान्तिसँग सरकार सञ्चालन गर्न नदिने उद्घोषसमेत गरेका छन् । गृहमन्त्री बन्नेमा ढुक्क रहँदै मन्त्री भएपछि बस्नका लागि पुल्चोकस्थित मन्त्रीक्वाटरसमेत बुक गराइसकेका गौतमले सार्वजनिक कार्यक्रमबाटै काङ्ग्रेसलाई यस्तो चेतावनी दिएका हुन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा गौतमले भने, ‘नेपाली काङ्ग्रेसले धोका दियो, त्यसैले हामी पनि उसलाई शान्तिसँग बस्न दिँदैनौँ, यो कुरा काङ्ग्रेसले बुझिराखे हुन्छ ।’ एमालेलाई गृह दिने सहमति भएको भन्दै र सो सहमति काङ्ग्रेसले तोडेको भन्दै उनले काङ्ग्रेसले प्रधानमन्त्रीको शपथग्रहण गर्नुअघि गरेको सहमति कार्यान्वयन नगरेसम्म एमाले सरकारमा सहभागी नहुने दाबी पनि गरे ।
‘सहमतिमा हस्ताक्षर गरेको मसी नसुक्दै गृह दिन्न भनेर काङ्गे्रसले धोका दियो, सुशील कोइरालाले प्रधानमन्त्रीको शपथ खाएपछि निरङ्कुश चरित्र देखाए,’ उपाध्यक्ष गौतमले भने, ‘लोकतन्त्रको मसिहाको निरङ्कुशताविरुद्ध देशव्यापी अभियान थाल्छौँ ।’ विदेशी शक्तिसँग झुकेर काङ्ग्रेसले कम्युनिस्टलाई ००६ सालदेखि नै धोका दिँदै आएको गौतमको भनाइ थियो । ‘००६ सालमा पनि पुष्पलाललाई काङ्ग्रेसले धोका दिएकाले कम्युनिस्ट पार्टी जन्मेको थियो, अहिले पनि काङ्ग्रेसले त्यही व्यवहार गरिरहेको उनको भनाइ थियो ।

ठग व्यापारीको बेग्लै दाउ
नेपालकै गठ उद्योगीका रूपमा परिचित राजेन्द्र खेतानले आफँैले ठगी गरेको एभरेस्ट इन्सुरेन्स कम्पनीको नयाँ सञ्चालक समितिको अध्यक्ष चयनका लागि आफ्ना जेठान तथा पूर्वकर्मचारीलाई सिफारिस गरेका छन् । इन्सुरेन्स कम्पनीमा आफू अध्यक्ष रहेको बेला पाँच करोडभन्दा बढी रकम हिनामिना गरी कम्पनी नै बन्द हुने स्थितिमा पुगेपछि यसको नियमन निकाय बिमा समितिले हस्तक्षेप गरेर आगामी फागुन १ गते विशेष साधारणसभामार्फत वास्तविक सेयरधनीहरूबाट नयाँ सञ्चालक समिति चयन गर्दै छ । एभरेस्ट इन्सुरेन्स कम्पनीको नयाँ गठन हुने सञ्चालक समितिमा खेतानले आफ्ना जेठान शशी अग्रवाल, जेठानी प्रियंका अग्रवाल तथा गोरखा ब्रुअरीका वित्त निर्देशक सुरेन्द्रकुमार सिलवाललाई मनोनयन दर्ता गर्न लगाएका छन् । स्रोतका अनुसार उनले आफूले प्रस्ताव गरेका प्रतिनिधिमध्ये एकलाई समर्थन गर्न भन्दै आफूनिकट व्यक्तिहरूलाई भूमिगत स्थानबाट फोनमार्फत आग्रहसमेत गर्दै आएका छन् ।
सातजना सदस्य रहने सञ्चालक समितिमा टिवडेवाल समूहबाट निरञ्जनकुमार टिवडेवाल, रविकुमार टिवडेवाल, पुरुषोत्तमराज भट्टराईले पनि मनोनयन दर्ता गरेका छन् । ओम सिकरिया समूहका राजनकुमार पौडेलले मनोनयन दर्ता गरेका छन् । संघाई समूहबाट पवनकुमार संघाईले मनोनयन दर्ता गरेको बताइन्छ । बिमा समितिले माघ २५ गतेसम्म कायम रहेका सेयरधनीहरूबाट निर्वाचनमार्फत सातजना सञ्चालक समितिमा चयन गर्ने गरी विशेष साधारणसभा बोलाएको छ । साधारणसभाबाट सञ्चालक समितिमा कारबाहीमा परेका सञ्चालकबाहेक सबै सेयरधनीले सहभागिता जनाउन पाउने व्यवस्थामा टेक्दै खेतानले आफूनिकटलाई कम्पनीको अध्यक्ष बनाउने खेलमा लागेको बताइन्छ ।
बिमा समितिले गत असोज २३ गतेबाट एभरेस्ट इन्सुरेन्स जिम्मा लिएको थियो । कम्पनीका तत्कालीन सञ्चालक समितिले पुनरावेदन अदालतमा समितिको निर्णयविरुद्ध मुद्दा दिएपछि समितिबाट खटिएको टोलीले औपचारिक काम सुरु गर्न पाएको थिएन । अदालतले कात्तिक १३ गते कम्पनीको व्यवस्थापन लिएर सुधार प्रक्रिया अगाडि बढाउन बाटो खोलिदिएपछि टोलीले औपचारिक काम थालेको थियो । ६ महिनाको समय लिएर सुधार प्रक्रिया थाल्न गएको टोलीले औपचारिक काम सुरु गरेको पाँच महिनामै वास्तविक सेयरधनीलाई व्यवस्थापन हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरेको हो । समितिबाट खटिएको टोली एभरेस्ट जानुपूर्व कम्पनीले तीन हजार चार सय चारवटा दाबी भुक्तानी राफसाफ गर्न बाँकी थियो । टोली गएपछि अहिलेसम्म १३ सय ५० वटा दाबी भुक्तानी राफसाफ गरिसकेको छ ।

हुण्डीमा पनि खेतान
ठगीको अभियोगमा प्रहरीको फरार सूचीमा रहेका राजेन्द्र खेतानको थप कर्तुतहरू फेला पर्दै गएको छ । सर्वसाधारणको सम्पत्तिमा रजाइँ गर्दै आएका खेतान ठग व्यापारी मात्र नभएर हुन्डी कारोबारीसमेत भएको खुल्न आएको छ । अब उनलाई प्रहरीले ठगी मात्र नभएर हुन्डी कारोबारीको रूपमा समेत खोजी सुरु गरेको छ । ठगी र छलछामबाट चर्चित उद्योगीको रूपमा आफूलाई चिनाउँदै आएका खेतानले अन्य थुपै्र गैरकानुनी कामसमेत गरेको हुन सक्ने भन्दै त्यसबारे समेत खोजी भइरहेको बताइन्छ । स्रोतका अनुसार सुरुमा ठगीको अभियोगमा मात्र प्रहरीको खोजीमा परेका खेतानले गर्दै आएको कारोबारबाट उनी हुन्डी कारोबारीसमेत भएको र यसमा निकै ठूलो समूह सक्रिय रहेको देखिन आएको छ । नेपालमा रहेको आफ्नो लगानीलाई हुन्डीको माध्यमबाट विदेश पठाउँदै आएका खेतानाले अन्य व्यापारी तथा दुई नम्बरी धन्दामा रहेका व्यक्तिहरूको रकम हुन्डीमार्फत भारत, सिंगापुर, हङकङ पठाउने गरेको पाइएको अनुसन्धानले देखाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार खेतानले नेपालमा गरेको लगानी, ती लगानीको सेयर बिक्री र त्यसबाट देखिन आउने रकमबारे खोजी गर्ने क्रममा उनी हुन्डी कारोबारीसमेत भएको र आफ्नो मात्र नभएर अरूको रकम पनि हुन्डीकै माध्यमबाट विदेश पठाउने गरेको पाइएको हो । खेतानले पछिल्लोपटक नेपालमा रहेको आफ्ना सबै कारोबारबाट अलग रहँदै सञ्चालनमा रहेका कम्पनीको सेयर बिक्री गर्दै आएका छन् । त्यसरी बिक्रीबाट आएको रकम उनले नेपालमा कतै पनि लगानी गरेका छैनन् । खेतानले बैंक अफ काठमाण्डू, लक्ष्मी, कुमारीलगायतका बैंकमा रहेको आफ्नो तथा आफन्तको नाममा रहेको अन्य सेयर बिक्री गरेका थिए । त्यसरी सेयर बिक्रीबाट भएको कमाइको उनले राजस्वसमेत तिरेका छैनन् । त्यसविरुद्ध राजस्व न्यायाधिकरणमा मुद्दासमेत परेको छ । मुद्दाको किनारा लागेको छैन ।

चुनौतीको पहाडमा सुशील
निष्ठा र समर्पण भयो भने व्यक्ति कुनै पनि दिन उच्च पदीय जिम्मेवारीमा पुग्न सक्छ भन्ने दृष्टान्त स्थापित गर्दै चौहत्तर वर्षीय सुशील कोइराला प्रधानमन्त्री बन्नुभएको छ । राजनीतिमा क्रियाशील भएपछि जीवनभर कुनै लाभको पद नलिनुभएका कोइराला इमानदारी, साधारण जीवनशैली तथा राष्ट्र र प्रजातन्त्रप्रतिको समर्पणमा अब्बल तर हठी नेताका रूपमा चिनिनुहुन्छ । अधिकांश सच्चा राजनीतिकर्मीहरू हठी स्वभावका हुन्छन्, सुशील कोइराला अन्य नेताहरूको तुलनामा केही बढी नै हठी मानिनुहुन्छ । यही हठले उहाँलाई सतिसालझैं प्रजातान्त्रिक आन्दोलनमा उभ्यायो र निजी जीवनको सुख प्राप्त गर्ने चाहनाबाट पनि वञ्चित गरायो । हठी स्वभावकै कारण कतिपय अवस्थामा गिरिजाप्रसाद कोइरालासँग समेत उहाँको मतमतान्तर हुने गर्दथ्यो । आफू ‘कन्भिन्स’ नभएको कुरामा बलपूर्वक सहमत गराउन सुशील कोइरालालाई कसैले पनि सक्नेछैन, यो नै उहाँको मुख्य विशेषता पनि हो ।
सुशील कोइराला यस्तो समयमा प्रधानमन्त्री बन्नुभएको छ, जहाँ चुनौतीहरूको पहाड नै खडा छ । प्रमुख राजनीतिक दलको नेता र प्रधानमन्त्रीका रूपमा उहाँले प्रजातान्त्रिक संविधान निर्माणको कार्य संयोजन गर्नुपर्नेछ भने अस्थिर एवम् अस्तव्यस्त अर्थतन्त्रलाई सुस्थिर र प्रगतिउन्मुख तुल्याउनुपर्ने हुन्छ । अर्थतन्त्रमा सुधारका लागि राजनीतिक स्थिरता र शान्तिलाई पहिलो सर्तका रूपमा लिइन्छ । कोइरालाले आफ्नो कार्यकालमा संविधान निर्माणसँगै आर्थिक उन्नतिका लागि जे–जति काम गर्नुपर्ने हुन्छ त्यसलाई सामान्य चुनौतीका रूपमा बुझ्नु गल्ती हुनेछ । पार्टीभित्रको आन्तरिक सन्तुलन मिलाई सधैँ पार्टीको तर्फबाट सहयोग प्राप्त गरिरहनु कोइरालाका निम्ति अर्को चुनौती हो र पार्टीहरूको साथ र सद्भाव पाइरहनु पनि उहाँका लागि चुनौती नै हो । गिरिजाप्रसाद कोइराला २०४८ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा उहाँले पार्टीको साथ प्राप्त गर्न सक्नुभएन र अन्ततः उहाँ मध्यावधि निर्वाचनमा जान बाध्य हुनुपरेको थियो । त्यसबेला गिरिजाप्रसादलाई संसदीय दलमा दुईतिहाइ सदस्यहरूको समर्थन प्राप्त थियो । अहिले काङ्गे्रस संसदीय दलमा झिनो मतान्तर (खासमा नौ मत) ले मात्र कोइराला अगाडि हुनुहुन्छ । त्यसैले पार्टीभित्रको साथ पाइरहन कोइराला विशेष रूपमा सचेत रहन आवश्यक छ । उहाँले पार्टी सङ्गठन र प्रजातान्त्रिक आन्दोलनका सन्दर्भमा त ठूलाठूला निर्णय लिन पनि सक्नुभएको छ, तर राज्य सञ्चालनको सन्दर्भमा अनुभवको कमी भएकोले कतिपय जोखिमपूर्ण निर्णय लिने सन्दर्भ आउँदा उहाँ पछि हट्नुहुने हो कि भन्ने आशङ्का गरिन्छ । आफूप्रति उत्पन्न यस्ता आशङ्का चिर्नुलाई पनि कोइरालाको चुनौतीका रूपमा बुझ्न सकिन्छ । सुशील कोइराला इमानदार मानिनुहुन्छ, उहाँको जीवनशैली अति साधारण छ, त्यसैले उहाँको छवि स्वच्छ बन्न पुगेको छ । तर, सरकार र प्रशासनलाई आफूजस्तै स्वच्छ राख्न सक्नु कोइरालाका निम्ति अर्को चुनौती हो । त्यसैगरी छिमेकी तथा अन्य मित्रराष्ट्रहरूसँगको कूटनीतिक सम्बन्धलाई सबल, सुदृढ एवम् उपयोगी तुल्याउन पनि कोइरालाले विशेष प्रयास गर्नुपर्ने अवस्था छ । यति धेरै चुनौतीबीच आफूलाई सफल प्रमाणित गर्नु आफैँमा एउटा चुनौती हो । बलियो टिम र सक्षम रणनीतिकारहरूको सहयोगबिना कोइरालाको सफलता सम्भव मान्न सकिन्न । त्यसनिम्ति आफ्नावरिपरि जमेको फोहोर तथा अधिकांश ‘सी’ गे्रडका मानिसको जमघटलाई उहाँले दरकिनार गर्न सक्नुपर्छ । होइन भने माधव नेपाल, झलनाथ, प्रचण्ड र बाबुरामहरूले झैं सिंहदरबारमा एउटा तस्बिर झुण्ड्याउनुलाई नै सफलता ठान्नुपर्ने अवस्थामा उहाँ पनि पुग्नुहुनेछ ।

काङ्ग्रेसको आवरणमा मस्ती !
कसैलाई केको धन्दा घरज्वाइँलाई खानको धन्दा भनेझैँ नेपाल राष्ट्र बैंकका सञ्चालक रामहरि अर्याललाई पनि भत्ता सोहर्न भ्याइनभ्याई देखिन्छ । दुई वर्षअघि सञ्चालकमा नियुक्त अर्याल नियुक्तिताका नै विवादमा तानिएका थिए । अहिले यतिखेर भने उनी आफूलाई काङ्ग्रेसको मध्यस्थकर्ताको रूपमा चिनाउँदै गभर्नरसँग आन्तरिक विभिन्न समितिको भत्तामा रमाइरहेका सूचनाहरू सार्वजनिक हुन थालेका छन् । सञ्चालक समितिमा काङ्ग्रेस निकट बैंकरको संस्थासँग सम्बन्धित विषयमा अनावश्यक खोंचे थापेबापत गभर्नरले पछिल्लोपटक यतिखेर अर्याललाई नेदरल्याण्डको सयरमा पठाइदिएका छन् ।
आफूलाई कलंकीको पुरानो काङ्ग्रेसको परिचय दिएर यसअघि पनि उनले पटकपटक निःशुल्क विदेश भ्रमण गर्ने गरेका बैंक तथा वित्तीय क्षेत्रका अगुवाहरूले बताएका छन् । विगतमा धेरैपटक गरेको विदेश सयरको क्रममा रुट मिलाएर आफ्ना छोरीज्वाइँको मेजमानीमा रमाउन उनी श्रीमतीसहित मलेसिया पुग्ने गरेकोसमेत रहस्योद्घाटन भएको छ । नेपाल राष्ट्र बैंक ऐनमा सञ्चालकको काम, कर्तव्य र अधिकार स्पष्ट रूपमा उल्लेख गरिएको छ । तर, विदेश सयरको चक्कर लगाउने, प्रजातन्त्रवादी तथा गभर्नरले नरुचाउने बैंकरको विषयमा एक कदम अघि सरेर भाँजो हाल्ने तथा नियमितजसो भत्ताको निम्ति बैठकको चाँजोपाँजो मिलाउने गरेका अर्यालको गतिविधिलाई अन्य सञ्चालकहरूले नै हाम्रो असली कामचाहिँ के हो भनेर जिज्ञासा राख्ने गरेको उच्च स्रोतले बताएको छ । यसरी सञ्चालक भएर विशेषगरी गभर्नरको आडमा सञ्चालक समितिमा ठाडो रूपमा प्रजातान्त्रिक समूहका बैंकरसँगको विषयमा पौंठेजोरी खेल्ने अर्याललाई स्वयम् बैंकरले आगामी दिनमा फोटोसहित यी को हुन् भनेर -याली निकाले भने अचम्म मान्नुपर्ने देखिँदैन

मेची–महाकाली रेल्वेको बाटो बदल्न माग
– चन्द्रकान्त खनाल
रूपन्देही/ नेपाल सरकार भौतिक योजना तथा निर्माण मन्त्रालयद्वारा प्रस्तावित मेची–महाकाली इलेक्ट्रिक रेल्वेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने क्रममा बुटवल नगरको मध्यभाग कालिकानगर क्षेत्रबाट नापनक्सा गरिएपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन् । परियोजनाबारे स्थानीय बासिन्दालाई जानकारी नदिई गुमराहमा राखेको र कालिकानगरको राजमार्ग चौराहाको साइनमार्बलदेखि दक्षिण रोजपार्टी प्यालेसबीचको घनाबस्ती क्षेत्रबाट नापनक्सा गरिएको भन्दै स्थानीय आक्रोसित भएका हुन् ।
यस विषयमा गत एक सातादेखि बुटवल नगरपालिकाको वडा नं. १२ र १३ कालिकानगर क्षेत्रका बासिन्दाहरू भेला भई छलफल गरिरहेका छन् । विष्णुप्रसाद चापागार्इंको अध्यक्षतामा १५ सदस्यीय प्रस्तावित रेल्वेपीडित सङ्घर्ष समितिसमेत गठन गरिएको छ । समितिमा उपाध्यक्ष विष्णु पोखरेल, सचिव नारायण पन्थ, सहसचिव सन्तोष गौतम र कोषाध्यक्ष टेकराज भट्टराई रहेका छन् । सदस्यमा नेत्र पाण्डे, चेतन न्यौपाने, सीता ज्ञवाली, डम्मरकुमारी पुन, बलु पुन, दीपक गुरुङ, प्रेम पुन, पिसन पुन, अशोक गुरुङ र तारानाथ भट्टराई रहेका छन् । सो भेलामा करिब तीन सयजनाको उपस्थिति रहेको थियो ।
समितिका अध्यक्ष चापागार्इंले आफूहरू विकासविरोधी नभएको, तर बस्तीबीचबाट नलगी जङ्गल क्षेत्रबाट रेल लैजाने व्यवस्था मिलाउन दबाब दिने बताए । उनले कालिकानगरमा प्रस्तावित रेलको स्टेसन पनि बस्तीभन्दा टाढा जङ्गल क्षेत्रमा राख्नुपर्ने र त्यसका लागि जग्गाको कमी नभएको जानकारी दिए । नापनक्साको क्रममा घरका छतमा चढेर नापजाँच गरिएको तर उद्देश्य नबताएको गुनासोसमेत चापागाईंले पोखेका छन् ।
यस विषयमा जिज्ञासा राख्दा बुटवल नगरपालिकाका वरिष्ठ अधिकृत विष्णु खनालले नगरपालिकालाई कुनै जानकारी नभएको बताए । स्थानीय बासिन्दा भने नगरपालिकासँग सहकार्य नभई यो काम हुन नसक्ने भन्दै नगरपालिकाले जानकारी नगराएकोमा आक्रोसित भएका छन् ।
रुपन्देहीको देवदह गाविसका सचिव टेकराज भट्टराईले गत साउन १६ को मितिमा रेल्वे तथा मेट्रो विकास आयोजनालाई पत्र लेखी रेल्वेले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने भन्दै स्वागत गरेका खुलेको छ । उनले वातावरण प्रभाव विश्लेषण प्रतिवेदन तयार गरी भौतिक, जैविक, सांस्कृतिक, सामाजिक, आर्थिक प्रणाली र स्थानीय बासिन्दाका घरजग्गाको कमभन्दा कम क्षति हुनेगरी नापनक्सा गर्न आग्रह गरेको पत्र प्राप्त भएको छ । बुटवल कालिकानगरमा घर भएका भट्टराई सङ्घर्ष समितिका कोषाध्यक्ष पनि हुन् । जिल्ला नापी कार्यालय रुपन्देहीका अमिन सौकत अलीले नाप नक्साको कुरा सही भएको बताए ।
रेल्वे स्रोतका अनुसार महत्वाकाङ्क्षी यो मेघा प्रोजेक्टको लम्बाइ कुल नौ सय ४५ किलोमिटर छ र २४ जिल्ला हुँदै जानेछ । यो एक हजार ६ सय ७६ एमएम ब्रोडगेजको हुनेछ । अनुमानित लागत आठ सय विलियन छ । यसलाई बुटवलदेखि लुम्बिनी, काठमाडौंदेखि पोखरा र पूर्वमा जनकपुर एवम् दक्षिणमा नौतुनवाको भारतीय रेल्वे सेवासँग समेत जोड्ने योजना छ । काठमाडौंदेखि पोखराको लम्बाइ एक सय ८७ किलोमिटर छ र ६ जिल्ला हुँदै निर्माण हुने बुझिएको छ । यसका लागि सार्वजनिक निजी साझेदारी प्रणाली अवलम्बन गरिने र भारतीय सहयोगसमेत रहने बताइएको छ । यसको डीपीआरका लागि ग्लोबल टेन्डर आह्वान गरिएकोमा १९ वटा कम्पनीले प्रतिस्पर्धा गरेका थिए । जसबाट दक्षिण कोरियाको सोसुङ इन्जिनियरिङ र दोहा इन्जिनियरिङको साथै नेपालको फुल ब्राइट कन्सल्टेन्सी छनोट भएका थिए ।

‘बाह्रमासे’विरुद्ध लमजुङ प्रहरी
लमजुङ/ हिजोआज सदरमुकाम बेसीसहरमा सञ्चालित होटलहरूमा जुवाडेको बिगबिगी बढ्दै गएको छ । व्यापार बढाउने उद्देश्यले होटल ब्यवसायीहरूले पनि जुवाडेलाई प्रश्रय दिने गरेको पाइएपछि प्रहरी प्रशासन बाह्रमासे जुवाडे उन्मूलन अभियानमा कस्सिएर लागेको छ । यसै क्रममा सदरमुकामका आधा दर्जनभन्दा बढी होटलमा तास खेल्दै गरेका १९ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय राजेन्द्र दनाई, कुलबहादुर गुरुङ, रामचन्द्र खत्री, रामबहादुर गुरुङ, गोविन्द घले, लक्ष्मण गुरुङ, धनबहादुर गुरुङ, नरबहादुर गुरुङ, शिवकुमार श्रेष्ठ, अर्जुन केसी, अनिल दनाई, मदन गुरुङ, मनिराम घले, खेम गुरुङ, इमानसिंह गुरुङ, सोमबहादुर गुरुङ, भद्रे गुरुङ, सिंहबहादुर गुरुङ र समर गुरुङलाई प्रहरीले जुवातास खेलिरहेकै अवस्थामा पक्राउ गरेको बताइएको छ । पक्राउ परेका जुवाडेलाई जुवा ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अच्युत पुडासैनीले बताएका छन् । ती जुवाडेलाई जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
यसअघि प्रहरीकै मिलेमतोमा सदरमुकाम बेसीसहरलगायतका बजारमा जुवातास खेलाउने गरिएको गुनासो बढ्दै गइरहेका बेला प्रहरीले चालेको यो कदमको धेरैले स्वागत गरेका छन् । दशैं–तिहारबाहेक पनि बेसीसहरमा बाह्रैमास जुवातासको अखडा बन्ने गरेको थियो । जिल्लामा भर्खर सरुवा भएर आएका प्रहरी प्रमुख पुडासैनीले जुवातासमा मात्र नभई होटलहरूमा हुने खुला यौन व्यापारमा पनि कडा निगरानी राखेका बुझिएको छ ।
होटलहरूमा भित्रिएका विसंगतिलाई न्यूनीकरण गर्नका लागि प्रहरीले बेसीसहरका होटलहरूमा चेकजाँच बढाएको छ । साता दिनभित्रै बेसीसहरका सबै होटल तथा गेस्टहाउसमा प्रहरीले चेकजाँच गरेको छ । बेसीसहरका केही होटल तथा रेस्टुरेन्टले खुला यौन व्यापार गर्ने गरेको गुनासो बढे पनि प्रहरीले चासो नदेखाएको भन्दै स्थानीय रुष्ट थिए । प्रहरी जिल्लाप्रमुख पुडासैनीले जिल्लामा यौन व्यापार, जुवातासजस्ता क्रियाकलापलाई कडाइका साथ निगरानी गर्ने बताएका छन् ।
आपराधिक घटनाहरूमा राजनीतिक तथा प्रशासनिक दबाबबाट मुक्त रहन सक्दो प्रयास गरिने बताउँदै पीडितमैत्री क्रियाकलापमा जोड दिने पुडासैनीले बताए । लागूऔषध दुव्र्यसनीको अखडा रहेको यस जिल्लामा कडाइका साथ चेकजाँच थाल्ने बताउँदै उनले यातायातमा सिन्डिकेट, छतमा यात्रु राख्ने आदि क्रियाकलापलाई नियन्त्रणका क्रियाकलाप सुरु गरिने जानकारी दिए । अपराध अनुसन्धान, नियन्त्रण, शान्तिसुरक्षा कायम गर्नमा आफू सधैँ क्रियाशील रहने उनको अठोट छ । सेवाग्राहीको सन्तुष्टि नै मुख्य मूल्याङ्कनको आधार हुने बताउँदै प्रहरी प्रमुख पुडासैनीले सेवालाई प्रभावकारी बनाउन प्रत्येक प्रहरी इकाइहरूमा ‘हेल्प डेक्स’ राख्ने तयारी भएकोसमेत जानकारी दिएका छन् ।
– छविलाल बगाले

अब कसरी होला गुन्डागर्दी नियन्त्रण ?
राजधानीमा गुन्डागर्दी बढ्नुमा रात्रिकालीन व्यवसायीको पनि महत्वपूर्ण हात रहेको सुरक्षा निकायको निचोड छ । यसरी गुन्डागर्दी बढेकाले त्यसको नियन्त्रण गर्न सरकारले एसएसपी रमेश खरेललाई प्रहरी परिसर काठमाडौंमा दोहो-याएर जिम्मेवारी तोकेको छ । तर, प्रहरी स्वयम्बाटै रात्री व्यवसायीलाई असमान व्यवहार भइरहेको तथ्य भेटिएको छ ।
काठमाडौं परिसरको नेतृत्व गर्ने अठोटका साथ हालै जिम्मेवारी सम्हालेका एसएसपी खरेलले राजधानीको रात्रि व्यवसायलाई व्यवस्थित तुल्याउने योजना बनाइरहँदा कतिपय व्यवसायीले उनको योजनालाई नै चुनौति दिने गरी अवैध व्यवसाय सञ्चालन गरेको पाइएको छ । यस्ता अनगिन्ती कारोबारीहरूमध्ये कमलादी मोडमा रहेको तिरुपति होटल पनि एक रहेको बुझिएको छ । उक्त होटलले ‘चौबीसघन्टे धन्दा’ निर्वाध सञ्चालन गरिरहेको गुनासो सुनिएको छ । सामान्यतया रेस्टुरेन्ट होटलहरू राति १०–११ बजेसम्म खुला गर्न पाउने सहमति गरिएको भए पनि तिरुपतिचाहिँ चौबीसैघन्टा सञ्चालन हुने गरेको स्थानीयको दाबी छ ।
बताइएअनुसार उक्त होटलमा खासगरी मनोरञ्जनका लागि यौनजोडी जाने गर्छन् । त्यो जानकारी पाएको कमलपोखरी प्रहरी वृत्तलाई उक्त होटल दुहुनो गाई बन्न पुगेको पनि बताइन्छ । एकातिर पुलिसले होटलको संरक्षण गरिदिने, अर्कातर्फ होटल पनि प्रहरीका लागि ‘लैनोगाई’ बनिदिएपछि ‘तैँचुप मैचुप’को अवस्था भएको सूत्रको दाबी छ ।
एक भुक्तभोगीका अनुसार त्यहाँको एउटै कोठा चौबीस घन्टामा तीन–चारथरी ग्राहकको मनोरञ्जन स्थल बन्ने गर्छ । खुलेआम यौनधन्दा भइरहँदा पनि प्रहरीको नजरबन्द हुने गरेको स्थानीयको गुनासो छ । ‘बास बस्ने पाहुनाभन्दा पनि दुई घन्टालाई रिल्याक्स गर्न आउनेहरू बढी हुन्छन्,’ एक स्थानीय व्यवसायीले बताए । उनका अनुसार त्यहाँ रिल्याक्सका लागि कोठा मात्रै नभएर चौबीसैघन्टा खानपिनको पनि व्यवस्था हुन्छ । बिहान पाँच–छ बजे चियाकफी पिउने बेलामा समेत उक्त होटलमा निर्वाध ह्विस्की सर्भ भइरहेको हुन्छ । होटलमा विभिन्न कारण या निहुँमा झगडा या विवाद भयो भने होटल व्यवस्थापनले डाकेका पुलिसले ग्राहकलाई पक्रेर लैजाने गर्छन्, तर चौबीसैघन्टा जाँडरक्सी बेच्ने र यौनधन्दा गर्ने वातावरण मिलाइदिएबापत चर्काे रकम असुल्ने होटल सञ्चालकलाई नै संरक्षण
गर्दै आइरहेको छ । विश्वस्त स्रोतका अनुसार कमलपोखरी प्रहरी वृत्तका प्रमुखको राम्रो आयस्रोत बनेको उक्त होटल अन्य प्रहरी अधिकारी र गस्ती टोलीको भोजनथलो पनि बन्दै आएको र त्यहाँ यदाकदा प्रहरीका
हाकिम पनि रिल्याक्सका लागि युवतीसँगै जाने गरेका छन् । सिन्धुली घर भएका पीताम्बर गौतम उक्त होटलका सञ्चालक हुन् भने नवराज गिरी नामक व्यक्ति उनका साझेदार बनेका छन् ।
विगतमा एयरपोर्टबाट गेस्ट ल्याएर कमिसन लिने गौतम बिनालगानी उक्त होटलको मालिक बन्न पुगेको स्रोतले जनायो । भारतीय मुसलमानको लगानीमा सञ्चालन गरिएको तिरुपति होटल बिस्तारै–बिस्तारै गिरी र गौतमले बिनालगानी हड्प्दै आएको बताइन्छ । माओवादी भूमिगत रहेका बेला उक्त पार्टीको कार्यकर्ता पनि बनेको र पुलिसका लागि जासुसी पनि गरेर आफ्नो पकड जमाउन सफल भएका गौतमले यस अवधिमा अकुत आर्जन गरेको उनलाई नजिकबाट जान्नेहरू बताउँछन् । यसरी तारेहोटलले जस्तो चौबीसैघन्टा व्यवसायका नाममा खुलेआम यौनधन्दा गराउने तिरुपति होटलमाथि नयाँ एसएसपीको ध्यान कहिले पुग्ला ? र, यो होटल प्रहरीकै ‘लैनोभैँसी’ पनि कहिलेसम्म बनिराख्ला ?

मनाङमा मित्रराष्ट्रको महत्वपूर्ण सहयोग
मनाङको तासोप (तारे) गुम्बाको जीर्णोद्धार र रिम्पोचे एवम् लामाहरू बस्नका लागि क्वार्टर निर्माणका लागि मित्रराष्ट्र भारतले दुई करोड ६६ लाख आर्थिक अनुदान सहयोग गर्ने भएको छ । भारतीय सहयोगमा मनाङ जिल्लामा लागू हुने यस पहिलो साना विकास परियोजनासम्बन्धी सम्झौतापत्रमा भारतीय राजदूतावास, मनाङ जिल्ला विकास समिति र तिलिचो खङसार सेवा समितिबीच हस्ताक्षर भएको छ ।
तासोप (तारे) गुम्बा मनाङ जिल्लाका जनताको जीवनमा उल्लेख्य सामाजिक–सांस्कृतिक महत्व राख्ने एक ऐतिहासिक सम्पदा हो । उक्त गुम्बाको संरचना जीर्ण भएकाले यसको जीर्णोद्धार अपरिहार्य बनेको थियो । जीर्णावस्थाका कारण गुम्बावासीले बसोबास र धार्मिक शिक्षा चलाउने क्रममा निकै समस्या भोग्दै आएको परिवेशमा भारतीय सहयोगमा हुने गुम्बाको जीर्णोद्धार तथा रिम्पोचे र लामाहरू बस्नका लागि निर्माण गरिने वासस्थानले मनग्य सुविधा पु-याउने विश्वास लिइएको छ ।
उक्त परियोजना मनाङ जिल्ला विकास समितिद्वारा नेपाल सरकारको विद्यमान नीति–नियमअनुसार कार्यान्वयन गरिने सम्झौतामा उल्लेख छ भने उल्लेखित निकायहरू परियोजनाको गुणस्तरीयता र समयमै समापनको लागि समेत जिम्मेवार रहनेछन् । परियोजना प्रभावकारी ढङ्गले समयमै समापन सुनिश्चित गर्नका लागि जिविसका प्रतिनिधि तथा अन्य सरोकारवालाहरू सम्मिलित एक अनुगमन समिति गठन गर्ने सम्झौता गरिएको बताइएको छ ।
स्मरण रहोस्, भारत सरकारले मनाङका जनताको स्वास्थ्य सुविधाका लागि मनाङ गाविसलाई हालै एउटा एम्बुलेन्ससमेत प्रदान गरेकोे छ ।

अस्पतालले नै रोगी तुल्याउने जोखिम बढेपछि…
स्वास्थ्य प्रदायक संस्था वा हस्पिटललाई रोग निको पार्ने प्रमुख निकाय वा केन्द्र मानिन्छ, तर यदाकदा हस्पिटलले उल्टै बिरामी र चिकित्साकर्मी, आगन्तुक र कर्मचारीलाई नै रोगी बनाइदिन सक्छन् । यस्तो अवस्था त्यतिबेला निम्तिन्छ जब अस्पतालबाट उत्पादित अत्यन्तै हानिकारक फोहोरमैलाको उचित र वैज्ञानिक तवरबाट व्यवस्थापन गरिँदैन । नेपालमा सञ्चालित धेरैजसो स्वास्थ्य संस्थाहरूमा उपयुक्त र वैज्ञानिक हस्पिटलजन्य हानिकारक फोहोरमैला व्यवस्थापन गर्ने प्रणालीको अभावमा तिनलाई अव्यवस्थित तरिकाबाट फालिने, जलाइने वा सङ्क्रमणको उच्च जोखिम भएका ती पदार्थलाई नगरपालिकाको फोहोर व्यवस्थापन प्रणालीमा पठाइने गरेको पाइन्छ, जसले भयावह स्थितिको सिर्जना गराउन सक्छ । जलाउने वा इन्सिनेरेसन गर्ने गर्दा उत्पन्न हुने ‘डाइअक्सिन्स्’ र अन्य प्रदूषणका तत्वहरूले विश्वव्यापी रूपमा प्रदूषण पैmलाउने र नगरपालिकाको फोहोर व्यवस्थापन प्रणालीमा पठाइने हानिकारक फोहोरमैलाले फोहोर व्यवस्थापन गर्ने कर्मचारी र सामुदायिक स्वास्थ्यमै अत्यन्त नकारात्मक प्रभाव पार्ने निश्चित मानिएको छ ।
यस यथार्थबीच नर्भिक इन्टरनेसनल हस्पिटलले काठमाडौंमा हस्पिटलजन्य फोहोर–मैला व्यवस्थापनसम्बन्धी एक विशेष गोष्ठीको आयोजना गरेको छ । आफूले यस क्षेत्रमा खेलेको अग्रणी भूमिका र आफ्नो क्षेत्रबाट उत्पादित हानिकारक फोहोर–मैलालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्ने कुरा सम्प्रेषण गर्न तथा संयुक्त राज्य अमेरिकास्थित हानिरहित स्वास्थ्य सेवाको प्रवद्र्धन गर्ने विश्वव्यापी संस्था ‘ग्लोबल ग्रिन एन्ड हेल्दी हस्पिटल्स् नेटवर्क’को सदस्यता ग्रहण गर्न उक्त कार्यक्रमको आयोजना गरिएको नर्भिकले जनाएको छ ।
हस्पिटलका वार्डहरूबाट सिर्जित फोहोरमैला, तिनको प्रकृति र जोखिमका आधारमा तिनको स्रोतमै छुट्याउनु, उपयुक्त तवरबाट तिनलाई किटाणुरहित पार्नु र व्यवस्थित तरिकाबाट ठेगान लगाउनु ज्यादै महत्वको विषय भएको नर्भिक हस्पिटलले प्रस्ट्याएको छ । हस्पिटलका वार्डहरूमा उत्पन्न हुने फोहोरजन्य पदार्थलाई व्यवस्थित रूपमा ठेगान लगाउने उचित संयन्त्र नभएको खण्डमा त्यसले हस्पिटलका मेडिकल/प्यारामेडिकल कर्मचारी, बिरामीहरू तथा सम्बन्धित वातावरण र समुदायलाई गम्भीररूपमा खतरामा पार्न सक्ने पनि उल्लेख गरिएको छ । गत आइतबार नर्भिकमा आयोजित उक्त कार्यक्रममा सो अस्पतालको फोहोर व्यवस्थापन इकाइ र वार्डहरूको अवलोकन भ्रमणसँगै सुरु भएर अन्तरक्रियात्मक गोष्ठीमा रूपान्तरित भएको थियो । सो अवसरमा सहभागी सदस्यहरूले हेल्थ केयर फाउन्डेसन र ‘हानिरहित स्वास्थ्य सेवा कार्यक्रम’ अमेरिकाको प्राविधिक सहयोगमा नर्भिकमा स्थापित इन्सिनेरेटरबिनाको वैज्ञानिक फोहोर व्यवस्थापन इकाइको अवलोकन भ्रमण गरेका थिए । नर्भिकले यस सम्बन्धमा अत्यन्त दूरगामी कार्यको थालनी गरी अन्य स्वास्थ्य संस्थाका निमित्त उदाहरणीय कार्य गरेको भनी सहभागीहरूले प्रशंसा गरेका थिए ।
कार्यक्रममा हेल्थ केयर फाउन्डेसनका कार्यकारी निर्देशक महेश नकर्मीले हाल नेपालमा विद्यमान हस्पिटलजन्य फोहोर व्यवस्थापन प्रणाली र नर्भिकले अपनाएको वैज्ञानिक प्रणालीबारे रोचक प्रस्तुति गरे । संयुक्त राज्य अमेरिकाको हानिरहित स्वास्थ्य सेवा कार्यक्रमकी निर्देशिका रुथ स्ट्रिन्जरले विश्वभरका स्वास्थ्य संस्थाहरूका वातावरणीय एवम् फोहोरजन्य अवस्थाबारे प्रस्तुति गरेकी थिइन् भने विश्व स्वास्थ्य सङ्गठन, दक्षिणपूर्वी एसियाकी स्वास्थ्य सल्लाहकार तथा निर्देशिका श्रीमती पेदेनले स्वास्थ्य संस्थाहरूले अपनाउनुपर्ने सावधानीबारे बृहत् प्रस्तुति गरिन् । यस्तै, ग्लोबल ग्रिन एन्ड हेल्दी हस्पिटल्स् नेटकर्वककी निर्देशिका रुथ स्ट्रिन्जरले नर्भिकलाई ग्लोबल ग्रिन एन्ड हेल्दी हस्पिटल्स् नेटवर्कको सदस्यता प्रदान गरिन् । सो सदस्यता प्राप्त गर्ने नर्भिक राष्ट्रकै पहिलो हस्पिटल बनेको छ । कार्यक्रममा नर्भिकका चिकित्सा निर्देशक डा. आरके सिंहले सहभागीहरूको स्वागत गरेका थिए भने अध्यक्ष वसन्त चौधरीले व्यवस्थित फोहोर व्यवस्थापन गर्ने कार्यमा आफ्नो संस्थाले भोगेका कठिनाइहरूमा प्रकाश पार्दै भविष्यमा आफ्नो संस्थालाई स्वास्थ्य सेवाका हरेक मामिलामा एक विश्वस्तरीय संस्था बनाउन आपूm लागिपर्ने प्रतिबद्धता दोहो-याएका थिए ।

खड्गीलाई बेलायतबाट सहयोग
नेकपा–माओवादीले गरेको बन्दका क्रममा बेवारिसे बम खेलाउँदा पड्किएर हात गुमाउन पुगेका आठ वर्षीय बालक समीर खड्गीलाई आर्थिक सहयोग प्राप्त भएको छ । दोस्रो संविधानसभा चुनावको समयमा नेकपा–माओवादीले छाडेको बेवारिसे बम खेलाउँदा खड्गी काठमाडौंको भोटेबहालमा दुर्घटनामा परेका थिए । खड्गीलाई बेलायतमा बस्ने उत्साहित युवाहरूले १६ हजार रुपैयाँ सहयोगस्वरूप उपलब्ध गराएका छन् । दुई दिदीका एक भाइ समीर अहिले आफ्ना बाबुआमाका साथ भोटेबहालमै बस्दै आएका छन् । खड्गीलाई बेलायतबाट सोनिका मगर, सरिता राई सुब्बा, मनोज शेरचन, विमल शेरचन, डिना शेरचन र अमन गौचनले रकम उपलब्ध गराएका हुन् ।

‘ससाज’को धन्दामाथि प्रहरीको नजर
महानगरीय प्रहरी परिसर सोह्रखुट्टेमा केही दिनअघि मात्र खटाइएका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहले आएको हप्ता दिनमै कामको थालनी सुरु गरेपछि त्यस एरियाका गुन्डा र सफेद भेषमा कालो धन्दा गर्नेहरू आतङ्कित भई भागाभाग गर्न थालेको बुझिएको छ । कार्यभार सम्हालेलगत्तै त्यस एरियाका व्यवसायी, सङ्घ/संस्थाका प्रतिनिधिसँगको भेटघाट कार्यक्रममा प्रनाउ शाहीले आफूले गलत गरेर पानी पनि नखाने दाबी गर्दै गलत काम गर्नेलाई कुनै हालतमा नछोड्ने चेतावनी दिए । सो क्रममा आफूमातहतका कुनै पनि दर्जाका कर्मचारीले गलत कार्य गरेको थाहा पाएमा खबर गरिदिन सबैसँग आग्रह गर्दै उनले जनहितका लागि प्रहरीले गर्ने सबै काम–कारबाहीमा हातेमालो गर्नसमेत अनुरोध गरेका थिए । सङ्गठनले दिएको काम र उद्देश्य पूर्तिका लागि जस्तोसुकै चुनौतीसँग जुध्न तयार रहेको डीएसपी शाहीको कथन थियो । शाहीले ठमेल एरियामा हुने भनिएको वेश्यावृत्तिलगायत अन्य सबै अवैध कामलाई निमिट्यान्न नपारेसम्म आफूलाई सन्तोष नमिल्ने पनि बताए ।
सोह्रखुट्टे प्रहरीले हेर्ने एरियामा हुने सबैखाले बदमासीका बारेमा आफू पूर्ण जानिफकार भएकाले कुनै पनि समय त्यस्ता तत्वलाई कारबाहीको दायरामा ल्याउने वचन दिँदै सबै व्यवसायीलाई नैतिकवान बनेर आफ्नो व्यवसाय ढुक्क भएर चलाउन पनि उनले आग्रह गरेका थिए । आफ्नो अधिकार खोज्दा अरूको अधिकारको पनि ख्याल गर्न आग्रह गर्दै मसाजका नाममा ‘ससाज’ हुने गरेको गुनासो आएकाले उक्त व्यवसाय गर्ने व्यवसायीलाई पनि व्यवसायलाई मर्यादित बनाउन डीएसपी शाहीले आग्रह गरेका थिए ।
यसैबीच जनताको स्वास्थ्यसँग खेलवाड गर्दै विभिन्न खाद्य तथा औषधिजन्य पदार्थ प्रयोग गरेर रक्सी बनाउन तयार पारेको कुहिएको जाँड शाहीको विशेष निगरानीमा बरामद भएको छ । औषधि प्रयोग गरी कुहाइएको ७५ प्याकेट कोदो, एक सय लिटर लोकल रक्सी, भुस, गहुँलगायत कुहिएको चामलसहितका ११ वटा ड्रम, थुप्रै मात्रामा कुहाइएको जाँड, रक्सी बनाउन प्रयोग गरिने भाँडावर्तनसमेत बरामद भएको बताइएको छ । म्हेपी क्षेत्रबाट बरामद गरिएको जाँडलाई सम्बन्धित निकायको रोहवरमा नष्ट गरिएको बताइएको छ ।

स्वार्थी समूहले उक्साएपछि यता न उता
विगत सात वर्षअघि गठन भएको नेपाली काङ्गे्रस गुल्मी–काठमाडौं सम्पर्क समितिका अध्यक्ष माधवप्रसाद खरेल गलत सल्लाहमा परेपछि बलिको बोको बन्न पुगेका छन् । सात वर्षदेखि काम गर्न पनि नसकेको र पद छाड्न पनि अप्ठ्यारो मानिरहेका अध्यक्ष खरेलले बल्लतल्ल डाकेको अधिवेशनबाट आफूअनुकूलको नेतृत्व नआउने देखेपछि काङ्गे्रसभित्रका केही व्यक्तिको उक्साहटमा लागेर अधिवेशन स्थगित गरेकोमा सुन्धाराको एक गेस्टहाउसमा बसेर अधिवेशनविरोधी गतिविधि सञ्चालन गर्ने उक्त सानो समूहलाई बेवास्ता गरी त्यही समितिका पदाधिकारीले असोजमा भव्य अधिवेशन सम्पन्न गरेका थिए । काङ्ग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीको प्रमुख आतिथ्यता, गुल्मी काङ्ग्रेसका उपसभापति भुवनप्रसाद श्रेष्ठको विशेष आतिथ्यता तथा सचिव छन्दबहादुर पहराई, नेविसङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् गुल्मी क्षेत्र नं. ३ का महाधिवेशन प्रतिनिधि महेन्द्र भण्डारी, नेविसङ्घ गुल्मीका पूर्वसभापति महेन्द्र पाण्डेय, महाधिवेशन प्रतिनिधि वेद थापामगर, नेविसङ्घ गुल्मीका सभापति कृष्ण अर्यालको विशेष सक्रियतामा अधिवेशन सम्पन्न गरिएको थियो । सोही अधिवेशनको सभापतित्व ग्रहण गरेर नेतृत्व सुम्पने सोचमा पुगेका तत्कालीन अध्यक्ष माधव खरेललाई त्यो झुण्डले आउन नदिई अनेक प्रलोभन दिई अड्याएर राखेको थियो । कार्यकर्ताको ठूलो दबाबबाट गरिएको ऐतिहासिक अधिवेशनबाट निर्वाचित अध्यक्ष कृष्णप्रसाद सापकोटाले छोटो अवधिमा दु्रतगतिले काम गर्न थालेपछि अधिवेशनविरोधीहरू छटपटाउन थालेका छन् । संविधानसभा निर्वाचनमा पार्टीका उम्मेदवारको पक्षमा उत्साहपूर्ण क्रियाकलाप सञ्चालन गरेपछि सापकोटा अध्यक्ष रहेको समितिको छवि ह्वात्तै बढेको थियो । संविधानसभाको निर्वाचनपश्चात् गुल्मेली बिरामीलाई रगत उपलब्ध गराउनेदेखि विविध समस्यामा पर्नेहरूका निम्ति पुलको काम गर्ने, निःशुल्क स्वास्थ्यशिविर सम्पन्न गर्नेलगायतका कार्यक्रम सम्पन्न गरेपछि खरेलपक्षीय समूहमा छटपटी बढेको बताइन्छ ।
जिल्ला पार्टीसभापति चन्द्रबहादुर केसीसमेत अधिवेशन गर्ने सोचमा हिँडिरहेका बेला पूर्वसभापति त्रैलोक्यप्रताप सेन, रुद्रमणि भण्डारी, सभासद चन्द्र भण्डारी, श्रीमती सुवर्ण ज्वारचन, कृष्णबहादुर छन्तेल र पुराना विद्यार्थी नेता एवम् बुद्धिजीवी योगराज कँडेलले कुनै पनि हालतमा अधिवेशन होइन मिलाएर लैजानुपर्ने प्रस्ताव गरेपछि सभापति केसी सकारात्मक भएका थिए । ऐतिहासिक अधिवेशनबाट निर्वाचित कृष्ण सापकोटाको समितिलाई वाइपास गरेर जाँदा उनीहरूले छोटो अवधिमा गरेको उल्लेखनीय कामका कारण सङ्गठनमा नैराश्यता छाउने भन्दै पार्टी सभापतिलगायत गुल्मीको शीर्ष नेतृत्वले माधव र कृष्ण दुवै समितिबाट दुई/दुईजना प्रतिनिधि ल्याएर वार्ता गराएका थिए । वार्तामा कृष्ण सापकोटाले पूर्वसमितिले आह्वान गरेको र सदस्यता वितरण गरेको आधारमै अधिवेशन सम्पन्न भएकाले आफ्नै नेतृत्वमा रहेको समिति आधिकारिक भएको नजिर पेस गरेका थिए । सापकोटाले मिलाउने क्रममा आफू बोझ नहुने गरी माधव नेतृत्वको समितिले अधिवेशन गरे आफूहरूले शान्तिपूर्ण तरिकाले प्रतिकार गर्ने बताएपछि शीर्ष नेतृत्वले के गर्दा समाधान हुन्छ भनेर सुझाव मागेका थिए । नेतृत्वको आग्रहप्रति सकारात्मक हुँदै सापकोटाले दुईवटै समिति विघटन गरी एउटा स्वतन्त्र तदर्थ समिति गठन गरेर त्यही समितिले यथाशक्य छिटो अधिवेशन गर्नुपर्ने सुझाव राखेपछि वार्तामा सहभागी सबैले त्यही प्रस्ताव उत्तम ठानेर नरहरि घिमिरे संयोजक रहेको पाँच सदस्यीय तयारी समिति गठन गरिदिएको छ । तयारी समितिमा योगराज कँडेल, पर्शुराम घिमिरे, राजकुमार श्रेष्ठ र पूर्वसमितिका सचिव विष्णु केसी सदस्य रहेका छन् । राजनीतिमा लामो समयको क्रियाशीलता रहेर पनि गलत र स्वार्थी तत्वको उक्साहटमा लाग्दा खरेल भने बिचल्लीमा परेका छन् ।

बीपीले नमान्दा पार्टीलाई धोका !
नेपाली काङ्ग्रेसका संस्थापक सदस्य रामहरि जोशीले नेपाली काङ्ग्रेसलाई समायानुकूल अघि बढ्न नौबुँदे सुझाव दिँदै सोअनुसार नभए काङ्ग्रेस फेरि पछाडि पर्ने चेतावनी दिएका छन् । सर्लाही–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको एक कार्यक्रममा पुराना नेता जोशीले एक वर्षभित्र जसरी पनि संविधान जारी गर्नुपर्ने, प्रजातान्त्रिक समाजवादको नीति तथा कार्यक्रम अघि बढाउनुपर्ने, सबैलाई मिलाउन राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई अघि बढाउनुपर्ने, भ्रष्टाचारविरोधी र सुशासनका लागि अभियान चलाउनुपर्ने, सबैको पहिचान हुने गरी संघीयता निर्माण गर्नुपर्ने, मधेस सन्दर्भमा प्रस्ट धारणा सार्वजनिक गर्नुपर्ने, समानुपातिक प्रणालीमा गम्भीर ढङ्गले सोच्नुपर्ने, व्यावहारिक शिक्षा र सुलभ अस्पतालको निर्माण गर्नुपर्ने, घरेलु र कृषिमा आधारित उद्योगलाई प्रवद्र्धन गरी रोजगारी सिर्जना गर्नुपर्ने सुझाव दिएका छन् ।
जनताले काङ्ग्रेसलाई सिद्धान्तले भन्दा पनि एमाओवादीको अतिवादबाट वाक्क भएर यसपटक भोट दिएको दाबी गर्दै यो अवसरको सदुपयोग गरी छवि सुधार गर्न सुझाव दिए । जोशीले विगतमा आफूले तुलसी गिरीलाई पार्टीमा नभित्याउन बीपी कोइरालालाई सुझाव दिँदा अटेर गरेकोले पछि धोका पाएको सन्दर्भ उल्लेख गर्दै त्यसपछि पनि यस्ता अनेक सुझाव पटक–पटक दिएको र नेतृत्वले नमान्दा पार्टी समस्यामा फस्दै आएको आरोप लगाए ।

वीरेन्द्रमाथि बम हान्नेको सम्झना
धनकुटा/ तत्कालीन राजा वीरेन्द्रमाथि बम प्रहार गरेर काङ्ग्रेसभित्र नाम कमाएका सहिद भीमनारायण श्रेष्ठको स्मृति दिवसको अवसरमा गत साता नेपाली काङ्ग्रेस धनकुटाले श्रद्धाञ्जली कार्यक्रमको आयोजना ग-यो । सहिद श्रेष्ठकै नाममा स्थापित स्थानीय चोकमा अवस्थित श्रेष्ठको सालिकमा माल्यार्पण गर्दै नेपाली काङ्ग्रेस धनकुटाका सचिव नवीनकिशोर शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहिद श्रेष्ठका जेठा सुपुत्र मनोजनारायण श्रेष्ठ, दिदी प्रेमकुमारी, नेपाली काङ्ग्रेस धनकुटाका सल्लाहकारद्वय गोपालप्रसाद अधिकारी, विश्वप्रकाश श्रेष्ठ, कोषाध्यक्ष विकास प्रधान, प्रचार विभाग प्रमुख एवम् नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव विजयसन्तोषी राई, नेपाल महिला संघकी केन्द्रीय सदस्य टीका भण्डारी, जिल्ला अध्यक्ष अम्बिका राई, नेपाल तरुण दल धनकुटाका अध्यक्ष दिनेश राई, नेविसंघ धनकुटा क्याम्पसका अध्यक्ष प्रकाश मगर, किसान संघका अध्यक्ष इन्द्र ढुंगेल, नेपाली काङ्ग्रेस धनकुटा नगरसमिति सभापति पुरेन्द्रलाल श्रेष्ठलगायतले सहिद भीमनारायण श्रेष्ठको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
वि.सं. १९९४ असारमा धनकुटा–६ मा जन्मिएका सहिद भीमनारायणले ०३० साल चैत ३ गते विराटनगरमा तत्कालीन राजा वीरेन्द्रको सवारीमाथि बम प्रहार गरेका थिए । उक्त घटनालगत्तै उनलाई पक्राउ गरी लामो समय जेल राखिएको थियो भने ०३५ साल माघ २६ गते कोसी टप्पुमा लगेर तत्कालीन सरकारले उनको गोली हानी हत्या गरेको थियो । उनै सहिदको सम्झना र सम्मानमा नेपाली काङ्ग्रेसले प्रत्येक वर्ष कार्यक्रम आयोजना गर्दै आएको छ ।

बेलायती ‘लेबर पार्टी’मा शिवजी
बेलायतको लेबर पार्टीको स्थानीय अधिवेशनहरू धमाधम चलिरहेको परिवेशबीच यही फेब्रुअरी ५ तारिखका दिन वेल्सस्थित ल्यानरोम्नी क्षेत्रको लेबर पार्टीको अधिवेशनमा घटना र विचार साप्ताहिकका स्तम्भकारसमेत रहेका शिवजी श्रेष्ठ संगठन विभाग प्रमुख (मेम्बरसिप सेक्रेटरी)मा निर्वाचित भएका छन् । उनी सो पदमा पुनर्निर्वाचत भएका हुन् ।
आगामी वर्ष बेलायती संसदीय आमनिर्वाचन हुन लागेको कारणले महत्वपूर्ण रूपमा हेरिएको सो अधिवेशनमा मेम्बरसिप सेक्रेटरीका लागि कार्डफी काउन्सिलका निवर्तमान डेपुटी लर्ड मेयर जोन किथले समेत मनोनयन दर्ता गराएका थिए । पछि सर्वसम्मत रूपमा छनोट गर्ने प्रयासस्वरूप जोन किथले आफ्नो नाम फिर्ता लिएपछि शिवजी श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् । पहिलो वेल्स फस्र्ट मिनिस्टरसमेत निर्वाचित भएको परम्परागत रूपमै लेबर पार्टीको अत्यधिक प्रभाव रहेको उक्त क्षेत्रको पार्टी अध्यक्ष पदमा स्थानीय कम्युनिटीका अध्यक्षसमेत रहेका लिन्डा बार्टलेट, सचिवमा कार्डफी काउन्सिलका लर्ड मेयरसमेत रहेका डेरेक मोर्गान निर्वाचित भएका बताइएको छ ।
बेलायती राजनीतिमा विभिन्न समुदायका बढ्दो सहभागितामा नेपाली समुदायका विभिन्न व्यक्तिको उपस्थितिबीच शिवजी श्रेष्ठ मेम्बरसिप सेक्रेटरीमा पुनर्निर्वाचित हुनुलाई स्थानीय नेपाली समुदायले उत्साहबद्र्धक रूपमा लिएका छन् ।

जापानिज इलेक्ट्रिक स्कुटर बजारमा
विभिन्न किसिमका इलेक्ट्रिक स्कुटर, बाइक तथा तीनपाङ्ग्रे इलेक्ट्रिक टुकटुक उत्पादन गर्दै आएको जापानिज कम्पनी ‘टेरा मोटर’ले इलेक्ट्रिक स्कुटर नेपाल भित्याएको छ । टेराले पहिलोपटक ‘सिड ६० अल्फा’ नामक स्कुटर नेपालमा लन्च गरेको हो । आफ्ना नयाँ उत्पादनहरू आकर्षक हुनुका साथै सञ्चालन खर्च कम लाग्ने तथा प्रदूषणरहित रहेको कम्पनीले दाबी गरेको छ । उच्चतम् गति प्रतिघन्टा ५५ किमि रहेको इलेक्ट्रिक स्कुटर सिड–६० अल्फा एकपटक चार्ज गर्दा चार्जिङ मूल्य १५ रुपैयाँभन्दा कम लाग्ने र फूल चार्ज गरेपछि ४५ किमि चल्ने तथा सामान्य मोबाइल फोन चार्ज गर्ने सकेटमै पनि चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यस हिसाबले पेट्रोलियमबाट चल्ने स्कुटरभन्दा यो धेरै सस्तो पर्न आउँछ ।
संसारमा बढ्दै गएको ग्लोबल वार्मिङ र बढ्दो प्रदूषणप्रति चिन्ता र चासो पैदा भइरहेको परिवेशमा आफ्नो यस उत्पादन वातावरणमैत्री हुनुका साथै स्वास्थ्यसँग सम्बन्धित समस्यालाई कम गर्ने विश्वास लिइएको टेरा मोटर कम्पनीका प्रतिनिधि कोसी कुवाहाराको कथन छ । टेरा मोटरको उत्पादन नेपालमा बिक्री तथा प्रवद्र्धनको जिम्मा पाएको ‘फेयर अटो’का निर्देशक सैलेश गोयन्काले काठमाडौंको प्रदूषणलाई घटाउन सहयोग पुग्ने अपेक्षाका साथ इलेक्ट्रिक स्कुटर र अटो भित्याएको उल्लेख गर्दै निकट भविष्यमै इलेक्ट्रिकल मोटर पनि भित्याएर बिक्री–वितरण गरिने जानकारी दिए ।

पाइलट परीक्षामा धाँधलीको आरोप
नेपाल वायुसेवा निगमद्वारा लिइएको जुनियर को–पाइलटको परीक्षामा सहभागी पाइलटहरूले परीक्षा धाँधलीपूर्ण रहेको भन्दै रद्द हुनुपर्ने माग गरेका छन् । परीक्षामा सहभागी भएका ५० भन्दा बढी पाइलट आकाङ्क्षीले धाँधलीको निष्पक्ष छानबिनको माग गरेका हुन् ।
निगमको परीक्षामा सहभागी भएका पाइलट शिव पौडेलले निगमको परीक्षा मर्यादाविपरीत भएकाले तत्काल रोक्न माग गरे । परीक्षाको नाममा निगमभित्र आफ्ना मान्छे घुसाउन जे–जे गरियो, त्यसले भोलि निगमको भविष्यमाथि नै समस्या खडा गर्ने दाबी गर्दै उनले स्टाफ कलेजको अडिटोरियम हलभित्र दुई सय पाँचमध्ये एक सय ५० परीक्षार्थीलाई एउटै हलमा राखेर इन्टरनेट र मोबाइलको प्रयोग गराँउदै छानी–छानी परीक्षा उत्तीर्ण गराएको आरोप लगाए ।
निगमको परीक्षा ‘माछा बजार’जस्तो भएको टिप्पणी गर्दै उनले दुई सय पाँच परीक्षार्थीमध्ये एउटै हलमा किन त्यति धेरै परीक्षार्थी राखिए र किन त्यही हलमा इन्टरनेट र मोबाइलसमेत प्रयोग गर्न दिइयो ? भन्ने प्रश्न गरे । निगमभित्र भएको धाँधलीबारे आफूहरूको उजुरीको आधारमा अख्तियारले फाइल मगाएको भन्दै अख्तियारले परीक्षा रोकेर आफूहरूको मर्म बुझ्ने विश्वास पनि पीडित परीक्षार्थीले गरेका छन् ।
नेपालमा निजी क्षेत्रका विमान कम्पनीले प्रत्येक वर्ष जुनियर को–पाइलट लिने गरे तापनि लामो समयसम्म नेपाल वायुसेवा निगमले पाइलटको विज्ञापन गरेको थिएन । लामो प्रतीक्षापछि नेपाल वायुसेवा निगमले गत जेठमा जुनियर को–पाइलटको विज्ञापन गरेको थियो ।

त्रिविका प्राध्यापकलाई चाहियो यस्ता सुविधा
त्रिभुवन विश्वविद्याल प्राध्यापक संघका अध्यक्ष योगेन्द्रनारायण बडबरियाले त्रिविलाई सहमतिको नाममा भागबन्डाबाट चलाएर विकृत बनाएको आरोप लगाएका छन् । आफूहरूले नियमअनुसार चलाउनुपर्छ भनेर दिएको सुझाव बेवास्ता गरिँदै आएकोले आन्दोलनको तयारी गरेको उनले जानकारी दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित त्रिविमा सुधार गर्न सके अझै यसको सम्भावना जीवित रहेको भन्दै उनले त्यसैका लागि आफूहरूले २१ बुँदे माग अघि सारेको बताए ।
प्राध्यापक संघले अघिसारेका मागमा त्रिविमाथिको हस्तक्षेपको अन्त्य, विश्वविद्यालय टुक्र्याउन नहुने, साउन १ देखिको तलबमान अविलम्ब उपलब्ध गराउनुपर्ने, सेमेस्टर प्रणाली छलफलबाट मात्र अघि बढाउनुपर्ने, उपप्राध्यापकको स्थायी दरबन्दी स्वीकृत गराउनुपर्ने, उपप्रशिक्षकदेखि प्राध्यापकसम्मको विज्ञापन गर्नुपर्ने, त्रिवि सञ्चयकोषलाई कर्मचारी सञ्चयकोषमा गाभिनुपर्ने, तीन महिनामा परीक्षाफल प्रकाशित गरिनुपर्ने, प्राज्ञिक भत्ता दुई हजार बनाइनुपर्ने, दश लाखको दुर्घटना बिमा गर्नुपर्ने, एक दिनको तलबबराबर ग्रेडको व्यवस्था गरिनुपर्ने, पेन्सन कोषमा वर्षेनी एक अर्ब जम्मा गर्नुपर्नेलगायत रहेका छन् । यी माग पूरा नगरे फागुन १ गते त्रिविअन्तर्गतका ६० वटा आङ्गिक क्याम्पस र चारवटा अनुसन्धान केन्द्रमा साङ्केतिक कलम बन्द गर्ने घोषणा सङ्घले गरेको छ । उल्लेखित मागमा बेवास्ता गरे अझै कडा आन्दोलन गर्ने चेतावनीसमेत सङ्घले दिएको छ ।

धार्मिक महत्वको ऐरावती क्षेत्र उपेक्षित बनेपछि…
– मुक्तिनाथ भुसाल
अर्घाखाँची र प्युठान जिल्लाको सिमानामा अवस्थित श्री अमरेश्वर महादेव मन्दिर प्युठान जिल्लामा पर्दछ । घनघोर जङ्गलको बीचमा रहेकाले होला महादेव मन्दिर संरक्षणको अभावमा रुग्ण बनेको छ । मन्दिरका भित्ता र छाना जीर्ण अवस्थामा छन् । प्युठान जिल्लाको दाङवाङ– ३ सल्लिकोटमा रहेकोे श्री अमरेश्वर महादेव मन्दिमा महादेवले सतिदेवीको शव बोकेर भौँतारिने क्रममा महत्वपूर्ण अङ्ग पतन भएको कारण मनुष्य जीवनमा गरेका धर्म र तीर्थलाई पूर्णता दिनका लागि यो स्थानको दर्शन गर्नुपर्ने जनविश्वास रहेको छ ।
माघेसङ्क्रान्तिमा भव्य मेला लाग्ने यस मन्दिरमा प्रायः दिनहुँ भक्तजन र श्रद्धालुको भीड लाग्छ । श्री अमरेश्वर महादेव मन्दिरदेखि पाँच मिनेट तलपट्टि दुई नदीको सङ्गमस्थल रहेको छ, जसलाई ऐरावती भनिन्छ । एउटै मुहानबाट निस्केका माण्डवी नदी प्युठानबाट र झिमरुक नदी अर्घाखाँचीबाट आई यस स्थानमा एक भएका कारण श्रद्धालुहरू ऐरावतीमा स्नान गरी श्री अमरेश्वर महादेव मन्दिरको दर्शन गर्ने गर्दछन् । यसरी दर्शन गरेमा मनोकामना स्वतः पूरा हुने र जीवनमा गरेका धर्मकार्यले पूर्णता पाउने श्रद्धालु भक्तजन विश्वास गर्छन् ।
यो धाममा हालसम्म पनि यातायातका साधन पुग्न सकेका छैनन् । झिमरुक नदीमा एउटा पक्की वा कच्ची पुल निर्माण नभएको कारण बर्खाको समयमा अर्घाखाँचीको बाटो श्रद्धालु भक्तजन पुग्न सक्दैनन् । प्युठान जिल्लाअन्तर्गत दाङवाङ र बरौला गाविसलगायतका स्थानीयलाई दैनिक उपभोगका सामान खरिद गर्नका लागि पायक पर्ने अर्घाखाँची जिल्लाको ठाडा, अमराई आउन पनि कठिनाइ छ । अर्घाखाँचीको ध्यान नपुगेको यो पवित्र स्थानप्रति प्युठानले पनि खासै केही गर्न सकेको देखिँदैन । करिब बीस वर्षअगाडि प्युठानको बडडाँडादेखि यस स्थानसम्म सडक विस्तारका लागि भन्दै सरकारी बजेट र जनश्रमदानमा करिब २२ किलोमिटर कच्ची सडक खनिएको भए पनि सडकको स्तरोन्नति हुन नसक्दा झनै जीर्ण अवस्थामा रहेको छ । बडडाँडादेखि पालुथान हुँदै हंसपुरसम्म जिप चलेका भए पनि हंसपुरदेखि ऐरावतीसम्मको सडक सवारीसाधनका लागि उपयुक्त नभएको प्युठानका सञ्चारकर्मी सलिम अन्सारी बताउँछन् ।
अधिकांश समितिलगायत स्थानीय निकायले विनियोजन गरेको बजेटमा यो सडकको उद्धार हुन नसकेको कारण अर्घाखाँची क्षेत्र नम्बर २ का सभासद् दुमनसिंह थापाले सकभर पिच नभए स्तरयोग्य सडक पु-याइदिन्छन् कि भन्ने आशामा स्थानीयहरू रहेको बुझिएको छ । जिल्लाको पाणिनी तपोभूमिदेखि सेङलेङ गाउँसम्म लेकैलेक कल्पना पनि गर्न नसकिएको ठाउँबाट मोटरबाटो पु-याई आन्तरिक र बाह्य पर्यटक भित्याउने वचन दिई संविधानसभामा पुगेका थापालाई यो योजना सामान्य सावित हुन सक्छ । सभासद् थापाले अलिकति वा दुई–चार करोड यो क्षेत्रमा फ्याँकिदिए भने पवित्र स्थानको चहलपहलमा मात्र सुधार नआई ग्रामीण भेगमा उत्पादित कच्चा पदार्थलगायत कृषिजन्य वस्तुको ढुवानीमा सहजता आउनुका साथै दुई जिल्लाको सुमधुर सम्बन्ध पनि बढेर जानेछ ।
ऐरावतीबाट एक भई बगेको नदी राप्ती नदी कहलिन्छ । यहाँबाट २० मिनेट पैदल यात्रामा नौमुरे जलविद्युत् आयोजनाको सेन्टर प्वाइन्टमा पुग्न सकिन्छ । अर्घाखाँचीमा पर्ने नौमुरे जलविद्युत् आयोजनालाई कार्यान्वयन गर्ने हो भने राज्यले दुई सय पैंतालीस मेगावाट विद्युत् प्राप्त गर्न सक्दछ । पञ्चायती सरकारको पालामा दैनिक रूपमा कामको सुरुवात भए पनि पञ्चायतको समाप्तिपछि सम्पूर्ण कर्मचारी उक्त स्थानबाट हिँडेको र हालसम्म यो योजना कार्यान्वयन हुन नसकेको यसअघि पनि समाचार सार्वजनिक भइसकेको हो । चारैतर्फ हरियाली र सुसाइरहेका नदीसँगै रहेको पवित्रधाम श्री अमरेश्वर महादेव मन्दिर एक–आपसमा नजिक–नजिक रहे पनि यातायातका साधनहरू कतैबाट पुग्न सकेका छैनन् । झिमरुक र माण्डवी नदीमा अत्यन्तै राम्रो बालुवा र ढुङ्गा–रोडा रहेका छन् । झिमरुकमा पुल निर्माण र यातायातको सुविधा पु-याउने हो भने राज्यले तिनको पनि सदुपयोग गरी मनग्य आम्दानी गर्न सक्नेछ ।