छुट्दै-समातिँदै गरेका प्रकाण्डले ओली-प्रचण्डमाथि लगाए यस्तो आरोप

छुट्दै-समातिँदै गरेका प्रकाण्डले ओली-प्रचण्डमाथि लगाए यस्तो आरोप


विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री केपी ओली र सत्ता–साझेदार प्रचण्डले जनताको अदालतमा उभिएर जवाफ दिनुपर्ने चेतावनी दिएका छन् । ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनी मुद्दामा बुधबार भोजपुर जिल्ला अदालतले ६० हजार धरौटी लिएर रिहा गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रकाण्डले त्यस्तो प्रतिक्रिया दिएका हुन् ।

नुवाकोट जिल्ला अदालतबाट गत मंगलबार रिहा गरेपछि प्रवक्ता प्रकाण्डलाई भोजपुर पुर्याइएको थियो । तर, भोजपुर जिल्ला अदलतले पनि रिहाई दिएलगत्तै उनलाई पुनः नियन्त्रणमा लिइए दाङ लगिएको छ ।

यसरी सर्वोच्चदेखि जिल्ला अदालतहरूबाट समेत पटक–पटक रिहाइको आदेश दिए पनि प्रकाण्डलाई पुनः पक्राउ गर्दै जिल्ला–जिल्लामा लगेर मुद्दा लगाउने उपक्रम जारी छ । सरकारको यस रवैयाप्रति आक्रोश व्यक्त गर्दै नेकपाका दोस्रो बरियतामा रहेका नेता एवम् प्रवक्ता प्रकाण्डले केपी–प्रचण्डहरूले आफैले बनाएको संविधान तथा कानुन, आफ्नै अदालतको फैसलाविपरीत गैरकानुनी व्यवहार गरेको आरोप लगाएका हुन् । आफ्नो पार्टीले केही वर्षअघि नै मुलुक प्रतिगमनतर्फ जाँदैछ, प्रचण्ड–केपीहरू साम्राज्यवादीको पिछलग्गु बन्दैछन् भनी ठहर गरेको स्मरण गर्दै उनले अहिले त्यो सत्य सावित हुन पुगेको धारणा प्रकट गरे ।

यसअघि प्रकाण्डलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्दा चलाइएको थियो । उनीसहित नेकपाका उच्च तहका नेताहरू पदमबहादुर राई ‘विकास’, देवान राई ‘दिपेश’, किरण राई, चन्द्र बुढाथोकीलगायतविरुद्ध जिल्ला अदालत भोजपुरमा विस्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको बुझिएको छ ।

यसै क्रममा आफ्ना नेतालाई अदालतले छोड्ने तर प्रहरीले पक्राउ गर्ने गरेर राजनीतिक प्रतिसोध साधेको नेकपाले जनाएको छ । सरकारले कानुनको खिल्ली उडाउने काम गरिरहेको भन्दै पत्रकार र मानवअधिकारकर्मीहरूले समेत ओली सरकारको विरोध गरिरहेका नेकपाको भनाई छ ।