नेपाली राजनीति र विकृत यथार्थ

नेपाली राजनीति र विकृत यथार्थ


– कृष्ण पहाडी

एउटा यात्री निवासमा नवआगन्तुकले प्रबन्धकसमक्ष अनुरोध गरे, ‘कृपया मलाई एउटा शान्त कोठा उपलब्ध गराइदिनुस् ।’ प्रबन्धकको जवाफ थियो, ‘हाम्रा सबै कोठाहरू शान्त छन्, केवल यात्रीहरू मात्र हल्ला गर्छन् ।

नेपालको राजनीतिमा ठीक यस्तै प्रकारको बहस अहिले प्रारम्भ भएको छ । राजनीतिक चरित्र नै नभएका मानिसहरू राजनीतिमाथि हावी हुन थालेपछि मुलुकको दुर्दशा भयो भनेर गोहीको आँसु चुहाउनु कति सान्दर्भिक छ ? अझ स्पष्ट शब्दमा भन्ने हो भने राजनीतिक चरित्र र इमानदारिताको अभावमा अराजकताले मात्र फस्टाउने मौका पाउँछ । अराजकताको खेती गर्नेहरूका लागि सर्वोत्तम मौसम अहिलेको नेपालको राजनीतिक परिवेश हो ।

नेपाली राजनीतिज्ञहरू अरूको सम्मान गर्न जान्दैनन्, तर आफू खोज्छन् । राजनीति सेवाका लागि नभएर कमाइको एउटा दाउ जहाँ भएको छ त्यो मुलुकमा जस्तोसुकै व्यवस्था वा वादलाई स्थापित गरे पनि यदि मानिस तिनै हुन् भने त्यस्तो व्यवस्था वा वाद स्वयम् बदनाम भएर जान्छ, तर त्यहाँका राजनीतिहरूलाई कुनै लाज हुँदैन । जुन देशमा कोही पनि भविष्यप्रति निश्चित हुँदैनन् भने त्यो देशको नियति भनेको दुर्भाग्य हो । त्यही दुर्भाग्यले अहिले नेपाललाई गाँजेको छ । पिँडालु रोपेर आलु खोज्न बारीभरि छरिएका खेतालाहरूको भिडजस्तो नेपाली राजनीतिज्ञहरूको जमात अहिले भावी पुस्ताको भविष्यलाई बन्धक राखेर भए पनि आफ्नो वर्तमान सुधार्न उद्यत् छ ।

यस्तो बेला मानवताका कुरा गर्नु, शान्तिका कुरा गर्नु, सद्भाव र आदर्शका कुरा गर्नु असान्दर्भिक ठहरिन्छ । समाजको समग्र पक्षलाई राजनीतिले दूषित बनाएको अवस्थामा शुद्धीकरणको अभियान कसले चलाउने ?! भ्रष्टाचार संस्कृतिले सर्वत्र जरो गाडेको बेला इमानदारिताको आदर्श कसले कसलाई बुझाउने ?! अहिलेको बहसको विषय यही हो र यो बहसले किनारा भेट्टाएन भने ठूलो अनर्थको सिर्जना हुन सक्छ ।

पिँडालु रोपेर आलु खोज्न बारीभरि छरिएका खेतालाहरूको भिडजस्तो नेपाली राजनीतिज्ञहरूको जमात अहिले भावी पुस्ताको भविष्यलाई बन्धक राखेर भए पनि आफ्नो वर्तमान सुधार्न उद्यत् छ ।

के नेपालको राजनीतिको आदर्श स्वरूप अहिले पक्षाघातले पीडित भएको छ ?! छैन भने विकृतिहरूको विरुद्ध किन गति पैदा हुन सकेन ?! यथार्थमा नेपाली जनताको अवमूल्यन गर्ने काम अहिले जनताको नाममा चुनिएका भनिएका प्रतिनिधिहरूले नै गर्दै छन् । ती निरीह जनताले गरेका विश्वासमाथि अहिले घात भइरहेछ । यो घातको सिलसिलामा जारी रहने हो भने भयानक परिणाम निस्कन सक्छ । व्यक्तिका कमजोरी र प्रवृत्तिलाई कुनै पनि व्यवस्थाको आदर्श संरचनाले जोगाइदिने आशा यदि नेपाली राजनीतिज्ञहरूले गर्छन् भने तिनको मानसिकतामा धमिरा लागेको बुझ्नुपर्छ । अझ प्रजातान्त्रिक व्यवस्थामा नीति र मान्यता स्थापित गर्न व्यक्तिहरूले आफ्नो भविष्यलाई समेत दाउमा लगाएर इतिहास सिर्जना गरिनुपर्ने हो, तर नेपाली राजनीतिज्ञहरू आफ्नो भ्रष्ट र असक्षम अनुहारलाई ढाक्न प्रजातन्त्रको आदर्शलाई मुखुण्डो बनाउने ताकमा छन् ।

संसदीय व्यवस्थाको सिर्जनात्मक पक्ष आफू नरहे ध्वस्त हुने दाबी गरेर बोझको रूपमा भए पनि देशमाथि हावी भएका छन् । त्यसैले अहिलेको मोड भनेको सर्वाधिक संवेदनशील परिवेश हो । यहीँबाट भावी यात्राको स्वरूप निर्धारण हुन्छ र प्रजातन्त्रले संस्थागत आकार ग्रहण गर्ने हो वा प्रजातन्त्रको भविष्यमाथि नै प्रश्नचिह्न लगाइने हो, नेपाली राजनीतिज्ञहरूको चर्चामा आधारित छ । जे–जति लक्षणहरू देखापरेका छन्, त्यसले सुखद भविष्यको सङ्केत भने अवश्य गर्दैन । प्रजातन्त्र जीवन पद्धतिको अङ्गको रूपमा किन विकसित हुन सकेन ? के भ्यागुताको धार्नीजस्तो नेपाली राजनीतिज्ञहरू हठी वा मुढ छन् ? यसबारे खोतल्दै जाने हो भने एउटा आधारभूत समानता सबैमा पाइन्छ । सबै अरूबाट प्रजातान्त्रिक चरित्रको अपेक्षा गर्छन्, तर आफू उदारहण बन्न चाहँदैनन् ।

आफूले विशेष छुट पाउनुपर्ने मान्यता सबैमा विकसित भएको छ र त्यही विषग्रन्थीले समय–असमय प्रजातन्त्रको आदर्शलाई डस्ने गरेको छ । प्रजातन्त्रमा विकृतिहरू देखापरे भने त्यसको निदानका बाटाहरू पनि छन् । प्रजातन्त्र भनेको उत्कृष्ट र मानवोचित जीवनशैलीका लागि अपनाइएको एउटा माध्यम मात्र हो जसले मानव गरिमाको सम्मान हेतु संयन्त्रहरू स्थापना गरिने तथ्यलाई प्रत्याभूत गर्छ । नेपाली राजनीतिज्ञहरू क्षुद्र र भ्रष्ट भए भनेर प्रजातान्त्रिक व्यवस्था नै खराब वा कलङ्कित हुने वा अफाप कदापि मान्न सकिँदैन । प्रजातन्त्रमा विकृति देखियो भने दिन फिर्नेछ भन्ने सपना देखेर बसेकाहरूले पनि खुसी नमाने हुन्छ । किनकि विकृत यथार्थको अनौठो समीकरणपश्चात् जन्मिएको पञ्चायतको अवसानको बेला त्यसलाई गर्भदान गर्नेहरूले पाए जति छुट अब फेरि त्यस्तै प्रयास भयो भने नपाउन पनि सक्छन् ।

(घटना र विचार, २०५३ फागुन २२ बुधबार)