भोलि कसले देखेको छ र ? -बबिता बस्नेत

भोलि कसले देखेको छ र ? -बबिता बस्नेत


कतिपय काम गर्ने बेलामा हामी भन्ने गर्छौं, के हतार छ र ? भोलि गरौँला, पछि गरौँला नि । तर, त्यो भोलि जीवनमा कहिल्यै नआउन पनि सक्छ भन्ने कुरा भने हामीलाई थाहा भइरहेको हुँदैन । आफ्नोबारेमा थाहै नपाई मानिसहरू यो संसारबाट बिदा भइरहेका हुन्छन, भइरहेका छन् । मीरा आचार्य, सीता पोख्रेल, यस्तै अन्य थुप्रै नाम जसले आधा उमेरमै यो संसारलाई छोडेर गए र ती तमाम किशोर-किशोरीहरू जसले सपना देख्दादेख्दै जीवन त्यागे र ती थुप्रै बालबालिकाहरू जसले जीवनको सपना पनि देख्न नपाई गए । भोलि गर्नका लागि हामी सबैसँग कामहरू लामबद्ध छन् र सपनाहरू छरपस्ट छन् । गत बुधबार निधन हुनुअघि चर्चित हास्यकलाकार हरिवंश आचार्यकी पत्नी मीरा आचार्यसँग पनि धेरै सपना थिए, आफूले गरिरहेको कामलाई निरन्तरता, छोराको विवाहलगायत नजाने अरू के-के थिए । उहाँका सपनासँग भन्दा बढी हरिवंशमाथि भएको पीडालाई लिएर मानिसहरू दु:खी बने । हरिवंशका प्रसंशकहरू यति रहेछन् कि त्यस दिन घर, गाउँ, टोल, चोक, बजार, एयरपोर्ट, बसपार्क, बस, प्लेन, मन्दिर, अस्पताल मानिसहरू जहाँ थिए त्यहाँ हरिवंशमाथि परेको पत्नीशोककै चर्चा भइरहेको थियो । उक्त दिन कामविशेषले बुटवल जानका लागि प्लेनबाट भैरहवातर्फ जाँदै गर्दा प्लेनमा चढिसक्दा पनि मानिसहरू मोबाइलबाट साथीभाइ र आफन्तहरूसँग सोही चर्चा गरिरहेका थिए । मानिसहरूको प्राय: उस्तै भनाइ सुनिन्थ्यो-अरूलाई हँसाउने मानिस आज आफैं पत्नीशोकको पीडामा परे । हरिवंशप्रति सहानुभूति नराख्ने मानिस कोही थिएन । मीरा को हुन्, के गर्थिन् धेरैलाई थाहा थिएन त्यसैले मीराले संसार त्यागेको भन्दा हरिवंश एक्लै भएको चिन्ता उनीहरूलाई थियो । बुटवलमा साँझको खाना खाँदै गर्दा जब कुरा सुरु भो, मीराको निधनसँग अनभिज्ञ एक सुरक्षा अधिकृतले आत्तिँदै सोधे- के भयो र हरिवंशलाई ? खबर सुनेपछि उनले अचम्म मान्दै बिहान मात्र आफ्ना साथीहरूलाई सुनाएको सपना हामीलाई बताए । हरिवंशका प्रशंसक तर उनलाई नजिकबाट कहिल्यै पनि नदेखेका उनले मीराको निधनको अघिल्लो रात हरिवंशलाई एउटा ठूलो जङ्गलमा केही मानिसहरूले ढुङ्गाले हानेर लखेट्दै गरेको सपनामा देखेका रहेछन् । सुटिङ हो कि भनेर हेर्दा क्यामेरा नदेखेपछि अब कसरी उनलाई बचाउने होला भनेर सोच्दासोच्दै उनी ब्युँझिएका रहेछन् । हरिवंशलाई परेको विपत र त्यो सपना मिलेको देखेर हामी छक्कै पर्‍यौँ ।
रेडियो नेपालमा काम गर्दादेखि नै मीरा आचार्यसँग चिनजान भए पनि उहाँ मुटुको रोगी भएको कुरा भने थाहा थिएन । घट्टेकुलोमा उहाँहरू बस्दा हामी नजिकनजिकै बस्थ्यौँ । मैले हरिवंशलाई भन्दा मीरालाई पहिला चिनेकी हुँ, पछि आचार्यलाई दाइ भन्ने क्रममा मीरालाई भाउजू भन्दा मीराले हाँस्दै मलाई पहिला चिनेको मान्छेले उहाँलाई भिनाजु भन्ने कि मलाई
भाउजू ? भन्नुभएको अहिलेझैं लाग्छ । उहाँले रेडियो नेपालमा कार्यक्रम चलाउँदा प्राय: भेट हुन्थ्यो, बस्ने पनि सँगसँगै कार्यालय पनि सँगसँगै भएको थियो एकपल्ट । पछि हरिवंशले आफ्नी श्रीमतीलाई केन्द्रमा राखेर ‘त्रि्रो हाम्रो माया बराबर’ भन्ने गीत निर्माण गर्दा धेरै महिलाले उहाँलाई गौरव गर्न लायक श्रीमान् भनेका थिए । औपचारिक कार्यक्रम या पार्टीहरूमा भेट्दा उहाँ बिरामीजस्तो लाग्दैनथ्यो, सधै हाँसिरहने, मीठो स्वरले बोल्ने मीरालाई चिन्नेहरूका निम्ति उहाँलाई बिर्सन त्यत्ति सजिलो छैन ।
कहिलेकाहीँ नियतिले मानिसमा पीडामाथि पीडा थपिदिन्छ । एउटा मानिसले जीवनमा कतिसम्म दु:ख झेल्न सक्छ र झेल्नुपर्छ भन्ने कुराको उदाहरण अहिले साहित्यकार कृष्ण धरावासी बन्नुभएको छ । बाल्यकालदेखि नै अनेकौँ दु:खद् उल्झनहरूमा पर्दै आएका उहाँकी पत्नी सीताको आधा उमेरमै भएको निधनले उहाँलाई थप पीडा पुगेको हो । धरावासीका हरेक कृतिमा कहीँ न कहीँ सीताजीको नाम जोडिएको छ जो उहाँकी पत्नी हुनुहुन्थ्यो । धरावासीसँग निकै अगाडि भेट भएको भए पनि सीताजीसँग केही वर्षअघि मात्रै भेट भएको हो । उहाँका कृति पढ्नेहरूका निम्ति सीताजी आफैंमा परिचित नाम हुने नै भयो । एउटा कार्यक्रममा भेट भएको बेला सीताजीसँग चिनजान गराउँदै उहाँले भन्नुभएको थियो- समानताका कुरा तपाईंहरू बोलीमा गर्नुहुन्छ म त व्यवहारमा गर्छु । म सीताजीलाई सार्वजनिक रूपमा मात्रै होइन हामी दुईजना मात्रै हुँदा पनि तपाईं नै भन्छु । उहाँको आशय समानताको वकालत गर्नेहरूका श्रीमान् या प्रेमीले तिमी भनेर सम्बोधन गर्दा उनीहरूले आफू असमान भएको महसुस गर्दैनन् भन्ने थियो । मैले चुपचाप हात जोड्दै सीताजीलाई अभिवादन गरेकी थिएँ । त्यसपछिका केही कार्यक्रमहरूमा सीताजीलाई कृष्णजी सँगै भेटियो । प्राय: महिलाको मनोविज्ञानलाई केन्द्रबिन्दुमा राखेर लेख्ने कृष्ण धरावासीका केही रचना र कृतिहरू यस्ता छन् कि ती पढ्दा कसरी लेख्न सकेको होला जस्तो लाग्छ । त्यसमध्ये झोला उत्कृष्ट रचना हो र राधा सर्वोत्तम कृति । पढाइ र बुझाइका आ-आफ्नै अवधारणाहरू हुन्छन्, कसैलाई अरू नै रचना र कृति मन परेका पनि हुन सक्छन् । धरावासीकी आमाको मृत्युको कथा धेरै नै चित्तदुख्दो छ । पहाडबाट अनेक दु:खकष्ट र आफन्तकै अपमान सहेर मधेस बसाइँ सरेका उनीहरूले दु:ख गर्न के नै बाँकी राखे र ? चरम गरिबीबीच अपाङ्ग बाबुको मृत्यु भयो, चुर (धुलो सुर्ती) बेचेर आमाले छोराछोरी हुर्काइन्, बढाइन् र पढाइन् । चुर बेच्दाबेच्दै क्षय रोगको सिकार भइन् । धरावासीले आफ्नो कृति आधा बाटोमा आफ्नी आमाको बारेमा लेखेका छन्, आमालाई सम्भिँmदा चुर बेचेर किनेको चामलको पोको काखीमा च्यापेर घर फर्कंदै गरेको जीर्ण आकृति सम्भिmन्छु । समयक्रममा छोरो बढ्यो, पढ्यो र जागिर खायो । हावाहुरीले उडाउने छानो भएको घरमा वर्षौं बसेर अनेक दु:खद् कहानीका बीच बैंकमा काम गर्न थालेपछि छोराले झापाको बिर्तामोडमा आँधीले नउडाउने पक्की घर बनायो तर त्यो घरमा एक वर्ष पनि बस्न नपाई आमा मरिन् । सीताजीले पनि आफूले भ्याएसम्मको दु:ख गरिन्, पतिले जोडजाम गरेर बुढेसकालमा साहित्य सिर्जना गर्दै पारिवारिक जीवन बिताउन काठमाडौंमा घर बनाए तर त्यो घरमा दुई वर्ष बस्न नपाउँदै पत्नीले सदाका लागि छोडेर गइन् । योभन्दा दु:खद् नियति एउटा मान्छेको जीवनमा के हुन सक्छ ? आफ्नी श्रीमतीलाई बाँचुञ्जेल साथीको रूपमा सधंै समान हैसियत प्रदान गरेका यी दुई महान् व्यक्तित्वहरू कृष्ण धरावासी र हरिवंश आचार्यलाई हार्दिक समवेदना ††