प्रवासमा समेत विकृत बन्दै तिज

प्रवासमा समेत विकृत बन्दै तिज


– अनिलभक्त खरेल, भर्जिनिया (अमेरिका)


तिज र यसको महत्व :

तिज पर्व हरेक वर्ष भाद्र शुक्ल पक्ष तृतीयाका दिन मनाइन्छ । तिजको पहिलो दिन अर्थात् ‘तिज इभ’लाई दर खाने दिनको रूपमा मनाइन्छ । यस दिनमा विवाहित र अविवाहित छोरीचेलीहरू एकैठाउँमा जम्मा भई व्रत बस्न दरो हुनका लागि दर खान्छन्, अर्थात् दरमा दह्रो खाना हुन्छ । यो दर खाने काम मध्यरातसम्म चालू रहन्छ । दोस्रो दिन तिजको मुख्य दिन हो । यस दिन कोही महिलाहरू निराहार र कोही महिला फलाहार व्रत बस्छन् । निराहार भन्नाले पानी पनि नखाने र फलाहार भनेको पानी र फलफूल खाने भन्ने बुझिन्छ । यस दिनमा विवाहित नारीहरूले लगनको पोते र सम्भव भए लगनकै सारी तथा आफूसँग जे–जस्ता गर गहना छन् सबै लगाई सोह्र शृङ्गारपटार गरेर भगावान् शिवजीको मन्दिरमा गएर पूजापाठ, नाचगान गर्छन् आफ्नो पति र परिवारको लागि प्रार्थना गर्छन् ।

तिजको व्रत बसेमा खासगरी श्रीमान्को लामो आयु हुने, मृत्युपर्यन्त गाढा सम्बन्ध हुने, घरमा सुखशान्ति हुने, असल र सुयोग्य वर पाउने विश्वास गरिन्छ । त्यही भएर नेपाली विवाहित तता अविवाहित सबै हिन्दू नारीहरूले यो व्रत बस्ने गरेको पाइन्छ । तेस्रो दिन बिहान उठेर बत्ती बाल्छन्, केरा र तुल्सी पत्ताको पूजा गरेर चोखो खानेकुरा खान्छन्, यस दिनलाई गणेश चतुर्थी पनि भनिन्छ यस दिनको साँझ सानोतिनो बिगो काम गते बात नलाग्ने बताइन्छ । तिजको चौथो दिन अर्थात् अन्तिम दिन ऋषिपञ्चमी हो । यस दिन बिहान महिला नजिकको धारापँधेरामा गएर अघिल्लो दिन नै जम्मा गरिएका विभिन्न किसिमका सामग्रीले ३६५ पटक स्नान गरी शुद्घ भई सप्तऋषि र अरुन्धतीको पूजा गर्छन् र त्यसको अर्को दिन घरबाट माइती आएकी चेली बिदावारी गरी आफ्नो कर्म घर फर्किन्छन् ।

तिजको नाममा विकृति :

यस्तो राम्रो पर्व रहेको नेपाली हिन्दूहरूको महान् चाड अब धार्मिक र सामाजिक पर्व रहेन । यो पर्व अब एउटा देखासिखीको रूपमा भड्किलो रूपमा देखापर्दै छ । देश–विदेशमा बस्नेहरूले आफ्ना छोराछोरीलाई तिजबारे गलत शिक्षा दिइरहेको आभास पाइन्छ किनकि तिज आउनुभन्दा महिनौँ दिन अघिदेखिको दरको रिहर्सलले । यसप्रकारको कार्यले के सहीसलामत पर्व हस्तान्तरण गरिएको मानिएला र ? एक दिन व्रत बस्न महिनौँदिनदेखिको तडकभडकलाई हेर्दा त नेपाली हिन्दू नारीहरूको पवित्र चाडलाई ‘हुनेखाने’ नेपाली महिलाले आफ्नो गरगहना र साडी प्रदर्शन गर्ने पर्व बनाए भन्दा अत्युक्ति नहोला । व्रतमा चोखो खानेकुरा खानुपर्नेमा तामसी भोजन गरिरहेका हुन्छन् ।

जोकोहीले पनि अहिलेका नारीहरूलाई सोध्नुस् तिज भनेको के हो र दर भनेको के हो भनेर, कसैले पनि सही उत्तर दिन सक्दैनन्, किनकि अहिलेका नारीहरू २ महिनाअघिदेखि दरखाने भनेर झ्याली पिट्दै हिँड्छन्, २ महिनासम्म ए– अर्काको घरमा हसुर्दै हिँड्छन् । तर, जुन दिन वास्तविक रूपमा दर खाने हो त्यो दिन उनीहरूको कसैको घरमा केही नै पाक्दैन । यसले गर्दा हाम्रो वास्तविक दर लोपोन्मुख हुन खोज्दै छ ।

तिजगीत पनि विकृत :

अब त तिजका कार्यक्रमहरू होटेल र पार्टी प्यालेसमा हुन थालेका छन् । पहिलापहिला तिज भनेको कुसेऔँसीबाट शुरु हुन्थ्यो । कुसेऔँसीलाई बुबाको मुख हेर्ने औँसी पनि भनिन्छ । पहिलापहिला बिहाबारी भएर गएकी छोरीचेली आफ्नो बुबाको मुख हेर्ने दिनमा माइती घर आएर पञ्चमीको पूजा सकेर कर्मघर जान्थे । कुसेऔँसीमा नआएकी छोरीचेलीलाई औँसीपछि गएर लिएर आइन्थ्यो । तिजको व्रत बस्ने अघिल्लो दिन जे–जस्तो मीठो मसिनो छ, सबै मिली बाँडेर खान्थे । आफ्ना दुःखसुखका कुराहरू गीतमार्फत बिलौना गर्थे । चाहे ती सासू–बुहारीका हुन्, चाहे नन्द–आमाजू, देवर–जेठाजुका नै किन नहुन् तर त्यो आज एकादेशको कथाजस्तै भएको छ । अहिलेका तिजका गीतहरू रत्यौली र ठट्यौलीका मात्र छन् । १–२ जना हरिदेवी कोइरालाहरूले कसरी सम्हालुन् ?

प्रवाससमेत रहेन अछुतो :

समाजका अगुवा अर्थात् ‘हुनेखाने’हरूले ‘हुँदा खाने’हरूलाई पनि देखासेखीको बाटोमा धकेल्दै छन् जसले गर्दा हुँदा खानेहरूको लागि यो तिज गलपासो भएको छ । किनकि, हँुदा खानेहरूले हुनेखानेहरूसँग प्रतिस्पर्धा सकिनसकी गर्न परेको छ । स्मरण रहोस्, अनौपचारिक रूपमा आजभन्दा एक महिनाअघिदेखि शुरु भएको दरखाने कार्यक्रम अमेरिकामा औपचारिक रूपमा अगस्ट १२ अर्थात् साउन २७ गतेबाट रूपमा शुरु भइसकेको छ । यसको मतलब अन्य देशका नेपाली महिला भनेपछि परेका होइनन् उनीहरूले पनि यसको शुरुवातसँगसँगै गरेको फेसबुकका तस्बिरहरूबाट प्रस्ट हुन्छन् । यस्तो विकृतिलाई रोक्न सम्बन्धित देशमा खुलेका सङ्घसंस्थाहरूले ध्यान दिने कि । यस्ता फजुल खर्च जम्मा गरेर रवि लामिछाने वा धुर्मुस–सुन्तली वा स्वयम् आफू संलग्न भएर मातृभूमिको विकास गरेमा कसो होला ?