सत्य खोज्नेलाई कानुनको डण्डाले तह लगाउन सकिन्छ र ?

सत्य खोज्नेलाई कानुनको डण्डाले तह लगाउन सकिन्छ र ?


– स्वयम्भुनाथ कार्की

कागज काट्ने बन्चरो त रूख काट्ने कैँचीले
कुखुराले पाडो पायो फुल पाऱ्यो भैंसीले
आज भैँसी कहाँ चऱ्यो कर्णालीको तीरमा
पाडो टिपी चिलले लग्यो कुखुरा लड्यो भिरमा !

जसले वर्णमाला वा ठूलो वर्णमालाको सहायताले कखरा सिक्यो त्यसलाई वर्णमालामा भएको यो कविता पक्कै याद रहेको होला । अक्षरशः नभए पनि टुक्राटुक्री अवस्थामा याद रहेका केही पदहरू पुनः स्मरण गर्ने प्रयत्न गरिएको छ । पूरा कविता वा तुकबन्दीमा असम्भव ठानिएका कुराहरू भनिएका छन् । सामान्यतया बन्चरोले कागज काटन सक्दैन, त्यसै गरेर कैँचीले रूख काट्ने कुरा पनि हुँदैन । तर्कको निमित्त विशेष किसिमको बन्चरो बनाएर कागजको थाक काट्न सकिन्छ र बिरुवै अवस्थामा रूख पनि कैँचीले काट्न सकिन्छ भन्न सकिन्छ । तर, दाउरा चिर्ने बन्चरोले एक प्रति कागज काम लाग्ने तरिकाले काट्नु र कागज काट्ने कैँचीले वयस्क रूख काट्नु भनेको चमत्कार नै हो ।

कुखुराले पाडो पाउने कुरा र भैँसीले पार्ने फुलका निमित्त तर्कवीरहरूको शक्तिशाली तरिकाको तर्क आउन सक्छ यदि यही कुरा उनीहरूको राजनीतिक आराध्यले भन्ने हो भने । ढुङ्गा र गेगऱ्यानले भरिएको कर्णालीको तीरमा भैँसीले कस्तो घाँस चऱ्यो होला अनि पखेटा भएको कुखुरा भिरबाट कसरी लड्यो होला । यदि यस्तो भयो भने त्यो पक्कै चमत्कार नै हो । भन्ने कुरा कसैले गर्न नै नपाउने गरेर गरिने बलमिच्याइँ युक्त तर्कलाई शक्तिशाली तर्क तरिकाको तर्क भनिएको हो । उस्तै अवस्था परेमा यस्ता तर्कवीरहरूको कुरो काटेकामा जुनसुकै किसिमको कारबाहीमा पर्न पनि बेर छैन ।

नयाँ नेपाल भनेको चमत्कारी नेपाल हो । प्राकृतिक यौन आकर्षणलाई नैतिक र अनैतिकको परिभाषा दिएर होस् वा लोग्नेस्वास्नीको ओछ्यानमा रेफ्री बसेर होस् समाजलाई नैतिकताको पाठ पढाउने काम जेसुकै होस् । तर, उनीहरू नै चमत्कार गर्छन् समलिङ्गीको अधिकारको नाममा पुरुषको पुरुषसँग र स्त्रीको स्त्रीसँगको यौन व्यवहारमा मानवअधिकार देखेर ।

मुलुकमा चमत्कारको बाढी आएको छ । यही गतिमा चमत्कार गर्दै जाने हो भने पाडो पाउने कुखुरा र फुल पार्ने भैँसी पनि राजनीतिक सहमतिको आधारमा घोषणा हुन बेर छैन । सहमति नै नभए पनि दुईतिहाइको दम्भमा जे पनि घोषणा हुन सक्छ । ११ महिनाको वर्ष, अर्थात् ३ सय ३४ दिनको वर्ष त झन्डै कायम भएको थियो । डलरे बुद्धिकर्मी र उनीहरूका चेलाचपेटाहरूले वर्षमा यो ३१ दिन नहटाए नेपाल नै डुब्ने तर्क पनि दिएका हुन् । संसारभरि ३ सय ६५ वा ६६ दिनको वर्ष हुँदा नेपालको एक महिनारूपी पाडो झन्डै चिलले लगेको थियो ।

नयाँ नेपाल भनेको चमत्कारी नेपाल हो । प्राकृतिक यौन आकर्षणलाई नैतिक र अनैतिकको परिभाषा दिएर होस् वा लोग्नेस्वास्नीको ओछ्यानमा रेफ्री बसेर होस् समाजलाई नैतिकताको पाठ पढाउने काम जेसुकै होस् । तर, उनीहरू नै चमत्कार गर्छन् समलिङ्गीको अधिकारको नाममा पुरुषको पुरुषसँग र स्त्रीको स्त्रीसँगको यौन व्यवहारमा मानवअधिकार देखेर । प्राकृतिक यौन सम्बन्धमा अनेक बहानामा रोक लगाएर समलिङ्गी सम्बन्धलाई अधिकार भन्नु भनेको अब पुरुषले पुरुषसँग र स्त्रीले स्त्रीसँग मात्र दाम्पत्य सम्बन्ध स्थापना गर्न उक्साएको जस्तो भएन र ? यो प्रकृति नै बदल्ने चमत्कार बन्चरोले कागज र कैँचीले रूख काट्ने चमत्कारभन्दा कम पक्कै होइन ।

नेपालको संविधानले कुनै सांसद सम्बन्धित दलको सदस्य नरहेको बेलामा सांसद रहन्न । अनि त्यही सदस्यहरूबाट सभामुख उपसभामुख हुन्छन् । यो धारा ९१ मा गरिएको व्यवस्था हो, जसमा यी दुवै पदमा एकै दलका रहन सक्दैनन् । चुनिएपछि दल एकीकरण भएका कारणले अरू सांसद भने एकै दलका मानिने, तर सभामुख तथा उपसभामुख फरक दलका मानिने भैँसीको फुल देख्न पाइएको छ । नयाँ मुलुकी ऐन २०२० अनुसारको अदालती बन्दोबस्तमा काम गरेर न्यायाधीश (संहिता) ऐन लागू गरेर त्यसले १९१० को मुलुकी ऐन विस्थापन गरेको भनेर कुर्लन्छन् । के यो उनले आफूले कार्यकालभरि गरेको न्याय सम्पादनको आधार नै गलत भएको साबिति बयान दिएका होइनन् ?

सत्ता र शक्तिको मदमा चुर भएर बन्चरोले कागज र कैँचीले रूख काट्न सकिन्छ होला । भैँसीको गोठबाट फुल निकाल्न र कुखुराको खोरको पाडो चराउन पनि सकिएला । तर, सहीलाई सही र गलतलाई गलत भन्नेहरूलाई कानुनको डण्डा लगाएर कहिलेसम्म… ?