देखाउनम पनि सक्छु -राजन घिमिरे

देखाउनम पनि सक्छु -राजन घिमिरे


सिनेमा क्षेत्रका लागि त उनी नयाँ नै हुन् । तर यो क्षेत्रमा हुने गरेका लोभ, लालच अनि प्रलोभनका बारेमा त उनी अर्थात् रिया श्रेष्ठ भुक्तभोगी नै रहिछिन् । उनले भनिन्, ‘यहाँ धेरैले हिरोइन बनाउँछु भनेर आश्वासन दिए अनि ठूला कुरा गरे । तर अन्तत: एउटा व्यक्ति मात्र सही निस्कियो ।’ ती को हुन् त ? प्रश्न भुइँमा झर्न नपाउँदै रियाले थपिन्, ‘चलचित्र लेखक एवम् निर्माता मौनता श्रेष्ठ ।’
मौनता श्रेष्ठको चलचित्र ‘बोस’मार्फत नायिकाको रूपमा सिनेमा उद्योगमा प्रवेश गरेकी रिया यतिबेला निकै दंग छिन् । ‘सिनेमाको हिरोइन बन्ने मेरो सपना यतिबेला आएर पूरा भएको छ । अब केही गरेर देखाउने छु,’ रिया फूर्तिका साथ भन्छिन् । हिरोइन बनाइदिने लोभ देखाएर गलत रूपले सोच्ने अनि हेर्ने केही चलचित्रकर्मीहरूको व्यवहारबाट पनि रियाले हैरानी पाएकी रहिछिन् । त्यस्तासँग उनको आग्रह भने यस्तो छ, ‘सिनेमा खेल्न रुचि राख्ने त्यस्ता हुँदैनन् । यो कुरा उहाँहरूले बुझनुपर्ने हो । तर, यहाँ सस्ता लोकप्रियतामा लाग्दा शिर ठाडो पारेर हिँड्न गाह्रो हुने अवस्थामा पनि मानिस बाँचिरहेका रहेछन् ।’
प्रदीप श्रेष्ठले निर्देशन गरेको चलचित्र बोसमा रियाको जोडी बनेका छन् अयुब केसी । भूमिका राम्रो अनि गीतहरू पनि आफ्नो भागमा रामै्र परेकोमा बोसबाट आफू अगाडि आउन सक्ने दाबी रियाले गरिन् । सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने सिलसिलामा थुपै्र मुलुकको भ्रमण गरिसकेकी छिन् उनले । ‘अब नेपाली सिनेमाको अभिनयलाई नै निरन्तरता दिने योजनामा छु । बोसको छायाङ्कनको क्रममा कार्यक्रमका लागि विदेशबाट पनि अफर आएको थियो । तर, मैले विदेशभन्दा आफ्नो भविष्य रोजेँ,’ रियाले भनिन्, ‘सिनेमा क्षेत्रमा नै लाग्ने सोच अनि उद्देश्य बोकेपछि किन डगमगाउनु भनेर सुटिङलाई नै महत्त्व दिएँ ।’
सुरुमा अवसर नपाएको तर अब अवसर पाएपछि जमेरै लाग्ने सोच छ उनको । ‘अवसर पाएपछि म पनि देखाउन सक्छु । मसँग पनि क्षमता छ भन्ने कुरा बोस रिलिज भएपछि थाहा हुनेछ सबैलाई,’ रियाले भनिन् । सिनेमा निर्माणको सङ्ख्या बढ्दै जानु र सीमित नायिकाहरूको भरमा टिकिरहेको चलचित्र उद्योगमा रियाको आगमनले सफलता र स्थायित्व पाओस् । केही नायिकाजस्तो उनको पनि गफ मात्र नहोस् र कामले नै उनी सफल बन्न सकून्- अहिलेलाई हामी यति मात्र भन्न सक्छौँ ।
तनावमा गरिमा
‘हेर्दा राम्री, शालीन, भद्र अनि सुकुमारी र चटक्क मिलेको शरीर यिनकै छ,’ नायिका गरिमा पन्तको बारेमा उनका प्रशंसकहरू यस्तै गुनगान गाउँछन् उनको बारेमा । यस्ती प्रशंसाकी खानी गरिमामा यतिबेला भने विचलन आएको छ । विचलन आउनुको कारण हो- आफ्नोबारेमा टेलिभिजन च्यानलमा आएको समाचार ।
एक निजी टेलिभिजनमा प्रसारण भएको चलचित्रसम्बन्धी कार्यक्रममा आफ्नोबारेमा गलत सन्देश प्रसार गरेको जिकिर उनले गरेकी छिन् । उक्त टेलिभिजनमा आफ्नोबारेमा समाचार आएपछि गरिमाले कार्यक्रम सञ्चालकलाई नभएर त्यस च्यानलका जिम्मेवार व्यक्तिसम्म आफ्नो गुनासो उनले पुर्‍याइन् । चित्त नबुझेमा कार्यक्रम सञ्चालकलाई नै गरिमाले आफ्नो कुराहरू राख्न सक्थिन् तर माथिल्लो तहसम्म उनले आफ्ना गुनासोहरू पुर्‍याएपछि अब साँच्चै ती कार्यक्रम सञ्चालक र गरिमाबीच लामो समयसम्म शीतयुद्ध चल्ने देखिन्छ । त्यसो त ती कार्यक्रम सञ्चालक भने गरिमाले आफ्नो कुरा त्यहाँसम्म पुर्‍याउनुमा अरूकै हात त होइन ? भन्ने शङ्का गर्न थालेका छन् ।
राम्रो ब्यानर, राम्रो कथा अनि राम्रो निर्देशक र भूमिका पनि बलियो पाउँदा गरिमाले जति बजार पिट्नुपर्ने थियो त्यति पिट्न सकिनन् भन्ने आशयको समाचारविरुद्ध संस्थासम्म गुहार माग्न पुगेकी गरिमालाई त्यहाँबाट न्याय मिलेमा त राम्रै भो तर हात्ती हायो हात्ती आयो फुस्सा भयो भने भोलि कार्यक्रम सञ्चालकसँगको सम्बन्ध पनि नबिग्रेला भन्न सकिन्न । त्यसैले मिडियामा आएको कुरामाथि तनाव लिएर काममाथि नै बाधा पुग्ने आचरण गरिमाजीले सुधार्ने हो कि ? हाम्रो यो सानो सुझाव हो- मान्ने या नमान्ने गरिमाजीकै हातमा ।

जसले आफैं मरेको समाचार सुने
आफू मरेको समाचार आफैंलाई कसैले सुनायो भने कस्तो हुन्छ ? कुरा सुन्दा पनि अचम्म लाग्छ । तर गत हप्ता यस्तै भयो चलचित्र निर्माता मणिराम पौडेलको जीवनमा ।
उनी बिहीबार साँझ साथीभाइहरूसँगको जमघटमा मस्त थिए । त्यति नै बेला उनको मोबाइलमा फोन आयो, ‘हेलो…हेलो… । मणिरामजी हो । धन्य, कुरा गलत रहेछ…. ।’ निकै हतासिँदै आएको त्यो फोनकोबारेमा उनले सोधे’ ‘किन यसरी डराएर फोन गरेको भन्या । कसलाई के भो र ? ‘ मणिरामको प्रश्न थियो यो । ‘कुरा ठूलै थियो तर होइन रहेछ,’ ती व्यक्तिले स्पष्ट पारे ।’ उनले थपे, ‘त्रिशूली नदीमा तपार्इंकै नाम भएको मानिसको गाडी डुबेर मृत्यु भएछ । यहाँ त सनसनी छ । टीभीमा समाचार देखेपछि हामी आत्तियौँ । त्यसैले फोन गरेको ।’ यो जवाफ आएपछि उताबाट मणिराम पौडेलले पनि लामो सास फेरे ।
आफ्नो मान्छे र दाग नामक चलचित्र बनाएर प्रदर्शन गरिसकेका अनि हाल ‘जबजब माया बस्छ’ को निर्माणलाई अन्तिम चरणमा पुर्‍याएका मणिरामले त्यस रात राम्रोसँग सुत्न पनि पाएनन् रे । ‘रातभरि नै फोन आए । ती फोन मेरा शुभचिन्तकहरूका नै थिए । पहिले पनि नाम मिलेर विभिन्न कारणले दुईपटक यस्तो व्यहोरेको छु मैले,’ मणिरामले आफ्नो अनुभव सुनाए ।
टेलिभिजनमा मणिराम पौडेल चढेको गाडी त्रिशूलीमा खसेर मृत्यु भयो भन्ने समाचारले नेपाली सिनेमा उद्योगमा नै हलचल मच्चायो । कलाकार र प्राविधिकदेखि शुभचिन्तकहरूको फोन निरन्तर रूपमा आउनुलाई चलचित्र निर्माता मणिराम पौडेल धार्मिक आस्थालाई मान्ने हो भने आफ्नो आयु बढेको कुरा मान्छन् । ‘यो घटनाले मेरो परिवार र आफन्तलाई भने केही समय विचलन नै बनाएको छ । तर, अन्तत: म सकुशल भएको समाचारले परिवारमा खुसी पनि छायो,’ मणिरामको भनाइ थियो ।