बिचौलियाको बल

बिचौलियाको बल


– विनोद त्रिपाठी

कुनै बेला थियो, सिनेमा हेर्न ब्ल्याकमा टिकट काट्नुपर्थ्यो। ब्ल्याक टिकट निकै महँगो हुन्थ्यो । हरेक सिनेमाहलमा ब्ल्याक टिकट बेच्नेको अड्डा हुन्थ्यो । हलमालिकले यिनलाई हटाउन सक्दैनथे । यिनलाई हटाउनु दुस्साहसजस्तै मानिन्थ्यो । ब्ल्याकमा टिकट काट्नेहरू हलमालिकहरूभन्दा शक्तिशाली थिए । प्रहरी यिनकै चाकडी गथ्र्यो ।

पछि ई–टिकट प्रणाली, युट्ब, गुगल, फेसबुक र सीडीहरूको प्रयोगले यो समस्या दर्शकले भोग्नुपरेन । प्रविधि र सुविधाले सिनेमाहलको यो रोग सम्भवतः २०६५ सालपछि निको भयो ।

केही दिनदेखि कालिमाटी तरकारी बजारमा तमासा छ । तरकारीका बिचौलिया र सरकारबीचको जुहारी चलेको छ । बिचौलियाले अनुगमनमा गएका कर्मचारीलाई थुनिदिए । फलानो मन्त्री, नेता चिनेको छु भन्दै केही बिचौलियाले कर्मचारीको सातो लिए । भदौ ४ गते सोमबार दिनभरि बिचौलियाको शक्ति देखेर दुई मन्त्री मातृका यादव र चन्द्रदेव खनाल लुरुक्क फर्किए । दुवै मन्त्रीले मन्त्रालय फर्केर निर्णय गरे, ‘अवरोध गर्ने व्यापारीको इजाजतपत्र खारेज गर्नुपऱ्यो ।’ यो निर्णय गर्न मन्त्रिपरिषद् नै गुहार्ने चर्चा चल्यो ।

तीन महिनाअघि सार्वजनिक यातायातको सिन्डिकेट हटाउने गृह मन्त्रालयले निर्णय गऱ्यो । केही धरपकड भए । यातायात समितिका साइनबोर्डहरू फालिए । सरकारले आशा जगायो । तर, केही दिनमै जनताको आशा मऱ्यो । सिन्डिकेटका बोर्डहरू झुन्डिए । यात्रु कोचाकोचको दृश्य झन् कठोर बन्यो । सिन्डिकेटले मुठ्ठी बजारेर सरकारको होस उडाइदियो ।

माओवादी द्वन्द्वकालभरि हरेक उद्योगहरू चरम मजदुर हड्तालबाट आतङ्कित बने । भृकुटी कागज कारखानालगायतका उद्योगहरू मजदुरको लगातार हड्तालले ध्वस्त भए । अझै उद्योग क्षेत्रले सिँढी चढ्न सकेको छैन ।

०६६ सालमा निजी स्कुल (बोर्डिङ) चलाउनेहरूको शुल्क घटाउन खोज्दा सरकार आफैँ घुँडा टेकेको थियो । लगातार बनेका सरकारहरू निजी स्कुल सञ्चालकसँग भयभित हुन्थे । अहिलेसम्म विद्यार्थीको नाटकीय आन्दोलनबाहेक शुल्क घटाउने अर्को पक्षले अभिनय देखाएको उदाहरण छैन । सरकार त शुल्क घटाउने विषयमा अहिलेसम्म मौन व्रतमै छ ।

भर्खरै मेडिकलको माफियाकरण रोक्ने सरकारले वाचा खाएको छ । सरकारले गोविन्द केसीसँग सम्झौता गरेको घटना ताजै छ ।

माथिका यी केही विषय बिचौलियामार्फत सञ्चालित समस्या हुन् । मजदुर र मालिकबीचको द्वन्द्वमा बिचौलिया नायक बन्थे । यद्यपि यो प्रदर्शन उद्योगहरूमा अझै जारी छ । सिनेमाहलको समस्या प्रविधिका कारण आफैं हटेको हो ।

दलहरूले आफैँलाई सताउने काउछो बनाए । आफैँलाई रुवाउने कंश जन्माए । आफैँलाई सखाप पार्ने बनमारा झार उमारे । आफ्नै नाक काट्ने तरबार बनाए । आफैँलाई डस्ने करेत साप पाले । यिनै टेकाहरू चढेर सरकार चलाउने अवसर मिलाए । यो अवसर दलहरूका लागि ‘न्याउरी मारी पछुतो’जस्तै बन्यो ।

कसरी शुरु भयो, बिचौलिया पद्धति ? विगतलाई हेरौँ । दुई पक्षबीच कारोबार गर्नेलाई बिचौलिया भनिन्छ । खासगरी, दलाल प्रणालीको निकृष्ट रूप नै बिचौलिया हो । यसको मुख्य जग राजनीतिक क्षेत्र हो । माओवादी द्वन्द्वकालमा बिचौलिया जन्मने, हुर्कने र मलजल पाउने अवसर जुऱ्यो । त्यो कालखण्डमा बिचौलियाले ठूलो फाइदा उठाए । यसका प्रमाणहरू समाजमा जीवित छन् । चन्दा लिने र दिनेबीचको काम यिनै बिचौलियाले गरे । नागरिकको सफाया गर्ने र सफायामा पर्ने बीचको भूमिका बिचौलियाले निभाए । खुब लेनदेन चल्यो । मानवअधिकारवादीका नाममा वा मध्यस्थकर्ताको नाममा पैसाको खोलो बग्यो । बिचौलिया अनेक आवरणमा यही बेला हुर्किए । ०६३ सालको शान्तिप्रक्रियापछि बिचौलियाहरूले रूप परिवर्तन गरे । निर्माणसेवा, तरकारी, मेडिकल, यातायात, शिक्षामा बिचौलिया छिरे । हरेक बिचौलिया कुनै न कुनै दलको संरक्षणमा मजबुत बन्दै गए । यो निरन्तरता अहिले कालिमाटी तरकारी बजारदेखि गोंगबु बसपार्कका टिकट काउन्टरसम्म फैलिएको छ । नेताहरू बिचौलियाका गुरु हुन् । गुरुकै पथलाई पछ्याएर बिचौलियाले आफ्नो धर्म निर्वाह गरेका मात्र हुन् । अब गुरुलाई पहिला कारबाही गर्ने कि बिचौलियालाई ? हामीले यो प्रश्न गरौँ ।

दलहरूले आफैँलाई सताउने काउछो बनाए । आफैँलाई रुवाउने कंश जन्माए । आफैँलाई सखाप पार्ने बनमारा झार उमारे । आफ्नै नाक काट्ने तरबार बनाए । आफैँलाई डस्ने करेत साप पाले । यिनै टेकाहरू चढेर सरकार चलाउने अवसर मिलाए । यो अवसर दलहरूका लागि ‘न्याउरी मारी पछुतो’जस्तै बन्यो । अहिले बिचौलियासँग सरकारका खुट्टा कामेको छ । सरकार अहिले बिचौलियासँग रोइलो गरिरहेको छ । आफैँले हुर्काएका बचेराहरू परे । लठ्ठी हान्नु पनि भएन । जेल कोच्नु पनि भएन । सरकारले बिचौलियासँग भनिरहेको छ, ‘हामीले सरकार चलाउँदा तिमीहरू चलमल नगर । चुपचाप बस । हाम्रो सरकार गिरेपछि जे गर्नु हो मजाले गर, तिमीहरूलाई हिजोको जस्तै अवसर दिनेछौँ ।’ यति निकृष्ट राजनीतिक क्षेत्रले हुर्काएको परिणाम कस्तो हुन्छ होला ? हामीले सरकारलाई अर्को प्रश्न गरौँ ।

कोदो रोपे तोरी फल्दैन । तोरी रोपे कोदो उम्रँदैन । जे लगायो, त्यहि बाली फल्ने हो । हेर्दा कोदो तोरी उस्तै देखिन्छ । तर, विशेषता भिन्न छन् । पुष्पकमल दाहालले राजनीति गरे । व्यापार गरेनन् । बिचौलिया पाले, हुर्काए । अनि बिचौलियाले जुटाएर दिएका साधन र स्रोतलाई उपयोग गरे । दाहाल नवधनाढ्य बने । यो प्राप्तिमा बिचौलियाको देन छ । बिचौलिया दाहाललाई पाल्छन् । दाहाल बिचौलियालाई जोगाउँछन् । यसरी हुर्किरहेको बारीबाट अन्न कहाँबाट फल्ने हो । यो बिचौलिया किन हुर्काएको हो ? बिचौलियाको भरमा किन बाँचेको हो ? यो सुखसुविधाको आयआर्जन के हो ? तपाईंले लगाएको कोटमा खोट देखियो । तपाईंको खोट देखाएर बिचौलिया झन्झन् अग्लिए । दाहालहरूलाई यो प्रश्न जोडदारसँग गरौँ ।

दलहरूको संरक्षण हुन्थेन भने बिचौलिया बिलाउँथे । बिचौलियालाई दलको बल मिलेको छ । हरेक बिचौलियाको उच्च नेतासँग कनेक्सन छ । एउटा मन्त्रीले बिचौलियालाई हप्काउँछ, अर्को मन्त्रीले जोगाउँछ । गृहमन्त्रीले यातायातका बिचौलिया सिन्डिकेटधारीलाई कारबाही अघि बढाए, यातायातमन्त्रीले जोगाए । उदाङ्ग हुने गरी यो उदाहरण ताजै छ । कर्मचारीको अनुगमन बिचौलिया रिझाउनतिर लाग्न बाध्य छ । नत्र राजनीतिको बलमा उन्मत्त बिचौलियाको मारमा कर्मचारी पर्छन् । जागिर नै धरापमा पार्ने बिचौलियासँग शक्ति छ । किनकि दाहालहरू बिचौलियाका गुरु हुन् । चेलाहरूलाई जोगाउने गुरुको परमकर्तव्य हो । यो क्रम कहिलेसम्म हो ? अर्को प्रश्न पनि दाहालहरूलाई गरौँ ।

जब राजनीतिक क्षेत्रमा बिचौलिया हावी हुन्छ, तब तरकारीका बिचौलिया जीवित रहन्छन् । जब, दाहालका वरिपरि बिचौलिया हुन्छन्, तब देशभरका बसपार्कभरि बिचौलियाको मुठ्ठी बलियो हुन्छ । जब देउवा, ओली, दाहाल र नेपालहरूका आमनेसामने बिचौलिया ठिङ्ग उभिन्छन्, अनि अस्पताल, स्कुल, कलेज, बैंक, पार्क, सडक र कार्यालयभरि बिचौलियाकै शासन चल्छ ।

नेताहरूलाई मन्त्री बन्न बिचौलिया चाहिन्छ । नत्र पार्टी अध्यक्षले कुरा सुन्दैनन् । कर्मचारीलाई बढुवा हुन बिचौलिया चाहिन्छ । नत्र सोर्सफोर्स पुग्दैन । यता पनि बिचौलिया उता पनि बिचौलिया शक्तिशाली । अनि कालिमाटीको बिचौलियाले सरकारलाई कसरी टेर्छ ? यो बिचौलिया संस्कार किन जन्माएको ? दाहालदेखि ओलीसम्मलाई प्रश्न तेर्साऔँ ।

सरकार गिराउन अर्का बिचौलिया बलवान् छन् । कुन दललाई कता मिलाउने, कुन दलसँग मिलेर सरकार गिराउने । अनि सरकारमा कुन–कुन नेतालाई मन्त्री दिने सबै अधिकार बिचौलियामा निहित छ । यी बिचौलियालाई दलहरूले उपयोग गर्छन् । सरकार बनाउने र गिराउने बिचौलियालाई सुम्पन्छन् । अर्को दलसँग वार्ता गर्न बिचौलिया खटाउँछन् । किन आफैँ वार्तामा नजाने ? अर्को दलसँगको सहकार्य आफैँले पहल किन नगर्ने ? राजनीतिक खेलमा किन बिचौलिया छिराएको ? अब देउवा, ओली र दाहालहरूलाई अर्को यो प्रश्न गरौँ ।

जब राजनीतिक क्षेत्रमा बिचौलिया हावी हुन्छ, तब तरकारीका बिचौलिया जीवित रहन्छन् । जब, दाहालका वरिपरि बिचौलिया हुन्छन्, तब देशभरका बसपार्कभरि बिचौलियाको मुठ्ठी बलियो हुन्छ । जब देउवा, ओली, दाहाल र नेपालहरूका आमनेसामने बिचौलिया ठिङ्ग उभिन्छन्, अनि अस्पताल, स्कुल, कलेज, बैंक, पार्क, सडक र कार्यालयभरि बिचौलियाकै शासन चल्छ । अहिले रूपमा मात्र नेताहरूले सरकार चलाएका हुन्, सारमा भने बिचौलियाले सरकार चलाएको छ । बिचौलियालाई मिलेको यो बल दलहरूकै इतिहासदेखि वर्तमानसम्मको देन हो ।