दुश्मनलाई समेत जो आफ्नै हातले खिर खुवाउँथे

दुश्मनलाई समेत जो आफ्नै हातले खिर खुवाउँथे


– राजेन्द्रप्रसाद पाठक

जन्मजात कोही दुस्मन हुँदैन, मृत्युपर्यन्त कसैसँग दुस्मनी रहँदैन । त्यसैले बाँचुञ्जेल पनि दुस्मनी गर्नु व्यर्थ हो भन्ने महान् सिद्धान्त अँगालेका सम्पूर्ण भारतवर्षका एक होनहार राजनेताले केही दिनदेखि सबैलाई उदास बनाएका छन् । त्यस्ता महान् विचारक, राजनेता, धर्म र संस्कृतिका अतुलनीय अनुयायी, भारतरत्न अटलबिहारी वाजपेयीको जन्म भारतको मध्य प्रदेशमा भए पनि र शक्तिमा रहँदासमेत उनी संसारको आँखामा बिझाएका रहेनछन् । त्यसैले त होला शत्रुदेशका शक्तिशाली पदमा रहेकाहरूसमेत उनीसँग नतमस्तक थिए, श्रद्धाले अझै झुकिरहनेछन् ।

सन् १९४७ देखि नै भारत र पाकिस्तान एक–अर्कामा छिमेकी देश भए तापनि बेलाबेलामा विवादास्पद कस्मिरको विषयलाई लिएर दुस्मनी देखा परिरहन्छ । सन् १९७७ मार्च २६ देखि १९७९ जुलाई २८ सम्म भारतमा विदेशमन्त्री थिए वाजपेयी । त्यसपछि उनी कोलेसन गभर्मेन्टका १३ दिने प्रधानमन्त्रीसमेत भए । संसद्मा बहुमत साबित गर्न नसक्दा उनी राजीनामामार्फत बाहिरिएका भए पनि सन् १९९८ मार्च १९ देखि २००४ मे २२ सम्म पुनः प्रधानमन्त्री भए । उनी नै भारतको इतिहासका लामो समय शासन गर्ने प्रथम गैरकाङ्ग्रेसी प्रधानमन्त्री बन्न सफल भए ।

भारत स्वतन्त्र भएदेखि नै निरन्तरको काङ्ग्रेसी राजको तगारो बन्न अरू कोही सक्षम थिएनन् । तर, उनको अगाडि काङ्ग्रेस घुँडा टेक्न बाध्य भएको थियो । मानवभित्रको सक्षमता पहिचान गर्न माहिर व्यक्तित्वका रूपमा समेत उनको अर्को चिनारी छ । त्यसैबखत विधायकसमेत नभएका हालका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई गुजरातमा मुख्यमन्त्री नियुक्त गरेपछि मात्र विधायक बनाएको भूमिका आजसम्म महत्वपूर्ण घटनाका रूपमा चित्रित छ । हाल सम्पूर्ण भारतीय जनता पार्टीका नेताहरूको पनि गुरु तथा पथप्रदर्शक केशवराव दीक्षित यो कुरा स्वीकार गर्दछन् ।

सन् १९९९ मा कारगिल युद्ध भएपश्चात् २००३ मा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री परवेज मुसर्रफको भारत भ्रमणका बेला प्रधानमन्त्रीनिवास हैदरावाद हाउसमा निमन्त्रणा गरी आफ्नै हातले माटाको भाँडामा बनाएको खिर माटाकै कचौरामा आफ्नै हातले पस्केर दिँदा पाकिस्तानी प्रधानमन्त्री परवेज मुसर्रफ नाजवाफ भएको रहस्य हालै मात्र उनै पूर्वपाकिस्तानी प्रधानमन्त्रीले भारतीय मिडियाको टेली–संवादमा खोलेका छन् । त्यसै दिन मुसर्रफको प्रतीक्षामा प्रधानमन्त्रीनिवासको बरन्डामा कुरिरहेका वाजपेयीलाई उनले भुल्न सकेका रहेनछन् । त्यति मात्रै होइन, भारत–पाकिस्तान मैत्रीबस सेवा सञ्चालन भएको पहिलो दिन सोही बसमा पाकिस्तानको भ्रमणमा निस्किएका वाजपेयीले मुसर्रफसँगको भेटघाटको क्रममा उनकी वृद्घ आमाको पाउ समातेर प्रणाम गरेको दृश्यले मुसर्रफ अझै नतमस्तक भएको खुलासा भएको छ । यस कार्यले वाजपेयीको सम्मानपूर्ण छविलाई अझै उजिल्याएको छ ।

कारगिल युद्ध भएपश्चात् २००३ मा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री परवेज मुसर्रफको भारत भ्रमणका बेला प्रधानमन्त्रीनिवास हैदरावाद हाउसमा निमन्त्रणा गरी आफ्नै हातले माटाको भाँडामा बनाएको खिर माटाकै कचौरामा आफ्नै हातले पस्केर दिँदा पाकिस्तानी प्रधानमन्त्री परवेज मुसर्रफ नाजवाफ भएको रहस्य हालै मात्र उनै पूर्वपाकिस्तानी प्रधानमन्त्रीले भारतीय मिडियाको टेली–संवादमा खोलेका छन् ।

उनी मानका खातिर सम्मानको सिद्धान्तमा अब्बल ठहरिएका थिए । वाजपेयी राजनेता मात्रै थिएनन् महान् कवि तथा साहित्यकारसमेत थिए । उनी आफूलाई असफल पत्रकारसमेत भन्न रुचाउँथे । यसको मतलब पत्रकारितामा समेत दख्खल राखेका बहुमुखी मूर्धन्य व्यक्तित्वका रूपमा परिचित भएर पनि अत्यन्तै संस्कारी पनि भएको सबैतिरबाट साबित भएको छ । शत्रुदेशका नागरिकहरूले समेत प्रशंसा गर्न रुचाएका ती महान् व्यक्ति नेपालीप्रति बढी नै सकारात्मक थिए । सन् १९९९ मा इन्डियन एयरलायन्सको जहाज काठमाडौंबाट अपहरणमा पऱ्यो । त्यस्तो घटना हुँदा पनि नेपाललाई भारतले हेर्ने दृष्टिकोणमा फरक नआउनुमा उनै वाजपेयीको निर्मल नजरियाको कमाल मान्न सकिन्छ ।

स्वर्गीय वाजपेयीले छनोट गरेका मूर्धन्य व्यक्तित्व नै हाल भारतका प्रधानमन्त्रीलगायत सम्पूर्ण भारतीयका आशाका केन्द्र बन्न सफल भएका छन् । आज नब्बे प्रतिशतभन्दा ज्यादा जनता भारत मोदीजीकै पालामा विकसित हुन्छ भन्नेमा विश्वस्त छन् । त्यसैकारण सन् २०१९ को आमनिर्वाचनमा समेत भाजपा अथवा मोदीजी प्रधानमन्त्री बनेकै पार्टीले उनै मोदीको नेतृत्वमा दुईतिहाई बहुमत प्राप्त गर्न सफल हुन्छ भन्नेमा विश्वास राख्नेहरूको कमी छैन । भारतका मिडियाकर्मीहरूसमेत यसैमा मत जाहेर गरिरहेका छन् । भारतको सम्पूर्ण जनसङ्ख्याको तीनचौथाइ जनसङ्ख्या हिन्दूहरू नै छन् । त्यसमध्येमा पनि ठूलै मुस्लिम जमातले समेत भाजपालाई नै रोज्नुमा विशेष कारण हुन सक्दछ । त्यति मात्रै होइन, दीर्घकालसम्म राज गरेको काङ्ग्रेसबाट भारतीय जनताको देश विकासको आस मरिसकेकोसमेत अनुभूत गर्न थालिएको हुन सक्छ । लामो समयसम्म शासन गर्दासमेत त्यहाँको काङ्ग्रेस पार्टी देश र जनताप्रति अनुत्तरदायी भएकोसमेत भारतीय जनसमुदायमा प्रचारमा आएको छ ।

आफ्नो देश, छिमेकी देश र विगतमा शत्रुता भएको देशलाई समेत काबुमा राखेर सन्तुलित शासन सञ्चालन गर्नमा नरेन्द्र मोदी सफल भएको कुरामा दुईमत नहोला । यति मात्रै होइन, नरेन्द्र मोदीजस्तो अब्बल व्यक्तित्वको छनोट गर्न सफल भारतका जनता र त्यस्ता व्यक्तिलाई पार्टीबाट नेतृत्व प्रदान गर्न प्रमुख भूमिका निर्वाह गर्ने दूरदर्शिता भएका कालजयी नेतामध्येका स्व. अटलबिहारी वाजपेयीलाई सिङ्गो भारत र भारतीय जनताले भविष्यमा राष्ट्रपिता ठहर गर्नेछन् भन्नमा कञ्जुस्याइँ गरिरहनु नपर्ला । स्व. वाजपेयीका समकक्षी आरएसएसका वरिष्ठ प्रचारक केशवराव दीक्षित आफ्ना समकक्षी मात्र नभएर एउटा भारतवर्षका होनहार नेता गुमाउनुपरेकोमा आफू अत्यन्तै मर्माहत भएको बताउँछन् । शत्रुले समेत प्रशंसा गर्नुमा वाजपेयीको अतुलनीय गुण र संस्कार भएको सहजै अनुमान लगाउन सकिन्छ ।

फुर्सदको समयमा आफ्नो भान्साको कामसमेत आफैं गर्न रुचाउने र आफ्ना शुभचिन्तकहरूलाई बोलाएर अनौपचारिक खानपिनका शौखिन वाजपेयी आफैँमा सात्विक भोजन गर्न मन पराउँथे । यस्तै अनौपचारिक खानपान गराएको सम्झनामा पाकिस्तानी पूर्वप्रधानमन्त्रीसमेत रहिसकेका परवेज मुसर्रफ आफ्ना कालजयी सम्झनाका पात्रका रूपमा पहिलो नम्बरमा वाजपेयी रहेको बताउँछन् । शत्रुदेशका समेत प्रशंसाका पात्र अमर कवि, राजनेता तथा पत्रकार अझै संस्कार, धर्म र संस्कृतिका अटल अनुयायी स्व. अटलबिहारी वाजपेयी सदासर्वदा सबैका मानसपटलका सम्झनाका पात्र रहिरहनेछन् ।