दक्षिण छिमेकीको सुरक्षा चासो र कृष्णाको नेपाल भ्रमण

दक्षिण छिमेकीको सुरक्षा चासो र कृष्णाको नेपाल भ्रमण


-श्रीमन नारायण
भारतका विदेशमन्त्री एसएम कृष्णाको तीनदिने नेपाल भ्रमण हालै सम्पन्न भएको छ । नेपालमा परराष्ट्रमन्त्रीको नियुक्ति अहिलेसम्म भइनसकेको कारण भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण कार्यक्रम अलि ढिलो भएको हो । प्रधानमन्त्री झलनाथ खनाललाई भारत भ्रमणको निम्तोसमेत दिएर गएका भारतीय विदेशमन्त्री कृष्णा यथार्थमा आफ्नो नेपाल भ्रमणका दौरान सुरक्षा मामिलाप्रति बढी नै गम्भीर थिए । वास्तवमै मित्रराष्ट्र भारतको सुरक्षा चासो बढ्दै गएको छ भन्ने त कृष्णाले नेपाल भ्रमणका दौरान सरकारमा सहभागी एमाओवादीद्वारा जारी भारतविरोधी गतिविधिबारे गम्भीरताका साथ कुरा उठाएबाट पनि प्रस्टिएको छ । एमाओवादीद्वारा भारतका राजदूतको विरोध एवम् अपमान गर्ने क्रियाकलापले भारतलाई बढी नै चिन्तित बनाएको अनुमान गर्न सकिन्छ ।
भारत सरकारको सहयोगमा सञ्चालित विकास आयोजनाहरूको अनुगमन, उद्घाटन र शिलान्यासका क्रममा जिल्लाहरूमा एमाओवादी पक्षधर नेता र कार्यकर्ताले राजदूतलाई अपमानित र दुर्व्यवहारसमेत गरे । यस्ता घटना पटक-पटक दोहोरिए पनि एमाओवादी पार्टीले भने आधिकारिक रूपमा पार्टीगत स्तरबाट घटनाको विरोध गरेको छैन न त आफ्ना कार्यकर्तासँग सोधपुछ नै गर्नु उचित ठान्यो । यसले के पनि सावित गर्‍यो भने यस्ताखाले विरोधका घटनाहरूमा एमाओवादी पार्टीको पूरा समर्थन र प्रोत्साहन छ । भारतीय लगानीमा सञ्चालित विकास-निर्माणका आयोजनालाई प्रभाविते गर्ने र अवरोध पुर्‍याउने कामसमेत एमाओवादीबाट भए । भीडमा गल्ती गर्ने र एक्लो भएमा माफी माग्ने धूर्त्याइँ कम्युनिस्टहरूमा पाइन्छ । भारतीय विदेशमन्त्री कृष्णासँगको भेटघाटमा एमाओवादीका नेताहरूले आफ्नो पार्टी भारतसँग नयाँ किसिमले सम्बन्ध विकसित गर्न चाहेको बताएर सम्बन्धमा सुधार ल्याउने सामान्य प्रयास गरेका हुन् । भारत स्वयम् पनि माओवादीबाट पीडित छ र उसका कतिपय प्रान्तमा भारतीय माओवादी पार्टीको सशस्त्र सङ्घर्ष चलिरहेछ । भारत र नेपालका माओवादीबीच सम्बन्ध रहेको खुलासाले पनि भारतले नेपालका माओवादीमाथि विश्वास गर्न नसकिरहेको बुझिन्छ । विकिलिक्सको खुलासाले यसको झन् पुष्टि गरेपछि भारत नेपाली माओवादीबाट थप आशङ्कित हुन पुगेको छ । समय-समयमा एमाओवादीका नेताको भारतविरोधी टिप्पणी र सार्वजनिक भाषणले पनि भारतलाई चिन्तित बनाएको छ । एमाओवादीका कार्यकर्ताले भारतीय राजदूतलाई अपमानित एवम् अमर्यादित व्यवहार गर्न थालेपछि भारतले नेपाललाई गरिराखेको सहयोग कतै नेपाललाई नचाहिएकै त होइन ? भन्ने कोणबाट समीक्षा गर्ने मानसिकतासमेत बनाउन थाल्यो । भारतले गरिराखेको सहयोग रोकिन सकिने भारतीय राजदूतको चेतावनी यसैको परिणाम थियो ।
देश सङ्क्रमणकालबाट गुज्रिरहेको अवस्थामा एमाओवादी स्वयम्ले त देश र जनताका लागि केही गर्न सकेन नै, विदेशी मित्रहरूले गर्न खोजेको वा गरिराखेको सहयोगको विरोध गर्नुको अर्थ जनताको हितसँग खेलवाड गर्नु नै हो । एमाओवादीको क्रियाकलापमाथि रोक लगाउन नेपाल सरकार सक्षम सावित हुन नसकिरहेको कारण पनि भारत नेपालमा लगानी गरेका योजनाहरूको सुरक्षाको पूर्ण ग्यारेन्टी चाहिरहेको छ । लगानीका लागि शान्ति एवम् मैत्रीपूर्ण वातावरण आवश्यक छ । भारतको अर्को चिन्ता भनेको खुल्ला सिमानाका कारण हुने गरेको नक्कली भारतीय नोटको कारोबार र तस्करीलगायतका घटना पनि हो । नेपाली भूमिको प्रयोग गरी तेस्रो देशका नागरिकले नक्कली भारतीय रुपैयाँको कारोबार गर्नु, विस्फोटक पदार्थसहित पक्राउ पर्नुजस्ता घटना हुनुले नजिकको छिमेकीका नाताले स्वभावत: भारतलाई टाउको दुखाउँछ नै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको विमान अपहरण भएको कारण भारतले तीनजना इस्लामिक आतङ्कवादीलाई छोड्नुपरेको थियो । कालान्तरमा गएर भारतले यसबाट ठूलो क्षति पनि व्यहोर्नुपरेको थियो । भारतको विखण्डन चाहने काश्मिरी पृथकतावादीको क्रियाकलाप पनि कहिलेकाहीँ नेपाली माटोबाट हुने गरेको भारतको आरोप छ । काठमाडौंस्थित एक दूतावासले प्रत्येक वर्ष काश्मिरी ऐक्यबद्धता दिवस मनाएर भारतविरोधी गतिविधिलाई समर्थन गर्दै आएको छ । भारतले नेपालमा बसेर भारतको विरोधमा काम गर्ने तेस्रो देशका नागरिककोसमेत सुपुर्दगी चाहन्छ । नक्कली भारतीय रुपैयाँको कारोबारले भारतीय अर्थतन्त्रलाई खासै क्षति नपुर्‍याए पनि यसले नेपालको अहित गर्ने निश्चित छ, किनभने नेपालमा पनि वर्षोनी अर्बौं भारतीय रुपैयाँ भित्रिने गर्दछ । अर्को कुरा आज नक्कली भारतीय नोटको कारोबार गर्ने व्यक्तिले भोलि नक्कली नेपाली नोटको पनि कारोबार गर्न सक्दछन् भन्ने हेक्का समयमै राख्नुपर्छ । भारतको सुरक्षाचासो स्वाभाविक नै हो । नेपाल र भारत दुवैले आफ्नो देश र जनताको सुरक्षाका लागि चिन्ता व्यक्ति गर्नु स्वाभाविक हो । भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका दौरान वीरगञ्जमा संयुक्त भन्सार जाँच बिन्दुको उद्घाटन र वीरगञ्ज ठोडी हुलाकी सडकको शिलान्यास कार्यसमेत सम्पन्न भयो । यसकोणबाट भन्नुपर्दा भारतीय विदेशमन्त्रीको हालै सम्पन्न नेपाल भ्रमणलाई फलदायी नै मान्न सकिन्छ ।