श्रेष्ठ-सैंजु परिवार-निर्माताको अवसान हुँदा…

श्रेष्ठ-सैंजु परिवार-निर्माताको अवसान हुँदा…


-माधवप्रसाद श्रेष्ठ
दक्षिण एसियाका मुलुकहरूमध्ये आफ्नै सुरक्षागार्डद्वारा हत्या गरिनुभएकी भारतकी प्रधानमन्त्री इन्दिरा गान्धी, कट्टरपन्थी उग्रवादीहरूद्वारा नृशंस रूपले मारिनुभएकी ‘पूर्वकी चेली’ विशेषनामले विख्यात पाकिस्तानकी अर्की पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो, श्रीलंकाकी पूर्वप्रधानमन्त्री सिरिमाओ भण्डारानायकसमेत आ-आफ्नो राष्ट्रको निर्माण र समग्र विकासका लागि युगान्तकारी भूमिका निर्वाह गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमै अत्यन्तै चर्चित महिला नेतृहरू हुन् । त्यस्तै प्रकारले शेख मुजिबुर रहमानको हत्याको समयमा संयोगवश मुलुकबाहिर रहनुभएको कारण बाँच्न सफल बंगलादेशका भाग्यमानी वर्तमान प्रधानमन्त्री शेख हसिना वाजेदसमेत राष्ट्र निर्माणको पुनीत कार्यमा अग्रपङ्क्तिमा रहनुभएकी लोकप्रिय महिला लिडर हुनुहुन्छ ।
युगलाई सँगसँगै डोर्‍याएर हिँडाउन सक्ने यस्ता क्षमतावान, आ-आफ्ना मुलुकभित्र र बाहिरसमेत बहुचर्चित महिला लिडरहरूको उपमाका साथ पङ्क्तिकारले यहाँ आफ्ना कर्मयोगी माताश्री र धर्मपत्नीलाई प्रस्तुत गर्न खोजेको नभई नेपालको स्वच्छ वातावरणमा जन्मिई हुरि्कनुभएकी मेरी ममतामयी माताश्री स्वर्गीय कृपालक्ष्मी श्रेष्ठ जीवित रहनुहुँदासम्म मुमा स्वयम् र त्यसपछि धर्मपत्नी लक्ष्मी श्रेष्ठले विशालकाय कल्पवृक्षको रूपमा शीतलता छर्दै ठूलो समर्पणको भावनाका साथ आफ्ना परिवारको उत्थान कार्यमा निरन्तर लागिपरी हामीलाई कर्तव्य क्षेत्रमा डटिरहन प्रेरणा उत्सर्ग गर्नुको साथै परिवारको प्रगतिका लागि खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरी महत्त्वका साथ यहाँ प्रस्तुत गरिएको हो ।
धन्जु, राजेन्द्र, जयनरसिंह र मोतीलाल हाम्रा वंशावलीमा प्रात: स्मरणीय नामहरू हुन् । स्वर्गवासी बाजे मोतीलालका मणिप्रसाद, शिवप्रसाद तथा रामप्रसाद नामका तीन पुत्ररत्न तथा उहाँहरूका धर्मपत्नीहरूसहित नामअनुसारको काम र सुवास फैलाउँदै दावाँ बजारको इतिहासमा समाहित भइसक्नुभएको छ । उहाँहरूका सन्तान-दरसन्तान हामीहरू कर्तव्यपथमा डटी सुनौलो भविष्यको खोजी र निर्माणमा भौँतारिरहेका छौँ । भोजपुर दावाँका ‘श्रेष्ठ-सैंजु’ परिवारका निर्माता सञ्चालक एवम् पालक पिताश्री रामप्रसाद श्रेष्ठको वि.सं. १९९६, साउनमा ३८ वर्षकै उमेरमा देहावसान भएकोले परिवारको पालनपोषण तथा शिक्षादीक्षा दिने कार्य माता कृपालक्ष्मी श्रेष्ठको जिम्मामा आइपुग्यो । आमाले यो अभिभारा कुशलतापूर्वक निर्वाह गर्नुभई आफ्ना सन्तानहरूलाई समयको मागबमोजिम उच्च शिक्षा हासिल गराउनसमेत सफल हुनुभयो । हाम्रो परिवार मुमाले खडा गर्नुभएको र लक्ष्मी श्रेष्ठद्वारा संरक्षित मजबुत जगमाथि उभिई निरन्तर प्रगतिपथमा लम्किरहेको छ भन्नुमा अत्युक्ति नहोला ।
खोटाङ जिल्लास्थित ऐंसेलुखर्क शुक्रबारे भन्ने स्थानमा राजभण्डारी घरानामा जन्मनुभएकी मुमा पिताश्रीको स्वर्गारोहणपश्चात् परिवारको मूलीको भूमिकामा किसान, मोही तथा गरिबहरूको गर्जो टारिदिनुहुन्थ्यो । त्यसैले उहाँ दावाँमा लोकप्रिय हुनुभयो । काममा विश्वास गर्ने कर्मयोगी वीराङ्गनाको २०२६ साल वैशाखमा चोला उठी दावाँको माटोमा विर्सर्जित हुनुभयो । स्वर्गवासी मुमाका स्मृतिलाई सदा चिरस्थायी बनाई जीवन्तता प्रदान गर्न सिद्धेश्वर गाविस वडा नं. ५ स्थित लेखक र भाउजू कृपाकुमारी श्रेष्ठको नाममा रहेको सात रोपनी जमिन आमाको नाममा खेलकुद विकासका लागि रंगशाला निर्माण गर्न दावाँको जेठो शिक्षालय तत्कालीन सिद्धेश्वर माविलाई २०५४ साल फागुन २५ गते संयुक्त रूपमा नि:शुल्क प्रदान गरी दावाँली जनता र राष्ट्रलाई समर्पण गरी समाजसेवाको क्षेत्रमा पहल गरेका हौँ । यस कार्यले आमालाई अमरत्व प्रदान गर्ने कुरामा विश्वस्त छौँ ।
भोजपुर जिल्लाको ऐतिहासिक दावाँ बजारनिवासी पिता शुक्रकुमार तथा माता मनलक्ष्मीबाट वि.सं. १९९० साल असार १ गते जन्मिएकी लक्ष्मी श्रेष्ठसँग पङ्क्तिकार २००९ साल फागुनमा हिन्दू विधि र नेवारी रीत-परम्पराअनुसार विवाहबन्धनमा बाँधिएको हो । आमाको पहल र मेरो सहमतिमा भएको यो मागीविवाह अत्यन्त सोहार्दपूर्ण रह्यो । कहिल्यै पनि कुनै प्रकारको कटुता उत्पन्न भएन । लामो समयसम्म स्वास्थ्यस्थिति कमजोर र प्रतिकूल नरहे पनि विस्तारै यो स्थिति कायम रहन सकेन । छोरी रानुदेवी, छोराहरू राजेन्द्र ? राजु), रोशन, रविन र रमेशकी माता मेरी धर्मपत्नी लक्ष्मीको सुरुमा २०४२ सालतिर ब्रोङ्काइटिस, दम खोकी तथा पछिल्लो तीन वर्षजति टाउकोमा नसा सुक्दै गई पानीसमेत जम्ने भएर स्मरणशक्ति कम हुँदै जाँदा कहिलेकाहीँ आफ्नै परिवारका सदस्यलाई समेत चिन्न नसक्ने विकृति देखापर्‍यो । काठमाडौंको मोडेल अस्पतालमा धेरैपटक सफल उपचार हुँदै रह्यो । यसका लागि नेपालका राम्रामध्येका फिजिसियन डा. राजेशध्वज जोशी र उपचारमा संलग्न अन्य चिकित्सकहरू र नर्सहरूप्रति कृतज्ञता प्रकट गर्न म आफ्नो कर्तव्य ठान्दछु । ०६७ साल चैत १४ गते दिनको २ बजेको समयमा मूरि्छत अवस्थामा यो लोकप्रिय अस्पतालको आकस्मिक कक्षमा दाखिला गरी आईसीयूमा राखी केही सुधार भएकोले जनरल कक्षमा राखी उपचारको क्रममा एक्कासि स्वास्थ्य स्थिति बिग्रन गई डाक्टर तथा नर्सहरूद्वारा बचाउन हरप्रयासका बाबजुद २०६८ साल वैशाख ३ गते दिनको ४ बजेको समयमा स्वर्गारोहण भयो । परिवारमा कसैलाई पनि भनी नबिझाउने, सबैलाई माया प्रेम, सद्भावपूर्ण व्यवहार गर्ने अत्यन्त दयालु देवीजस्ती इश्वरकै रूपमा हाम्रो परिवारमा आएकी लक्ष्मीको देहावसान भएकोमा हामी बाँच्नेहरू रानो हराएको मौरीजस्ता भई विलखबन्दमा परी हाम्रो परिवारको जीवनयात्रामा बज्रपात पर्न गई मर्माहत भएका छौँ । अस्पतालबाट नयाँ बानेश्वरस्थित नीराजनविक्रम मार्गमा रहेको घरमा ल्याई करिब डेढ घन्टाजति घरछिमेकी, इष्टमित्र तथा आफन्तहरूद्वारा श्रद्धाञ्जली अर्पणपछि पशुपति आर्यघाटमा हिन्दू विधि र परम्पराअनुसार दाहसंस्कार सम्पन्न भयो । हाम्रा आफन्तहरूसहित शुभेच्छुकहरूको ठूलो सङ्ख्याको उपस्थितिबीच छोरा-बुहारीहरूसमेत निष्ठापूर्वक घरमा किरिया, उपवास बसेका छन् ।
दोस्रो दिनदेखि हाम्रो परिवारलाई दु:ख, शोक र विक्षिप्तताको कालो छायाले ढाकेको अवस्थामा आफैं उपस्थित भई शोकपुस्तिकाको माध्यमबाट हामीहरूप्रति सहानुभूतिको साथै दिवंगत आत्माको मुक्ति एवम् चिरशान्तिको कामनासाथ श्रद्धाञ्जली अर्पण गर्नुहुने पत्रकार बन्धुहरू, उच्चस्तरसमेतका कर्मचारीवर्गसहित राजनीतिक क्षेत्रका व्यक्तित्वहरू पशुपति आर्यघाट र घरमा समेत दिनहुँजसो सयौंको उपस्थितिले यो विपत्तिको घडीमा धर्ैयधारण गर्ने शक्ति मिली आत्मबल बढाएको छ । शोकपुस्तिका हाम्रो परिवारको कहिल्यै ननासिने बहुमूल्य सम्पत्ति भएकोले सधैं सुरक्षित राख्न्ने छौँ । भोजपुरे सेवा समाज, काठमाडौंद्वारा अध्यक्ष दयाकृष्ण न्यौपाने, परिषद् अध्यक्ष युवराज सुवेदीसहित अन्य अधिकारीहरू र सदस्यहरू घरमै आई प्/mेममा राखी पङ्क्तिकारलाई प्रदान गरिएको समवेदना स्थायी र नौलो परम्परा कायम गर्ने उच्चकोटिको छ । यसका लागि सेवा समाजसम्बद्ध सबैप्रति कृतज्ञता प्रकट गर्दछु ।
श्रद्धाञ्जलीका लागि घरमा सजाएर राखेएको स्वर्गीय लक्ष्मी श्रेष्ठको फोटोलाई सम्मान व्यक्त गर्नुहुँदै आदरणीय महान् राजनीतिक व्यक्तित्व स्वर्गीय महेन्द्रनारायण निधिका सुपुत्र तराई क्षेत्रका अत्यन्त लोकप्रिय नेपाली काङ्ग्रेसका बहुमूल्य नेता विमलेन्द्र निधिज्यू र प्रजातन्त्रका पिता गणेशमान सिंहका सुपुत्र एवम् नेपाली काङ्ग्रेसका महामन्त्री प्रकाशमान सिंहज्यूले हामीहरूप्रति देखाउनुभएको प्रेम र सद्भावप्रति कृतज्ञता प्रकट गर्दछु । शोकपुस्तिकामा व्यक्त भएका भावनाहरू हाम्रा बाँच्ने आधारहरू हुन् । यसलाई सुरक्षित राखी बेलामौकामा यहाँ उल्लेखित विचारहरूलाई महत्त्वका साथ प्रकाशित गर्दै जानेछौँ । अहिलेलाई हाम्रो परिवारलाई टिठ्याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति यही लेखको माध्यमबाट आभार व्यक्त गर्दछु ।
भोजपुर दावाँको माटो हावापानीबाट उठेको विद्वान् व्यक्तिहरूका साथै मुलुकको कला, साहित्य, सङ्गीत, शैक्षिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक क्षेत्रलाई प्राथमिक क्रममा राखी राष्ट्रियस्तरको चामत्कारिक कार्य गर्ने व्यक्तिहरूलाई समय निर्धारण गरी उल्लेखित विभिन्न विधाहरूका स्रष्टाहरूको पहिचान गरी सम्मान र पुरस्कृत गर्दै जाने प्रयोजनका लागि ‘कृष्णालक्ष्मी तथा लक्ष्मी श्रेष्ठ’को नाममा सुसङ्गठित स्मृति प्रतिष्ठान खडा गर्ने उद्देश्य राखिएको छ । यस्तो व्यवस्था गर्न सकिए हाम्रा माताहरूको कीर्ति रही अमरत्व प्राप्त हुने कुरामा विश्वस्त भएका छौँ । यस्तो व्यवस्थापन या कार्य गर्न सकियो भने सार्वजनिक रूपमा यसको जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्दै आज बाह्रौँ दिनको पुण्य तिथिको अवसरमा मेरी जीवनसाथी आर्धाङ्गिनीको आत्माले शान्ति पाओस् भन्ने कामनाका साथ बिट मार्दछु ।