कर्मोचाले दाहाललाई पङ्गु तुल्याउँदा…

कर्मोचाले दाहाललाई पङ्गु तुल्याउँदा…


othernewsसंविधानसभाको दोस्रो निर्वाचनको उम्मेदवारी दर्ताका क्रममा एकै पार्टीभित्रका प्रतिस्पर्धीहरूबीच अनेक अस्वस्थ प्रतिस्पर्धा चलेको देखियो । चुनावी क्षेत्र एक, तर दाबी गर्ने अनेक ! कसलाई टिकट दिने, कसलाई नदिने ! टिकट नपाएकालाई के भनेर फकाउने !? यस्तो असमञ्जसको अवस्थाले प्रमुख दलका शीर्ष नेताहरूको टाउको रिँग्यायो । उम्मेदवारी दाबी गर्नेहरूबीच प्रतिस्पर्धाकै कारण कसैका वर्षौंको न्यानो सम्बन्ध टुटेको त कोही पानी बाराबारको अवस्थाबाट विरोधीको मेख मार्नकै लागि जुटेका खबर पनि सुनिए । आफूले टिकट नपाएपछि टिकट पाउनेलाई जिल्लामा उम्मेदवारी दर्ता गर्नबाटै वञ्चित गर्न बाटो छेक्न खोज्नेदेखि ‘बागी’ उम्मेदवार बनेर पराजित तुल्याउन खोज्नेहरू पनि प्रशस्तै निस्किए । यस्तै बागी उम्मेदवार बनेकामध्ये एक नेपाली काङ्ग्रेसका महेश कर्मोचाले भने ओखलढुङ्गा क्षेत्र नम्बर १ का आधिकारिक काङ्ग्रेसी उम्मेदवार बालकृष्ण दाहाललाई गजबसँग जिल्याउन भ्याए ।
ओखलढुङ्गेली काङ्ग्रेस कार्यकर्ताबीच राजधानीमा चलेको चर्चाअनुसार गत साता बिहीबार उम्मेदवारी दर्ताका लागि जिल्ला जानुपर्ने भएपछि बालकृष्ण दाहालले आफ्ना दलबलसहित ओखलढुङ्गा जान प्लेन नै चार्टर गरेका थिए । उम्मेदवारले नाम दर्ता गर्नुपर्ने मितिको अघिल्लो दिन अन्तिम प्रहरमा मात्र पार्टीले उम्मेदवारको टुङ्गो लगाएकाले टिकट हात परेकाहरूलाई जिल्ला पुग्ने चटारो थियो । आफूलाई टिकट हात लाग्नेमा ढुक्क कोइरालाको किचन क्याबिनेट सदस्यका रूपमा चिनिएका दाहालले पहिले नै प्लेन बुक गरेका रहेछन् । आफ्ना सहयोगी तथा शुभचिन्तक ठानिएका सोह्रजना उनीसँग रुम्जाटार उड्ने भए । तीमध्ये एक उनै महेश कर्मोचा पनि थिए । त्यसो त दाहालका खासमध्येका एकले एयरपोर्ट लाग्नुअघि नै महेशलाई बोकेर जान नहुने भनी कान फुकेका थिए । ‘काठमाडौं बसेर टिकटको लबिङ गर्दा हात नलागेपछि पार्टीका उम्मेदवारविरुद्ध हस्ताक्षर सङ्कलनमा सक्रिय व्यक्ति भएकाले धोका हुन सक्छ’ भन्ने दाहालका समर्थकको सुझाव थियो । बालकृष्णविरुद्ध बागी नबनी छोड्दिनँ भनी आफ्ना मान्छेहरूबीच महेशले कसम खाने गरेको कुरा पनि सुनाइयो । तर, ‘सहयोग गर्न आग्रह गर्दा चुप बसेका छन्, विरोध गर्ने भए त किन मसँगै प्लेनमा जान चाहन्थे र !?’ भन्ने तर्क गर्दै दाहालले कर्मोचालाई साथै लैजाने भए । उम्मेदवार बनेका दाहालले नै चाहेपछि अब अरूले रोक्न सक्ने र मिल्ने कुरा पनि भएन, दाहालले महेशलाई पनि साथ लगाएर ओखलढुङ्गा उडाए ।
तर, रुम्जाटार विमानस्थलबाट बाहिरिन पनि नपाउँदै दाहालविरुद्ध कर्मोचाले विद्रोहको विगुल फुके । ठट्टा गरेका होलान् भन्दै दाहालले राम्ररी कुरा बुझ्न आफ्ना सहयोगीलाई अह्राए । तर, महेश खेलाँची गर्ने खालका व्यक्ति थिएनन् । जसरी पनि विद्रोहमा उम्मेदवारी दर्ता गर्नका लागि राजधानीबाट ओखलढुङ्गा पुग्नैपर्ने र अन्य कुनै उपाय फेला नपरेपछि जसका विरुद्ध उम्मेदवारी दिने हो उसैलाई हतियार बनाएर प्लेनको पुच्छर समाउनु थियो महेशलाई । उक्त चाल चल्न उनी सफल पनि भए । दाहालले नोमिनेसन गरेलगत्तै कर्मोचाले पनि उम्मेदवारी दाखिला गराए । कुनै बेला जिल्लाका काङ्ग्रेसजनबीच अत्यन्त लोकप्रिय रहेका कर्मोचा पार्टी–नेतृत्वलाई गणेश परिक्रमा गरेकै भरमा टिकट हत्याउने अनि पटक–पटक मौका पाएर पनि जित्न नसक्ने आरोप लगाउँदै दाहालविरुद्ध मोर्चाबन्दीमा जुटेका बताइन्छ । ०५६ को संसदीय निर्वाचनमा होमनाथ दाहालविरुद्ध पनि विद्रोही उम्मेदवार बनेका महेशले ०६४ को संविधानसभा निर्वाचनमा समेत टिकटको दाबी गरेका थिए । उनको यस क्रियाकलापले ओखलढुङ्गामा काङ्ग्रेसको जित कठिन हुने बताइएको छ भनेर भन्दाभन्दै अटेर गरी रुम्जाटार जाने प्लेनमा स्थान दिएर बालकृष्णले आफ्नै खुट्टामा बञ्चरो हाने भन्दै उनका समर्थकहरू यतिबेला विष्मात् मानिरहेका छन् ।
स्मरण रहोस्, शहीदपुत्रका रूपमा आफूलाई चिनाउन रुचाउने बालकृष्ण दाहाल बहीद लीलानाथ दाहालका सुपुत्र हुन् भने गिरिजाप्रसाद कोइरालाका निजी सहयोगीका रूपमा रहँदा अनेक जायज–नाजायज लाभ हासिल गरेका भन्दै कतिपय काङ्ग्रेसजनले उनको आलोचना गर्ने गरेका छन् । ओखलढुङ्गा १ नम्बर क्षेत्रमा दाहालको प्रतिस्पर्धीका रूपमा एमाओवादीबाट सर्वोच्चमा ज्यान मुद्दा खेपिरहेका केशव राई र एमालेबाट यज्ञ सुनुवार चुनाव लड्दै छन् । यस्तै, २ नम्बरमा काङ्ग्रेसका रामहरि खतिवडाविरुद्ध एमाओवादीका पेशल खतिवडा र एमालेका धनाढ्य नानीबाबु बुढाथोकी प्रतिस्पर्धामा छन् ।

‘लिम्बुवान’मा उम्मेदवारलाई प्रवेश निषेध
जनजातिलाई पनि नछोडिने
पूर्वका नौवटा जिल्लामा संविधानसभाका उम्मेदवारलाई प्रवेश निषेध गरिने भएको छ । सङ्घीय मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान परिषद्, नेकपा माओवादी र अन्य दल एवम् समूहको सक्रियतामा उम्मेदवारलाई निषेध कार्यक्रम तय भएको हो । सङ्घीय लिम्बुवान परिषद्का अध्यक्ष कुमार लिम्बू लिङ्देनका अनुसार पूर्वका नौवटा जिल्लामा उम्मेदवारले प्रचारप्रसार गर्नेबारे कल्पनै नगर्दा हुन्छ । घटना र विचारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले भने, ‘लिम्बुवान प्रदेशमा ‘निर्वाचन’ भन्ने शब्द खासै प्रचलनमा रहने छैन । बहिष्कारको सन्दर्भमा भने यो शब्द पूर्ण रूपले सर्वसाधारण सबैको कानमा पुग्नेछ । हामी दशैँलगत्तै के–के गर्ने भनेर रणनीति तय गरिरहेका छौँ ।’ दशैँलगत्तै कात्तिक २ गतेदेखि नै जिल्लामा नेताहरूलाई प्रवेश दिइने छैन । कात्तिक ७ गते लिम्बुवान राज्य परिषद्सम्बद्ध लिम्बुवान भोलन्टियर्सले मोरङको उर्लाबारीदेखि झापाको दमकसम्म मार्चपास राखेको छ । मार्चपासमा ‘एलभी’का नामले चर्चित लिम्बुवान भोलन्टियर्सका १० हजार युवाहरूको सहभागिता रहने जनाइएको छ । मार्चपासमा निर्वाचन बहिष्कार र उम्मेदवारहरूलाई तिरस्कारका लागि सार्वजनिक आह्वान गरिनेछ । एनेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र मधेशवादी दलका कुनै पनि शीर्षस्थ नेतालाई जिल्ला प्रवेश निषेध गरिने पनि अध्यक्ष लिङ्देनले बताए । उनले भने, ‘जिल्ला सदरमुकाममा पुगिहाले पनि क्षेत्रसम्म पुग्न दिइने छैन ।’ सङ्घीय राज्यपरिषद्लगायतका दल र समूहले परिभाषित गरेको लिम्बुवान राज्यमा झापा, मोरङ, सुनसरी, संखुवासभा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा र तेह्रथुम गरी नौवटा जिल्ला रहेका छन् ।
चुनवी विरोध कार्यक्रमअन्तर्गत कात्तिक ११ गते नौवटै जिल्लामा बन्दको आह्वान गरिएको छ । यसैगरी कात्तिक २५ देखि मङ्सिर ५ गतेसम्म माओवादीलगायत ३३ दलले गरेको १० दिने नेपाल बन्दमा लिम्बुवान क्षेत्रमा सशक्त पारिने जानकारी पनि अध्यक्ष कुमार लिङ्देनले दिए । ठूला भनिएका नेताहरू जुन जिल्ला पुग्छन् त्यहाँ तत्काल बन्दको आह्वान गरिने कार्यक्रम पनि रहेको छ । अध्यक्ष लिङ्देनले भने, ‘यसो गर्दा जनतालाई दुःख हुन्छ भन्ने हामीलाई थाहा छ, त्यसैले जनतालाई मारमा पर्नबाट जोगाउन ठूला भनिएका नेताहरू जिल्ला आइदिनुभएन । राजधानीमा बसेर उहाँहरू जेसुकै गर्नुहोस्, त्यो हाम्रो सरोकारको विषय रहेन ।’ राष्ट्रिय अखण्डताको सवालमा आफूहरू सधैँ अडिग रहने तर आफ्ना मागविपरीत कसैले कदम चाल्छ भने त्यसको सीधा प्रतिकार गरिने पनि उनले बताए । ‘तपाईंहरू जातीय हितको कुरा गर्नुहुन्छ, पूर्वमा धेरैजसो जनजाति नै उम्मेदवार छन्, सुवास नेम्वाङदेखि राजेन्द्र लिङ्देनसम्म यी नेताहरूको सवालमा तपाईंहरूको आन्दोलन कस्तो हुन्छ ?’ भन्ने प्रश्नमा अध्यक्ष लिङ्देनले भने, ‘अहिलेको हाम्रो आन्दोलन नितान्त नीतिगत आन्दोलन हो । निर्वाचन बहिष्कार अहिलेको हाम्रो लक्ष्य हो । सीमित दल र व्यक्तिहरूको निर्णयमा संविधानसभाको निर्वाचन गर्न मिल्दैन, यसमा सबैको सहभागिता हुनुपर्छ भन्ने हाम्रो माग हो । सुवास नेम्वाङलगायतका कुनै पनि जातजातिका नेतालाई निर्वाचनका लागि प्रचार–प्रसार गर्दै हिँड्न दिइने छैन, यो हाम्रो नीति हो ।’
लिम्बुवान आन्दोलनमा क्षेत्री–बाहुनको सहभागिता दिन–प्रतिदिन बढ्दै गएको दाबी पनि उनले गरे । उनको भनाइमा लिम्बुवान प्रदेश जातीय होइन क्षेत्रीय कुरा हो, जसलाई हासिल गरेरै छाड्ने अडान परिषद्को छ । चुनावलाई लिएर आफूहरूको रणनीतिविरुद्ध सरकारले कदम चाले त्यसको ठटेर प्रतिकार गर्ने निर्णय भएको, दमन गरिए आन्दोलनले अर्को जनआन्दोलनको रूप लिने पनि अध्यक्ष लिङ्देनले बताए । उनले भने हाम्रो आन्दोलन सशस्त्र होइन सशक्त हुनेछ । सरकारले हस्तक्षेप गरे परिणाम राम्रो हुने छैन ।

पूर्वराजाको दशैँ नारायणहिटीमा
पूर्व ‘श्री ५ महाराजाधिराज’ ज्ञानेन्द्र तथा उहाँको परिवारको दशैं यस वर्ष नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा हुने भएको छ । प्राप्त जानकारीअनुसार मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाहको निवास रहेको महेन्द्र मञ्जिलमा राजपरिवारको टीका लगाउने कार्यक्रम छ । टीकाको साइतमा राजगुरुज्यू तथा पुरोहितहरूबाट टीका लगाएपछि पूर्वमुमाबडामहारानीबाट सबैले टीका लगाउने र त्यसपछि राजाबाट पूर्वबडामहारानी कोमल तथा बुहारी हिमानी र नातिनातिनी, पूर्वअधिराजकुरमार धीरेन्द्रका छोरीहरू पूजा, दिलासा र सीताष्मा, बहिनी शोभा, छोरी प्रेरणा, ज्वाइँ तथा नाति–नातिनीलाई रोलक्रमअनुरूप टीका लगाउने कार्यक्रम रहेको छ । यसअघि टीकाको साइतमा निर्मलनिवासमै टीका लगाउने गरिएको थियो ।
घटस्थापना र दशैँको पूजापाठ महेन्द्र मञ्जिल र निर्मलनिवास दुवैतिर गरिएको छ । दशैँमा छोरी, ज्वाइँ, बुहारी, नाति–नातिनी सबै भए पनि छोरा पारसको भने उपस्थिति रहने छैन । पूर्वयुवराज पारस अहिले बैंककस्थित एक पुनस्र्थापना केन्द्रमा उपचाररत हुनुहुन्छ । उहाँको उपचारमा अझै केही समय लाग्ने बताइएको छ । पूर्वयुवराज्ञी हिमानी दुई हप्ताअघि मात्रै पुनस्र्थापना केन्द्रको पैसा तिर्न तथा पति पारससँगको भेटघाटका लागि बैंकक पुग्नुभएको थियो । पारसको स्वास्थ्य स्थितिमा सुधार आएका कारण खुसी हुनुभएकी हिमानीसँग आफू पूर्ण स्वस्थ भएपछि मात्रै बाहिर निस्कने कुरा पूर्वयुवराजले गर्नुभएको बताइएको छ । तिहारसम्म पनि उहाँको स्वास्थ्य ठीक नभए प्रेरणा, सीताष्मा, पूजा या दिलासामध्ये कोही न कोही बैंकक गएरै टीका लगाइदिने सोच शाही परिवारले बनाएको बुझिएको छ ।
विगत दुई महिनादेखि कसैसँग भेटघाट नगरी मौन बस्नुभएका पूर्वराजा ज्ञानेन्द्र विजयादशमीको अवसरमा विभिन्न शक्तिपीठहरूको पूजाआजामा बाहिर निस्कनुहुने भएको छ । जानकारीअनुसार असोज २६ गते महाअष्टमीका दिन दिउँसो ४ बजे नक्साल भगवतीमा पूजाआजा गरिने र त्यसपछि क्रमशः गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महाङ्काल, सङ्कटा, नरदेवी, रक्तकाली र शोभाभगवतीमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । बडादशैँको टीका महेन्द्र मञ्जिलबाट सुरु गरिने भए पनि सर्वसाधारण तथा अन्य शाही नातेदारलाई भने निर्मलनिवासमै टीकाको कार्यक्रम राखिएको छ ।
विजयादशमीको दिन ३ बजेदेखि निर्मलनिवासमा सर्वसाधारणका लागि टीका खुला गरिएको छ । मुलुकमा औपचारिक रूपले राजसंस्था नरहे पनि पूर्वराजाको हातको टीका थाप्न वर्षेनी हजारौँको सङ्ख्यामा भीड लाग्ने गरेको छ । यता साहेबज्यू, चौतारिया तथा शाही नातेदारका लागि भने विजयादशमीको भोलिपल्ट टीका कार्यक्रम राखिएको छ । यसअघि आफ्नो परिवारको टीका सकेर शाही नातेदार र त्यसपछि मात्रै सर्वसाधारणलाई टीका लगाउने गरिएको थियो । विगतमाझैँ यो वर्ष पनि नेपाली जनताका नाममा पूर्वराजाबाट बडादशैँको शुभकामना सन्देश दिइने बताइएको छ ।

राजदूतमाथि खनिँदा आफ्नै उठिबास
बेलायतका लागि पूर्वराजदूत मुरारीराज शर्माको घरेलु कामदारको रूपमा बेलायत पुगेर पछि दूतावासकै कर्मचारीका रूपमा नियुक्ति दिइएका र सरकारी कर्मचारी भएर पनि शर्माकै निजी अनुचरको हैसियत दर्शाएको भनी आलोचित दुई पूर्वकर्मचारीको इन्डिफिनेट लिभ टु रिमेन (आईएलआर) अर्थात् बेलायतमा स्थायी रूपमा बस्न पाउने आवासीय अधिकार खोसिने भएको छ । राष्ट्रसेवक भएर पनि विदेशमा देशको इज्जत–प्रतिष्ठाविपरीत क्रियाकलाप गरेको र मुलुकको प्रतिनिधिका रूपमा रहेका राजदूतको दुर्नियतवश मानमर्दनमा उत्रिएका कारण उनीहरूको आईएलआर खोसिन लागेको परराष्ट्र सूत्रले जनाएको छ । यसरी बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेविरुद्ध जथाभावी अभिव्यक्ति दिनुका साथै देशकै बेइज्जत हुने क्रियाकलापमा संलग्न भई आईएलआर गुमाउनेहरूमा दमन्ता खरेल र सुरेन्द्र भण्डारी नामक व्यक्तिहरू हुन् । खरेल र भण्डारीको आईएलआर खोस्न बेलायती परराष्ट्र मन्त्रालय (एफसीओ)ले नेपाली दूतावाससँग समन्वय गरी प्रक्रिया अघि बढाएको स्रोतले जनायो ।
सूत्रका अनुसार अढाई वर्Èअघिदेखि दूतावासले वर्Èैपिच्छे म्याद थपिदिएर पाँच वर्È अवधि पूरा गरेका खरेल र भण्डारीले करिब दुई महिनाअघि आईएलआर भिसा पाएका थिए । तर, आचरणमा नरही अनुशासनहीन क्रियाकलाप गर्ने भनी सहकर्मीबीच नै आलोचित भण्डारी र खरेलको करार अवधि थपिएन र यही झोँकमा अत्यन्तै निकृष्ट तहमा ओर्लिएर उनीहरूले राजदूतविरुद्ध विभिन्न मिडियामा अफवाह फैलाएका थिए । सम्बद्ध स्रोतका अनुसार एउटा राष्ट्रको प्रतिनिधिको मानमर्यादाको छवि धुमिल पार्ने कार्य राज्यविरुद्धको अपराधसरह भएको निष्कर्Èसहित एफसीओले ती कर्मचारीको सम्पूर्ण विवरण लिई आईएलआर रद्द गरिदिन लागेको हो । कर्मचारी ऐनअनुसार विदेश (दूतावास)मा खटिएका कर्मचारीको करार थप्ने–नथप्ने सम्पूर्ण अधिकार सम्बन्धित राजदूतसँग निहित हुने प्रचलित कानुनलाई जानाजान बेवास्ता गरी ती दुईले राजदूत डा. चालिसेको मानहानि हुने गरी गालीगलौज गरेपछि एफसीओले यो कठोर कदम चालेको हो । खरेलले दूतावासका कर्मचारीहरूलाई धम्कीयुक्त मोबाइल सन्देश पठाउने गरेको र त्यस सन्देशलाई पनि एफसीओले गम्भीर रूपमा लिएको बुझिएको छ । यूकेको कानुनअनुसार प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कसैलाई धम्की वा जिस्क्याउने उद्देश्यले कसैले व्यवहार गरेमा त्यस्तालाई अपराधीसरह कारबाही गरिन्छ ।
स्मरण रहोस्, भियना कन्भेन्सनअनुसार कूटनीतिक पदाधिकारीहरूलाई डिप्लोमेटिक इम्युनिटी हुने गर्दछ । यदि कुनै व्यक्ति नेपाली हो र उसले कूटनीतिक व्यक्तिहरूको मानहानि गरेमा एफसीओले कारबाही गर्न सक्छ भने युरोपियन राहदानीवाहक भएमा उसलाई पक्रेर यूके अदालतमा उभ्याउन सक्छ । यस प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च यूके सरकारले नै व्यहोर्ने प्रावधान छ ।
यसैबीच अर्को एक स्रोतले दूतावास विवाद प्रकरणबारे थप तथ्यहरू उपलब्ध गराएको छ । पूर्वराजदूत मुरारीराज शर्माको घरेलु कामदारका रूपमा बेलायत पुगेका ती दुई पूर्वकर्मचारी आईएलआर पाएपश्चात् पनि पुनः करार थप्न किन लालयित भए र करार नथपिएको कारण राजदूतविरुद्ध विभिन्न लाञ्छना लगाउन किन उद्यत् भए भन्ने प्रश्नको पछाडि केही चाखलाग्दा तथ्य उजागर भएका छन् । यथार्थ के रहेछ भने दूतावासमा काम गर्ने कर्मचारीको मासिक तलब ज्यादै न्यून छ । बेलायतको नियमअनुसार न्यूनतम पारिश्रमिक प्रतिघन्टा ६ पाउन्ड १९ पेन्स् अर्थात् मासिक सालाखाला एक हजार पाउन्ड हुन आउँछ । जब कि नेपाल सरकारले सातै दिन काम गर्नुपर्ने एउटा तल्लोस्तरको कामदारलाई महिनाको तीन सय बीस पाउन्ड मात्र दिने गरेको छ । तर, यति थोरै ज्यालामा पनि मानिस काम गर्न मरिहत्ते गर्नुको स्वार्थचाहिँ पाँच वर्È बिताएर बेलायतको आवासीय अधिकार लिनु नै रहिआएको छ । लन्डन दूतावासमा सुरुदेखि नै उच्च कूटनीतिक कर्मचारीसँग त्यहाँ पुगेका घरेलु कामदारहरूले नै दूतावासमा खाली भएका पदमा कामको अवसर पाउँदै आएका छन्, किनकि वर्क परमिट भिसाबाहेककालाई यूकेबीएको नियमअनुसार नियुक्त गर्नु गैरकानुनी मानिन्छ र पाँच वर्Èपछि आईएलआर प्राप्त भएपश्चात्् दूतावास छाडी बढी पैसा आउने अन्य जागिरतिर उनीहरू लाग्ने गरेका छन् । तर, पूर्वराजदूतले ल्याएका कामदारको सन्दर्भमा भने भिन्नै खालको परिदृश्य देखापरेको छ । उनीहरूको योजनाअनुसार दूतावासमा निरन्तरता पाएपछि नेपाल सरकारविरुद्ध यूके अदालतमा ‘न्यूनतम पारिश्रमिक नदिएको र श्रम तथा मानसिक शोÈण गरेको’ भनी मुद्दा दायर गर्ने रणनीति उनीहरूको थियो । मुद्दा अदालतमा गइसकेपछि स्वाभाविक रूपमा राजदूतलाई काम गर्न असहज वातावरण सिर्जना गरी असफल तुल्याउने दुर्नियतबाट प्रेरित भई उनीहरू विभिन्न सञ्चारमाध्यमलाई प्रयोग गर्दै जथाभावी मानहानि गर्न उत्रेका घटनाक्रमले सिद्ध गरेको स्रोतले दाबी ग-यो । स्मरण रहोस्, राजदूत डा. सुरेशचन्द्र चालिसे बेलायतको प्रतिष्ठित ग्रासरुट डिप्लोम्याट अवार्डस्बाट गत वर्È सम्मानित भएका कूटनीतिज्ञ हुनुहुन्छ ।

नेता खड्काको भव्य स्वागतको तयारी
सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको आरोपमा गत वर्षदेखि काराबासको सजाय भोगिरहनुभएका खुमबहादुर खड्काको कैद भुक्तान भएको छ । करिब १४ महिनाअघि जेल जानुभएका उहाँ आज बुधबार छुट्दै हुनुहुन्छ । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता खड्का कारामुक्त हुनुहुने भएपछि उहाँलाई स्वागत गर्न दशैँको चटारोबीच पनि देशभरिका हजारौँ कार्यकर्ता तथा समर्थक राजधानी आइपुगेका छन् । मुलुक निर्वाचनमा होमिएकै बेला खड्का जेलमुक्त हुनुहुने खबरले काङ्ग्रेसका कार्यकर्तामा उत्साह थपिएको छ ।
दशैँ मान्न राजधानीबाट अधिकांश कार्यकर्ता आ–आफ्ना गाउँ–जिल्ला लागिसकेका छन्, तथापि काङ्ग्रेस कार्यकर्ताले खड्काको भव्य स्वागत कार्यक्रमको तयारी गरेको जानकारी प्राप्त भएको छ । विशेषगरी दाङ, बाँके, तनहुँ, कास्की, स्याङ्जा, बर्दिया, रुकुम, सुर्खेत, सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्लाबाट समेत कार्यकर्ता काङ्ग्रेसको शक्ति प्रदर्शनकै झल्को दिने गरी खड्काको स्वागत कार्यक्रममा सहभागी हुने एक काङ्ग्रेस नेताले बताए । स्वागतमा ज्यादा तडकभडक नगर्न निर्देशन दिइए पनि कार्यक्रममा सहभागी हुने कार्यकर्ताका लागि हजारौँको सङ्ख्यामा नेपाली काङ्ग्रेसको झण्डा र रूख चिह्नअङ्कित क्याप र टी–सर्टहरू तयार गरिएको बताइएको छ । जेलमुक्त भएलगत्तै व्यवस्थित तथा मर्यादित किसिमको -याली र -यालीपछि काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा सभा आयोजना गरिने कार्यक्रम रहेको छ । सभालाई नेता खड्काले सम्बोधन गर्नुहुनेछ । काङ्ग्रेसका शुभचिन्तक र पार्टी कार्यकर्ताको आग्रहबमोजिम नेता खड्का आगामी मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचनमा काङ्ग्रेसका उम्मेदवारलाई विजयी तुल्याउन देशदौडाहामा निस्कनुहुने उहाँनिकट सूत्रले जनाएको छ ।
यसैबीच, खुमबहादुर खड्काको चौधमहिने जेल बसाइको अवधिमा उहाँलाई भेट्न झन्डै सवा लाख व्यक्ति डिल्लीबजार कारागार पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । पार्टीका नेता–कार्यकर्ताका अलावा सेना, प्रहरी, कर्मचारीदेखि अन्य क्षेत्रका व्यक्ति–व्यक्तित्वहरू र सर्वसाधारण नागरिकले पनि जेलमा खड्कासँग भेट गरेका थिए । काङ्ग्रेस सभापति कोइरालासमेत पार्टीको टिकटमा विवाद भएपछि नेता खड्कासँग सल्लाह लिन कारागार पुग्नुभएको थियो ।

बहिष्कार असफल भए प्रचण्ड हराएर चित्त बुझाइने
संविधानसभा निर्वाचनमा काठमाडौं १० र सिरहा ५ बाट प्रत्यक्षमा उम्मेदवारी दिएका प्रचण्डलाई दुवै निर्वाचन क्षेत्रबाट हराउने योजनामा नेकपा–माओवादीलगायत सो पार्टी नेतृत्वको ३३ दलीय मोर्चा अहिलेदेखि नै सक्रिय हुने बुझिएको छ । निर्वाचन नै बहिष्कार गर्ने नीति भए पनि कथम् चुनाव भएमा प्रचण्डलाई जसरी पनि हराएर उनको हैसियत देखाइदिने रणनीति उक्त मोर्चाले बनाएको छ । माओवादी तथा मोर्चामा आबद्ध दलहरूलाई एमाओवादी अध्यक्ष प्रचण्डले नै तिगडम लगाएर चुनावमा जान रोकेकाले उनलाई हराएर बदला लिने उद्देश्यले पार्टीका राज्य एवम् जिल्लास्तरका कार्यकर्तालाई गोप्य सर्कुलर जारी गरेको स्रोतले बतायो । निर्वाचन बहिष्कारको कार्यक्रम अघि बढाउने, त्यो असफल हुने देखिए एमाओवादीका उम्मेवारलाई निर्वाचनमा पराजित गर्ने अभियानमा लाग्न सो सर्कुलरमा स्पष्ट निर्देशन दिइएको छ । एमाओवादीकै कारण आफूहरू निर्वाचनमा सहभागी हुन नसकेको भन्दै पहिलो निसाना नै एमाओवादीलाई बनाउनुपर्ने माओवादीको प्रस्ताव रहेको र त्यसमा मोर्चाले सहमति जनाएको थियो ।
माओवादीका एक केन्द्रीय नेताका अनुसार प्रचण्डकै कारण वार्ता भाँडिएको र प्रचण्डकै निर्देशनमा सरकारले सेना परिचालन गर्ने निर्णय गरेर माओवादीलाई सिध्याउन खोजेकाले माओवादी प्रचण्डविरुद्ध उत्रन बाध्य भएको हो । एमाओवादी अध्यक्षप्रति सबैभन्दा धेरै आक्रोशित वैद्यले उच्चस्तरीय राजनीतिक समितिका नेताहरू पुग्ने जिल्लाहरू बन्द गर्ने, उनीहरूलाई जिल्ला प्रवेश गर्न नदिने तथा मौन रहन चाहने पार्टीका कार्यकर्तालाई विपक्षी दललाई सहयोग गरी एमाओवादीलाई हराउने अभियानमा लाग्न आग्रह गरिनेछ ।
यसैबीच, नेकमा एमालेले प्रचण्ड उठेको निर्वाचन क्षेत्रबाट युथफोर्सको कमिटी निर्माण सुरु गरेको छ । संविधानसभा चुनावलाई लक्षित गरेर नेकपा एमालेले प्रचण्डले उम्मेदवारी दिएकै निर्वाचन क्षेत्रबाट यसको सुरुवात गरेको हो । फोर्स गठनको सुरुवात एमाले नेता केपी शर्मा ओलीले गरेका हुन् । युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतका अनुसार काठमाडौं १० बाट क्षेत्रीय कमिटी गठनको सुरुवात गरिएको छ । युवा सङ्घले एक निर्वाचन क्षेत्रमा कम्तीमा दुई सय युवाको टास्क फोर्स बनाउने यसअघि नै बताएको छ । यद्यपि, प्रचण्ड उठेको निर्वाचन क्षेत्रबाट एमाले र काङ्ग्रेसले तुलनात्मक रूपमा कमजोर उम्मेदवार उठाएको छ । काङ्ग्रेसले काठमाडौं १० बाट राजेन्द्र केसी, एमालेले सुरेन्द्र मानन्धर र सिरहा ५ बाट काङ्ग्रेसले चन्द्रनारायण यादव र एमालेले लीलानाथ श्रेष्ठलाई प्रचण्डविरुद्ध खडा गरेका छन् ।

समानुपातिक उम्मेदवार खोज्दा दलहरू हैरान
ठूला पार्टीलाई समानुपातिकतर्फका उम्मेदवार छान्न हम्मेहम्मे प-यो भने साना दललाई के भयो होला भन्ने जिज्ञासा उत्पन्न हुनु स्वाभाविक छ । पार्टीभित्र र बाहिरबाट समानुपातिक सूची बनाउन चर्को दबाब परिरहेको बेला उम्मेदवार छनोटमा सक्रिय रहेको दलका नेताहरूले उपयुक्त उम्मेदवार नपाएर हैरानीमा परेको खुलासा भएको छ ।
बुझिएअनुसार समानुपातिकतर्फ उम्मेदवार छनोटमा सबैभन्दा बढी समस्या एमालेलाई परेको थियो । एमालेले ललितपुरस्थित एक सहकारी कार्यालयमा गोप्य बैठक बसी समानुपातिकतर्फका उम्मेदवार छनोट गरेको थियो । एमाले नेता वेदुराम भुसाल, डा. विजय पौडेललगायतका नेताहरू बसी एमालेले समानुपातिक सूची बनाएको थियो । अध्यक्ष खनाल, वरिष्ठ नेता माधव नेपाल, केपी ओली तथा वामदेव गौतमले दिएको लिस्टलाई समावेश गर्दै समानुपातिकतर्फको सूची बनाइएको थियो । सूची बनाउँदा दलित, महिला, आदिवासी तथा जनजातिहरूको प्रतिनिधि नभेट्टाएर निकै समस्या भएको बुझिएको छ । सूची बनाउन सहभागी एक नेताले भने, ‘आयोगले तोकेको परिधिभित्र रहेर सूची बनाउन खोज्दा क्राइटेरियाभित्रको उम्मेदवार नपाएर हैरानीमा परियो ।’ सबैको चित्त बुझाउन नसकेकाले पनि समस्या परेको उनले खुलासा गरे ।
त्यस्तै एमाओवादीलाई पनि समानुपातिकतर्फ उम्मेदवार तय गर्न केही समस्या परेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उम्मेदवार बन्ने धेरैको इच्छा भएकाले सबैलाई समेट्न समस्या परेको सापकोटाले बताए । त्यस्तै, काङ्ग्रेस, माले, तथा मधेसी दलमा पनि समानुपातिकतर्फ उम्मेदवार छनोट गर्न निकै मुस्किल परेको थियो । उनीहरूले पनि हचुवाको भरमा उम्मेदवार सिफारिस गरेको बुझिएको छ ।

निर्वाचनविरोधीले गरे जितको घोषणा
संविधानसभा निर्वाचनको विपक्षमा रहेको नेकपा–माओवादीलगायत ३३ दलीय मोर्चाले चुनावी प्रक्रिया सुरु भएलगत्तै आफूहरूको जित भएको निष्कर्ष निकालेको छ । उसले आफूहरूको सहमतिबिनै निर्वाचन प्रक्रिया अघि बढाए पनि चुनावका लागि सेना परिचालन गर्ने सरकारी तयारीका कारण वैचारिक हिसाबले आफ्नो जित भएको दाबी गरेको हो ।
भौतिक रूपमा विजय हासिल गर्न नसके पनि वैचारिक रूपमा जितिसकेका छौँ भन्दै माओवादीका एक केन्द्रीय नेताले भने, ‘निर्वाचनमा सेना परिचालित गर्नु भनेको हाम्रो शक्तिसँग सरकार र चारदलीय सिन्डिकेट त्रस्त बनेको पुष्टि हुनु हो, यस हिसाबले हाम्रो नैतिक र वैचारिक जित भइसकेको छ भने भौतिक रूपमा पनि निर्वाचन बहिष्कारका कार्यक्रमलाई हामी सफल पार्नेछौँ ।’
माओवादी पार्टी कार्यालयमा गत आइतबार बसेको ३३ दलीय मोर्चाको बैठकले जनताले सबैको सहमतिमा चुनाव हुनुपर्छ भन्दाभन्दै सेना लगाएर पेलपालको चुनाव गर्न खोजिएबाट आफूहरूको राजनीतिक मुद्दा सही भएको पुष्टि भएको र यसैबाट निर्वाचनपूर्व नै आफ्नो जित भएको निष्कर्ष निकालेको हो । सो बैठकले मोर्चाले तय गरेको विरोधका कार्यक्रमअनुसार दशैँ र तिहारको अवधिमा ग्रामीण आन्दोलनलाई सशक्त बनाउने निर्णयसमेत गरेको छ । दशैँ–तिहारमा विभिन्न शहरबाट गाउँमा मानिस जाने र उनीहरूलाई आफ्नो बहस र एजेन्डामा तन्न सके सजिलै निर्वाचन बहिष्कार गर्न सक्ने भन्दै ग्रामीण आन्दोलनलाई सशक्त बनाउने निर्णय भएको माओवादी सचिव देव गुरुङले जानकारी दिए ।

दलित आयोग पनि बहिष्कारको पक्षमा
सरकारकै दानापानीमा सञ्चालित राष्ट्रिय दलित आयोगले संविधानसभाको निर्वाचन बहिष्कार गर्ने धम्की दिएको छ । संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारमा राजनीतिक दलहरूले दलितको उचित सहभागिता नगराएको भन्दै आयोगले निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएको हो । कम्तीमा पनि प्रत्यक्षतर्फ आफ्नो समुदायबाट १३ प्रतिशतको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग राख्दै उनीहरू दलित समुदायको प्रतिनिधित्व नभएको संविधानसभाले दलित समुदायको अधिकारलाई सुनिश्चित गर्न नसक्ने ठहरमा पुगेका छन् ।
एकीकृत माओवादी, नेपाली काङ्ग्रेस र एमालेले दलित नेताहरूलाई उम्मेदवार बनाएको प्रतिशत अत्यन्त न्यून भएको, त्यो न्यायसङ्गत नभएको र त्यसको सिको गर्दै अन्य दलले पनि दलितलाई उम्मेदवार बन्नबाट वञ्चित गरेको भन्दै आयोगले निर्वाचन बहिष्कार गर्ने जनाएको हो । प्रत्यक्ष निर्वाचनतर्फको दुई सय ४० निर्वाचन क्षेत्रमा एमाओवादीले १०, एमालेले ६ सिटमा मात्रै दलितलाई उम्मेदवार बनाएर ‘सान्त्वना’ दिएझैँ गरेको र काङ्ग्रेसले त एउटै पनि उम्मेदवार दलितबाट नदिनु विडम्बनापूर्ण भएकाले तत्काल उचित व्यवस्था गर्न सो आयोगले माग गरेको छ । आयोगकी अध्यक्ष सुशीला सिर्पालीले ऐतिहासिक जनआन्दोलनमा महत्वपूर्ण योगदान दिएका दलितलाई ठूला पार्टीहरूले उपेक्षा गरेर अधिकारविहीन बनाउन खोजेको जिकिर गरिन् । उनले भनिन्, ‘कम्तीमा १३ प्रतिशत जनसङ्ख्या रहेको अनुपातमा प्रत्यक्षमा दलितलाई उम्मेदवारीको मौका दिएर जिताउने प्रबन्ध पार्टीहरूले नगरेकाले हामी चुनाव बहिष्कार गर्न बाध्य हुनेछौँ ।’

यस्तो छ सेनाको प्रस्टोक्ति
प्रधानसेनापति गौरवशमशेर राणाले भारत भ्रमणका क्रममा त्यहाँका कुनै सञ्चारमाध्यमलाई कुनै किसिमको औपचारिक अन्तर्वार्ता नदिएको नेपाली सेनाले प्रस्ट्याएको छ । भारतीय मिडियालाई दिइएको अन्तर्वार्तामा प्रधानसेनापतिले चीन र भारतसँग सम्बन्धित मामलामा विवादास्पद अभिव्यक्ति दिएका भन्दै केही मिडियाले समाचार सम्प्रेषण गरेका थिए । सोही समाचारबारे स्पष्टीकरण दिँदै सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा विगत केही दिनयता केही सञ्चारमाध्यममा प्रधानसेनापति राणाले नेपाल र छिमेकी मुलुकको सुरक्षा र सोसँग सम्बन्धित विषयवस्तुमा टीका–टिप्पणी गर्दै अन्तर्वार्ता दिएको भन्ने समाचार तथ्यहीन र भ्रामक भएको नेपाली सेना स्पष्ट पार्न चाहन्छ भनिएको छ ।
सेनाले जनाएअनुसरार भारतको औपचारिक भ्रमणको सिलसिलामा सैनिक नेतृत्वले भारतीय सरकारका विदेश सचिव एवम् भारतीय सेनाका सैनिक नेतृत्वलगायत उच्च सैनिक अधिकारीहरूसँग पूर्वनिर्धारित कार्यक्रमअनुसार भेटघाट तथा छलफल भएको थियो । सप्ताहव्यापी उक्त भ्रमणका दौरान प्रधानसेनापति राणाले सञ्चार जगत्लाई कुनै किसिमको औपचारिक अन्तर्वार्ता नदिएको हुँदा उक्त टीका–टिप्पणी आफैँमा अप्रासङ्गिक तवरले सम्प्रेषण गरेको देखिएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली सेना एक पेसेवर, अराजनीतिक र संविधानले प्रदत्त गरेका अधिकार क्षेत्रभित्र रही नागरिक सर्वाेच्चतालाई सम्मान गर्ने संस्था भएको प्रस्ट्याउँदै नेपाली सेना वा नेपाली सेनाको नेतृत्वले त्यस प्रकृतिको गैरजिम्मेवारीपूर्ण टीका–टिप्पणी गर्ने सम्भावना नै नरहेको जनाइएको छ ।

मधुमेहको उपचारार्थ मित्रराष्ट्रबाट पाँच करोड
गान्धी ग्लोबल फेमिली नेपाललाई मित्रराष्ट्र भारतले पाँच करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । मधुमेहका बिरामीको जाँच तथा उपचारार्थ नेपाल–भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत सो सहयोग प्रदान गरिन लागेको हो । सोसम्बन्धी सम्झौतापत्रमा भारतीय दूतावास र गान्धी ग्लोबल फेमिलीबीच हस्ताक्षर सम्पन्न भएको छ ।
‘गान्धी ग्लोबल फेमिली नेपाल’ नेपाल–भारत मानव विकासमैत्री सङ्घ (एनआईएचयूडीएफए)अन्तर्गत सञ्चालित एक सर्वोच्च स्वयम्सेवी संस्था हो । आर्थिक र भौगोलिक रूपले पछाडि परेका जनतालाई स्वास्थ्य र शिक्षा सेवा प्रदान गरी मानवता तथा सहयोग अभिवृद्धि गर्ने उद्देश्यका साथ यसको स्थापना गरिएको बताइन्छ । सम्झौताअनुसार भारत सरकारले गान्धी ग्लोबल फेमिली नेपाललाई ३० हजार आठ सयवटा मधुमेहसम्बन्धी आधारभूत प्रयोगशाला परीक्षण गर्न, १० हजार चार सय ५० जना मधुमेहका बिरामीलाई ६ महिनासम्म निःशुल्क औषधि प्रदान गर्न तथा नेपालका विभिन्न जिल्लामा स्वास्थ्य शिविरमार्फत चार हजार चार सय मधुमेहका बिरामीको रोग परीक्षण गर्न शतप्रतिशत वित्तीय सहयोग प्रदान गर्नेछ ।

‘सिनेमाण्डू’मा सुनगाभा र कागबेनी
भारतीय राजदूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानको संयुक्त आयोजनामा ‘सिनेमाण्डू’को छैटौँ र सातौँ संस्करण नेपाल–भारत पुस्तकालयमा आयोजना भएको छ । अघिल्लो साता आयोजित ‘सिनेमाण्डू’मा ओस्कारमा मनोनीत तथा समालोचकहरूबाट धेरै मन पराइएको चलचित्र सुनगाभा प्रदर्शन गरिएको थियो ।
भारतीय राजदूतावास प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रमुख अभय कुमारले कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै हरेक महिना आयोजना गरिने सिनेमाण्डूको उद्देश्य अवगत गराउनुभयो । कुमारले उत्कृष्ट नेपाली चलचित्रको प्रवद्र्धन गर्दै श्रोता तथा समर्थकहरूसँग प्रत्यक्ष रूपमा निर्माता तथा कलाकारहरूलाई अन्तरक्रिया गराउन मौका दिने अभिप्रायले गत अप्रिलदेखि सिनेमाण्डूको आयोजना गरिएको प्रस्ट्याउनुभयो ।
सुवर्ण थापाको निर्देशन र लगानीमा निर्मित समलिङ्गी जोडीको मनोविज्ञानमा आधारित चलचित्र सुनगाभामा निशा अधिकारी र दिया मास्केले समाजका विसङ्गतिहरूको उजागर गरेका छन् । चलचित्र प्रदर्शनपछि चलचित्रका प्रमुख कलाकार दिया मास्के र निशा अधिकारीसँग श्रोताहरूले अन्तरक्रिया गरेका थिए । समलैङ्गिकता र यसले सिर्जना गरेका जैविक असहजता तथा सामाजिक मान्यताबारे छलफल केन्द्रित रहेको थियो ।
यस्तै, गत साता शुक्रबार सोही स्थानमा आयोजित ‘सिनेमाण्डू’को सातौँ संस्करणमा सञ्चारकर्मी भूषण दाहाल निर्देशित सिनेमा ‘कागबेनी’ प्रदर्शन गरिएको थियो । क्वेस्ट इन्टरटेन्मेन्टद्वारा निर्मित तथा निमा रुम्बा, दिया मास्के, सौगात मल्ल र पूजा गुरुङ अभिनीत ‘कागबेनी’ प्रदर्शनका अवसरमा अभय कुमारले ‘सिनेमाण्डू’मा लुट, हाई–वे, उमा, साँघुरो, सायद, सुनगाभा प्रदर्शन भइसकेको र उत्कृष्ट नेपाली चलचित्र छनोट गरी भारतीय चलचित्र महोत्सवका लागि पठाइने जानकारी दिनुभयो ।

जनावरको पक्षमा संरक्षण यात्रा
विश्व जनावर दिवसको अवसरमा काठमाडौंमा जनावर संरक्षण यात्रा आयोजना गरी जनावर दिवस मनाइएको छ । काठमाडौंको वसन्तपुर दरबारबाट सुरु भएको जनावर संरक्षणसम्बन्धी जनचेतना यात्रा पाटनस्थित कृष्णमन्दिरमा पुगेर सभामा परिणत भएको थियो । पशु कल्याण सञ्जाल नेपालको आयोजनामा भएको कार्यक्रममा जनावर संरक्षणको क्षेत्रमा कार्यरत विभिन्न संस्थाका प्रतिनिधि, विद्यार्थी, संरक्षणकर्मीको सहभागिता रहेको थियो । यात्रामा सहभागीले बलिप्रथाको अन्त्य गरिनुपर्ने, जनावरलाई दुःख नदिऊँजस्ता नारा लेखिएका प्ले–कार्ड लिएका थिए ।
कार्यक्रममा बोल्दै पशु कल्याण सञ्जाल नेपालका अध्यक्ष मनोज गौतमले पशु कल्याणको विषयलाई अझै पनि सरोकारवालाहरूले बेवास्ता गरेको बताए । पशु र मानव सम्बन्ध शताब्दीदेखि नै चलिरहेकोले पर्यावरणीय सन्तुलन भएकोमा मानवीय गतिविधिका कारण यो सम्बन्ध खल्बलिँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । जनावरलाई मानवीय कारणले विनाश हुनबाट बचाउन कानुनी रूपमा पनि संरक्षण गरिनुपर्नेमा गौतमले जोड दिए ।
सो कार्यक्रममा एनिमल नेपालकी प्रमदा शाह, जेनगुडल इन्स्टिच्युटकी सृष्टि सिंह श्रेष्ठ, एनिमल राइट्स नेपालका कृष्णमणि बराललगायतले जनावरको संरक्षण र वर्तमान अवस्थाबारे बोलेका थिए । सो अवसरमा पशु कल्याणमा विशेष योगदान पु-याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सम्मानित गरिएकामा पोखराका पत्रकार तथा एनिमल राइट्स नेपालका अध्यक्ष कृष्णमणि बराल, ललितपुरकी सम्झना केसी, काठमाडांै बौद्धका विश्व मास्के र ललितपुर कोपुन्डोलका राम नेवारलाई पशु कल्याणमा विशेष योगदान दिएको भन्दै सम्मान गरिएको थियो ।