बुढापाकाहरू भन्ने गर्थे– बोल्न पायो भन्दैमा प्वाक्क नबोल्नु, खान पायो भन्दैमा क्वाप्प नखानु, बस्न पायो भन्दैमा जहाँ पायो त्यहीँ थ्याच्च नबस्नु । यस्तै भएको छ, कानुनमन्त्री शेरबहादुर तामाङलाई । आफूले बोलेको बोलीले मन्त्री पदसम्म गुमाउनुपरेको अवस्था उनले व्यहोरेका छन् । मानिसको बोलीमा सरस्वतीको वास बसेको हुन्छ, त्यसैले कसैसँग पनि छुद्र बोल्नुहुँदैन भनेर आमाले सानो छँदा सिकाउने गर्नुहुन्थ्यो । हिजोआज कहिलेकाहीँ सोच्ने गर्छु, हो रहेछ ।
बंगलादेशमा पढिरहेका चेलीहरूले सर्टिफिकेट प्राप्त गर्न नेपाली चेलीहरूले आफ्नो अस्मिता बेच्नुपर्छ भन्ने विवादास्पद अभिव्यक्ति दिएका शेरबहादुर तामाङलाई आफैँले बोलेको कुराले भतभती पोल्यो । र, उनले बोलेको कुराको व्यापक विरोध भएपछि रुँदै माफी माग्दै मन्त्री पदबाटे राजीनामासमेत दिनुपऱ्यो । यसबाट सार्वजनिक कार्यक्रममा गएर बोल्दा १० चोटि सोचेर र प्रमाण जुटाएर मात्र बोल्नुपर्छ भन्ने सन्देश मिलेको छ ।
त्यसो त मन्त्री तामाङ नै यसरी बोल्ने पहिलो व्यक्ति भने होइनन् । यसअघि पनि सार्वजनिक पद धारण गरेकाहरूले यस्ता थुप्रै कुरा बोलेर विवादास्पद बनेका छन् । ०७२ सालमा धान दिवस तथा रोपाइँ महोत्सवका दिन कृषिमन्त्री हरि पराजुलीले रोपाइँ गरिरहेका महिलालाई हिलो छ्यापेर महिलामाथि अश्लील हर्कत गरेको आरोप लाग्यो । सामाजिक सञ्जालमा यो भिडियो भाइरल बनेपछि मन्त्री पदबाट उनले राजीनामा दिएका थिए । माओवादी नेता मातृका यादवले पनि ०६४ सालमा वनमन्त्री हुँदा अवैध ढुङ्गा खानी सञ्चालन गर्नेमाथि कारबाही नगरेको भन्दै स्थानीय विकास अधिकारीलाई शौचालयभित्र थुनेका थिए । यादवले यस्तो हर्कत देखाएपछि उनलाई पनि मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । यसैगरी ०६८ सालमा त्यसबेलाका रक्षामन्त्री शरतसिंह भण्डारीले २२ जिल्लाले निर्णय गरे तराई नेपालबाट छुट्टिन सक्ने अभिव्यक्ति दिएपछि मन्त्री पद त्याग्नुपरेको थियो । यसरी हेर्दा हाम्रा नेताहरू बेलामौकामा बेसुरमा बोल्ने गरेको आभास हुन्छ नै ।
सामाजिक कार्य तथा सार्वजनिक समारोहमा उच्च पदमा रहेका तथा मन्त्रीहरूलाई प्रमुख अतिथि बनाएर लाने चलन पुरानै हो । एक महिनाअघिदेखि मन्त्री, प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाउन आयोजकहरू मन्त्रालय धाउने चलन छ । एक महिनाअघिदेखि समय दिएर कार्यक्रममा उपस्थित हुँदासमेत कतिपय मन्त्रीलाई कार्यक्रमबारे केही थाहा हुँदैन । बाठा मन्त्रीहरू ब्यानर हेर्दै छोटकरीमा आफनो वक्तव्य दिएर उम्कन्छन् । विषयवस्तुमा ज्ञान नराखी जो लम्बेतम्बे भाषणमा जुट्छ ऊ चिप्लिने डर हुन्छ । अतिथि बनेर जाने हाम्रा धेरै नेता विषयवस्तुप्रति गम्भीर हुँदैनन् र अध्ययन पनि निकै कम देखिन्छ । सन्दर्भ एकातिर विषयवस्तु अर्कै हुन्छ, तैपनि हाम्रा नेताहरू माइक पाएपछि यसरी चिच्याउँछन् कि माइकबाट चिच्याएपछि सबै समस्याको समाधान एकैचोटि हुन्छ ।
एक महिनाअघिदेखि मन्त्री, प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाउन आयोजकहरू मन्त्रालय धाउने चलन छ । एक महिनाअघिदेखि समय दिएर कार्यक्रममा उपस्थित हुँदासमेत कतिपय मन्त्रीलाई कार्यक्रमबारे केही थाहा हुँदैन । बाठा मन्त्रीहरू ब्यानर हेर्दै छोटकरीमा आफनो वक्तव्य दिएर उम्कन्छन् । विषयवस्तुमा ज्ञान नराखी जो लम्बेतम्बे भाषणमा जुट्छ ऊ चिप्लिने डर हुन्छ ।
कति बोल्ने, के बोल्ने भन्ने समयसीमा छुट्याउँदैनन् । बोल्ने तयारी नभईकन एकैचोटि डायसमा गएर बडबड गर्न थालेपछि हाड नभएको जिब्रो जता पनि लर्किने नै भो । काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदासमेत उनले बाढीपीडितकहाँ पुगेर कसैले बेग्लै विषयमा बुझाएको ज्ञापनपत्र पढेका थिए । यसबाट के प्रस्ट हुन्छ भने हाम्रा नेताहरू कत्ति पनि गम्भीर हुँदैनन् । जनताका माझ उभिएर जे पनि बोल्न हुन्छ भन्ने भ्रम उनीहरूमा व्यापक छ । होइन भने हरेक मन्त्रीले प्रेस सल्लाहकार, स्वकीय सचिव राखेकै हुन्छन् । मन्त्रीलाई सल्लाह दिनका लागि भनेर लाभको पद पड्काएकाहरूले यति पनि सुझाव दिँदैनन् भने यस्ता सल्लाहकारहरूको के काम ? यिनीहरूलाई तलब मात्र खुवाएर राख्ने हो भने अब जनता चुप लागेर बस्ने छैनन् ।
फेरि हामीकहाँ बोल्नुअघि आफूले बोल्ने कुराको टिपोट गरेर लाने चलन पनि छैन । कसैले लिखित भाषण पढयो भने बोल्न जान्दैन रहेछ, भाषण पनि पढ्यो भन्ने गरिन्छ । तर, यो सोचाइ एकदम गलत हो । कमसेकम आफैले भाषण लेख्यो भने उसलाई विषयवस्तुबारे थाहा हुन्छ । सयौँ, हजारौँ व्यक्तिका माझ पुगेर बोल्दा के बोल्ने भन्ने तयारी हुन्छ र यसरी तयारी गर्दा प्रमुख अतिथि हुनेहरूलाई पनि केही न केही नयाँ ज्ञान प्राप्त हुन्छ ।
पछिल्लो समयमा धेरै नै कार्यक्रम आयोजना हुने गरेका छन् । कतिपय कार्यक्रम त कार्यक्रम गर्नैका लागि गरेको जस्तो मात्र पनि हुन्छ । न बोल्नेले केही नयाँ कुरा दिन्छ, न सुन्नेले केही नयाँ कुरा सिक्न सक्छ । कार्यक्रम गर्नाका लागि मात्र गर्ने होइन । कार्यक्रममा उपस्थित भएपछि दुईवटा कुरा भए पनि नयाँ सिक्न पायो भने कार्यक्रममा उपस्थित हुनुको मज्जा बेग्लै हुन्छ ।
हिजोआज भने कार्यक्रम सञ्चालन गरिने ढर्रामा केही रूपमा भए पनि परिवर्तन आउन थालेको छ । केही बुद्धिजीवी र प्राज्ञिकहरूले आयोजना गरेको कार्यक्रमहरू निकै सटिक हुने गरेका छन् । उनीहरूको कार्यक्रममा उपस्थित हुँदा यस्तो लाग्ने गर्छ, पढेलेखेको भनेको, पढेलेखेकै हो भन्या जस्तो । तयारीका साथ उपस्थित भएका हुन्छन्, कति बोल्ने, के कुरा बोल्ने, दर्शकदीर्घाबाट प्रश्न आयो भने के उत्तर दिनेजस्ता विषयमा पनि तयारी गरेर आएका हुन्छन् । यस्ता कार्यक्रममा उपस्थित हुँदा समय खेर गएकोजस्तो पनि लाग्दैन । केही नयाँ कुरा अवश्य सिक्ने हुन्छ नै ।
तर, नेतालाई अतिथि बनाएर लगेको कार्यक्रममा के देखिन्छ भने प्रायः गरी नेताले आफूले बोल्नका लागि असान्दर्भिक विषयवस्तु जोडेर फोरमको गलत प्रयोग गरिरहेका हुन्छन् । होइन भने एउटा विद्यालयको उद्घाटन कार्यक्रममा गएर त्यहाँ राजनीतिको कुरा किन गर्नुपर्ने ? विपक्षी दललाई सत्तोसराप किन गर्नुपर्ने ? फेरि हाम्रा नेताहरूमा अरूलाई गाली नगरेर नम्र भाषामा आफूले गरेका कामहरूको मात्र चर्चा गरेर भाषण गर्न सकिन्छ भन्ने नै छैन । त्यसैले डायसमा पुग्नासाथ विपक्षीलाई यसरी गाली गर्छन् कि यसरी बोल्दा मलाई जनताले के भन्लान्, मेरो मूल्याङ्कन कसरी गर्लान् भन्नेसमेत हेक्का राख्दैनन् । त्यसैले कहिलेकाहीँ आफैँले बोल्ने गरेको बोली गोली बन्ने गर्दछ । अब त केही सिक्छन् कि हाम्रा नेताज्यूहरूले ?
प्रतिक्रिया