वरिष्ठ पत्रकार बुढाथोकी प्रेस काउन्सिल नेपालको सदस्य नियुक्त

वरिष्ठ पत्रकार बुढाथोकी प्रेस काउन्सिल नेपालको सदस्य नियुक्त


लामो समयदेखि (करिव चार दशक अवधि) निरन्तर पत्रकारितामा सक्रिय रहँदै आउनुभएका वरिष्ठ पत्रकार गोपाल बुढाथोकीलाई सरकारले प्रेस काउन्सिल नेपालको सदस्य नियुक्त गरेको छ । सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले साँघु साप्ताहिकका सम्पादक प्रकाशकसमेत रहनुभएका बुढाथोकीलाई मन्त्रीस्तरीय निर्णय गर्दै चार वर्षका लागि सदस्य नियुक्त गर्नुभएको हो ।

काउन्सिलमा सम्पादक/प्रकाशकको तर्फबाट एक सदस्य रिक्त रहेको थियो । सोही स्थानमा पत्रकार आचारसंहिता, पत्रकारिताका सिद्धान्त र पत्रकारका पेशागत अधिकारका सवालमा विभिन्न कालखण्डमा विशेष भूमिका खेल्दै आउनुभएका बुढाथोकीलाई नियुक्त गरिएको हो ।

पत्रकार महासंघका पूर्वउपाध्यक्ष र सल्लाहकार समेत रहनुभएका वरिष्ठ पत्रकार बुढाथोकी यसअघि २०६५ सालमा पनि काउन्सिलको सदस्य रहनुभएको थियो ।

अनेक उतारचढाव र जेलनेल समेत खेपेर पनि अबिच्छिन्न लामो अवधि पत्रकारितामा सक्रिय रहेका अत्यन्त कम पत्रकारमध्ये बुढाथोकी एक पर्नुहुन्छ । उहाँको नियुक्तिलाई ‘राइट म्यान राइट प्लेस’ भनी स्वागत गर्दै मन्त्री बास्कोटाको समेत प्रशंसा गरिएको छ । पछिल्लो समय विभिन्न कारणले सुस्त रहेको ठानिएको काउन्सिलमा बुढाथोकीको नियुक्तिपछि सो निकायले चुस्त गति पक्रिने अपेक्षा गरिएको छ ।