शेरबहादुरबारे उषाकलाले खोलिन् अनेक रहस्य

शेरबहादुरबारे उषाकलाले खोलिन् अनेक रहस्य


महिला अधिकारप्रति सर्वाधिक सचेत मानिने शेरबहादुर तामाङले महिलाकै विषयमा दिएको अभिव्यक्तिका कारण मन्त्री पदबाट राजीनामा दिनुपरेको छ । उनी महिलाहरूप्रति यति सम्मानजनक व्यवहार गर्थे र यति संवेदनशील थिए कि उनले आफ्नो वैवाहिक जीवनमा समेत उदाहरण प्रस्तुत गरेर देखाएका छन् ।

सिन्धुपाल्चोकनिवासी उनको विवाह खोटाङकी सांसद उषाकला राईसँग भएको हो । ०५८ सालमा विवाह हुँदा शेरबहादुर युवा सङ्घका केन्द्रीय महासचिव थिए भने उषाकला केन्द्रीय सदस्य थिइन् । विवाहमा उषाले राखेको सर्तमा आफू राजनीतिमा लागिरहने र घरपरिवारलाई समय दिन नसक्ने भन्ने थियो । उक्त सर्तलाई उनले स्वीकार मात्र गरेनन्, उषाले उठाउँदै आएको महिलाको वंश अधिकारका विषयमा वकालतसमेत गरे । पार्टी र साथीहरूबीच शेरबहादुर महिला अधिकारकर्मीका रूपमा परिचित छन् ।

उषाकला र शेरबहादुरबीच विवाहपछि र अघिको सम्बोधनमा अहिलेसम्म कुनै मतान्तर आएको छैन । दुवैले एक–अर्कालाई हजुर र तपार्इं भनेर सम्बोधन गर्ने गर्छन् । घरमा शेरबहादुरले आफैँ भाँडा माझ्ने, भुइँ पुछ्ने, लुगा धुनेलगायतका काम गर्ने गरेको उनका निकटवर्तीहरू बताउँछन् । सिन्धुपाल्चोक घरमा हुँदा उनी घर पनि आफैँ लिप्थे । यो महिलाको काम यो पुरुषको काम भनेर उनले कहिल्यै छुट्याएनन् ।

बच्चा साना हुँदा उनैले हुर्काए । उनकी पत्नी उषाकला राईले घटना र विचारसँगको कुराकानीमा भनिन्, ‘म त्रिचन्द्र कलेजमा पढाउँथे, बच्चा सानै थिए, उहाँले नै हुर्काउनुभएको हो ।’ उनीहरूका दुई छोरा छन् । उषा अहिले प्रदेश नं. १ की सांसद छिन् ।

शेरबहादुर तामाङ महिलाको सवालमा सधैँ उच्च सम्मान गर्ने व्यक्ति भएको धारणा धेरैको छ । पत्नी उषाले संविधानसभाको सदस्य हुँदा महिलाको वंश अधिकार र आमाको नामबाट नागरिकतामा प्रखर रूपमा वकालत गरिन् । उनको अभियानलाई शेरबहादुरले नजिकबाट साथ दिए । शेरबहादुरका धेरै सार्वजनिक अभिव्यक्तिमा महिलाको वंश अधिकार र नागरिकताको कुरा उल्लेख छन् ।

अहिले बंगलादेशमा छात्राहरूमाथि प्राध्यापकहरूले यौन शोषण गर्ने गरेको भनी कुरा उठेपछि उनले यस्तो पनि हुने गरेको छ भन्ने सुनिएको छ भनेर दिएको अभिव्यक्तिले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्थाको सिर्जना भयो ।

यस सन्दर्भमा सांसद उषाले भनिन्– ‘उहाँको भनाइलाई तोडमोड गरेर बुझियो । आफ्नै मुलुकमा मेडिकल कलेज खोले देशबाहिर चेलीबेटीलाई त्यसप्रकारको हिंसा खप्नुपर्ने थिएन भनेर बोल्नुभयो । प्रस्तुति मिलेन होला, तर उहाँको नियत खराब होइन भनेर जान्नेहरू पनि उहाँको विरुद्धमा लागे । मेरो श्रीमान् मेरो लागि हिजो जति आदर्श व्यक्ति हुनुहुन्थ्यो आज झन् बढी आदर्श बन्नुभएको छ ।’

उनले अगाडि भनिन्– ‘भ्रष्टाचारको आरोप लाग्दा पनि राजीनामा नदिएका उदाहरणहरू हामीकहाँ धेरै छन्, उहाँले नियतबिनाको अभिव्यक्तिलाई लिएर राजीनामा गर्नुभयो । उहाँलाई हिंसा भयो भन्ने ठम्याइसँगै उहाँप्रतिको मेरो सम्मान बढेको छ । उहाँ मेरो जीवनसाथी मात्र होइन, आदर्शपुरुष पनि हो । राम्रो गर्न खोज्दा बोली तलमाथि परेका कारण पदबाट राजीनामा गर्नुपरे पनि नेपालको राजनीतिमा उहाँ समानतालाई प्रवद्र्धन गर्ने राजनीतिकर्मी हो । महिलाप्रति उहाँको सम्मान हिजो पनि थियो, आज पनि छ र म निश्चिन्त भएर भन्न सक्छु भोलि पनि रहनेछ । कसैले आरोप लाउँदैमा मानिसको सैद्धान्तिक आदर्श कहाँ मर्छ र ?’