चौतर्फी असफल भएपछि लक्ष्मी यन्त्रको शरणमा उषा

चौतर्फी असफल भएपछि लक्ष्मी यन्त्रको शरणमा उषा


-राजन घिमिरे
मति बिग्रिएपछि कसको के लाग्छ र ! कसले कानमा कुन्नि के भरिदियो उषा पौडेल उडिहालिन् मुर्म्बईतिर । अभिनय क्षेत्रबाट सन्न्यास लिने उमेरमा पुग्न लाग्दा उनी भन्दै उडिन् ‘म अब मुर्म्बईमा गएर अभिनय सिकेर आउँछु ।’
बलिउड त के हलिउडमा निर्देशनसम्बन्धी पढेर आएको भन्नेहरूको यहाँ हरिविजोग छ भने जुन फिल्म खेल्यो त्यही फिल्म फ्लप दिने उषाले अब के सिक्लिन्? कुरा पनि अचम्म के छ भने ‘अभागी नायिका’ भनेर नाम पाएकी उषाले बलिउडबाट के सिकेर आउँलिन्? सबै हेर्न आतुर रहेका छन् । त्यसमाथि उताबाट यता आउनुअगाडि नै आजभोलि एउटा ‘लक्ष्मी यन्त्र’ नामक विज्ञापनमा निखिलसँग देखापरि्छन् उनी । उषाका अनुसार त्यो ‘लक्ष्मी यन्त्र’ राख्यो भने धनैधनले पुरिन्छ रे ! यो विज्ञापनमा उषालाई खेलाउने मूर्खचाहिँ को होला? त्यसलाई नेपालमा उषाको फिल्मी क्यारिअरको बारेमा पटक्कै ज्ञान रहेनछ भन्ने कुरा स्पष्ट देखिन्छ । किनभने जो धनकै कारण बिदेसिएको छ त्यसले नै धन कसरी कमाउने भनेर झुटको खेती गरिरहेको छ । यदि उषालाई धन कमाउने जुक्ति थाहा थियो भने त उनी नै कमाउँथिन् होला नि? किन फिल्म खेलेको पारिश्रमिक पाइनँ, फलानाले दिएन भनेर हारगुहार गर्थिन्?
‘लक्ष्मी यन्त्र’ प्रयोग गरेमा डुबेको रकम पनि आउने भन्ने जस्ता गफ निखिलले पनि दिएका छन् । यदि यो कुन साँचो हो भने ‘मेरो फलानो निर्माताले पैसा नै दिएन’ भनेर अन्तर्वार्ता दिँदै हिँड्ने निखिलजीको रकम त उठ्नुपर्ने हो नि? ‘आफैं त महादेव कसले देला वर’ भनेजस्तो अवस्थामा पुगेकाहरूले भनेको विज्ञापनको कसले विश्वास गर्ने?

मिस नेपालहरूको गफ
‘म मिस नेपाल भएँ भने यसो गर्छर्ुुउसो गर्छर्ुुत्यहाँ गर्छर्ुुहाँ गर्छर्ुुनि मुलुकका लागि आइपर्दा हरेक समय अगाडि बढ्न तयार हुन्छु’ भनेर ठूला कुरा गर्ने मिस नेपालहरू मिस नेपाल भएपछि भने केही पनि गर्न सक्दैनन् वा उनीहरू इच्छा पनि राख्दैनन् भन्ने कुरा स्पष्ट भएको छ ।
नेपालले करिब डेढ दर्जन मिस नेपाल पाएको छ । यत्रो सङ्ख्यामा रहेका मिस नेपालमध्ये कसैले पनि ‘वाह’ गर्न लायकको काम अहिलेसम्म गर्न सकेको ‘रेकर्ड’ न त कतै छ न त आगामी दिनमा नै देखिन्छ जस्तो छ । मिस नेपालको ताज पहिरिएको केही घन्टापछि नै उनीहरू आफ्नै व्यक्तिगत योजना र सपनातिर लाग्दा स्टेजमा व्यक्त गरेका कुराहरू केवल ‘गफ’मा मात्र सीमित हुन थालेका छन् । कोही विदेश हुइँकिन्छन् भने कोही कुनै उत्पादनको ब्रान्ड एम्बेस्डरमै सीमित रहेका छन् । प्रायजसो त थोरै तलब र पारिश्रमिकमा टेलिभिजन वा स्टेजतिरै भुलिँदा मिस नेपालको गफ कमेडी कार्यक्रम ‘गफाडीको गफ’जस्तै हुन थालेको छ ।

ऋचाको डिमान्ड
उम्रँदै तीन पात भनेजस्तै व्यवहारका कारण यतिबेला नवनायिका ऋचासिंह ठकुरी चलचित्रकर्मीहरू माझ आलोचित हुन थालेकी छिन् । उनले अभिनय गरेको चलचित्र ‘नाइ नभन्नु ल’ले व्यवसायिक सफलता हात पारेपछि एक्कासी आफ्नो पारिश्रमिक बढाउन मरिहत्ते गर्न थालेकी ऋचा यतिबेला अनुचित ‘डिमान्ड’कै कारण चलचित्र निर्माताहरूको नजरबाट छायाँमा पर्न थालेकी छिन् । उनी अहिले ‘म तिम्रो भइसके×ँ’ नामक चलचित्रको छायाङ्कनमा व्यस्त छिन् भने त्यसै क्रममा केही चलचित्रहरूबाट उनलाई अफर आयो । तर उनले अप्रत्यासित रूपमा आफू एक लाख एकाउन्न हजारभन्दा कम पारिश्रमिकमा काम नगर्ने निर्णय सुनाएपछि निर्माताहरु फरक्क फर्केका थिए । उनीहरू यतिबेला भन्दैछन्- ‘यिनको साह्रै भाउ बढेछ, एउटा फिल्म खेल्नेवित्तिकै यत्रो फूर्ति? ‘
चलचित्रको बजार खस्किरहेको अवस्थामा ऋचाले आफ्नो पारिश्रमिक कस्न खोज्नु अवश्य पनि राम्रो होइन, तर पनि ‘यति भए खेल्छु नत्र खेल्दिनँ’ भन्ने उनको सोचलाई पनि गाली गर्न त नमिल्ने हो । आफ्नो पारिश्रमिक राख्न त उनले पाउनु पर्‍यो नि !

प्रेमको सागरमा डुबुल्की मार्दा सञ्चिता घर न घाटकी
निखिल उप्रेतीको पछि लाग्दा सञ्चिताले एकातिर आफ्नै क्यारियर बिगारिन् भने अर्कातिर आफैं सञ्चिताको पछि लागेको हुँ भनेर स्पष्टीकरण दिने निखिलको पनि यतिबेला हरिविजोग भएको छ । नेपाल रहँदा भ्याइनभ्याई थियो दुबैलाई । निखिलको चलचित्रप्रतिको मोह अनि सञ्चिताको चढ्दै गरेको फिल्मी क्यारियर सबैको चर्चाको विषय बन्दथ्यो । तर, यी दुईको जीवनमा एउटा भनाइ ठ्याक्कै मेल खाएको छ- ‘कि थुतुनो जोगाउनु कि…जोगाउनु ।’ यी दुई चिज जोगाउन सकिएन भने साह्रै दु:ख पाइन्छ रे !
खास भन्ने नै हो भने दु:ख त यतिबेला सञ्चिताले पाएकी छिन् । सबैको ‘हाइहाइ’लाई ‘बाइ’ गर्दै निखिलको पछि लाग्दा अहिले उनी घर न घाटको अवस्थामा छिन् । निखिल त पहिले नै मुर्म्बईमा सङ्घर्षरत थिए र अहिले पनि गर्न सक्लान् सङ्घर्ष । तर, सम्पन्न र सुखसयलमा हर्ुर्किएकी अनि त्यही वातावरण पाएकी सञ्चिताले दु:ख कसरी गर्नु? त्यही भएर पनि निखिलसँग ‘घरजम’ गर्न मुर्म्बई गएकी उनी अहिले उता बस्न नसकेर नेपाल फर्किएकी छिन् । केही समय मुर्म्बईमा बुटिकमा काम गर्दा पनि उनको मन बहलिन सकेन । नेपाली चलचित्रमा झन्डै-झन्डै एक नम्बरको नायिकाको पगरी लगाउने अवस्थामा पुगेकी सञ्चिताको आज पगरी झरिन् कि कतै कुनै पनि कुनामा उनको नाम छैन । हिजो आएका केही नायिकाको चुरिफुरी बढेको बढ्यै छ तर सञ्चिता ‘गुमनाम’ छिन् । यदि सञ्चिता साँच्चि नै निखिलसँग जीवन बिताउने उद्देश्य लिएर गएकी थिइन् भने किन आज निखिल उता अनि सञ्चिता यता छिन् त? यसै साता मात्र महिनौँ पोखरामा चलचित्र ‘परिचय’को सुटिङ गर्दा कतै पनि निखिल र सञ्चिताबीचको कुरा बजारमा सुनिएन । उता निखिलले पनि सञ्चितालाई सो चलचित्रमा नायिका बनाउनका लागि कहिले पनि चासो देखाएनन् र दबाब पनि दिएनन् । किनकि दबाब दिँदा उनी आफैं पनि हट्न सक्ने अवस्थामा हुन्थे ।
सिनेमा उद्योगबाट कमाएको रकम सकिएपछि सपनाबाट ब्युँझिएझैं झसङ्ग भएकी सञ्चिता यतिबेला काठमाडौंमा नै छिन् र कामविहीन अवस्थामा घरमा नै सुतेर बसिरहेकी छिन् । सबैले सोझी, भलाद्मी र सज्जन नायिकाको रूपमा लिइएकी सञ्चिता आफैंले छविविपरीतको काम गरेपछि उनी सार्वजनिक कार्यक्रमतिर पनि देखिन छाडेकी छिन् ।
आफैंले निर्मातासँग सिनेमा माग्दा आफैंलाई ‘अड’ हुने कुरा पनि उनले बुझेकी छिन् र उनीमाथि पहिला सकारात्मक सोच राख्ने निर्माताहरूले अब त्यो सोच उनीमाथि नराख्न पनि सक्छन् । सार्वजनिक कार्यक्रमतिर जाँदा वा देखिँदा जसले जे पनि भन्न सक्ने अवस्था झनै बढ्दै जान थालेको छ ।
प्रेम गरे तापनि यसरी सिनेमा उद्योग नै छाडेर जान नहुने र गलत सन्देश प्रवाह हुने खालको हर्कत गर्न नहुने कुरा यतिबेला बुझेकी सञ्चिता अब भने के गर्लिन्? सबैको हेराइको विषय बनेको छ । त्यसो त मुर्म्बईमा पनि टिक्न नसकेकी उनलाई सिनेकर्मीहरूले पनि वास्ता गरेका छैनन् । महिनौँसम्म पोखरामा चलचित्रको सुटिङ हुँदा सञ्चिता निखिललाई भेट्न पोखरा पुगेकी थिइनन् भने यो घटनाले निखिल र सञ्चिताबीचको सम्बन्ध पहिलेजस्तो घनिष्ठ नभएको पनि देखिन्छ । आफ्नी पहिली श्रीमतीले सम्बन्धविच्छेद गर्न चाहिन् भने स्वत: सम्बन्ध हुने अनि सञ्चितासँग व्यवस्थित तरिकाले बस्ने निखिलको योजना पनि तुहिन पुग्दा सञ्चिता मारमा परेकी छिन् ।
उता मुर्म्बईमा दुईवटा ज्यान पालिन गाह्रो भएका कारण पनि निखिल उता र सञ्चिता यता बसेको अनुमान पनि सिनेकर्मीहरूले गर्न थालेका छन् । तर, सञ्चिता यतै बस्नु थियो भने किन खुल्लमखुल्ला निखिलको अङ्गालोमा बेरिन पुगेकी हुन् त? माया थियो भने हल्ला गर्नुको अर्थ ‘के? ‘

कञ्जुस निर्माताहरूको भीडमा महेश र शरद
नेपाली चलचित्र बजार फराकिलो हुनुपर्ने हो तर यतिबेला ठीक उल्टो अर्थात् खुम्चँदै जान थालेको छ । भविष्यमा साह्रै घातक हुन सक्ने यो अवस्थामा सुधार ल्याउनुपर्ने गहन सोचका साथ नेपाली सिनेमा उद्योगको बृहत्तर विकास र विस्तार गर्ने ठोस उद्देश्य बोकेर अब चाँडै एउटा सिनेमा बजारमा आउने भएको छ ।
अस्ट्रेलियाका गणेश केसी र नेपालका महेश कुँवर अनि सरद अधिकारीको पहलमा जनपुकार मिडिया हाउसले निर्माण गरेको चलचित्र ‘डेष्टिनेसन काठमाडौं’ले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार खोज्न ठूलो मद्दत पुर्‍याउने विश्वास सबैले लिएका छन् । यो चलचित्रलाई निर्देशन गरेका छन् दीपक रायमाझीले ।
नेपालकै गतिला कलाकारलाई पारिश्रमिक दिन कञ्जुस गर्ने निर्माताहरूको भीडमा उदाहरणीय निर्माता बनेका महेश र सरदले अस्टे्रलियन नायिकालाई डलर तिरेर नेपालमा नै बोलाएर यो चलचित्रको छायाङ्कन सकाए । ‘हामी हल्ला होइन काम नै गरेर देखाउँछौँ । सात समुद्रपारिकी नायिकालाई नेपालमा ल्याउनु सजिलो काम होइन तर हामीले गर्‍यौँ,’ निर्माता महेश कुँवरले भने ।
चलचित्रका अर्का निर्माता सरद अधिकारीले भने, ‘अरूले जस्तो विदेशमा ‘एक शो’ देखाउने अनि यहाँ ठूलो हल्ला गर्ने हामी गर्दैनौँ ।
हामी विदेशमा नेपाली फिल्म पनि ‘रेगुलर शो’ मा राख्छौँ । यसका लागि कानुनी परामर्श सुरु भएको छ ।’ विभिन्न क्षेत्रले नेपाल पर्यटन वर्ष २०११ लाई सहयोग गरेजस्तै आफूहरूले चलचित्र निर्माणमार्फत विदेशमा नेपाललाई चिनाउन खोजेको कुरा निर्माताहरूले बताए ।
यसै साता मात्र यो चलचित्रको नेपालको छायाङ्कन सकिएको छ भने अब बाँकी छायाङ्कनका लागि यो चलचित्रको युनिट चाँडै अस्टे्रलिया पनि जाने भएको छ । ‘डेस्टिनेसन काठमाडौं’मा दिलीप रायमाझी, सुभेच्छा थापा, झरना थापा, नरेन्द्र थापा, रवि खड्का र सुष्मा कार्कीलगायतका कलाकाहरूको अभिनय रहेको छ । यो चलचित्रको प्रोडक्सन पहिलोपटक महिलाले सम्हालेकी हुन्, उनी हुन् सुष्मा कार्की ।