बिनाकाम सकियो दश वर्षमा पाँच सय तीस अर्ब

बिनाकाम सकियो दश वर्षमा पाँच सय तीस अर्ब


othernewsनेपालमा वैदेशिक सहयोगका नाममा दश वर्षभित्र विदेशबाट कति रकम भित्रियो होला ? यसको आँकडा सार्वजनिक गर्न सरकार आवश्यक ठान्दैन र सकेसम्म लुकाउने प्रयासमा लागिरहन्छ । सरकारले वैदेशिक सहयोगको रूपमा पाएको रकम सार्वजनिक गर्न नचाहे पनि दश वर्षभित्र मुलुकमा पाँच सय ३० अर्बभन्दा बढी रकम जनहित र विकास निर्माणका नाममा आएको देखिन्छ । यो आर्थिक वर्ष ०५९/०६० देखि गत फागुन मसान्तको बीचमा वैदेशिक सहायताका नाममा आएको रकमको आँकडा हो ।
वैदेशिक सहयोगको नाममा दश वर्षमा आएको रकमले तीन हजार सात सय मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन गर्न या दर्जनाँै राजमार्ग र रेलवे निर्माण हुन सक्थ्यो । तर, यति ठूलो रकमबाट देखिने एउटा पनि काम भएको पाइन्न । यद्यपि सरकारले विदेशबाट विकास निर्माणका नाममा आर्थिक सहायता भित्याउने कार्यलाई भने निरन्तरता दिएको छ । कुनै वर्ष कम सहयोग प्राप्त भयो वा हुने सम्भावना देखिनेबित्तिकै आत्तिएर थप सहयोग गर्न भन्दै विभिन्न कूटनीतिक नियोगलाई आग्रहसमेत गर्ने गरेको छ । तर, त्यसरी प्राप्त भएको रकम सही सदुपयोग भएको छ–छैन भन्नेमा कुनै चासो देखाउने गरिएको छैन । त्यसैले विदेशबाट आउने सहयोग रकम कहाँ खर्च हुने गरेको छ, खोजीको विषय बन्नुपर्ने देखिएको छ । नेपालका ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडीबी), यूएनडीपी, जाइका, युरोपियन युनियन, यूएन, डेनिडालगायत रहेका छन् । त्यसै भारत, चीन सरकारले पनि विभिन्न नाममा आर्थिक सहयोग गर्दै आएको छ ।
अर्थ मन्त्रालय वैदेशिक सहायता महाशाखाका अनुसार आर्थिक वर्ष ०५९/०६० मा वैदेशिक सहायताअन्तर्गत अनुदान १४ अर्ब ५६ करोड ४४ लाख १० हजार र ऋण सहायताका नाममा १२ अर्ब ४१ करोड दुई लाख १६ हजार प्राप्त भएको थियो । त्यस्तै, ०६०/०६१ मा १५ अर्ब ५१ करोड २२ लाख १२ हजार र ऋण सहायताका नाममा १२ अर्ब ८२ करोड सात लाख ८८ हजार थियो । ०६१/०६२ मा अनुदान सहायता १४ अर्ब ३९ करोड र ऋण सहायतातर्फ नौ अर्ब २७ करोड गरी कुल २३ अर्ब ६६ करोड थियो ।
त्यस्तै, आर्थिक वर्ष ०६२/६३ मा अनुदान सहायतातर्फ १३ अर्ब ८१ करोड र ऋण सहायतातर्फ नौ अर्ब ४१ करोड गरी जम्मा २३ अर्ब २२ करोड थियो । ०६३/६४ मा २५ अर्ब ८५ करोड ४३ लाख, ०६४/६५ मा ३४ अर्ब ०६ करोड आठ लाख, ०६४/६५ मा अनुदानबाट २७ अर्ब ४६ करोड नौ लाख १४ हजार र ऋणबाट १७ अर्ब ३६ करोड ७४ लाख ३० हजार गरी कुल ४४ अर्ब ८२ करोड ८३ लाख ४४ हजार वैदेशिक सहयोग परिचालन गरेको थियो । ०६५/६६ मा अनुदानबाट ४७ अर्ब नौ करोड ३२ लाख र वैदेशिक ऋणबाट १८ अर्ब ७० करोड ६ लाख गरी जम्मा ६५ अर्ब ७९ करोड ३८ लाख, ०६६/६७ मा अनुदानबाट ५६ अर्ब ९५ करोड ५६ लाख र ऋणबाट २१ अर्ब ५६ करोड ६ लाख गरी जम्मा ७८ अर्ब ५१ करोड ६२ लाख, ०६७/६८ मा अनुदानबाट ६५ अर्ब ३४ करोड ४२ लाख, ऋणबाट २२ अर्ब २३ करोड १४ लाख तथा ०६८/६९ मा वैदेशिक अनुदानबाट ७० अर्ब १३ करोड नेपाललाई प्राप्त भएको थियो । अर्थमन्त्री शंकरप्रसाद कोइरालाका अनुसार ०७० फागुन मसान्तसम्म वैदेशक सहायता ३९ अर्ब २६ करोडबराबरको प्राप्त भएको छ । तर, त्यो रकमले पनि कुनै काम गर्न सकेको छैन ।
अर्थ मन्त्रालयको आँकडाअनुसार वैदेशिक सहायता बढ्दै गए पनि त्यसअनुसारको काम भने घट्दै गएको अर्थ मन्त्रालयकै अधिकारीहरू बताउँछन् । उनीहरू भन्छन्, ‘विकास निर्माणका नाममा वैदेशिक सहायता आए पनि ती रकम साधारण खर्चमै सकिने गरेकोले सहायता उपलब्धिहीन भएका हुन् ।’ त्यस्तै कतिपय रकम अनावश्यक रूपमा खर्च गरिने गर्नाले पनि विकासका काममा प्रगति हुन नसकेको हो ।
वैदेशिक सहायताका नाममा कृषि, सिँचाइ, प्राकृतिक प्रकोप, भूकम्पबाट हुने क्षति न्यूनीकरणजस्ता नाममा नेपाल सरकारले नियमित सहायता प्राप्त गर्दै आएको छ भने अल्पकालीन तथा तत्कालीन कार्यक्रमका नाममा पनि विदेशबाट आर्थिक सहयोग आउने गरेको छ । तर, त्यसरी आएको रकमको सदुपयोग हुन सकेको पाइन्न । विकास निर्माणका नाममा आएका आर्थिक सहायताको रकम छलफल, गोष्ठी, सेमिनार, रेडियो कार्यक्रम, न्युजलेट प्रकाशन, आर्थिक सशक्तीकरण, क्रिश्चियन धर्म प्रचारजस्ता नाममा रकम सक्ने गरिएको छ ।
तर, वैदेशिक नियोगले दिने आर्थिक सहायता रकम सही रूपमा सदुपयोग हुन नसकेको भन्दै दातृ निकायहरूले सहयोग रकममा कटौती गर्न थालेका छन् । विदेशी सहयोगमा हुने विकास निर्माणमा सबैभन्दा धेरै अनियमितता हुने गरेको उनीहरूको ठहर छ । विदेशी नियोगहरूले स्थानीयस्तरमा विकासका कार्यक्रम लैजाने भन्दै दातृ निकायहरूले आफ्नो बास्केट फन्डको रूपमा स्थानीय विकास मन्त्रालयअन्तर्गत विकास निर्माणका कार्यक्रम स्थानीय रूपमा परिचालन गर्ने गरी एलजीसीपीडी नामक फन्ड नै खडा गरेको छ । सो फन्डमा यूएनडीपी, क्यानेडियनलगायत विभिन्न दातृ निकायहरूले फन्ड हालेका थिए । तर, सरकारी तवरबाटै सो फन्डको दुरुपयोग भएको भन्दै सहयोग नै रोक्नेसम्मको चेतावनी सरकारी अधिकारीहरूलाई दिइसकेका छन् ।
सहायताका नाममा दिइने रकमको चरम दुरुपयोग हुने गरेको पाइएपछि सहयोग रकम कटौती हुँदै गएको अर्थविद्हरूले बताएका छन् । उनीहरूका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष मात्र आर्थिक सहायता प्रतिबद्धतामै ६ अर्ब रुपैयाँभन्दा बढीले कमी आएको छ । अर्थ मन्त्रालयअन्तर्गत आर्थिक सहायता समन्वय महाशाखाका अनुसार तोकिएको अवधिमा लÔित उपलब्धि हासिल नभएको दातृ निकायका प्रतिनिधिको गुनासो रहेको तथा त्यसैले पनि आर्थिक सहायता घट्दै गएको हो । विकास निर्माणका नाममा आएका रकम सही सदुपयोग हुन नसकेपछि यसलाई कसरी सही रूपमा परिचालन गर्ने ठूलो चुनौती बनेको छ ।

देउवाको दिल्ली भ्रमणले काङ्गे्रसमा कम्पन
नेपाली काङ्गे्रसका वरिष्ठ नेता शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जानुभएपछि नेपाली काङ्गे्रसभित्र गहिरो तरङ्ग पैदा भएको छ । खासगरी काङ्गे्रस सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेललगायतका नेताहरू देउवाको भारत भ्रमणबाट झस्किने स्थिति बनेको छ । भारत सरकारले देउवालाई उच्च महत्व दिँदै औपचारिक भ्रमणका निम्ति आमन्त्रण गरेपछि त्यसले एकातिर नेपालको प्रजातन्त्र पक्षधर शक्तिप्रति भारत सहानुभूतिशील रहेको सन्देश दिएको छ भने अर्कोतिर काङ्गे्रसमा देउवालाई शक्तिशाली देख्न चाहेको सङ्केत पनि मिलेको छ । बितेका केही वर्षयता भारत र नेपाली काङ्गे्रसबीचको सम्बन्धमा चिसोपन महसुस गरिएकोमा देउवाको भ्रमणसँगै न्यानोपन बढ्ने आशा पैदा गराएको छ । तर, काङ्गे्रस सभापति र उपसभापतिलाई पन्छाउँदै भएको देउवाको भ्रमणले काङ्गे्रसको एउटा ठूलो कित्तालाई भने असन्तुष्ट र सशङ्कित तुल्याएको छ । देउवाबाट काङ्गे्रसको आधिकारिक प्रतिनिधित्व नहुने काङ्गे्रस नेताहरूको भनाइ छ । यदि काङ्गे्रस या प्रजातान्त्रिक शक्तिलाई माथि उठाउने योजना या चाहना हो भने पार्टीका सभापति या उपसभापतिलाई भ्रमणमा आमन्त्रण गरिनुपथ्र्यो भन्ने धारणा काङ्गे्रसका नेताहरूको छ । त्यसैले काङ्गे्रसभित्र देउवाको भ्रमणलाई लिएर नेताहरूबीच गम्भीर छलफल तथा बहस आरम्भ भएको छ । उता देउवाले भारत भ्रमणलाई आफ्नो ठूलो राजनीतिक सफलताको रूपमा बुझ्नुभएको छ र उहाँका शुभचिन्तक एवम् समर्थकहरूले काङ्गे्रस पार्टी अब देउवाको वरिपरि घुम्ने विश्वास गरेका छन् । भारतबाट देउवा ‘बलियो’ भएर फर्कने र भावी प्रधानमन्त्रीका रूपमा समेत उहाँको सक्रियता बढ्ने उनीहरूको आशा छ । यही बुझेर सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेललगायतका नेताहरू गम्भीर बनेका हुन् र पार्टीको आधिकारिक पक्ष अब थप एकताबद्ध हुने सम्भावना देखिएको छ । देउवा भारत भ्रमणबाट फर्किएलगत्तै सभापति सुशील कोइरालाविरुद्ध अविश्वासको प्रस्ताव ल्याइनसक्ने अनुमान काङ्गे्रसको उच्च तहका नेताहरूले गरेका छन् । विभाग गठनमा भएको त्रुटिमा टेकेर असन्तुष्टहरूलाई समेट्दै देउवा कोइरालाविरुद्ध जाइलाग्न सक्ने भएकोले विभाग गठनमा भएको कमजोरी सच्याउन पार्टी नेतृत्व तत्पर भएको छ । हालसम्म एउटा गुटविशेषको नेताका रूपमा मात्र रहनुभएका देउवा भारतको साथपछि ज्यादा आक्रामक ढङ्गले प्रस्तुत हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी देउवालाई एक्ल्याउन निर्णायक प्रयास हुन सक्ने अनुमान काङ्गे्रसनिकटका विश्लेषकले गरेका छन् । त्यसैले आगामी दिनमा काङ्गे्रसभित्रको एकतामा गम्भीर असर पर्नसक्ने सम्भावना छ । अहिले अनुमान गरिएजस्तै देउवा ‘बलियो’ भएमा वा उहाँ आक्रामक ढङ्गले अघि बढ्नुभएमा काङ्गे्रसभित्र तीव्र दरार पैदा हुनेमा शङ्का गरिनुपर्ने छैन । काङ्गे्रसमा आन्तरिक विवाद र तनाव बढेको अवस्थामा कसैले चाहेर पनि देउवा सहजै प्रधानमन्त्री बन्नसक्ने देखिन्न । चुनाव हुन नसक्ने या नसकेको र वर्तमान सरकार विस्थापन गरी नयाँ सरकार गठन गर्नुपर्ने अवस्था आएमा भने देउवा नै प्रधानमन्त्रीका बलिया ‘उम्मेदवार’ बन्नुहुने विश्वास उहाँको भारत भ्रमणले बढाएको छ ।
गत आइतबार भारतको राजधानी नयाँदिल्ली पुग्नुभएका देउवालाई त्यहाँ भव्य स्वागत गरिएको छ । ६ दिन भारतमा रहनुहँुदा उहाँले सत्तारुढ तथा विपक्षी भारतीय नेताहरूसँग महत्वपूर्ण वार्तालाप गर्नुहुने तय भइसकेको छ । पुगेकै दिनदेखि देउवाको भारतका उच्च नेताहरूसँग भेटवार्ताको क्रम सुरु भएको थियो । काङ्गे्रस नेतृ सोनिया गान्धी, प्रधानमन्त्री मनमोहन सिंह र भाजपा अध्यक्ष राजनाथ सिंहसँगको भेटलाई उच्च महत्वका साथ हेरिएको छ ।
देउवालाई नेपालका प्रधानमन्त्री सरह ‘ट्रिट’ गरिएको हेर्दा लाग्छ, ‘धेरै कालपछि कुनै नेपाली नेताले भारतमा यति ठूलो महत्व पाएका छन् ।’ यसअघि गत वैशाखमा पूर्वप्रधानमन्त्री एवम् एमाओवादी अध्यक्ष प्रचण्ड भारत जानुहुँदा उहाँलाई औपचारिक निमन्त्रणासमेत दिइएको थिएन । प्रचण्ड कसको कस्तो निम्ता पाएर भारत भ्रमणमा जानुभएको थियो भन्ने रहस्योद्घाटन अहिलेसम्म हुन सकेको छैन । काङ्गे्रस नेतृ सोनिया गान्धीलाई भेट गर्ने प्रचण्डको इच्छा पनि पूरा हुन सकेको थिएन र भारतीय नेताहरूले विश्वास र भरोसायोग्य नेताका रूपमा प्रचण्डलाई स्वीकार गर्न नसकेको आभाष त्यसबेला भएको थियो । तर, देउवालाई भने भारत सरकारले औपचारिक रूपमै निमन्त्रणा गरेको र स्वागत–सत्कार पनि सोहीबमोजिम गरिएको छ । भारतले गरेको ‘रेस्पोन्स’बाट प्रभावित भएका भ्रमण दलका सदस्यहरू नेता विमलेन्द्र निधि र देउवापत्नी आरजुले ‘अब शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नबाट कसैले पनि रोक्न नसक्ने’ ठहर गरेको दिल्लीस्थित एक सूत्रले जनाएको छ । नेता निधि र देउवापत्नीको अनुहारमा झल्किएको प्रफुल्लताले पनि उहाँहरूको ठूलो सपना पूरा भइरहेको अनुमान गर्न सकिन्थ्यो । भारत भ्रमणमा जान गत आइतबार त्रिभुवन विमानस्थल पुग्नुहुँदा देउवाको मुहारमा उत्पन्न खुसी देखेर त्यहाँ उपस्थितहरूले ‘देउवाजीले ठूलै युद्ध जितेछन् क्यार’ भन्ने टिप्पणी गरेका थिए । यही खुसीले पुलकित हुनुभएका देउवाले आगामी दिनमा भने आफ्नै पार्टीभित्र थप सङ्कटको सामना गर्नुपर्नेमा शङ्का गरिरहनुपर्ने देखिँदैन । काङ्गे्रसको आधिकारिक नेतृत्वलाई सहयोग गर्ने भूमिकामा देउवा प्रस्तुत हुनुभएमा परिस्थिति अर्कै हुन सक्छ, जसको सम्भावना अत्यन्त न्यून मात्र छ । निर्वाचनको पूर्वसन्ध्यामा प्रजातान्त्रिक शक्तिलाई उत्साहित तुल्याउने उद्देश्यले नै देउवाको दिल्ली भ्रमण रचिएको हो भने पनि यही भ्रमणपश्चात् काङ्गे्रसको आन्तरिक द्वन्द्व चर्किएमा प्रजातान्त्रिक शक्तिले थप क्षति व्यहोर्नु नपर्ला भन्न सकिन्न ।

तराईवासीले गरे पूर्वराजाको बेग्लै स्वागत
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रको तराई भ्रमणमा अनुमान गरिएभन्दा बढी सर्वसाधारणले उत्साहजनक सहभागिता जनाएका छन् । गत सोमबार सिमराबाट सप्तरी पुग्नुभएका उहाँको स्वागतका लागि बाटोबाटोमा मानिस लामबद्ध भई उभिएका थिए । तराईको गर्मीमा पथलैयाका जनताले बाटोमा रोकेर स्वागत–सत्कार गर्दै जयजयकार गरेका थिए भनें बर्दिबासमा उहाँलाई रोकी स्थानीय मन्दिरमा सञ्चालन भइरहेको सप्ताहमा लगी फूलमाला पहि-याएर दर्शन गराएका थिए । प्राप्त जानकारीअनुसार, रूपनी र मिर्चैयाका सर्वसाधारणले सरकार हाम्रो गाउँगाउँमा आइदिनुप-यो भन्दै अनुरोध गरेका थिए । यसरी स्वागत ग्रहण गर्दै सप्तरीको राजविराज पुग्नुभएका पूर्वराजामाथि केही विद्यार्थीले ढुङ्गा प्रहार गर्ने कोसिस गरेका थिए । हातमा चप्पलसमेत बोकेका ती विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
राजविराजमा सर्वसाधारणको भीडका कारण आफू बसेको होटल पुग्न पूर्वराजाले पैदल हिँड्नुपरेको थियो । राजाका समर्थकले राजा र राजसंस्थाको पक्षमा विभिन्न नारासमेत लगाएका थिए । भ्रमणलाई शान्तिपूर्ण बनाउनका लागि आफ्ना समर्थकले सकेसम्म नाराचाहिँ नलगाइदिए हुन्थ्यो भन्ने उहाँको चाहना रहेको निकटवर्तीले बताएका छन् । सप्तरीमा समर्थकले बनाएको गेट विरोधीहरूले भत्काइदिएका कारण दुई पक्षबीच झडपको स्थिति सिर्जना भएको थियो । विरोधी समूहको नेतृत्व नेपाल विद्यार्थी सङ्घका केही विद्यार्थीले गरेको र तिनलाई एमाले, फोरम, एमाओवादीलगायत दलका विद्यार्थी सङ्गठनहरूले साथ दिएको बुझिएको छ । पूर्वराजाप्रति सर्वसाधारणले देखाएको चासो, उत्सुकता र भेटघाटका लागि उर्लिएको भीड देखेर तर्सिएकाले विरोधका लागि विद्यार्थी सङ्गठनहरूलाई प्रयोग गरेको आरोप सर्वसाधारणले लगाएका छन् । एउटा नागरिकको रूपमा पूर्वराजाले आफ्नो मुलुकको कुनै पनि भूभागमा निर्धक्क हिँड्न पाउनुपर्ने उनीहरूले बताएका छन् ।
सप्तरीकै भारदहस्थित कंकालिनी मन्दिरमा दर्शनका बेला पूर्वराजालाई सर्वसाधारणको भीड छिचोल्न निकै मुस्किल परेको थियो । उक्त मन्दिरका लागि राजाबाट दुई लाख रुपैयाँ सहयोग भएको छ भनें हनुमाननगरस्थित हनुमान मन्दिरका लागि एक लाख रुपैयाँ सहयोग गरिएको छ । सिरहा, सर्लाही, मकवानपुर, धनुषा, वीरगञ्जलगायतको भ्रमण सकी उहाँ असारको दोस्रो साता राजधानी फर्कने कार्यक्रम रहेको जानकारी सम्बन्धित पक्षले दिएको छ ।

अख्तियारका गीताको महाप्रसाद
अख्तियारका गीताको सिता बटुल्ने काइदा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक कर्मचारीले दश लाख रुपैयाँ लिएर अनियमिततामा संलग्न व्यक्तिलाई उन्मुक्ति दिने प्रयत्न गरिरहेको समाचार प्राप्त भएको छ । अख्तियार सूत्रबाट प्राप्त जानकारीअनुसार नक्कली नेपाली नागरिकता लिने ज्योतिलाल साह कलवारविरुद्ध आयोगमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी गीताप्रसाद तिमल्सिनाले निज कलवारबाट अनुचित लाभ लिएर अनुसन्धानसमेत नगरी कागजात तामेलीमा पठाउने तयारी गरेका छन् । विगत केही वर्षदेखि वीरगञ्जलाई केन्द्र बनाएर विभिन्न अवैध व्यापार गर्दै आएका भारतीय नागरिक ज्योतिलाल साह कलवारले झुटो व्यहोरा पेस गरी ०६३ फागुन २८ गते पर्साको विन्ध्यवासिनी गाविस वडा नं. ६ बाट नेपाली नागरिकता लिएका थिए । स्थानीय बासिन्दाले यस कुराको जानकारी पाएपछि गत वर्षको आखिरीतिर त्यस नामका व्यक्ति गाउँमै नभएको तथ्यसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । त्यसरी स्थानीय बासिन्दाकै तर्फबाट उजुरी परेपछि अख्तियारले गत वैशाख ५ गते जिल्ला प्रशासन कार्यालय पर्सालाई एक पत्र लेखी सो सम्बन्धमा प्रतिक्रिया मागी पठाएको थियो । पर्सा जिल्ला प्रशासन कार्यालयले अख्तियारको पत्रको जवाफ पठाए–नपाएको बुझ्न सकिएको छैन । तर, ज्योतिलालले काठमाडौं आएर उजुरीमाथि छानबिन नै नगरी तामेलीमा पठाउन लगाउने प्रयत्न गरिरहेका छन् । यसै कामका लागि ६ दिनअघि मात्र काठमाडौं आएका ज्योतिलाल सुन्धारास्थित सोनी होटलमा बसिरहेका छन् र राजेशमान सिंह नामक एक व्यक्तिमार्फत गीता प्रसादसँग सम्पर्क गरिरहेका छन् । गीताप्रसाद तिमल्सिना आफैँ उज्यालोमा चाहिँ अहिलेसम्म होटल पुगेका छैनन् तर उनका लागि ‘बार्गेनिङ’ गर्ने काम राजेशमान सिंहले गरेका छन् । यसैक्रममा गत शुक्रबार रुपैयाँ दश लाखमा गीताप्रसादसँग कुरा मिलाइएको जानकारी राजेशमानले ज्योतिलाललाई दिएका छन् । ज्योतिलाल त्यस्ता व्यक्ति हुन् जो भारतबाट वीरगञ्ज आउँदा खालिहात आएका थिए । वीरगञ्जमा डेरा लिएर विभिन्न सामानको तस्करी गराउने उनले अहिले वीरगञ्जमै करोडौँको सम्पत्ति जोडिसकेका छन् । ०६३ सालमा मधेसका केही जिल्लामा आन्दोलन सुरु भएपछि वीरगञ्जमा पहाडीयाहरूलाई विभिन्न डर–त्रास देखाई भगाउने र सस्तो मूल्यमा घरजग्गा हडप्ने कार्यलाई पनि ज्योतिलालले आफ्नो ‘व्यवसाय’ बनाएका थिए । अहिले पनि मौका पाउनासाथ ज्योतिलाल साम्प्रदायिक दङ्गा भड्काउन सक्रिय भइहाल्छन् । उनको यस्तो असामाजिक व्यवहारले वीरगञ्जका स्थानीय बासिन्दालाई हैरान तुल्याएको बताइन्छ । पहाडीयाहरूका विरुद्ध जाइलाग्दा आफू खाँटी नेपाली मधेसी भएको ठानी स्थानीय बासिन्दाको सद्भाव प्राप्त हुने र पहाडीयालाई तर्साएर खेद्न सक्दा मूल्यवान घरजग्गा पनि सस्तोमा पाइने हुनाले ज्योतिलाल साम्प्रदायिक सद्भाव खलबल्याउन सधैँ अग्रसर रहने गरेको बताइन्छ । तर, त्यति गर्दागर्दै पनि निजले वीरगञ्जबाट नेपाली नागरिकताको प्रमाणपत्र लिने आँट भने गर्न सकेनन् र विन्ध्यावासिनी गाविस पुगे । गाउँलेले ज्योतिलाल नामक एक भारतीयले नागरिकताको प्रमाणपत्र लिएको जानकारी पाएपछि तथ्य प्रमाणसहित अख्तियारमा उजुरी दिएका थिए । तर, अहिले दशौँ लाख खर्च गरेर भए पनि आफ्नो कागजात तामेलीमा पठाउन उनले गीताप्रसादको सहारा लिएका छन् । गीताप्रसादलाई दश लाख बुझाएपछि आफ्नो नागरिकतामाथि छानबिन तथा अनुसन्धानको प्रक्रिया अघि नबढ्ने र सदाका लागि मुद्दा टुङ्गिने विश्वास ज्योतिलाले गरेका छन् ।
गीताप्रसाद तिमल्सिनाको छवि अख्तियारभित्र पनि स्वच्छ मानिँदैन । गीताको व्यवहारले आफूहरूको प्रतिष्ठा र अख्तियारको मर्यादामा समेत धक्का पुगेको महसुस अख्तियारका कर्मचारीले गरेका छन् । अख्तियारमा गृह मन्त्रालयअन्तर्गतको काम हेर्ने गीताप्रसादले छानीछानी प्रहरीहरूविरुद्ध उजुरी पार्ने र त्यसरी उजुरी पर्नेबित्तिकै प्रहरी प्रधान कार्यालयमा पत्राचार गरी प्रतिक्रिया माग गर्ने, तर प्रधान कार्यालयबाट जस्तो जवाफ प्राप्त भए पनि अभियोगीलाई बयानका लागि बोलाई ‘बार्गेनिङ’गर्ने गरेको चर्चा अख्तियारकै कर्मचारीबीच हुने गरेको छ । बार्गेनिङका क्रममा ‘मोलतोल’ मिले मुद्दा अनुसन्धान गर्नु नपर्ने भनी कागजात तामेलीमा राखेर टुङ्ग्याइदिने, मोलतोल नमिलेमा सम्बन्धित व्यक्तिको बयान गराउने र थप अनुसन्धान भन्दै तारेखमा राखी सताउने कार्यमा गीताप्रसादले विशेष रुचि लिने गरेको बताइन्छ । यतिखेर गीताप्रसाद झुटो विवरण पेस गरी नागरिकता लिने ज्योतिलाललाई बचाएर दश लाख रुपैयाँ पचाउने अन्तिम तयारीमा त छन्, तर प्रमुख आयुक्त लोकमानसिंह कार्कीले यस कुराको जानकारी प्राप्त गर्नुभएमा गीताप्रसादले कस्तो सजाय भोग्नुपर्ने हुन्छ, प्रतीक्षाको विषय बनेको छ ।

कोइरालानिवासमा डा. रावलको भव्य स्वागत
ख्यातिप्राप्त अर्थविद् एवम् पूर्वसभासद् डा. तिलक रावल अन्तत: नेपाली काङ्गे्रसमै फर्कनुभएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा कुनै न कुनै रूपले जोडिँदै आउनुभएका डा. रावलको पुनरागमनले मध्यपश्चिम र सुदूरपश्चिममा काङ्गे्रसलाई थप ऊर्जा प्राप्त हुने विश्वास गरिएको छ । वरिष्ठ नेता शेरबहादुर देउवाको छवि धमिलिँदै गएको र सुदूरपश्चिममा उहाँको लोकप्रियतामा कमी आएकोले काङ्गे्रसका स्थानीय नेता तथा कार्यकर्ता भावी नेतृत्वको विषयलाई लिएर चिन्तित थिए । डा. तिलक रावलको पुनरागमनले सो क्षेत्रमा बलियो नेतृत्वको अभाव पूर्ति हुने ठानिएको छ । बीसौँ वर्षअघिदेखि नै काङ्गे्रस पार्टीका विभिन्न गतिविधिमा सरिक हुँदै आउनुभएका डा. तिलक रावल ०६४ को संविधानसभा निर्वाचनमा काङ्गे्रसकै तर्फबाट सक्रिय सहभागिता जनाउने पक्षमा हुनुहुन्थ्यो, तर त्यसबेला काङ्गे्रस नेतृत्वले उहाँको महत्व बुझ्न सकेन । ठीक त्यसैबेला विजय गच्छदारको आग्रह स्वीकार गर्दै उहाँ संविधानसभा सदस्यको भूमिका निर्वाह गर्न राजी हुनुभएको थियो । त्यसअघि ०६३ सालमा काङ्गे्रसका तात्कालिक सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् सदस्य बन्न आग्रह गरेर पनि उहाँलाई उक्त भूमिका दिइएको थिएन । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक उदारवादप्रति प्रतिबद्ध डा. तिलक रावल जाति र क्षेत्रका नाममा भइरहेका अवाञ्छित गतिविधिलाई लिएर असन्तुष्ट हुनुहुन्छ । त्यही असन्तुष्टिले उहाँलाई गच्छदारको समूहबाट अलग भई काङ्गे्रसमै सहभागी हुन पे्ररित गरेको बुझिन्छ । नेपाली काङ्गे्रसका संस्थापक एवम् सन्तनेता कृष्णप्रसाद भट्टराईको सान्निध्यमा रहेर विभिन्न भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आउनुभएका डा. तिलक रावललाई पुन: काङ्गे्रसमै सक्रिय तुल्याउने अग्रसरता काङ्गे्रस सभापति सुशील कोइरालाले लिनुभएको हो । यसक्रममा रावललाई काङ्गे्रस केन्द्रीय विभागको सदस्यमा चयन गरिएको छ भने उहाँको सम्मानमा सभापति कोइरालाले जेठ २९ गते बुधबार महाराजगञ्जस्थित आफ्नै निवासमा एक विशेष समारोहको आयोजना गर्नुभएको छ । डा. रावल काङ्गे्रसमा सक्रिय हुनुहुने भएपछि पश्चिमनेपालका बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतलगायतका जिल्लाका स्थानीय नेता तथा कार्यकर्ता पनि काङ्गे्रस प्रवेश गर्न उत्साहित र लालायित भएका छन् । यसक्रममा सैयौँ नेता तथा कार्यकर्ता बुधबारको कार्यक्रममा सहभागी हुन दुई दिनअघिदेखि नै राजधानी आइसकेका थिए । उनीहरू सबैलाई पार्टी सदस्यता दिई कामको जिम्मेवारी दिने सोच सभापति कोइरालाले बनाउनुभएको छ । नेपाल राष्ट्र बैंकका गभर्नरसमेत रहिसक्नुभएका डा. रावलको काङ्गे्रस पुनरागमनपछि मध्य र सुदूरपश्चिमका काङ्गे्रसको पक्षमा अनपेक्षित माहौल बन्ने विश्वास गरिएको छ ।

महाप्रसादविरुद्ध अख्तियारमा उजुरी
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी तथा अन्य कर्मचारीहरू भाष्कर ज्ञवाली, विष्णु नेपाल, लोकबहादुर खड्का र आश्विनीकुमार ठाकुरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । महाप्रसादले कतिपय बैंक तथा वित्तीय संस्थामा मातहतका कर्मचारीलाई निरीक्षण गराएर पूर्वाग्रह राखी प्रतिवेदन तयार गर्न लगाउने र प्रतिशोधपूर्ण ढङ्गले कारबाही गरी बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूलाई सताउने गरेकोले उनीहरूविरुद्ध अख्तियारमा तथ्य प्रमाणसहित उजुरी परेको बुझिएको छ । नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीसहित उच्चपदस्थ कर्मचारीहरू आफूसम्बद्ध एक राजनीतिक दलको निम्ति नगद सङ्ग्रहमा समेत खटेको र चन्दा नदिने बैंक तथा वित्तीय संस्थाका सञ्चालकलाई विभिन्न अत्तो थापी कारबाही गर्न/गराउन सक्रिय रहेको बताइन्छ । अख्तियारमा गत आइतबार (जेठ २६ गते) दर्ता गरिएको (द.नं. २०६२३ र २०६२४) उजुरीपत्रमा महाप्रसाद अधिकारीलगायतका कर्मचारीले आफूअनुकूलका व्यवसायी चन्द्र ढकाललाई विशेष सहयोग पु-याउने गरेको, महाप्रसादको आदेश, निर्देश तथा मिलेमतोमा खासखास बैंक तथा वित्तीय संस्थाहरू समस्याग्रस्त रहेको भनी पत्रिकाबाजी गर्ने र पाँच सय रुपैयाँको सेयरलाई पचास रुपैयाँमा तथा दुई हजार रुपैयाँको सेयर सय रुपैयाँ झार्ने र सेयर मूल्य घटेपछि आफ्नो नजिकका मित्र तथा आफन्तहरूको नाममा सेयर सकार्न लगाउने गरेको आरोप लगाइएको छ । महाप्रसादले बैंक व्यवसायी तथा अन्यलाई सताई ठूलो परिणाममा रकम असुल्ने गरेको र उक्त रकम विभिन्न व्यवसायीमार्फत लगानी गर्ने गरेको पनि उजुरीपत्रमा उल्लिखित छ । अधिकारीले त्यसरी कमाएको धन विदेशमा पु-याएको आरोपसमेत उजुरीपत्रमा लगाइएको छ । उजुरवालाहरूले अख्तियारबाट महाप्रसाद अधिकारीसहितका कर्मचारीमाथि तत्काल छानबिन गरी आवश्यक कानुनी कारबाही अघि बढाउन तदारुकता लिइने विश्वास गरेका छन् ।

काङ्ग्रेसलाई आरोप लगाउनु राजनीतिक बेइमानी : नेता केसी
नुवाकोट/ नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहमति नभएको कुरालाई काङ्ग्रेस र एमालेले उछालेको भनी लगाएको आरोपप्रति आपत्ति प्रकट गर्दै दाहालको यो प्रवृत्ति राजनीतिक बेइमानीको दृष्टान्त भएको बताएका छन् । नुवाकोटको सुनखानीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले थ्रेसहोल्डका विषयमा निर्वाचन आयोगमा प्रमुख दलहरू बसेर गरेको सहमतिलाई सहमति नै नभएको भन्ने एकीकृत माओवादी अध्यक्षको भनाइ निर्वाचन हुन नदिने रणनीतिको उपज भएको जनाए । निर्वाचन प्रक्रियामा समावेश नभएका नेकपा–माओवादीलगायतका दलहरू प्रक्रियाभित्र आउने सुनिश्चितता भएमा काङ्ग्रेस केही लचिलो हुने केसीको भनाइ थियो । नेपाली काङ्ग्रेसले विगतमा सहमतिका लागि आफ्ना धेरै अडान छाडेको उल्लेख गर्दै केसीले अडान राख्ने तर छाड्दै जाने हो भने पार्टीका लागि त्यो घातक बन्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुपर्ने औँल्याए ।
यसअघि नेता केसीले यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले कुम्भेश्वर उमावि सुनखानीलाई उपलब्ध गराएको तीन थान कम्प्युटर विद्यालयलाई हस्तान्तरण गरेका थिए । त्यस क्रममा उनले परिवर्तित समयअनुसार वैज्ञानिक र प्राविधिक शिक्षालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामसिंह तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसीलगायतका वक्ताहरूले मन्तव्य राखेका थिए ।

प्रेस चौतारी बागमतीमा तारुके
प्रेस चौतारी नेपाल बागमती अञ्चल समन्वय समितिको भेलाले विष्णु तारुकेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । सचिवमा सौजन्यप्रसाद सत्याल र सदस्यहरूमा रामेश्वर कार्की, देवचन्द्र भट्ट, हेमनाथ खतिवडा, दिनेश थापा, शरद सापकोटा, नवदीप अजनवी, केदार सिवाकोटी, गायत्री खतिवडा, सामुबाबु तिमिल्सिना, नवराज बजगाईं, बलराम घिमिरे र हीरामान लामा चयन हुनुभएको छ । प्रेस चौतारी नेपालका मध्यमाञ्चल उपाध्यक्ष उपेन्द्र केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाामा बागमती अञ्चल इन्चार्ज केशव अधिकारी, एमाले धादिङका उपाध्यक्ष भूमि त्रिपाठीलगायतले मन्तव्य राख्नुभएको थियो ।

सार्वजनिक सुनुवाइमा सीमाक्षेत्रको गुनासो
नवलपरासी पकलिहवा गाविसमा आयोजित एक कार्यक्रममा वक्ताहरूले ढिलासुस्ती, अनियमितता अन्त गरी समुन्नत समाज निर्माण गर्न सकिने बताएका छन् । उनीहरूले सीमाक्षेत्रमा हुने अनियमितता रोक्न स्थानीय प्रशासन उदासीन रहेको आरोप लगाएका थिए । पकलिहवा गाविसको आयोजनामा सञ्चालित गाविसस्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो धारणा राखेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा नारायणी नदीले भत्काएको ‘बी’ ग्याप बाँधको नोज निर्माणकार्यमा भएको ढिलासुस्ती र अनियमितता बढेको चिन्ता व्यक्त गर्दै सहभागीहरूले भारतीय पक्षबाट भएको निर्माणकार्यमा नेपाली प्राविधिक टोलीले संयुक्त रूपमा अनुगमन गर्नुपर्ने सुझाव दिए । पकलिहवा गाविस सचिव नवीन पन्थीको अध्यक्षतामा सम्पन्न सुनुवाइ कार्यक्रममा नेपाल पे्रस युनियनका अजय चौहान, निवर्तमान गाविसअध्यक्ष कृष्णानन्द चौधरी, उपाध्यक्ष दिनेश यादव, इन्दे्रणी सामाजिक मञ्चका श्याम बुचामगर, केबी थापामगर, केदारप्रसाद कुर्मी, भागीरथी पाल, रामकिसुन हरिजन, स्थानीय प्रहरीचौकी प्रमुख मीनबहादुर आले, स्थानीय स्वास्थ्यकर्मी राजकिशोर मण्डललगायतले राज्यबाट पु-याइएको सेवा–सुविधा लक्षित वर्गसम्म समयमै आउनुपर्ने विचार राखेका थिए । जिल्ला विकास समिति नवलपरासीले जिल्लाअन्तर्गतका सबै गाविस र नगरपालिकामा क्रमिक रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नुपर्ने निर्देशनअनुसार गाविसहरूले गाविसबाट पु-याइएको सेवासुविधाबारे सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दै आएको छ ।
यसअघि सीमावर्ती त्रिवेणी सुस्ता गाविसले पनि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवा प्रदाय र सेवाग्राहीबीच प्रत्यक्ष अन्तरक्रिया र प्रश्नोत्तर भएको गाविससचिव गोपालप्रसाद भट्टराईले जानकारी दिए । कार्यक्रममा नेपाल सरकारको स्थानीय सरकारी कार्यालयका प्रमुख, सङ्घसंस्था र राजनीतिक दलको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । – आरपी उपाध्याय

दुई कार्यालयमा करोडौँ बेरुजु
दमक/ झापाका दुई सरकारी कार्यालयको बेरुजु तीन करोड रुपैयाँभन्दा बढी पुगेको छ । जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालयको अहिलेसम्मको बेरुजु सबैभन्दा उच्च रहेको छ । स्रोतका अनुसार जिल्ला प्राविधिकको दुई करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ भने जिविसको मात्र करिब डेढ करोडभन्दा बढी बेरुजु रहेको छ ।
‘यो दर उच्च हो,’ स्थानीय विकास अधिकारी लालमणि ओझाले भने, ‘बेरुजुको यो अवस्था हटाउन पहल थालेका छौँ ।’ ०३९ सालदेखिका जिविसका बेरुजुको फस्र्योट हुन सकेको छैन । त्यसताका यता विभिन्न समयमा बेरुजुको अवस्था बढेको पाइएको छ । जिविसबाट रकम निकासा गरी मापदण्डविपरीत खर्च गर्ने कार्य बढेपछि बेरुजु हुन नदिन जिविसले अधिकांश योजनाका काम गर्न अग्रिम पेस्की रकम दिनमा रोक लगाइएको उनले जानकारी दिए ।
‘यसले बेरुजुको यस्तो उच्च दर नियन्त्रण हुनेछ,’ स्थानीय विकास अधिकारी ओझाले थपे, ‘जिविसको बेरुजु फस्र्योटका लागि आवश्यक प्रक्रिया अघि बढाएका छौँ ।’ सरकारी रकम दुरुपयोग रोक्न यस्तो निर्णय गरिएको उनको भनाइ छ ।
बेरुजुमा राजनीतिक दलका कार्यकर्ताको विभिन्न सङ्घसंस्थाहरू समावेश रहेका छन् । जिविसमा मात्र यो सङ्ख्या सय बढीको हाराहारीमा रहेका स्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘लामो समयदेखि बेरुजु रहेकाले यो समस्या बढेको हो ।’
यता जिल्ला प्राविधिक कार्यालयको अहिलेसम्म दुई करोडभन्दा बढी बेरुजुको परिणाम देखापरेको छ । कार्यालयले विभिन्न समयमा जिल्लाभित्रका विकास योजनाहरू सञ्चालन गर्दा अहिलेसम्म दुई करोड रुपैयाँ बेरुजु आएको हो । सो कार्यालले बेरुजु फस्र्योट गर्न आवश्यक पहल गरे पनि प्रभावकारी नभएको कार्यालय स्रोतले जनाएको छ । स्रोत भन्छ, ‘बेरुजु फस्र्योट गर्न थाले पनि मुलुकको सङ्क्रमणकालका कारण त्यो कामले मूर्तरूप लिन सकेको छैन ।’
जिल्लाका अन्य सरकारी कार्यालयभन्दा ती दुई कार्यालयमा जनताको प्रत्यक्ष सहभागिता हुने हुँदा विकास योजनामा वर्षौंदेखिको यस्तो बेरुजु अवस्था बढी रहेको देखिन्छ ।

यस्तो माग गरे गृहणी महिलाले
नेपाली महिलाको आर्थिक, सामाजिक, कानुनी अधिकारको वकालत तथा सो क्षेत्रमा सहयोग पु-याउने उद्देश्यका साथ स्थापित ‘गृहणी महिला सङ्घ नेपाल’ले करिब पाँच सय महिलाका लागि स्वास्थ्य शिविर, दुई हजारभन्दा बढी महिलालाई कानुनी साक्षरता तथा महिलाको समस्या र समाधानका विषयमा अन्तरक्रियाहरू सम्पन्न गरिसकेको जनाइएको छ ।
यसैक्रममा गत २५ गते काठमाडौंमा गृहणी महिला सङ्घकी अध्यक्ष विज्ञा तिमल्सेनाको अध्यक्षतामा महिलाको कानुनी र स्वास्थ्य विषयक अन्तरक्रिया सम्पन्न भयो । अन्तरक्रियामा प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदा श्रेष्ठ र विशेष अतिथि सर्वोच्च अदालतकै पूर्वन्यायाधीश गौरी ढकाल रहनुभएको थियो भने पूर्वश्रममन्त्री रमेश लेखक, सर्वाेच्च अदालतका पूर्वरजिष्ट्रार डा. रामकृष्ण तिमल्सेना, सशस्त्र प्रहरी बलका पूर्वआईजीपी शैलेन्द्रकुमार श्रेष्ठ, पोखरेली दिदी–बहिनी समूहकी अध्यक्ष डा. विमला शाक्य, नेशनल डेन्टल अस्पतालकी डाइरेक्टर डा. अनारकली श्रेष्ठ वक्ताका रूपमा उपस्थित थिए । कानुनी प्रशिक्षकका रूपमा अधिवक्ता राममाया लामिछाने र स्वास्थ्यसम्बन्धी प्रशिक्षकका रूपमा डा. हेमराज कोइरालाले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा सङ्घकी महासचिव अमृता शर्माले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।
अन्तरक्रियाका अधिकांश सहभागीले गृहणी महिलाले गरेको कामको उचित मूल्याङ्कन गरी वार्षिक गार्हस्थ आम्दानीमा जोडेर महिलाको योगदानको कदर हुनुपर्ने, महिला अधिकारको सुनिश्चितताका लागि महिला शिक्षामा राज्यले विशेष जोड दिनुपर्ने, महिलाकेन्द्रित कार्यक्रमलाई सरकारका तर्फबाट बजेटसहित विशेष जोड दिनुपर्ने माग गरेका थिए । – हेमराज लम्साल

धनसम्पत्तिसँगै यौन लुट्ने लुटेरा जेलमा
आकर्षक रोजगारका लागि महिला उम्मेदवारको आवश्यकतासम्बन्धी विज्ञापन अखबारमा प्रकाशित गराउने अनि अन्तर्वार्ताका लागि कुनै होटलमा बोलाएर सम्पर्कमा आएका युवतीको यौनशोषण गर्नेदेखि उल्टै नगद र मोबाइल लुट्ने धन्दामा लागेको एक अपराधी प्रहरीको फन्दामा परेको छ । उल्लेखित प्रकृतिको घटना घटाउँदै युवतीलाई होटलको शौचालयमा थुनेर फरार हुने घटना राजधानीलगायत मोफसलका कतिपय स्थानमा समेत घटेको प्रकाशमा आएका थिए । पछिल्लो घटनाचाहिँ पोखराको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्राप्त विवरणअनुसार पोखरामा पछिल्लोपटक एक स्थानीय पत्रिकामा विज्ञापन दिई अन्तर्वार्ताका लागि भन्दै होटलको कोठामा बोलाएर डर, त्रास र धाकधम्की देखाएर युवतीको गरगहना लुट्ने काभ्रे जिल्ला चचाँल गणेशस्थान गाविस–६ घर भई मकवानपुर हेटाँैडा–९ सिमेन्ट टोल बस्ने वर्ष ३१ का पुष्कर खड्का पुर्पक्षका लागि जेल चलान भएका छन् । अभियुक्त खड्कालाई प्रहरीले गत वैशाख २५ गते पक्राउ गरेको थियो । यसअघि उनले पोखरामा दुई युवतीलाई मोडलिङको नाममा अन्तर्वार्ता लिन भनी होटलमा बोलाई लुटपाट गरी बाथरुममा थुनेर भागेको अनुसन्धानले पुष्टि गरेको बताइएको छ । खड्काले तीमध्ये एकजना युवतीको स्कुटरसमेत लिएर भागेका थिए ।
काठमाडौंमा पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई अनुसन्धानपश्चात् जिल्ला अदालत कास्कीमा पेस गरिएको थियो । जिल्ला अदालतले खड्कालाई पुर्पक्षका लागि थुनामा राखेको हो । अभियुक्त खड्का अहिले जिल्ला कारागार शाखा कास्कीमा बन्दीजीवन बिताइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

नेतालाई अक्षम घोषणा गर्दै अघिसरे लक्ष्मणसिंह
आफूलाई ‘नेपालको खलाँसी’ भनी चिनाउन रुचाउने लक्ष्मणसिंह खड्कालाई सिंहदरबारको मूलढोकामा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा सरसफाइ तथा रङरोगन गरेको अवस्थामा राजधानीवासी प्राय: सबैले देखेकै हुुनुपर्छ । पृथ्वनारायणको मात्र नभई अन्य राजाहरू, शहिदहरू, साहित्यकार एवम् नेपालका विभूतिहरूका शालिकको सरसफाइ, संरक्षण र सिँगारपटारमा व्यक्तिगत खर्च र पसिना बगाइरहेका हुन्छन् लक्ष्मण खड्का । उनको यस्तो व्यवहार या शैलीमा गहिरो राष्ट्रप्रेम या नागरिकले राष्ट्रप्रति निर्वाह गर्नुपर्ने दायित्वबोध कुट–कुट भरिएको सहज अनुभूति गर्न सकिन्छ । हरदम सेतो वस्त्रमा देखिने लक्ष्मणसिंह नेपालका नेता र राजनीतिक दलहरू मुलुक र मुलुकवासीप्रति कृतघ्न रहेको आरोप लगाउँछन् । नेता भनिएकाहरू सत्ता–शक्तिका लागि विदेशी भूमिमा ‘आशीर्वाद’ थाप्न जाँदा आफू राष्ट्रनिर्माताको शालिक फोर्न आउने भिजिलान्ते जमातसँग एक्लै प्रतिकारमा उत्रेको घटना सम्झँदै खड्का भन्छन्, ‘नेपालमा नेता त छ्यासछ्यास्ती देखिए तर काम लाग्ने एकजना पनि भएनन्, हाम्रा नेता घर–परिवारका लागि मात्र नेता भए, देश र जनताका लागि होइन ।’ दलहरू बाह्य प्रभावमा परेकाले कुनै पनि निर्णय स्वविवेकले यिनीहरूले गर्न सक्दैनन् भन्छन् खड्का ।
हरदम सेतो वस्त्रमा देखिने उनी पृथ्वीनारायण शाहदेखि लक्ष्मीप्रसाद देवकोटासम्मका सालिक सफा गरिरहेका, सिँगारपटार गरिरहेका हुन्छन् । नेता र राजनीतिक दलहरु कृतघ्न बने पनि आफू राष्ट्र र राष्ट्रका ऐतिहासिक एवम् महत्वपूर्ण पात्रहरूप्रति कृतघ्न बन्न नसक्ने बताउँछन् । शहिदका नाममा अर्बौं बजेट छुट्याए पनि शहिदका शालिकको कन्तविजोग भएको आफू देख्न नसक्ने उनको भनाइ छ । ८३ हजार मेगावाट विद्युत् क्षमता भएको मुलुकमा १८ घण्टासम्मको लोडसेडिङ व्यहोर्नुलाई नेपालीको दुर्भाग्य ठान्ने खड्का यो पनि नेताहरूकै अक्षमताका कारण भएको आरोप लगाउँछन् । कसैले नगरे पनि आफू एक्लै भए पनि यो मुलुकमा उज्यालो दिन ल्याउन कम्मर कसेर लागेको दाबी गर्ने खड्काले प्रत्येक नेपालीले आफूले राष्ट्रका लागि गर्न लागेको कामका निम्ति एक–एक रुपैयाँ दान गर्न आह्वान गरेका छन् । यसका लागि खड्काले विभिन्न बैंकमा खाता पनि खोलिसकेका छन् ।
उनले नेपाल बैंकको बचत खाता नंबर २१७१००१८०९२२, लुम्बिनी बैंकको १०२०५८७९, नविल बैंकको १७१००१७५०१३०४, बैंक अफ काठमाण्डूको ०३००००००३६२५ एनपीआर, एनएमबी बैंकको ००४००००७७९५ आर, एभरेष्ट बैंकको ००१००५०१२१४७७७, मेगा बैंकको ००१००५०१८५०१८, लक्ष्मी बैंकको ०००७२०१०००७७७२, स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनपीआर १८–२४६४६८३–०१, नेपाल इन्भेष्टमेन्ट बैंकको ०३२०५०३०२५६३४६ र गुडविल फाइनान्सको बचत खाता नंबर १०१०६०१४८२ मा सहयोग रकम जम्मा गर्न सकिने जानकारी दिए ।
जम्मा भएको रकम मुलुकको समग्र हितमा प्राथमिकताका आधारमा विशेषगरी मुलुकका दुर्गम स्थानका जनताका लागि औषधि उपचार, शिक्षा तथा अन्य आधारभूत आवश्यकताका विषयमा खर्च गरिने र सहयोग रकमबाट विकासका प्रतिफलको साथसाथै दाताले २० वर्षपछि दिएकोभन्दा दोब्बर फिर्ता पाउने अनौठो घोषणा पनि खड्काले गरेका छन् । आफू मुलुक सिंगार्ने यो अभियानका एक्लो अभियन्ता रहेको उनको दाबी छ भने आगामी दशैंको अवसर पारेर आफ्नो अवधारणालाई व्यवहारमा उतार्ने कामको औपचारिक सुरुवात गर्ने उनको सोचाइ छ ।

भारतीय सहयोग अपरिहार्य : शेरबहादुर देउवा
मित्रराष्ट्र भारतको भ्रमणमा रहेका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भारतले समयमै संविधानसभा चुनाव होस् भनी चाहेको बताउनुभएको छ । नेपाली जनसम्पर्क समिति भारतद्वारा गत सोमबार नयाँदिल्लीमा आयोजित स्वागत कार्यक्रममा सम्बोधन गर्दै नेता देउवाले चुनावका लागि भारतीय सहयोग आवश्यक रहेको बताउनुभयो । भारतले नेपालमा शान्ति, समृद्धि र स्थिरता देख्न चाहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, ‘चुनावका लागि भारतको सहयोग आवश्यक छ ।’ भ्रमणका दौरान भारतीय नेता र अधिकारीहरूसँगको भेटबाट आफू उत्साही भएको र यसपटकको भ्रमणले नेपालप्रति रहँदै आएको भारतीय सद्भावबारे आफूलाई थप ज्ञान भएको खुलासा देउवाले गर्नुभयो ।
नेपालको भविष्य नेपालीले नै बनाउने भए पनि त्यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव र सहयोग अनिवार्य रहेको बताउँदै चुनावका लागि आवश्यक सहयोग दिन मित्रराष्ट्र भारत तयार रहेको जानकारी पनि देउवाले दिनुभयो । भारतले नेपालको विकासमा दिइआएको सहयोग अझै बढ्ने अपेक्षा र विश्वास व्यक्त गर्दै दुई देशबीच भएका विगतका सहमति र सम्झौता कार्यान्वयनमा देउवाले जोड दिनुभयो । भारत प्रवासमा रहेका नेपालीले जनआन्दोलनका अलावा नेपालको विकासमा उल्लेख्य भूमिका खेलेकोमा उहाँले प्रशंसा गर्नुभयो ।
भ्रमणका क्रममा नेता देउवाले भारतीय विदेशमन्त्री सलमान खुर्सिद, विदेशसचिव रञ्जन मथाल, केन्द्रीय सुरक्षा सल्लाहकार शिवशंकर मेननसँग भेट गर्दै वर्तमान राजनीति, चुनावको तयारीलगायतका विषयमा छलफल गर्नुभएको नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिनुभयो । भेटमा द्विपक्षीय सहयोगबारे छलफल भएको थियो । देउवाको स्वागतार्थ आयोजित सो कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले आसन्न चुनावका लागि नेपाली जनता आतुर रहेको भन्दै भारतले सहयोग गर्न देखाएको तत्परताबाट आफूहरू खुसी भएको बताउनुभयो । नेपालमा लोकतन्त्र स्थापना र विकासमा भारतको निरन्तर सहयोग रहने विश्वास निधिले व्यक्त गर्नुभयो ।
यसैगरी, देउवापत्नी आरजु राणाले प्रवासमा रहेका नेपालीको योगदानको प्रशंसा गर्नुभयो भने नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले नेपालीको हकहितका पक्षमा कुरा राख्न नेताहरूसँग आग्रह गर्नुभयो । यस्तै, भारतका समाजवादी नेता सुधीन्द्र भदौरियाले भारतको स्वतन्त्रतासङ्ग्राममा नेपालका नेताको भूमिकाबारे उल्लेख गर्दै नेपालमा शान्ति, विकास र प्रगतिका लागि भारत पनि सहयोगका लागि हरदम तत्पर रहेको उल्लेख गर्नुभयो ।

मालवाहक सवारी अब करमुक्त
छिमेकी भारतको पश्चिमबंगाल सरकारले पूर्वीनेपालको काँकडभिट्टा नाकाबाट फूलबारी–बंगलाबन्ध रुटमा चल्ने मालबाहक सवारीसाधनमा लिँदै आएको टोल–ट्याक्स अब नलिने भएको छ । सिलिगुढीमा मालवाहक प्रत्येक ठूलो सवारीसाधनबाट भारतीय रुपैयाँ ८० र सानो सवारीमा ५० का दरले टोल–ट्याक्स लिइने गरिएको थियो । उत्तरबंगालको सिलिगुढी–जलपाइगुढी डेभलपमेन्ट अथोरिटी तथा बंगाल सरकारका प्रतिनिधिसँग भएको विभिन्न चरणको वार्तापछि मे २१ (जेठ ७)बाट यो कर उठाउन छाडिएको जनाइएको छ ।
सडक नाकाबाट सामान पारवहन गर्नका लागि छिमेकी भारतले १६ वटा नाका सुविधा दिएकोमा पश्चिमबंगालमा मात्र टोल–ट्याक्स लिने व्यवस्था कायम रहेको थियो । यी १६ नाका बिहार, उत्तरप्रदेश, पश्चिमबंगाल र झारखण्ड राज्यबाट गुज्रने गरेका छन् । नेपाली कृषिजन्य तथा अन्य उत्पादन यिनै नाका हुँदै भारत, बंगलादेश तथा तेस्रो मुलुकमा पुग्ने गर्दछ । पश्चिमबंगालको परवाहन नाका हुँदै भारततर्फ निकासी हुने सामानमा क्वारेन्टाइन समस्या यथावत् रहेको र पानीट्याङ्की नाकामा बैङ्किङ सुविधा उपलब्ध नभएकोजस्ता समस्यालाई पनि पश्चिमबंगाल सरकारले छिट्टै सम्बोधन गर्ने बताइएको छ ।

पनिकालाई समयसापेक्ष तुल्याउने दृढता
त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा प्रमुख परीक्षा नियन्त्रकका रूपमा नियुक्त भएपछि प्राध्यापक केशव बास्तोलाले प्राध्यापकहरू, नागरिक समाज एवम् बुद्धिजीवीहरूबीच पनिकाको गतिविधिलाई छिटो, छरितो र वैज्ञानिक ढङ्गले लैजाने दृढता व्यक्त गर्नुभएको छ । ठीक समयमा परीक्षा सञ्चालन, ठीक समयमा नतिजा प्रकाशन र परीक्षालाई मर्यादित रूपमा सञ्चालन गर्न पनि आफू दृढ रहेको उहाँले बताउनुभयो ।
आजभन्दा ५३ वर्षअघि कास्की पोखरामा जन्मिएर त्रिविबाट भूगोल विषयमा एमए र नेदरल्यान्डबाट इन्फर्मेसन टेक्नोलोजीमा पनि मास्टर्स गर्नुहुने प्राध्यापक बास्तोला विज्ञानको नयाँ सूचना प्रविधिका पनि विज्ञ मानिनुहुन्छ । सदाचार, सद्गुण र सद्व्यवहारका धनी प्राध्यापक बास्तोला नेपाल भन्नु नै हाम्रो घर हो र यो मुलुकको कुनै भूभाग बन्नु नै आफू बन्नु हो भन्ने सोच राख्नुहुन्छ । प्रजातन्त्रवादी प्राध्यापकका रूपमा परिचित उहाँ बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको गहिरो प्रभाव आफ्नो जीवनमा परेको अभिव्यक्ति दिनुहुन्छ ।