एकै परिवारका ११ को झुन्डिएर मृत्यु, हत्याको आशंका

एकै परिवारका ११ को झुन्डिएर मृत्यु, हत्याको आशंका


भारतको नयाँदिल्लीमा एक परिवारका ११ जना सदस्य आज आइतबार बिहान झुन्डिएको अवस्थामा भेटिएका छन् । हेर्दा आत्महत्याजस्तो देखिए पनि प्रहरीले प्रारम्भिक अनुसन्धानमा हत्याको आशंका गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दिल्लीको बुरारीनजिकै एक घरमा हरेक सदस्यको आँखामा कपडाको पट्टी बाँधेर सबैलाई झुन्ड्याएको अवस्थामा ११ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

झुन्ड्याइएको अवस्थामा भेटिएकामा चारजना पुरुष, तीनजना महिला र चार बालिका रहेका छन् । घरमा भेन्टिलेटरको रूपमा प्रयोग गरिएको फलामको डन्डीमा उनीहरूलाई झुन्ड्याएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतक सबैको हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घटनाबारे दिल्ली प्रहरीले अनुसन्धान गरिरहेको छ । बिहान घरमै झुन्ड्याइएको अवस्थामा देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले छिमेकीसँग सोधपुछ गरिरहेको छ । प्रहरीका अनुसार सीसीटीभी क्यामेरा फुटेजबाट घटनाको वास्तविकता थाहा हुनेछ ।

यसलाई प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको प्रहरी अधिकारीले जनाएका छन् । घटनास्थलमा सुसाइड नोट नरहेकोले घटना लुकाउन झुन्ड्याएको हुन सक्ने अनुसन्धान अधिकृतहरूले आशंका गरेका छन् ।