हत्या भएको भनिएका रुसी पत्रकार अर्काडी एकाएक पत्रकार सम्मेलनमा

हत्या भएको भनिएका रुसी पत्रकार अर्काडी एकाएक पत्रकार सम्मेलनमा


युक्रेनले ‘हत्या भएको’ भनेर प्रचारित एकजना रुसी पत्रकार अर्काडी बाब्चेन्को जीवितै रहेको पाइएको छ । उनको हत्या भएको भनेर विश्वव्यापी रूपमा समाचारहरू आएपछि उनी आफै पत्रकार सम्मेलनमा देखा परेका छन् ।

उनी एकाएक जीवित र सकुशल रूपमै युक्रेनी राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उपस्थित भएपछि यसले आश्चर्यको सीमा नाघेको छ । यसलाई एक अभूतपूर्व घटनाक्रम भनेर बिबिसीले लेखेको छ-ती पत्रकार आर्काडी बाब्चेन्को युक्रेनी टेलिभिजनको प्रत्यक्ष प्रसारणमा देखा परेका हुन् ।

एएफपीका अनुसार, युक्रेनले नै राजधानी किभमा मङ्गलबार साँझ ३ वटा गोली प्रहार गरी हत्या भएको बताएको थियो । तर त्यसको २४ घण्टा नबित्दै ती पत्रकार आफै पत्रकार सम्मेलनमा उपस्थित भएपछि हत्याको समाचार झुटो रहेको बताइएको छ ।

ती पत्रकारले युक्रेनबाट क्राइमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका थिए । साथै उनी क्रेमलिनका कट्टर आलोचकका रुपमा समेत चर्चित पत्रकार हुन् ।

यद्यपि उनीमाथि हत्याको षड्यन्त्र भइरहेको चाहिँ उनी आफैले स्वीकारेका छन् । पत्रकार सम्मेलनमा उनले आफूलाई हत्या गर्ने एउटा योजनाको निशाना बनाइएको भन्नेबारे एक महिनाअघि सूचना प्राप्त भएको बताएका हुन् ।

युक्रेनको गुप्तचर सेवाका प्रमुखले ती पत्रकारलाई हत्या गर्ने आदेश “रुसी गुप्तचर निकायले जारी गरेको” दाबी गरेका थिए।रूसको राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका उनी त्यसपछि भागेर प्राग पुगेका र पछि किभमा बस्दै आएको बताइन्छ ।

यसैबीच, पत्रकार अर्काडीको हत्याको षडयन्त्रका सम्बन्धमा आफूहरूले एकजनालाई पक्राउ गरेको युक्रेनी प्रहरीले जनाएको छ । बुधबार पत्रकार सम्मेलन कक्षमा अर्काडी प्रवेश गर्दा त्यहाँ उपस्थितहरुले विस्मय(मिश्रित प्रतिक्रिया जनाएका थिए। उनले आफ्नो ज्यान जोगाइदिएकोमा युक्रेनी प्रहरीलाई धन्यवाद समेत दिएका छन् ।

यसअघि दिइएको उनको मृत्युसम्बन्धी समाचारमा ती पत्रकारलाई ढाडमा गोली लागेर रगतले लत्पतिएको अवस्थामा उनकी श्रीमतीले फेला पारेको र उपचारका लागि अस्पताल लगिँदै गर्दा एम्बुलेन्समा नै उनको निधन भएको जनाइएको थियो ।

४१ वर्षीय ती पत्रकार अर्काडी युक्रेनबाट क्रिमिया टुक्रिएर रुसमा विलय भएदेखि नै पुटिनका आलोचक बनेका थिए । उनलाई गोली हानेको आवाज सुनेको र घटनास्थलमा पुग्दा उनको अवस्था निकै गम्भीर पाएको उनकी श्रीमतीले जनाएकी थिइन् । एजेन्सी