केन्द्रीय सदस्यको टुंगो लगाउन प्रचण्डलाई हम्मेहम्मे

केन्द्रीय सदस्यको टुंगो लगाउन प्रचण्डलाई हम्मेहम्मे


नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीमा रहने सदस्यको नाम टुंग्याउन पूर्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हम्मेहम्मे नै परेको छ । पदका आकांक्षी धेरै तर सिट थोरै भएको हुँदा प्रचण्डलाई भाग मिलाउन हम्मेहम्मे परेको हो ।

तर, पूर्व एमालेका अध्यक्ष केपी ओलीले भने आफ्नो पक्षबाट २४१ वटै केन्द्रीय सदस्यको नाम टुंगो लगाइसकेका छन् । नेकपाको केन्द्रीय समितिमा कुल ४४१ जना रहने व्यवस्था गरिएको छ । जसमा साबिकको एमालेबाट २४१ तथा माओवादी पक्षबाट २०० सदस्य रहनेछन् ।

तत्कालीन माओवादी केन्द्रले एकीकृत पार्टी नेकपामा आफ्ना कोटामा परेका २०० केन्द्रीय सदस्य चयन गर्न सकस परेको छ । उसले २०० सदस्यमध्ये करिब ८५ जनाको नाम भने टुंगो लगाइसकेको यसअघि नै सार्वजनिक भएको थियो ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री समेत रहेका पूर्व एमाले अध्यक्ष केपी ओलीले भने वरिष्ठ नेता माधवकुमार नेपालसँगको छलफलबाट तत्कालीन एमालेबाट केन्द्रीय कमिटीमा मनोनीत ४५ सहित २४१ जना केन्द्रीय सदस्यको टुंगो लगाएको जनाइएको छ । तर ओली र नेपालको यस निर्णयप्रतप अर्का नेता झलनाथ खनाल भने रूष्ट भएका छन् । पार्टी एकता संयोजन समितिका सदस्य समेत रहेका खनालले अन्तिममा आएर आफूलाई बाइपास गर्दै एकता गरेको भन्दै असन्तुष्टि पोख्दै आएका छन् ।