एकताको औपचारिक घोषणामा ढिलाइ

एकताको औपचारिक घोषणामा ढिलाइ


नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकता प्रक्रियालाई एकता संयोजन समितिको बैठकले टुंगो लगाएपछि यतिबेला माओवादी केन्द्रको विशेष बैठक प्रचण्डनिवास खुमलटारमा बसिरहेको छ ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटमा बसेको एकता संयोजन समितिको बैठकले एकता प्रक्रियालाई टुंगो लगाएको थियो । एकताका विषयमा बुधबार नै सहमति जुटे पनि आज विहानको एकता संयोजन समिति बैठकले एकता प्रक्रियालाई अनुमोदन गरेको हो । बैठकले एकीकृत पार्टीको अन्तरिम विधान र सांगठनिक प्रतिवेदन समेत पारित गरेको छ । दुवै पार्टीको बैठक बसेर यसलाई अनुमोदन गर्ने प्रक्रिया जारी छ ।

दुई पार्टीको सहमतिअनुसार एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने यसअघि नै तय गरिएको छ । एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद हुने र नेपालको सापेक्षातामा जनताको जनवादलाई स्वीकार गरेर जाने विषयमा समेत दुई पार्टीबीच सहमति भएको बताइएको छ । ज्ञातव्य छ, नेपाल कम्युनिष्ट पार्टीकै नाममा नेत्रविक्रम चन्द विप्लवले पार्टी सञ्चालन गरिरहेका छन् । तर विप्लव नेतृत्वको दल निर्वाचन आयोगमा दर्ता भएको छैन ।

बताइएअनुसार एकीकृत पार्टीमा पालैपालो नेतृत्व गर्नेलगायतका विषयमा सहमति भएको छ । नयाँ पार्टीको स्थायी समितिमा ४३ जना छन् । त्यसमा एमालेको तर्फबाट २५ र माओवादी केन्द्रका तर्फबाट १८ जना रहने निर्णय गरिएको छ । कूल ४४१ जनाको केन्द्रीय समितिमा २४१ एमालेका तर्फबाट र २०० जना माओवादी केन्द्रका तर्फबाट रहनेछन् । एकीकृत पार्टीको चुनाव चिह्न सूर्य नै रहनेछ । सूर्य चिन्ह निकै लोकप्रिय भएकोले चुनावमा भोट प्राप्त गर्न लाभकारी हुने भन्ने एमालेको
तर्कमा प्रचण्ड सहमत भएका थिए ।

एकता संयोजन समितिको बैठकमा भएको सहमतिअनुसार निर्वाचन आयोगमा पुगेर एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल संयुक्त रुपमा एकीकृत पार्टी दर्ता गराउने कार्यक्रम छ । यो काम आजै गरिने बताइएको छ । लगत्तै राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा कार्यक्रम तय गरिएको छ । तर, पूर्वनिर्धारित समयतालिकाअनुसार चाहिँ एकताप्रक्रियाका काम हुन नसकेकोले एकताको औपचारिक घोषणा एवम् पत्रकार सम्मेलन राती मात्र हुने सम्भावना छ ।