‘भनेजस्तै जीवनसाथी पाएँ’ -राजन घिमिरे

‘भनेजस्तै जीवनसाथी पाएँ’ -राजन घिमिरे


अब निरू अर्थात् चर्चित हास्य टेलिशृङ्खला मेरीबास्सैकी निर्मलालाई आफ्नो मनमा सजाउन खोज्ने पुरुषहरूले त्यो सपना नदेखे हुने भो । निर्मल (निरू) खड्का अब वैवाहिक जीवनमा बाँधिएकी छिन् । गत साता मात्र उनी काठमाडौंको स्युचाटारनिवासी नरोत्तम गौतमकी जीवनसङ्गिनी बनेकी छिन् ।
० के साँच्चै अब निरूलाई आफ्नो मनमा सजाउने सपना देख्नेहरूको दिन गएकै हो त ?
– (लामो हाँसो) म सबै दर्शकहरूलाई सम्मान गर्छु, एउटा कलाकार र दर्शकहरूबीचको सम्बन्ध कहिले पनि
टाढा हुँदैन ।
० कस्तो बितिरहेको छ त वैवाहिक जीवन ?
– निकै राम्रो, म खुसी छु ।
० विवाह चाँडो भयो कि ढिला ?
– सही समय र उमेरमा भएको छ । मैले ठीक समयमा निर्णय गरेकी छु ।
० हनिमुनको तयारीका बारेमा के छ त ?
– त्यसबारेमा तयारी भएपछि भनौँला ।
० भनेपछि कलाकारिता छोडिन्छ कि छाडिँदैन ?
– कलाकारिता छोडिँदैन । म दर्शकहरूको मायालाई भुल्न सक्दिनँ ।
० भनेजस्तै पुरुष पाइएको हो त ?
– अवश्य । जीवनमा असल पुरुषको खोजीमा थिएँ, त्यो पाएँ । अब के चाहियो र ।
० अब विवाहअगाडिको कुरा गरौँ । बाटोमा कसैले जिस्क्याउँदा गाला चड्काइएको छ ?
– गालाचाहिँ चड्काइएको छैन । तर गाली भने गरिएको छ ।
० निरू फेरि १६ वर्षको भइन् भने ?
– मिस नेपालमा भाग लिन्थेँ ।
० निरू सुन्दरी केटी कि झुर केटी ?
– त्यो त हेराइमा भर पर्छ ।
० प्रेमविवाह कि मागी विवाह हो ?
– दुवै भनौँ न ।
० कस्तो दुवै ?
– यसलाई लभ-एरेञ्ज नै भनौँ ।
० कति भयो नि चिनजान भएको ?
– चीनजान भएको चार वर्ष र प्रेम बसेको एक वर्ष भयो । धेरै हल्ला नगरौँ भनेर विवाह गरियो ।

राजबल्लभ ‘इगो’को सिकार
मुखैमा आएको गाँस अरूले खोसिदिँदा कसको पो चित्त दुख्दैन र ? त्यसमाथि सम्मानित रूपले सबैको माझ ‘वाहवाही’ पाउँदै अवार्ड लिने पक्षमा यस्तो घात भयो भने त झनै ठूलो चोट लाग्न सक्छ । यस्तै भयो शनिबार नायक राजबल्लभ कोइरालाको जीवनमा पनि ।
कसैको मन दुखाउँदैनन् उनी । सिनेमा क्षेत्रभित्र हुने राजनीतिका बारेमा पनि मतलब छैन उनलाई । अफर आए काम गर्छन् नत्र घरतिरै समय बिताउँछन् उनी । सुन्दरनगरी पोखराका सुन्दर युवक राजबल्लभसँगको पुरानो कटुतालाई उनको कलाकारितामा ल्याएर नराम्ररी धोका दिए एक प्रायोजकले शनिबार । तराई टिभीले प्रस्तुत गरेको टीटीभी फिल्म अवार्डमा सहअभिनेता अवार्ड राजबल्लभले पाउने निश्चितप्रायः भइसकेको गाइँगुइँ सेलाउन नपाउँदै त्यो अवार्ड त चलचित्र दानवीरबाट रमित ढुंगानाले पो उटिछ्याए । कामको सही मूल्याङ्कन हुनुपर्ने यस्तो अवार्डमा यसरी पुरानो ‘इगो’ले प्रभाव पार्छ भन्ने कुरा बिचरा राजबल्लभलाई के थाहा ? तर भइदियो त्यही ।
हामीले त राजबल्लभमाथि भएको धोकाको बारेमा जानकारी गराएका हौँ । यो क्रियाकलाप नभएको पनि हुनसक्छ र कार्यक्रम स्थलमा चलेको गाइँगुइँ सबै सत्य हुन्छ भन्ने पनि छैन नि । यदि यसै भएको हो भने साँच्चै नराम्रो भएको हो भन्न सकिन्छ दाबी गरेर, तर हामी कामना गर्छ, यस्तो भएको नहोस् ।

निखिललाई पछार्ने को ?
सिनेमाको पर्दामा सयौँ खलपात्रलाई एक मुक्कामा पछार्ने साहसी नायक निखिल उप्रेती यो हप्ता भने आफैं नराम्ररी पछारिन पुगेका छन् । कुरा नेफ्टा टीटीभी फिल्म अवार्डको हो । यो अवार्ड शनिबार निकै भव्यताका साथ सम्पन्न भयो र त्यो भव्य समारोहमा सहभागी हुन नायक निखिल उप्रेतीको पनि उपस्थिति रह्यो ।
सञ्चिता लुइँटेललाई लिएर सुटुक्क मुर्म्बई गएपछि निखिल नेपाली मिडियाहरूमा त्यति छाएका थिएनन् । जे-जस्तो घुर्की, धाक र रवाफ देखाएर मुर्म्बई गए तापनि अन्ततः निखिल नेपाली दर्शक र चलचित्रकर्मीहरूकै शरणमा आए भन्ने कुरा निखिलको उपस्थितिबाटै र्छलङ्ग भएको थियो । उनी निर्माता-निर्देशकहरूसँग आफ्नो सम्बन्ध ‘नवीकरण’ गर्नतिर निकै व्यस्त देखिन्थे । फिल्मी समारोहमा सहभागी हुँदा आफ्नो प्रचार हुने आशाले मात्र होइन अवार्ड पनि हात लाग्ने आशाले उनी पोखरामा छायाङ्कन भइरहेको चलचित्र ‘परिचय’लाई छाडेर काठमाडौं आएका थिए अवार्ड समारोहमा । फोनबाटै कुनै व्यक्तिले ‘निखिलजी तपाईंले अवार्ड पाउँदै हुनुहुन्छ’ भन्ने गलत जानकारीलाई निखिलले सही नै ठानेछन् । त्यही जानकारीलाई सही ठानेर निखिल शनिबार दिउँसो प्लेनको टिकट काटेर पोखराबाट हतारहतार गरेर काठमाडौं आएका थिए । अन्ततः निखिलमाथि साह्रै धोका भयो त्यतिबेला जब उनको ठाउँमा अर्का नायक आर्यन सिग्देलले उत्कृष्ट नायकको अवार्ड हात पारे । आफैं पैसा खर्च गरेर पोखराबाट हतारहतार काठमाडौं आएका निखिल उत्कृष्ट नायकको नाम घोषणा गर्दा आफ्नो नाम उद्घोष हुने आशामा रहेकोमा आर्यनको नाम सुन्नुपर्दा साहै्र चित्त दुखाएका थिए । आयोजकमध्येबाटै एकजनाको यस्तो गलत जानकारीका कारण नराम्ररी पछारिन पुगेको निखिललाई हाम्रो पनि सहानुभूति छ । तर, निखिलजस्ता सफल, चर्चित अनि नाम उचो स्थानमा पुगेका नायकलाई गलत जानकारी दिएर पछार्न खोज्ने ती व्यक्तिलाई भने छाडिनुहुन्न भन्ने मान्यता छ हाम्रो । निखिलजी कस्तो लाग्यो कुरा ? भ्रमको खेती गर्नेलाई त्यसै छाड्नु त भएन नि ।

विकास बोर्डमा भण्डारी
चलचित्र विकास बोर्डमा फेरि गणेश भण्डारी नै अध्यक्ष भएर जाने प्रायः निश्चित भएको छ । सञ्चार मन्त्रालय एकीकृत माओवादीमा आएपछि यसै मन्त्रालयअन्तर्गत पर्ने चलचित्र विकास बोर्डमा अध्यक्ष पदका लागि भण्डारी नै उपयुक्त व्यक्ति हुने चर्चा चलेपछि यसै हप्ता भण्डारीको नियुक्ति हुने भएको हो । एकपटक विकास बोर्डको अध्यक्ष सफलताका साथ निभाएका र चलचित्र उद्योगको विकासका लागि स्वागतयोग्य काम गरेर समग्र चलचित्र क्षेत्र र चलचित्रकर्मीहरूबाट ताली पाएका गणेश भण्डारीको पुनः नियुक्तिको चर्चा चलेपछि उनलाई यतिबेला अग्रिम बधाई एवम् शुभकामना दिनेहरूको ओइरो नै लाग्न थालेको छ ।

करिनाले किन गरिन् ‘जिरो फिगर’लाई बाइबाइ ?
बलिवुडमा करिना कपुर र सैफ अली खानको अन्तरङ्गी सम्बन्धको कुरा नयाँ होइन, सबैलाई यो जोडीको चर्तिकलाबारे चप्पाचप्पा जानकारी छ । आफूभन्दा १० वर्ष जेठी अमृता सिंहसँग डिभोर्स गरेर सैफ खाली बसेको पनि वर्षौं भइसक्यो, तसर्थ छिट्टै बिहे गर्न उनले करिनालाई उक्साएकोउक्सायै छन् । तर, तीस नाघिसक्दा पनि ‘टिन’ उमेरकै चुल्बुलेपन देखाइरहेकी कपुर खानदानकी पुल्पुलिएकी करिनाले भने बारम्बार सैफको आग्रहलाई टार्दै आएकी छिन् । अति भएपछि खती हुन्छ भन्ने उखान छ, हो सैफ र करिनाको सम्बन्धमा पनि कहिलेकाहीँ खतराको बादल मडारिन्छ । ‘अहिले नै हुँदैन भने कहिल्यै हुँदैन, लौ †’ भन्ने तवरमा बेलाबेलामा सैफ करिनालाई घुर्क्याउँछन्, अनि करिना अत्तालिन्छिन् । अहिले पनि यस्तै भएको छ । सैफ उम्कलान् कि भनी करिनाले आफ्नो ‘जिरो फिगर’लाई पुनः डाइट पेलेर पुष्ट बनाइसकेकी छिन् । यसो गर्न सैफले नै अह्राएका थिए उनलाई । सन् २०११ भित्रै बिहे गर्नुपर्छ भनेर यतिबेला अड्डी लिएका छन् सैफले । तर, बिहे गरेपछि फिल्मका दर्शक घट्ने चिन्ताले करिनालाई पार्नु पीर पारेको छ । किनकि, यतिबेला निर्माताहरूले करिनामाथि तीन अर्ब भारु लगानी लगाएका छन् । करिनाले अभिनय गरेका ६/७ वटा एकसेएक फिल्म छिट्टै प्रदर्शनको तयारीमा छन् । कमसेकम यी फिल्म रिलिज भएपछि मात्र विवाह गर्ने मुडमा छिन् उनी । यसका लागि अझै १ वर्ष लाग्न सक्छ । तत्काल सैफलाई ‘जीवनसाथी’ बनाउने कि करियर अङ्गाल्ने ? भन्ने धर्मसङ्कटमा परेकी छिन् करिना, किनकि यतिबेला उनको दबदबा बेस्सरी बढेको छ मुर्म्बई फिल्म इन्टष्ट्रीमा । हेरौँ करिनाले यो द्विविधाको अन्त्य कसरी गर्ने हुन् ।

विश्वविद्यालयमा गजलको बहार
लाखौँ मुटु धड्कन बेग्लै चाल एउटै नेपालीको
धेरै नदी डुङ्गा बेग्लै छाल एउटै नेपालीको ।
लयसहित यो मत्लाबाट आफ्नो गजल सुरु गरेका विश्वचन्द्र अधिकारीका लागि दर्शकदर्ीघाबाट पाएको ताली नै काफी बन्यो र उनको गजल प्रथम स्थानका लागि दर्ज हुन पुग्यो । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा आयोजित गजल प्रतियोगितामा झन्डै ५० प्रतियोगीलाई उछिन्दै अधिकारीले प्रथम पुरस्कार हात पारे । स्ववियुले सहिद स्मृति खेलकुद सप्ताह समापनको अवसरमा आयोजना गरेको प्रतियोगितामा धनुषा ज्ञवाली दोस्रो र भरत अधिकारी तेस्रो भए ।
युवापुस्तामा गजलप्रतिको आकर्षण बढ्दै गएको र यसले व्यापकता पाएकाले गजलकै कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक सन्दीप अधिकारीले बताए । मोतीराम भट्टले नेपालमा भित्र्याएको गजलको मूल कथ्य शृङ्गारिकता भएकाले पनि कार्यक्रमको माहोल तातेको थियो । देशप्रेम र शान्तिको आह्वान गरिएका गजलभन्दा शृङ्गारिक गजलले दर्शकहरूलाई बढी तानेको थियो । प्रतियोगिताका लागि निर्णायकको भूमिकामा रहेका गजलमा पहिलो विद्यावारिधि गर्ने डा. घनश्याम परिश्रमी, प्राज्ञ बूँद राना र अमर त्यागी गजलप्रतिको आकर्षण र सहभागिता देखेर हौसिएका देखिन्थे । गजलकार प्राज्ञ रानाले आफ्नो गजलका शेर राखिहाले-
चुनौतीको भेल बाढी तरी हेरौँ न
लोभलाग्दो काम कुनै गरी हेरौँ न ।
दिनदिनै कति मर्नु किस्ता-किस्तामा
सधैंभरि बाँच्ने गरी मरी हेरौँ न ।
गजल प्रतियोगितासँगैको समापन कार्यक्रममा भलिबल, पाँच किलोमिटर दौड, बुद्धिचाल, टेबुलटेनिस, ब्याडमिन्टनलगायतका खेलमा विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । -फणीन्द्र संगम