प्रकाण्ड भन्छन्, ‘अन्तिम मुक्तिको समय आयो’

प्रकाण्ड भन्छन्, ‘अन्तिम मुक्तिको समय आयो’


नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले देशले अन्तिम मुक्ति र नेपाली जनताले पूर्ण राजनीतिक अधिकार प्राप्त गर्ने स्थिति सिर्जना भएको दाबी गरेका छन् । प्रचण्डसहितको गठबन्धनमा निर्माण भएको वर्तमान सरकारले जनताको अधिकार खोस्ने र दमनकारी नीति अवलबन गरेको आरोप लगाउँदै सरकारले यस्तै नीति लिए जनता प्रतिरोधमा उत्रिने र वास्तविक अधिकार स्थापित हुने उनको तर्क छ ।

नेकपाको भातृ संगठन मजदूर संगठनका नेताहरूलाई हिजो मंगलबार एक पत्रकार सम्मेलनको दौरानमा गिरफ्तार गरिएपछि सोको विरोधमा विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रकाण्डले सरकारलाई चुनौती दिँदै भनेका छन्– ‘वाम भनिएको गठबन्धन र ओली सरकारलाई हाम्रो चुनौती के छ भने नेपाल कम्युनिष्ट पार्टी र यसको नेतृत्वमा सञ्चालित एकीकृत जनक्रान्तिसँग खेलबाड नगर ! यो त नेपाली श्रमजीवी जनताको पार्टी नेकपाको नेतृत्वमा सञ्चालित सर्वहारा क्रान्ति हो । दलाल पूँजीपति वर्ग, त्यसको सत्ता र शासन व्यवस्थाको अन्त गर्ने र राष्ट्र एवम् नेपाली जनताको मुक्ति यसको उद्देश्य छ ।’

ज्ञातव्य छ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष अमर झाँक्री, महासंघका केन्द्रीय सचिव देव परियार, केन्द्रीय सदस्यहरू शिशिर थापा, एलबी बुढाथोकी, टेक प्रधान, हरिचन्द्र खड्का, भीम अधिकारी, केशवबहादुर बुढा, विनोद श्रीपाइली, शिव परियार र नितु शाहलाई समेत अपहरण शैलीमा प्रहरीले नियन्त्रणमा लिएको नेकपाले जनाएको छ ।