जेठसम्म नरम त्यसपछि गरम

जेठसम्म नरम त्यसपछि गरम


संविधानसभाको कार्यकाल छोटिँदै गएपछि माओवादी नेतृत्वले विगतमा कहिल्यै नदेखिएको ‘उदारता र लचकता’ दर्शाएर सबैलाई चकित पार्न खोजेको छ । एक वर्ष कार्यकाल थप गर्दा पनि दस महिना सत्ता सङ्घर्षमै खेर फालेका प्रचण्ड र झलनाथ खनाललगायतका नेताहरूको भूमिकाबाट जनतामा निराशा बढेको छ । अब बाँकी अवधि (दुई महिना) मा संविधान बन्ने विश्वास जनतामा देखिँदैन र संविधानसभाको कार्यकाल पुनः थप गरियोस् भन्ने चाहना पनि जनताले राखेका छैनन् । सर्वसाधारण जनता विद्यमान राजनीतिको विकल्पबारे अनभिज्ञ छन्, त्यसैले उनीहरू अन्योलमा परेका छन् । यही अन्योलमा परेका जनतामा आफ्नो सन्दरि्भकता दर्शाउन र शान्ति एवम् संविधान निर्माणमा आफ्नो भूमिका इमानदारीपूर्ण रहेको सन्देश प्रवाहित गर्न माओवादीले पछिल्लो समयमा लचकता अपनाएझैं गरेको छ । तर, यो लचकता आगामी जेठको मध्यदेखि उता कायम रहने विश्वास गर्न सकिँदैन । संविधानसभाको कार्यकाल थप गर्ने सफलता मिलेमा त्यसपछि माओवादीले आफ्नो सक्कली अवतार देखिने गरी गतिविधि गर्ने निश्चित छ भने संविधानसभाको स्वाभाविक मृत्यु भएमा पनि उसले सङ्घर्षको विकल्प देख्नेछैन । केही जटिल एवम् संवेदनशील मुद्दाहरू थाती राख्दै अन्य सामान्य विषयमा लचकता देखाउने र संविधान निर्माणप्रति माओवादीहरू गम्भीर छन् भन्ने ‘इम्प्रेसन’ जनतामा दिने रणनीतिक चाल माओवादीले चलेका छन् । वैधानिक तवरबाट सत्तामाथि नियन्त्रण लिन गरिएका सबै प्रयास असफल भएको अवस्थामा मात्र बल प्रयोग गर्ने माओवादी योजना रहेको बुझिन्छ । हालै गठन गरिएको जनस्वयम्सेवक सङ्घ पनि रचनात्मक र ध्वंसात्मक दुवै कामका लागि भएको बताइन्छ । शिविरका लडाकु, अयोग्य भनी शिविरबाट निकालिएका लडाकु, विद्यार्थी, मजदुर र वाईसीएलसमेतलाई समेटेर तयार गरिएको जनस्वयम्सेवक सङ्घलाई सङ्घर्षको मैदानमा ध्वंसात्मक एवम् हिंसात्मक र सामान्य अवस्थामा रचनात्मक एवम् सकारात्मक काममा परिचालन गरिने माओवादी स्रोतले जनाएको छ । त्यसनिम्ति नेत्रविक्रम चन्दको संयोजकत्वमा स्वयम्सेवक परिचालन ब्यूरोको घोषणा माओवादीले गरिसकेको छ । निर्धारित समयसीमाभित्र संविधान निर्माणको सम्भावना घट्दै गएपछि आगामी जेठ १४ पछिको स्थिति कसरी आफ्नोअनुकूल तुल्याउने भन्नेमा माओवादीको चिन्ता केन्द्रित रहेको छ । शान्ति स्थापना प्रक्रिया र संविधान निर्माणप्रति गम्भीरतापूर्वक लागेको देखाउँदै संविधानसभाको कार्यकाल थप गर्न या सङ्क्षिप्त संविधान जारी गर्ने प्रयास असफल भएमा माओवादीले आगामी जेठदेखि गरम भूमिका निर्वाह गर्ने तयारी निकै जोडतोडका साथ गरिरहेको छ । त्यसैले माओवादीले यतिबेला दर्शाएको लचकता र उदारता क्षणिक र रणनीतिक मात्र भएको स्पष्ट हुन्छ । तर, माओवादी भूमिका जेठपछि कुन हदसम्म ‘गरम’ हुने हो सो भने बुझन सकिएको छैन ।

अझै खुलेन भ्रमणको रहस्य
सानो पार्टीको ठूला नेता भनेर चिनिनुहुने र्सूयबहादुर थापाको भारत भ्रमणको रहस्य अझै खुलेको छैन । नियमित स्वास्थ्य परीक्षणका लागि भारत जान लागेको भनी पत्रकारहरूलाई जानकारी गराएर नयाँदिल्लीतर्फ लाग्नुभएका पूर्वप्रधानमन्त्री थापाले भारतका प्रधानमन्त्री मनमोहन सिंह, काङ्ग्रेस नेतृ सोनियाँ गान्धी, भाजपा नेताहरू लालकृष्ण आडवाणी, सुष्मा स्वराज, एनएन झालगायतका महत्त्वपूर्ण नेताहरूलाई भेट्नुभएको थियो । भारतका सुरक्षा सल्लाहकार शिवशंकर मेननदेखि केही महत्त्वपूर्ण व्यावसायिक व्यक्तित्वहरूलाई समेत भेट्नुभएका उहाँको उपचार कहाँ र कसले गर्‍यो भन्ने कुराको जानकारी अहिलेसम्म हुन सकेको छैन । फरि्कएर आउँदासम्म नेता थापालाई लागेको रोगको चर्चा भएको पनि पाइएन, त्यसो त भारतीय प्रधानमन्त्री मनमोहन सिंह पनि डाक्टर नै हुनुहुन्छ तर उहाँ मेडिकल डाक्टर नभएर अर्थशास्त्रका पीएचडी हुनुहुन्छ ।
प्राप्त जानकारीअनुसार, शारीरिक परीक्षण नभए पनि पूर्वप्रधानमन्त्री थापाले देशको बारेमा भने प्रशस्त चिन्तन, मनन र छलफल गरेर फर्कनुभएको बताइन्छ । भारतीय नेताहरूसँगको भेटघाटमा नेपालमा प्रजातान्त्रिक एलाइन्सको आवश्यकता, संविधान निर्माण, शान्तिप्रक्रियालगायतका विषयमा छलफल र कुराकानी भएको थियो । आगामी जेठ १४ गते संविधान नबने के हुन्छ भन्ने विषयमा भारतीय पक्षको विशेष चासो रहेको पनि बुझिएको छ । छिमेकी हुनुको नातामा लोकतान्त्रिक संविधान र स्वीकृत अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको शान्तिप्रक्रिया आफूहरूको चाहना भएको थापासँगको भेटमा भारतीय नेताहरूले दोहोर्‍याएका थिए ।

फेरि भारत जानेगरी राजा फरि्कने
भारतको साताव्यापी भ्रमणमा जानुभएका पूर्वराजा ज्ञानेन्द्र यसपटक कुनै पनि राजनीतिक नेताहरूसँग भेटघाट नगरी नेपाल फर्कनुभएको छ । उहाँ आफ्नी फुपूकी नातिनीको विवाहका लागि भारतको खजुराहो जानुभएको थियो । पूर्वबडामहारानी कोमलसहितको पारिवारिक भ्रमण भए पनि राजा ज्ञानेन्द्रको यसपटकको भ्रमण धार्मिक दृष्टिकोणले निकै महत्त्वपूर्ण भएको बताइएको छ । गत बिहीबार भारतको वाराणसी हुँदै खजुराहो पुग्नुभएका उहाँ भोलि बिहीबार स्वदेश फर्कंदै हुनुहुन्छ । भारतमा रहँदा उहाँले वाराणसीस्थित विश्वनाथ मन्दिर, विन्ध्वासिनी, सारनाथलगायतको दर्शन गर्नुभएको थियो । प्राप्त जानकारीअनुसार, दशास्वमेद घाटमा स्नान गर्दादेखि लिएर विश्वनाथ मन्दिरसम्ममा पूर्वराजा ज्ञानेन्द्रलाई ‘नेपालका नरेश’ भनी उच्च सम्मान प्रदान गरिएको थियो । विश्वनाथ मन्दिरका पुजारीहरूले नेपालका नरेशको विशेष पूजाअर्चना भएकोले सर्वसाधारणलाई केही समय मन्दिरबाहिरै रहिदिन अनुरोध गरेका थिए । मन्दिरका मुख्य पुजारीले भनेका थिए, ‘हमारे लिए नेपालका नरेश आप थे, आप ही हे, और आप ही रहेंगें ।’ यसो भन्दा राजाले चुपचाप रहेर कुनै प्रतिक्रिया दिनुभएन । विशेष पूजाका क्रममा नेपाल नरेश श्री ५ ज्ञानेन्द्र भनेरै उनीहरूले मन्त्रोच्चारण गरेका थिए ।
धार्मिक कार्यमा सामेल भएका बेला उहाँले त्यहाँका ऐतिहासिक कुराहरूको बारेमा जानकारी लिनुभएको थियो । यसपटकको भ्रमण पूर्णतः पारिवारिक र धार्मिक भए पनि आगामी अप्रिलमा राजाबाट भारतको विशेष भ्रमण हुने बुझिएको छ । आगामी भ्रमण भने राजनीतिक दृष्टिकोणले समेत महत्त्वपूर्ण हुनसक्ने ठानिएको छ ।

दिल्ली जान छटपटी
प्रधानमन्त्रीका रूपमा पहिलो विदेश भ्रमण भारतमा गर्ने व्यवस्था मिलाउन झलनाथ खनाल व्यग्रताका साथ लागिपर्नुभएको समाचार प्राप्त भएको छ । प्रधानमन्त्री भएपछि पहिलो भ्रमण चाइनाको गरेर प्रचण्डले परम्परा तोडेको दाबी गर्दै ‘क्रान्तिकारी भएको’ प्रमाण प्रस्तुत गरेकोले झलनाथ खनालचाहिँ माओवादीपीडित मुलुक कम्बोडियाको शयर गरेर आफ्नो ‘देशभक्ति जोगाउने’ सोचमा हुनुहुन्थ्यो । प्रचण्डले पनि झलनाथलाई पहिलो भ्रमण कम्बोडिया या त्यस्तै अन्य कुनै मुलुकमा गर्न सुरुदेखि नै सुझाब दिँदै आउनुभएको हो । तर, झलनाथ प्रचण्डको आग्रह या दबाबको प्रभाव पर्नुभएन । सरकारको आयु लम्ब्याउने हो भने पहिलो भ्रमण नयाँदिल्लीकै गर्नुपर्छ भनी निकटवर्तीहरूले सुझाएबमोजिम उहाँ भारतको भ्रमण गर्न तत्पर हुनुभएको छ । तर, भारतको तर्फबाट निमन्त्रणा नआएकोले खनाल छटपटिनुभएको बताइन्छ । बालुवाटार सूत्रका अनुसार प्रधानमन्त्री खनालले भारतबाट भ्रमणको निमन्त्रणा प्राप्त गर्न केही च्यानलहरूमार्फत प्रयास गरिरहनुभएको छ । भारतको भ्रमण मिलाइदिन सक्ने सहयोगीको पनि उहाँले खोजी गरिरहनुभएको बताइन्छ । तर, अहिलेसम्म उहाँलाई भारतबाट भ्रमणको निमन्त्रणा मिलाइदिन कसैले पनि सकेका छैनन् । तथापि पहिलो भ्रमण भारतमा नै गर्ने उहाँको प्रयासमा भने पूर्णविराम लागेको छैन ।
चिनियाँ प्रयासमा वामपन्थी गठबन्धन निर्माण गर्दै त्यस्तो सरकारको अगुवाइ गरिरहनुभएका झलनाथ खनालले पहिलो भ्रमण चीनमा गर्नेबारेमा कुनै चासो लिनुभएको देखिँदैन । सम्भवतः ‘चिनियाँ कठपुती सरकार’को परिचय बन्नसक्ने कुराप्रति खनाल अलिक बढी नै सचेत हुनुहुन्छ । त्यसो त खनाललाई बेइजिङ भ्रमण गराएर चीनले थप ‘एक्स्पोज’ गर्न पनि उचित ठानेको छैन । तर, भारत भ्रमणको प्रयास असफल भएको अवस्थामा भने खनालले चीनकै भ्रमण गर्न सक्ने सम्भावना रहेको प्रधानमन्त्रीनिवास स्रोत बताउँछ । उता भारतले भने खनाललाई नयाँदिल्लीमा स्वागत गर्न जाँगर चलाएको देखिँदैन । सत्ता घटक माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्ति र क्रियाकलापको सीधा असर पनि खनालमाथि नै परिरहेको बुझिन्छ । ‘भारतलाई पराजित गरेर’ प्रधानमन्त्री बन्नुभएको भनिएको झलनाथ खनालले भारतको भ्रमण गर्न तीव्र चासो दर्शाउनुलाई कूटनीतिक क्षेत्रमा रोचक र अर्थपूर्ण मानिएको छ ।

यतिसम्म गर्‍यो महाभूकम्पले
गत शुक्रबार गएको महाभूकम्पले जापानमा मात्र क्षति नपुर्‍याई अनेक अनौठा परिणाम पस्किएर गएको रहस्य उजागर हुन थालेका छन् । भूकम्पका कैयन परिणति क्रमशः प्रकाशमा आउँदै गर्लान् तर एउटा विष्मयकारी परिणाम भने वैज्ञानिकहरूले प्रकाशमा ल्याएका छन् ।
अमेरिकी अन्तरिक्ष एजेन्सीका वैज्ञानिक रिचर्ड ग्रासका अनुसार जापानको भूकम्पका समयमा पृथ्वी यसरी हल्लिएको थियो कि यसको प्रभावस्वरूप हालसम्म चल्दै आएका दिन नै सामान्य अवस्थाबाट केही छोटि्टन पुगेको छ । पृथ्वी आफ्नो अक्षमा घुम्ने गतिमा ८.९ रेक्टर स्केलको भूकम्पपछि १.६ माइक्रोसेकेण्ड बढेको रिचर्डको दाबी छ । स्मरण रहोस्, सेकेण्डको दसलाखौँ हिस्साबराबर एक माइक्रोसेकेण्ड हुन्छ ।
पछिल्लो वर्ष चिलीमा आएको भूकम्पका कारण पनि पृथ्वीको चक्कर लगाउने गतिमा यसैगरी कमी आएको थियो, तर यसपटकको तुलनामा त्यसको मात्रा अलिक कम थियो ।
यसैगरी जापानमा आएको भूकम्पले पृथ्वीलाई आफ्नो धुरीबाट चार इन्च खस्काइदिएको तथ्य सार्वजनिक गरिएको छ । यसले जापानको एउटा द्वीपलाई पनि आफ्नो मूल स्थानबाट भसाइदिएको सीएनएनले जनाएको छ । महाभूकम्पबाट टेक्टोनिक प्लेट १८ मिटर भास्सिएको कारण पृथ्वीको सतहमा ४ सय किलोमिटर लम्बाइ तथा १ सय साठी किलोमिटर चौडाइयुक्त हिस्सा चिरिएको छ ।

माधव र महराको एउटै बोली
नयाँ संविधान जारी गर्न साढे दुई महिना मात्र बाँकी रहेपछि निर्धारित मिति ? २०६८ जेठ १४) भित्र संविधान जारी गर्न सकिँदैन भन्ने निष्कर्षमा ठूला राजनीतिक दलका नेताहरू पुग्न थालेका छन् । निर्धारित मितिमा संविधान जारी हुन नसक्ने पक्का भएपछि केहीले संविधानसभाको म्याद पुनः थप्नुपर्ने अभिव्यक्ति दिन थालेका छन् भने केहीले सङ्क्षिप्त संविधान जारी गरेर जानुपर्ने बताउन थालेका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाँकी रहेको समयमा नयाँ संविधान जारी गर्न नसकिने भन्दै सङ्क्षिप्त संविधान बनाएर जानुपर्ने बताउनुभएको छ ।
१ चैतमा काठमाडौंमा गरिएको एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेतासमेत रहनुभएका पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, ‘संविधान जारी गर्ने मिति नजिकिँदै गएको छ, यसबाट छुटकारा पाउन मुख्य-मुख्य विषयलाई समेटेर सङ्क्षिप्त संविधान जारी गरेर पनि जान सकिन्छ ।’
‘सङ्क्षिप्त संविधान जारी गर्दा छुटेको केही मुद्दालाई संविधान संशोधन गरेर पछि थप्न सकिन्छ,’ नेपालले भन्नुभयो, ‘केही विषयवस्तुलाई थाती राख्दै सङ्क्रमण कालको अन्त्य गर्न सङ्क्षिप्त संविधान जारी गरेर जान सकिन्छ ।’ थपिएको मितिभित्र पनि संविधान जारी गर्न सकिएन भने मुलुक थप अराजकतातर्फ जाने खतरा रहेकोले सङ्क्षिप्त संविधान बनाउनुको विकल्प नरहेको पनि नेपालको भनाइ थियो । उहाँले नेपालमा जातीय राजनीति सुरु भएकोले मुलुक विखण्डनतर्फ धकेलिने खतरा बढेको भन्दै जातीय राजनीतिलाई अन्त्य गर्न ठूला पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । जातीय राज्यको मुद्दा आएकोले पनि तोकिएको समयमा संविधान जारी हुन नसक्ने खतरा देखिएको नेपालको भनाइ थियो । यसअघि माओवादीका नेता एवम् उपप्रधानमन्त्री तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले पनि सङ्क्षिप्त संविधान जारी गर्ने सार्वजनिक अभिव्यक्ति दिनुभयो ।

सुरु भयो बाबुरामलाई बढार्ने अभियान
आफ्नो चीनसँगको निकटता बढ्दै गएपछि अध्यक्ष प्रचण्डले वरिष्ठ उपाध्यक्ष भट्टराईलाई पार्टीबाट खेद्ने नियोजित अभियान सुरु गर्नुभएको छ । एक मजदुर नेता ? लालध्वज) लाई बाबुराम समर्थक भएकै कारण हातपात गरेर अघि बढेको यो अभियान भट्टराईको गृहजिल्ला गोरखासम्म पुगेको छ । गोरखामा आयोजित एक सरकारी कार्यक्रममा अर्थमन्त्रीसमेत रहिसक्नुभएका वरिष्ठ उपाध्यक्ष भट्टराईलाई प्रमुख अतिथि बन्न नदिने माओवादीका एकथरी कार्यकर्ताले ठूलो प्रयास गरे । त्यहाँ भट्टराईको सट्टा अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई प्रमुख अतिथि बनाएर भट्टराईको तेजोबध गर्ने प्रयास भएको थियो । पार्टीभित्र पटकपटक कारबाहीको सामना गर्दै आउनुभएका बाबुराम भट्टराईलाई फेरि कारबाहीको सङ्केतस्वरूप अध्यक्ष प्रचण्डकोे निर्देशनमा उहाँनिकट नेता तथा कार्यकर्ताले निषेधात्मक राजनीतिलाई तीव्रता दिन थालेका छन् । पार्टीभित्र र बाहिर भट्टराईको लोकप्रियता एकाएक बढ्दै गएपछि प्रचण्डको निर्देशनमा पार्टीभित्रबाटै पुनः निषेधात्मक राजनीति सुरु भएको हो । पार्टीभित्र भट्टराईको प्रभाव बढ्न नदिन अध्यक्ष प्रचण्ड हात धोएर लागिपर्नुभएको छ । त्यसैले कहिले आत्मसमीक्षा गर्नुपर्ने, कहिले माफी माग्नुपर्ने त कहिले
भारतपरस्त भएको आरोप प्रचण्डले भट्टराईमाथि बारम्बर लगाइरहनुभएको छ । ‘क. भट्टराईमाथि राजनीतिक निषेध गर्ने काम पार्टीभित्रबाट भएको यो पहिलोे होइन,’ भट्टराईनिकट एक पोलिटब्युरो सदस्यले घटना र विचारसँग भन्नुभयो, ‘यसबीचमा केही कम देखिएको मात्र हो तर, गोर्खामा भएको कार्यक्रमबाट पुनः सुरु भयो ।’
माओवादी संस्थापन पक्षका जिल्लास्तरीय नेताहरूले फागुन २९ गते आइतबार सम्पन्न गोर्खा जिल्ला परिषद्मा प्रमुख अतिथि बन्नबाट रोकी अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सिफारिस गरेका थिए । तर, जिल्लाकै एमाले र काङ्ग्रेस तथा भट्टराई समर्थक कार्यकर्ताको विरोधका कारण भट्टराई नै प्रमुख अतिथि बन्नुभएको थियो । आफूलाई पार्टीको संस्थापन पक्षका नेता तथा कार्यकर्ता भन्नेहरूले नै जिल्लामा निषेध गर्न खोजेपछि भट्टराईले ‘राम्रो काम गर्नु अपराध हो भने म अर्को भीमसेन थापा बन्न तयार छु’ भन्नुभएको थियो । उहाँले अध्यक्षलाई लक्षित गर्दै पार्टी नेतृत्व तानाशाह बने पूर्वराजा ज्ञानेन्द्र शाहको जस्तै हविगत हुने चेतावनी दिनुभएको थियो । भट्टराईको उक्त अभिव्यक्तिले पार्टीभित्र नयाँ हलचल पैदा गराएको छ, तर नेतृत्वले यसबारे केही बोलेको छैन । भट्टराईले भने आफूलाई पार्टीका संस्थापन पक्षधर दाबी गर्ने कार्यकर्ताबाटै कार्यक्रममा सहभागी हुनबाट रोक्ने प्रयास गरेपछि यस्तो अभिव्यक्ति दिनुपरेको बताउनुभएको छ । भट्टराईले पार्टीका हरेकजसो बैठकमा जिल्ला र केन्द्रमा आफूमाथि पटक-पटक संस्थापन पक्षको नाममा षड्यन्त्र हुँदै आएको र त्यसले नराम्रो परिणाम दिने चेतावनीसमेत दिँदै आउनुभएको छ ।
गोर्खाको पालुङटारमा सम्पन्न विस्तारित बैठकपछि जिल्ला दौडाहमा लाग्नुभएको भट्टराईको राजनीतिक यात्रालाई बिथोल्न अनेकखाले षड्यन्त्र भइरहेको भट्टराईनिकट केन्द्रीय सदस्य राम कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीभित्र अन्तरसङ्घर्ष भइरहन्छ, त्यसभित्र बलियाले निर्धोलर्ँइ हेप्न थालियो भने त्यसबाट पार्टी विनाश हुने खतरा बढ्छ, अहिले त्यही भएको छ ।’
पार्टीभित्र भट्टराईलाई निषेध गर्न प्रचण्डले वैद्यनिकट केन्द्रीय नेता मात्र नभई जिल्ला तथा इलाकास्तरीय नेता तथा कार्यकर्तालाई समेत फकाउन थाल्नुभएको बताइन्छ । भट्टराईनिकट एक केन्द्रीय सदस्यले भट्टराईको राजनीति समाप्त पार्न कुनै कसर बाँकी नराख्नुहुने अध्यक्ष प्रचण्डले मजदुर तथा किसान सङ्गठनका नेताहरूलाई फकाउन थाल्नुभएको आरोप लगाउनुभयो । अध्यक्ष प्रचण्डले केही दिनअघि मजदुर सङ्गठनको वैद्यनिकट मानिने मजदुर नेता बद्री बजगाईंसँग भेटी सङ्गठनको बारेमा जानकारी लिँदै नेतृत्वका लागि तयार रहन भन्नुभएको थियो । सङ्गठनका अध्यक्षसमेत रहेका सभासद् शालिकराम जमकट्टेललाई कारबाही गरिएको घोषणा गर्दै बजगार्इंले छुट्टै मजदुर सङ्गठन स्थापना गरी त्यसको संयोजक बन्नुभएको छ । तर, मजदुर फाँटमा अहिले पनि शालिकराम जमकट्टेल नै बलियो मानिनुहुन्छ । जमकट्टेलको हातबाट तत्काल मजदुर सङ्गठन खोस्न सकिने स्थिति छैन र जबर्जस्ती गरेमा दुर्घटना निम्तिन सक्ने ठानिन्छ । तर, मजदुरहरूमा पैदा भएको फाटोले अन्ततः माओवादी पार्टीलाई नै विभाजनको तहसम्म पुर्‍याउन सक्ने सम्भावना भने बढाएको छ ।

बयालीस नेपाली सकुशल फिर्ता
द्वन्द्वग्रस्त मुलुक लिबियाबाट बयालीस नेपालीलाई सकुशल स्वदेश फर्काइएको छ । नेपालीहरू अलपत्र परेको खबर प्रापत भएपछि नेपाल सरकारले आफ्ना नागरिकको उद्धारका लागि सहयोग गरिदिन भारत सरकारसँग आग्रह गरेको थियो । लिबियास्थित भारतीय राजदूतावासको समन्वयमा चार्टर्ड विमानमार्फत नेपालीहरू गत आइतबार भारतको राजधानी नयाँदिल्लीमा अवतरित भएका थिए । भोलिपल्ट सोमबार उनीहरू काठमाडौं आइपुगेका छन् । यसअघि गत वर्ष किरि्गस्तानमा आन्तरिक द्वन्द्वका कारण अलपत्र परेका नेपाली विद्यार्थीलाई पनि भारतले यसैगरी उद्धार गरी नेपाल ल्याइदिएको थियो ।

काठमाडौंमा वैद्य देखिए पनि मुलुकभर आजादको चर्चा
विगत केही सातादेखि नै भावी नेतृत्वको चयनसम्बन्धी विषयमा व्यापक चासो र चर्चा रहँदै आएको नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा घमासान प्रतिस्पर्धा हुने सम्भावना बढेको छ । भावी अध्यक्षको दाबीका साथ आजाद श्रेष्ठ र सुरज वैद्यले आ-आफ्नो प्यानलको आधिकारिक घोषणा गरेपछि उद्यमी-व्यवसायीबीच चुनावी सरगर्मी बढेको अनुभूति गरिएको हो । ‘महासङ्घका अघिल्तिर धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौती छन्, तिनीहरूसँग जुध्न म सक्षम छु’ भन्ने उद्घोषका साथ पोखरास्थित जया कन्फेक्सनरीलगायत विभिन्न उद्योगका हर्ताकर्ता ५५ वर्षीय उद्यमी आजाद श्रेष्ठले आफ्ना उपाध्यक्षहरूसहितको टिम घोषणा गरेको भोलिपल्टै अर्का उद्यमी सुरज वैद्यले पनि याक एन्ड यती होटलको सोही हलबाट अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।
आजादले आफ्नो प्यानलको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद ताम्राकार र अन्य उपाध्यक्षहरूमा प्रखर वक्ताका रूपमा समेत चिनिने व्यवसायी प्रदीपजंग पाण्डे, प्रदीपमान वैद्य र मोफसलका व्यवसायी निरक केसीलाई छानेका छन् । महासङ्घलाई अघि बढाउन आर्थिक समृद्धिमा निजी क्षेत्रको विशेष भूमिका खोज्ने, ऊर्जा उत्पादनमा जोड दिने, सरकारसँग मिलेर लगानीमैत्री वातावरण बनाउने, मुलुकमा दिगो शान्ति कायम गर्न निजीक्षेत्रको भूमिका स्पष्ट पार्ने, मजदुर र उद्योगी-व्यवसायीबीचको वातावरण राम्रो बनाउनेजस्ता एजेण्डा आजादले अघिसारेका छन् । उद्यमी-व्यवसायीबीच राम्रो पकड र प्रतिष्ठा आर्जन गरेका व्यवसायी कृष्णप्रसाद ताम्राकारले आफू वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेपछि दिएको प्रतिक्रियामा र्’वर्तमान परिवेशमा महासङ्घलाई एक जुझारू नेताको खाँचो परेको र आजाद श्रेष्ठमा त्यो गुण रहेको’ जनाएका थिए ।
महासङ्घका वर्तमान अध्यक्ष कुशकुमार जोशी, पूर्वअध्यक्ष आनन्दराज मुल्मीलगायतका व्यापारिकजगत्का हस्तीहरू आजादको पक्षमा खुलेर अगाडि आएका छन् भने देशभरका जिल्ला तथा नगर उद्योग सङ्घ, वस्तुगत, एसोसिएट््स र द्विराष्ट्रिय उद्योग-व्यापार सङ्घका बहुसङ्ख्यक प्रतिनिधिहरू पनि उनको पक्षमा उभिएका सम्बद्ध पक्षको दाबी छ । आजातको सरल तथा मिलनसार स्वभाव, व्यावसायिक हकहितका लागि प्रतिबद्ध जुझारूपन र देशभरका उद्यमी-व्यवसायीमाझ आरि्जत लोकप्रियताले महासङ्घको भावी नेतृत्व उनकै पोल्टामा पर्ने सम्भावना अधिक रहेको व्यवसायीहरूबीच चर्चा सुरु भएको छ ।
यसैगरी चर्चित उद्यमी सुरज वैद्यले आफ्नो वरिष्ठ उपाध्यक्षमा भाष्करराज राजकरि्णकार तथा अन्य उपाध्यक्षहरूमा किरण साखः, पशुपति मुरारका र भवानी राणालाई अघिसारेका छन् । ‘होटलमा आयोजित पार्टीमा वैद्यजीको पक्षमा जमघट बाक्लो देखिए पनि मुलुकभर आजादको पक्षमा लहर आएको लुकाएर लुक्न सक्ने कुरा होइन,’ गत सोमबार साँझ सुरजको उम्मेदवारी घोषणा कार्यक्रममा उपस्थिति जनाउने कतिपय व्यवसायीले यस्तो प्रतिक्रिया दिएका थिए ।
जे होस्, महासङ्घको ४५औँ साधारणसभा आयोजना हुने तिथि अझै लगभग महिना दिन बाँकी छ । यसबीच व्यापारिक समुदायबीच आ-आफ्नो पक्षमा माहोल सिर्जना गर्न दर्बिलो प्रतिस्पर्धा त चल्ने नै छ, त्यसबाहेक भित्री रूपमा क-कसले के-कस्ता चुनावी दाउपेच खेल्ने हुन्, भावी परिणाम त्यसमा निकै हदसम्म निर्भर रहने विश्वास गरिएको छ ।

सहप्रवक्तामा किरण
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री र्सर्ूयबहादुर थापाले किरण गिरीलाई पार्टी सहप्रवक्तामा नियुक्ति गर्नुभएको छ । जनशक्ति पार्टीका केन्द्रीय सदस्य गिरी यसअघि प्रचार विभागको सचिव हुनुहुन्थ्यो । उहाँ राप्रपा-राजपा संयुक्त केन्द्रीय प्रचार-प्रसार ब्युरोका सहसंयोजक हुनुहुन्छ ।

खड्काको स्वास्थ्यमा सुधार
नेपाली काङ्ग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्यस्थितिमा क्रमिक सुधार भएको छ । नेता खड्काका सहयोगी एवम् पारिवारिक सदस्य कमल घिमिरेका अनुसार उहाँको फियोमा सामान्य समस्या देखिएपछि भारतको बेंगलुरस्थित अस्पतालमा अप्रेसन भएको थियो । अप्रेसन पश्चात् उहाँ नेपाल फर्कनु भई घरैमा आराम गरिरहनुभएको छ । नेता खड्कालाई थप केही दिन आराम गर्न चिकित्सकले सल्लाह दिएको घिमिरेले जानकारी दिनुभयो ।

त्रिविको भावी उपकुलपति को ?
त्रिभुवन विश्वविद्यालयका वर्तमान उपकुलपति डा. माधवप्रसाद शर्माको पदावधि एक महिनाभित्र समाप्त हुँदै छ । वरिष्ठ भूगर्भशास्त्रीका रूपमा समेत चिनिनुहुने डा. शर्माको म्याद समाप्त हुन लागेको परिवेशमा उक्त पदका आकाङ्क्षीहरूको राजधानीमा ठूलो दौडधुप सुरु भएको छ ।
यसरी भावी उपकुलपतिको दौडमा सामेल भएका भनी चर्चामा आएकाहरूमा त्रिवि कीर्तिपुरका वर्तमान प्रिन्सिपल महेश दाहालको नाम एकातिर व्यापक रूपमा चलेको छ भने अर्कोतिर प्रगतिशील प्राध्यापक खेमाका वरिष्ठ नेता शिक्षाविद् प्राध्यापक चिरञ्जीवी शर्माको नाम पनि उत्तिकै चर्चामा ल्याइएको छ । त्यस्तै वरिष्ठ इतिहासविद् डा. कृष्णबहादुर थापा, डा. मदन कोइरालालाई पनि भावी उपकुलपतिका रूपमा एकथरीले चर्चामा ल्याउने अभियान थालेका छन् । तर, यतिखेर सबैभन्दा महत्त्वपूर्ण रूपमा अघिसारिएका व्यक्तित्वका रूपमा चाहिँ प्रगतिशील प्राध्यापक सङ्गठनका केन्द्रीय सदस्य प्रा.डा. कृष्णचन्द्र शर्माको नाम बौद्धिक जगत्मा लिइएको छ । डा. शर्मासँग बुटवल क्याम्पसको क्याम्पस प्रमुख, अङ्ग्रेजी केन्द्रीय विभागका विभागीय प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेको अनुभवका साथै अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयहरूमा आगन्तुक प्राध्यापकका रूपमा काम गरेको र अङ्ग्रेजी साहित्यमा उच्चकोटीका विविध लेखरचना लेखी विश्वविख्यात जर्नलहरूमा प्रकाशित गराउन सफल भएका प्लस प्वाइन्ट रहेका छन् ।
उता, नेपाली काङ्ग्रेसले भने भावी उपकुलपतिका रूपमा ग्रामीण विकास केन्द्रीय विभागलाई सार्ककै एउटा उत्कृष्ट विभाग बनाउने कार्यमा प्रयत्नशील दक्षिण एसियाका वरिष्ठ पर्यटनविद्, योजनाविद् र विश्व सम्बन्ध परिषद्का पूर्वअध्यक्ष प्रा.डा. प्रदीप खड्कालाई अघिसार्न लागेको बुझिएको छ । जे होस्, उपकुलपतिको गरिमामय जिम्मेवारी डा. शर्मा या डा. खड्कामध्ये एकले हासिल गर्नेमा सम्बन्धित बुद्धिजीवी सर्कल विश्वस्त देखिएको छ ।

पत्रकार धमला सम्मानित
विश्वको सबैभन्दा होचो कदका व्यक्तिका रुपमा गिनीज बुक अफ वल्र्ड रेकर्डमा खगेन्द्र थापा मगरको नाम लेखाउन महत्वपूर्ण भूमिका खेल्ने रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासहित पाँचजनालाई राजधानीमा सम्मान गरिएको छ ।
शिखर नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा पत्रकार धमला, नेपाल टेलिभिजनका महाप्रबन्धक गौरीकान्त मैनाली, होचा कलाकार लोकनाथ ढकाल, खगेन्द्रका बुबा रुपबहादुर थापा, र खगेन्द्र थापा फाउण्डेसनका अध्यक्ष मीनबहादुर रानालाई एककिृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सम्मान गर्नुभएको हो । कार्यक्रममा फाउण्डेशनका अध्यक्ष मीनबहादुरले पत्रकार धमलाको सहयोगबिना खगेन्द्रको पहिचान यात्रा कठिन हुने थियो भन्दै ऋषिको प्रशंसा गरेका थिए ।

प्रेस युनियनमा नेतृत्वका निम्ति प्रतिस्पर्धा
प्रजातन्त्रवादी पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको महाधिवेशन यही चैत ८ र ९ गते इटहरीमा हुँदै छ । उद्घाटनका निम्ति नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालालगायत अन्य वरिष्ठ नेताहरूको समेत सहभागिता रहने युनियनले जनाएको छ । निर्वाचनसमेत हुने भएकोले प्रेस युनियनको यस अधिवेशनको चहलपहल अहिलेदेखि नै विशेष रहेको छ । युनियनको अध्यक्षका लागि पत्रकारहरू दामोदर दवाडी, हेमन्त काफ्ले, जुनारबाबु बस्नेत, बद्री सिग्देल, बिन्दुकान्त घिमिरे, शिव लम्साल, नवराज लम्साल, विपुल पोख्रेल र रामप्रसाद दाहालले उम्मेदवारी दिने घोषणा गरेका छन् । विगत २० वर्षदेखि पत्रकारितामा सक्रिय दामोदर दवाडी नेपाल प्रेस काउन्सिलका सदस्य एवम् विकल्प साप्ताहिकका सम्पादक हुन् । नेपाल पत्रकार महासङ्घका पूर्वकोषाध्यक्ष हेमन्त खेलकुद पत्रकारका रूपमा स्थापित छन् भने विन्दुकान्त तरुण साप्ताहिकसँग सम्बद्ध छन् । यसैगरी शिव, नवराज र विपुल विद्युतीय सञ्चारमाध्यमसँग सम्बद्ध छन् । जुनार र रामप्रसाद दैनिक अखबारमा कार्यरत छन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा भीष्म ओझा र शेरबहादुर रेग्मी, सचिवमा लीलाराज खनाल, विमल ज्ञवाली र अजय बम एवम् कोषाध्यक्षमा मनबहादुर न्यौपानेको नाम चर्चामा छ । महिला उपाध्यक्षमा अनिता विन्दु र बाला अधिकारीले उम्मेदवारी दिने भएका छन् भने पूर्वाञ्चल उपाध्यक्षमा सन्तोष सुवेदी, कृष्ण हुमागाईं र सोमनाथ सुसेली तथा बागमती उपाध्यक्षमा होम लम्साल र पवन आचार्यले उम्मेदवारीको घोषणा गरेका छन् । सदस्यहरूमा दिनेश पोख्रेल सिम्पाने, दिनेश दाहाल, शिव देवकोटा, अजय सिवाकोटीलगायतको नाम चर्चामा छ ।

दावाँली मिलन क्लबका धुरन्धर सम्मानित
‘शान्ति र विकासका लागि नागरिक आवाज’ नामक संस्थाले राष्ट्रिय जीवनका विभिन्न तह र तप्काका स्रष्टाहरूलाई एक भव्य समारोहबीच सम्मान गरेको छ । गत फागुन २७ गते शिक्षामन्त्री गंगालाल तुलाधरको प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघरको हलमा आयोजित सम्मान कार्यक्रमबीच सम्मानितहरूमध्ये भोजपुर दावाँका रोशन श्रेष्ठ अग्रपङ्क्तिमा हुनुहुन्थ्यो ।
बाल्यकालदेखि नै समाजसेवा र खेलकुद भनेपछि हुरुक्कै हुने स्वभावका रोशन हाल राष्ट्रिय भलिबल सङ्घका निर्वाचित केन्द्रीय सदस्य हुनुहुन्छ भने काठमाडौंमा दावाँलीहरूद्वारा स्थापित दावाँली मिलन क्लब, दावाँली समाज तथा जनपयोगी बचत तथा ऋण सहकारी संस्थाको अग्रस्थानमा रही काम गरिरहनुभएको छ । रोशन श्रेष्ठलाई प्रदान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ- तपाईंले विगत लामो समयदेखि अत्यन्त निष्ठा र समर्पणका साथ वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवीका रूपमा आफूलाई नेपाली समाजमा समर्पित गराउँदै आउनुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय सेवामूलक एवम् सामाजिक सङ्घसंस्थाहरूमार्फत पर्यटन पर््रवर्द्धन, राष्ट्र विकास तथा सामाजिक सेवामा पुर्‍याउनुभएको योगदानको कदर गर्दै राष्ट्र विकास सेवा सम्मान २०६७ द्वारा सम्मान गर्दछौँ । रोशनलगायतका बहुआयामिक युवा व्यक्तित्वको खोजी गरी सम्मान गरेकोमा ‘शान्ति र विकासका लागि नागरिक आवाज’ समेत प्रशंसित बनेको सम्मान कार्यक्रममा उपस्थित सत्जनहरूले प्रतिक्रिया दिएका थिए ।

आफूबारे दुष्प्रचार गरिएको जिशिअको दाबी
निजी स्वार्थअनुकूल उपयोग गर्न नसकेको झोकमा आफूमाथि झुटा लाञ्छना लगाउँदै अखिल नेपाल शिक्षक सङ्गठन लमजुङका अध्यक्ष ऋषिराम चापागाईंले अनर्गल प्रचार गरेको र विभिन्न निकायमा ज्ञापनपत्र बुझाएको लमजुङका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले दाबी गरेका छन् । आफूमाथि आर्थिक हिनामिनाको आरोप लगाएर चापागाईंले गरेको प्रचार मिथ्या भएको जनाउँदै जिशिअ आचार्यले प्रेस विज्ञप्तिमार्फत भनेका छन्, ‘जिल्लामा क्रियाशील शिक्षकहरूको पेसागत सङ्घ तथा सङ्गठनहरूको समेत उपस्थितिमा बसेको जिल्ला शिक्षा समिति र जिल्लास्तरीय परीक्षा समितिको बैठकको निर्णय एवम् शिक्षा विभागबाट प्रकाशित कार्यक्रम कार्यान्वयन पुस्तिकाबमोजिम खर्च लेख्ने गरिएको हुँदा आरोपहरू पूर्ण रूपले भ्रामक र आधारहीन छन् ।’ जिशिअ आचार्यले शिक्षा ऐन तथा नियम कार्यान्वयन गराउँदा कसैलाई मर्का परेको भए त्यसका लागि जिशिअ दोषी नहुने तर्क गर्दै प्रमाणहीन कुरा उल्लेख गरी जिल्लाको शैक्षिक वातावरण नधमिल्याउन सम्बन्धित सबैमा आग्रहसमेत गरेका छन् ।
अनेशि सङ्गठन लमजुङका अध्यक्ष चापागाईंले फजुलको विज्ञप्ति जारी गरेर ‘आङ कन्याएर छारो उडाउने काम गरेको’ आरोप जिल्लाका अन्य शिक्षक सङ्घसंस्थाहरूले समेत लगाएका छन् । संयुक्त विज्ञप्ति जारी गरेर चापागाईंको कदमप्रति असन्तुष्टि जनाउनेहरूमा ने.शि. युनियन लमजुङका उपाध्यक्ष तेजनारायण अधिकारी, ने.शि. सङ्घ लमजुङका सचिव शिव अधिकारी, ने.रा.शि. सङ्गठन लमजुङका सचिव राजु थापा, प्याब्सन लमजुङका उपाध्यक्ष सुशीलकुमार थापा र ने.रा.शि. परिषद् लमजुङका सदस्य विश्वनाथ सुवेदी रहेका छन् । नेपाल निजामती कर्मचारी युनियन लमजुङका अध्यक्ष पूर्णचन्द्र अधिकारीले पनि चापागाईंको काम पूर्वाग्रहीपूर्ण रहेको एक छुट्टै विज्ञप्ति प्रकाशित गरेर जनाएका छन् ।

सिटिजन्स बैंकद्वारा विद्यालयलाई कम्प्युटर
नेपालको शिक्षा जगत्मा टेवा पुर्‍याउने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेसनलले सिन्धुलीको शीतलपाटीस्थित श्री दीर्घ प्रदीप उमाविलाई तीन थान कम्प्युटर प्रदान गरेको छ । बैंक परिसरमा हालै एक समारोहबीच सो विद्यालयका प्रधानाध्यापक शंकर उप्रेतीलाई बैंकका सञ्चालक बालकृष्ण प्रर्साईंले कम्प्युटर हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा बैंकका कार्यकारी अधिकृत राजनसिंह भण्डारीले सामाजिक उत्तरदायित्व महसुस गरेर सो भौतिक सहयोग उपलब्ध गराइएको र यस्ता कार्यमा बैंक आरम्भदेखि नै अग्रसर रहेको उल्लेख गर्नुभयो ।
प्रत्येक अञ्चलमा कम्तीमा एउटा शाखा विस्तार गर्ने नीति लिएको सिटिजन्स बैंकले निकट भविष्यमै काठमाडौं, ललितपुर, भक्तपुर, सुनसरीको इटहरी, धनुषाको जनकपुर, दोलखाको चरिकोट र हुम्लाको सिमीकोटमा शाखा विस्तार गरी शाखा सङ्ख्या ३२ पुर्‍याउने योजना बनाएको प्रशासन प्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो ।

गृह माओवादीकै हो ः जनार्दन शर्मा
एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य जनार्दन शर्मा प्रभाकरले गृह मन्त्रालय माओवादीले पाउने कुरामा कुनै विवाद नरहेको बताउनुभएको छ । उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालबीच गृहसहित ११ मन्त्रालय माओवादीले पाउने सहमति भइसकेकाले यसमा विवाद गर्न नहुने उहाँको कथन थियो । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रुकुमले गत सोमबार सदरमुकाम खलङ्गामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा शान्तिप्रक्रिया र संविधानलेखनको कामलाई पूरा गर्न काङ्ग्रेस पनि सरकारमा हुनुपर्ने बताउनुभयो । शान्तिप्रक्रिया र संविधानलेखनलाई पूर्णता दिन र सरकारविहीनताको अवस्थावाट देशलाई मुक्त गर्न एमाले र माओवादीबीच सातबुँदे सहमति भएको भन्दै यसमा अनाआवश्यक शङ्का नगर्न काङ्ग्रेसलाई आग्रह गर्नुभयो । कार्यक्रममा एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य एवम् संविधानसभा राज्य पुनर्संरचना तथा राज्य शक्ति बाँडफाँड समितिका सभापति लोकेन्द्र विष्टमगरले संविधान निर्माणको काम समयसीमाभित्रै पूरा हुने वताउनुभयो । संविधान निर्माणको काम ८५ प्रतिशत पूरा भइसकेको भन्दै बाँकी विवादित बुँदामा सहमति जुटाउन दलहरू इमान्दारीका साथ लागेमा जेठ १४ भित्र जनताको संविधान जारी हुने उहाँको भनाइ थियो । कार्यक्रममा सभासद्द्वय जुनकुमारी रोका र कमला रोका पनि उपस्थित थिए ।
यसैबीच लामो समयदेखि विवादित विषयको रूपमा रहेको सल्यानको बसपार्क निर्माणकार्य सुरु भएको छ । सल्यानमा ०४२ सालदेखि बस सञ्चालनमा आए पनि पारि्कङ गर्ने ठाउँ नभएपछि बस व्यवसायी र सेवाग्राहीहरूले सास्ती भोग्दै आएका थिए । सोमबार एक कार्यक्रमका बिच सभासद्द्वय उमाकान्त शर्मा र धीरेन्द्रबहादुर श्रेष्ठले संयुक्त रूपमा मोटरबाटोको ट्रयाक खनेर बसपार्कको शिलान्यास गर्नुभएको थियो । बसपार्क निर्माणका लागि जिविसबाट पाँच लाख, खलङ्गा गाविसबाट ५० हजारको सहयोग दिइने भएको छ । यस्तै सभासद् धीरेन्द्रबहादुर श्रेष्ठले एक लाख र उमाकान्त शर्माले पनि बसपार्क निर्माणका लागि सक्दो सहयोग गर्ने घोषणा गर्नुभएको छ । जनस्तरबाट नै सुरुवात गर्न लागिएको सो बसपार्क जिल्ला तथा अञ्चलकै नमुनाको रूपमा स्थापित गर्नेसमेत कार्यक्रममा जानकारी गराइएको थियो । बसपार्क निर्माणका लागि महेश देवकोटा, दीपक केेसी, सुरेश महर्जन र राधाकुमार शर्माले करिब तार रोपनी जग्गासमेत दान गर्नुभएको छ ।

सञ्चारकर्मी सम्पर्कविहीन
नेपाल वन टेलिभिजनका समाचार प्रमुख धर्मेन्द्र कर्ण गत शुक्रबार ११ बजेदेखि सम्पर्कविहीन भएको मधेस मिडिया हाउसका अध्यक्ष राजेश अहिराजले जनाएका छन् । उनी अपहरित भएको हुनसक्ने आशङ्का गरिएको छ ।

स्वर्णजयन्ती छात्रवृत्ति पाउनेहरूलाई राजदूतद्वारा प्रमाणपत्र
भारत सरकारद्वारा नेपाली विद्यार्थीलाई प्रदान गरिने स्वर्णजयन्ती छात्रवृत्ति कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने नवौँ समूहलाई नेपालका लागि भारतका राजदूत राकेश सुदले योग्यताको प्रमाणपत्र प्रदान गर्नुभयो । गत २७ गते शुक्रबार होटल र्‍याडिसनमा आयोजित एक भव्य कार्यक्रमका बीच सो छात्रवृत्ति प्रदान गरिएको हो ।
नेपाल-भारतबीच आर्थिक सहयोगको ५०औँ वर्ष पूरा भएको उपलक्ष्यमा सन् २००२ मा भारत सरकारद्वारा सञ्चालन गरिएको स्वर्णजयन्ती छात्रवृत्ति कार्यक्रमको सुरुको वर्षमा नेपालमा विभिन्न विषयहरूमा अन्डरग्य्राजुएट कोर्स गरिरहेका ५० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो भने सन् २००७ देखि छात्रवृत्तिको सङ्ख्या दोब्बर गरी १०० पुर्‍याइएको छ । छात्रवृत्ति कार्यक्रमअन्तर्गत एमबीबीएस तथा बर्ीइ कोर्स अध्ययन गर्ने ५० जना विद्यार्थीलाई मासिक तीन हजार र बीएस्सी, बीए, बीबीएस र बीपीएचलगायत अन्य कोर्स अध्ययन गर्ने ५० विद्यार्थीलाई मासिक २ हजार छात्रवृत्ति प्रदान गरिन्छ । विद्यार्थी योग्यताको आधारमा छनोट गरिन्छ । साथै ५० प्रतिशत सिट शैक्षिक रूपमा पिछडिएका जिल्लाबाट आउने विद्यार्थीका लागि आरक्षण गरिएको छ ।
मानव संसाधन विकासको क्षेत्रमा भारत र नेपालबीच बृहत् तथा निकट सम्बन्ध रहेको छ । भारत सरकारले शिक्षा क्षेत्रमा प्रदान गर्ने सहयोगको मात्रामा परिमाणात्मक तथा गुणात्मक तवरमा हाल धेरै गुणा बढोत्तरी भएको छ । भारतमा अध्ययन गरेका विशिष्ट योग्यता भएका विज्ञ तथा विशेषज्ञहरू नेपालको रणनीतिक तहमा प्रशस्तै रहेका छन् ।
नेपालमा मानव संसाधन विकासमा भारत-नेपाल सहयोग कार्यक्रमले ठूलो योगदान पुर्‍याउँदै आएकोे छ । भारत सरकारले नेपालअवस्थित आफ्ना नियोगमार्फत करिब १७ सय ८३ छात्रवृत्ति कोटा प्रदान गर्दै आएको छ । यी छात्रवृत्तिहरू चिकित्साशास्त्र, कृषि, विज्ञान, कानुन, कला, पशु विज्ञान, कम्प्युटर विज्ञान तथा फार्मेसीजस्ता विविध विषयमा अन्डरग्य्राजुएट, पोस्टग्य्राजुएट र फेलोसिप गरी विभिन्न तहमा प्रदान गरिन्छ । आमसञ्चार, विज्ञान तथा प्रविधि, मानव संसाधन, योजना तथा सहरी विकास, सूचना प्रविधिजस्ता विषयमा नेपाली नागरिकलाई तालिम प्रदान गरिएको छ भने नेपाल सरकारका सबै तहका अधिकारीहरूका लागि ठूलो सङ्ख्यामा तालिमका कोर्स पनि प्रदान गरिएको छ । यी छात्रवृत्तिका अतिरिक्त भारतका शैक्षिक संस्थाहरूमा नेपाली नागरिक सीधै भर्ना हुने गर्छन् । नेपाली गोर्खा सैनिकले भारतीय सेनामा पुर्‍याएको योगदानलाई कदर गर्ने सानो प्रयासको रूपमा ३२ छात्रवृत्ति कोटा पनि तिनका छोराछोरीका लागि छुट्याइएको छ ।
सन् २००५/०६ देखि प्रदान गरिँदै आएको छात्रवृत्ति/तालिमबाट १० हजारभन्दा बढी विद्यार्थी लाभान्वित भएको जनाउँदै यसप्रति भारत सरकार गौरवान्वित भएको भारतीय दूतावासले जनाएको छ ।

विद्यालय र अस्पतालका लागि साढे दस करोड सहयोग
नेपालका लागि भ्ाारतका राजदूत राकेश सुदले दुई देशबीचको समग्र सम्बन्धमा नेपाल-भारत आर्थिक सहयोग कार्यक्रमको महत्त्व कोसेढुङ्गाको रूपमा रहेको बताउनुभएको छ । गत फागुनको तेस्रो साता ताप्लेजुङ र भोजपुर भ्रमणका क्रममा आयोजित विद्यालय एवम् अस्पताल भवनको शिलान्यास तथा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सुदले सो कार्यक्रमअन्तर्गत कार्यान्वयन भइरहेका विभिन्न विकास परियोजनाहरूले नेपाली जनताको शान्ति र समृद्धिको प्रयासलाई सहयोग गर्ने आशा व्यक्त गर्नुभयो । राजदूत सुद ताप्लेजुङ र भोजपुरका विभिन्न चार विद्यालयका लागि भारत सरकारले उपलब्ध गराएको १० करोड ४६ लाख अनुदान सहयोगमार्फत निर्माण हुने तथा निर्माण भएका विद्यालय भवनहरूको शिलान्यास एवम् उद्घाटन कार्यक्रममा सरिक हुनुभएको थियो । उहाँले ताप्लेजुङको मेहेलेस्थित श्री निलगिरी माध्यमिक विद्यालयको उद्घाटन गर्नुभयो ।
सन् १९५६ मा प्राथमिक विद्यालयको रूपमा स्थापित सो विद्यालय नेपालका उत्तर-पूर्वी दुर्गम जिल्लाको पुराना विद्यालयमध्येको एक हो । कक्षा कोठाको अभावमा विद्यालयमा वृद्धि भइरहेको विद्यार्थी सङ्ख्यालाई सुविधा प्रदान गर्न कठिनाइ परेको परिस्थितिमा विद्यालयको भौतिक संरचना स्तरोन्नति गर्न भारत सरकारले विद्यालय भवन तथा फरि्नचर प्रबन्धका लागि दुई करोड ६३ लाख अनुदान सहयोग प्रदान गरेको छ । नयाँ संरचनाले विद्यालयमा अध्ययनरत सात सयभन्दा बढी विद्यार्थीलाई अत्यावश्यक कक्षाकोठाको सुविधा प्राप्त हुने बताइएको छ ।
यसैगरी ताप्लेजुङकै सिनामस्थित श्री सिनाम उच्च माध्यमिक विद्यालयको पनि राजदूत सुदले शिलान्यास गर्नुभयो । सन् १९५० मा प्राथमिक विद्यालयको रूपमा स्थापना भई २००१ देखि उच्च माध्यमिक विद्यालयको रूपमा स्तरोन्नति भएको र जिल्लाको सुदूरपूर्वी क्षेत्रको दुर्गम भागमा अवस्थित यस विद्यालयले ताप्लेजुङका १२ वटा गाविसलाई सुविधा प्रदान गरेको छ । भारत सरकारको ४ करोड ४ लाख अनुदान सहयोगमा निर्माण हुने नयाँ संरचनाले १२ सयभन्दा बढी विद्यार्थीको शैक्षिक आवश्यकता पूरा गर्ने स्थानीयवासीको दाबी छ । यसैगरी मित्रराष्ट्र भारतबाट एक करोड १३ लाख अनुदान हासिल गरेको भोजपुर बजारस्थित श्री विद्योदय उच्च माध्यमिक विद्यालय भवनको राजदूत राकेश सुदले उद्घाटन गर्नुभयो । सन् १९५० मा स्थापित सो विद्यालय भोजपुर जिल्ला सदरमुकाममा अवस्थित एक मात्र विद्यालय हो ।
यस्तै, पर्याप्त चिकित्सा सेवाको अभाव रहेको भोजपुरको दिङ्लास्थित अस्पतालको राजदूत सुदले जिल्ला भ्रमणका क्रममा शिलान्यास गर्नुभयो । जिल्लावासीहरूलाई सामान्य स्वास्थ्य परीक्षण गराउन पनि चार दिनभन्दा बढी पैदल हिँडेर धरान पुग्नुपर्ने बाध्यता रहेको अवस्थामा भारत सरकारको दुई करोड ६६ लाख अनुदान सहयोगमा निर्माण हुने नयाँ संरचनाले भोजपुरको १८ गाविसका करिब ४५ हजार जनतालाई सुदृढ स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास गरिएको छ ।
भारत-नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत सञ्चालन हुनेे परियोजना नेपालका सबै जिल्लालाई समेट्ने गरी शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि हालै कार्यान्वयनमा रहेका तथा पूरा भएका ठूला तथा साना तीन सय नब्बेभन्दा धेरै परियोजनाको लागत ५८ अर्ब रहेको छ ।

अध्यक्षमाथि गम्भीर आरोप
जनमोर्चा नेपालका केन्द्रीय अध्यक्ष दानबहादुर विश्वकर्माबारे सो पार्टीले गम्भीर सूचना सम्प्रेषण गरेको छ । विभिन्न प्रकारको दीर्घरोगको कारण उनी शिथिल बनेका र मानसिक सन्तुलनसमेत गुमाएको भन्दै उनलाई सङ्गठनात्मक जिम्मेवारीबाट पार्टीले हटाइएको छ । उनको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष बुद्धिबहादुर जीसीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । यसैगरी सो पार्टीको हालै बसेको आकस्मिक बैठकले केन्द्रीय सचिवालय सचिव जेबी धौलाकोटीलाई निलम्बन गरेको छ । पार्टीभित्र गुटजन्य गतिविधि र गलत ढङ्गले अर्थ सङ्कलन तथा हिनामिना गरेको आरोपमा उनलाई कारबाही गरिएको महासचिव साध्यबहादुर भण्डारीले बताए । उनको स्थानमा महेन्द्र क्षेत्रीलाई तथा सचिवालय सदस्यमा शिव श्रेष्ठ र हब खड्कालाई चयन गरेको पनि बताइएको छ ।
हालै बरि्दयामा भएको हर्कबहादुर शाहीको हत्या र केन्द्रीय कारागारमा घटेको घटनाका विषयमा उच्चस्तरीय छानबिन गरी समाधान खोज्न सरकारसँग जनमोर्चाले माग गरेको छ ।

जनसुरक्षा दस्ता सार्वजनिक
नेपाल कम्युनिस्ट पार्टी ? एकीकृत)ले केशरबहादुर गुरुङको संयोजकत्वमा जनसुरक्षा दस्ता सार्वजनिक गरेको छ । नेपाल कम्युनिस्ट पार्टी ? एकीकृत) ले शोषित-पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गमाथि गरिएको भेदभाव र दमनलाई परास्त गर्न नयाँ जनवादी क्रान्तिको पक्षमा जनशक्तिलाई सशक्त रूपमा सङ्गठित गर्न जनसुरक्षा दस्ता गठन गरिएको दाबी गरेको छ । पार्टीको सातौँ महाधिवेशनबाट पार्टीको सुरक्षा दस्ता निर्माण गर्ने निर्णयअनुसार पार्टीका पोलिटब्युरो सदस्य केशरबहादुर गुरुङ प्रमुख र केन्द्रीय सदस्य चिरन पुन उपप्रमुख रहेको दस्ता परिचालन टिमसहित गठन गरिएको पार्टी अध्यक्ष ऋषिराम शर्मा कट्टेलले जानकारी गराए ।

चार दलद्वारा राप्रपा नेपाल बहिष्कृत †
जिल्ला परिषद्मा आफ्नो पार्टी सहभागी हुन पाउनुपर्ने माग गरिरहेकै अवस्थामा राप्रपा नेपाल अन्य दलका नजरमा अछुतो बन्न पुगेको छ । राजतन्त्रको वकालत गर्दै आएको कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल सहभागी हुने कार्यक्रम लमजुङका प्रमुख चार राजनीतिक दलले बहिष्कार गर्ने निर्णय हालै गरेपछि यस्तो अनुभूति गरिएको हो । जिल्लामा रहेका चार राजनीतिक दल एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त रूपमा राप्रपा नेपालका प्रतिनिधि सहभागी हुने कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका हुन् ।
नेकपा एमालेको पार्टी कार्यालयमा संयुक्त बैठक आयोजना गरेर चार दलले यस्तो निर्णय गरेका हुन् । देश गणतन्त्रमा गइसकेको बेला भ्रामक कुराहरू फैलाएको भन्दै चार दलले राप्रपा नेपालले भाग लिने कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेको नेकपा एमाले लमजुङका अध्यक्ष जमिन्द्रमान घलेले बताए । सर्वदलीय बैठकमा एनेकपा माओवादी लमजुङका सहइन्चार्ज मोहनहरि पौडेल, नेपाली काङ्ग्रेसका सदस्य आनन्द घिमिरे, खजिन्द्र गुरुङ, नेकपा एमालेका अध्यक्ष जमिन्द्रमान घले, सचिव कृष्णप्रसाद अधिकारी, राप्रपा अध्यक्ष बालचन्द्र श्रेष्ठ र सचिव तिलक गौतमले हस्ताक्षर गरेका छन् ।
– छविलाल बगाले

चिनियाँ कामदार रिसाएपछि…
चमेलिया जलविद्युत् परियोजनामा काम गर्ने चिनियाँ कामदारहरूले दार्चुलाको शिखर- ४ का किरानापसले दमन खडायतमाथि दर्ुर्व्यवहार गर्दै उनको घर भत्काउन खोजेको घटनाले गत सोमबार उग्र रूप लिएको छ । घटनालाई नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्याससमेत प्रयोग गर्नुपरेको बताइएको छ ।
प्रहरी सूत्रका अनुसार खडायतले चमेलिया जलविद्युत् परियोजनामा काम गर्ने चिनियाँ कामदार चेन यिङलाई लक भएको सिम बिक्री गरेको भनी आपसमा विवाद भएको थियो । आपसी झगडामा भएको कुटपिटबाट चाइनिज कामदारको आँखामा चोटसमेत लागेकोले उपचारका लागि गोकुलेश्वर अस्पतालमा लगिएको थियो । तर, सो विषयलाई लिएर सोमबार बिहान ९ बजे करिब ६० जना चिनियाँ कामदार अस्थायी प्रहरी पोस्ट बलाचेमा भेला भई पोस्ट घेराउ गर्नुका साथै परियोजनामा रहेको डोजर निकालेर खडायतको घर भत्काउन उद्यत् देखिए । प्रहरीले त्यसो नगर्न सम्झाउन खोज्दा उल्टै प्रहरीमाथि नै चिनिया कामदारहरूले हातपात गर्ने प्रयास गरेकाले स्थिति नियन्त्रणमा लिन प्रहरीले एक सेल अश्रुग्यास हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो । कुटपिटमा संलग्न दमन खडायतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

महादेवमाथि राजनीतिक हस्तक्षेप †
राजनीतिक हस्तक्षेपका कारण पशुपतिनाथको दुरावस्था भएको श्रीपशुपतिनाथ अध्ययन व्यवस्थापन समितिका सदस्य वसन्त चौधरीले दाबी गरेका छन् । राजधानीमा गत सोमबार आयोजित एक छलफल कार्यक्रबीच पूर्वसदस्यसचिव चौधरीले धर्मलाई राजनीतिले थिचोमिचो गरेको आरोप लगाउँदै अर्बौं हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथमाथि राजनीतिक हस्तक्षेप हुन नहुने तर्क गरे । पशुपतिनाथको जगर्ेना मात्र गर्न सके पनि नेपाल समृद्ध हुने वसन्तको दाबी थियो । उनका अनुसार दुई अर्ब हिन्दूमध्ये वर्षोनी १० प्रतिशतले धार्मिक पर्यटन गर्ने गरेको अवस्थामा एक प्रतिशत मात्र नेपाल भित्र्याउन सके नेपालको आर्थिक कायापलट हुनेमा शङ्का गर्नै पर्दैन । तर, मुलुकको आर्थिक कायापलट गर्नेतर्फभन्दा पशुपतिनाथको सम्पत्ति भ्रष्टाचार गरेर आफू मोटाउनेमा शासकहरूको ध्यान रहेकोमा उनले गुनासो गरे ।
समितिका अर्का सदस्य श्रीहरि अर्यालले धर्मनिरपेक्षको परिभाषा नै नगरी संविधानमा लेखिएका कारण समस्या उत्पन्न भएको दाबी गर्दै पशुपतिनाथप्रतिको राजनीतिक हस्तक्षेपका कारण घटेको आस्था जगाउन सके सबै समस्या समाधान हुने विश्वास व्यक्त गरे । संस्कृति मन्त्रालयका सचिव मोदराज डोटेलले चाहिँ पशुपतिनाथलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी पशुपतिनाथको सञ्चालन धर्माधिकारी र विज्ञहरूबाट गराउनुपर्ने धारणा प्रस्तुत गरेका थिए ।
यसैबीच पशुपतिनाथमा हुने नियुक्ति हस्तक्षेप र कोषको विषयमा बारम्बार उठ्ने गरेका विवादको अध्ययन गरी समाधानको उपाय खोज्न गठित श्रीपशुपति अध्ययन व्यवस्थापन स्वतन्त्र अधिकारसम्पन्न समितिले आफ्नो कार्य प्रारम्भ गरेको छ । पशुपतिनाथमा हुने राजनीतिक हस्तक्षेपका कारण सनातनदेखि निरन्तर हुँदै आएको पूजासमेत रोकिएको अवस्थामा सर्वोच्च अदालतको आदेशबमोजित नेपाल सरकारले गत पुस ११ गते पूर्वन्यायाधीश केदारनाथ आचार्यको संयोजकत्वमा समिति गठन गरेको थियो ।
समितिले पशुपतिनाथको धार्मिक, सांस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक महत्त्वको संरक्षण र सर्म्बर्द्धन गर्दै सो क्षेत्रको विकास गर्न आवश्यक संरचनाको स्वरूप निर्धारण, पशुपतिनाथको सम्पत्ति र आम्दामीलाई व्यवस्थित गर्ने उपाय, पशुपतिका मूलभट्टसहितका पूजाआजामा संलग्नहरूको आचारसंहिता, सेवा सुविधा र पशुपतिको दर्शन प्रक्रियाको व्यवस्थापन सम्बन्धमा अध्ययन गरेर प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको छ ।

नेविसङ्घ आक्रोशित
विधि र पद्धतिअनुसार भएको विद्यार्थी परिषद्को निर्वाचन काठमाडौं विश्वविद्यालयले स्थगित गरेको भन्दै नेपाल विद्यार्थी सङ्घले आक्रोश पोखेको छ । केयू धुलिखेलमा गत फागुन १७ गते भएको निर्वाचनलाई दलगत स्वार्थका कारण निर्वाचन प्रक्रिया र विद्यार्थी परिषद् स्थगन गरिएको दाबी सङ्घको छ ।
वैधानिक ढङ्गबाट निर्वाचित संस्थालाई स्थगन गर्ने निर्णयविरुद्ध नेविसङ्घले काठमाडौं विश्वविद्यालयमा ताला लगाइएको जानकारी पत्रकार सम्मेलनमार्फत गत सोमबार गराएको थियो । नेविसङ्घले तत्काल विद्यार्थी कल्याण परिषद्को काम-कारबाही अगाडि बढाउने वातावरण सिर्जना नगरिए विश्वविद्यालयमा हुने गरेका सबैखाले षडयन्त्रविरुद्ध सशक्त ढङ्गले आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ । सो विश्वविद्यालयमा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षका उम्मेदवार अनुप लुइँटेल र नेविसङ्घका कृष्णप्रसाद पोख्रेलबीचको मत बराबर भएपछि भएको गोला प्रथाद्वारा नेविसङ्घका उम्मेदवार पोख्रेल निर्वाचित भएका थिए ।

मुटुरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आयोजना तथा त्रिपाठी प्रतिष्ठान नेपालको व्यवस्थापनमा गत फागुन २८ गते मलेखु रिचोकटार, धादिङमा मुटुरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रअन्तर्गत मुटुरोगीहरूको पुनर्स्थापन तथा स्वास्थ्य पर््रवर्द्धन विभागका प्रमुख तथा मुटुरोग विशेषज्ञ डा. दिवाकर शर्माले नेतृत्व गर्नुभएको चिकित्सक टोलीले शिविरमा उपस्थित पाँच सय २५ स्थानीयवासीको स्वास्थ्य जाँच गर्नुका साथै इकोर्,र् इसीजी परीक्षण एवम् निःशुल्क औषधि उपलब्ध गराएको थियो भने वरिष्ठ स्टाफ नर्स सम्झना शाक्यले उपस्थित जनसमुदायलाई मुटुरोगबारे चेतनामूलक परामर्श उपलब्ध गराउनुभएको थियो ।
राजमार्ग सामुदायिक अस्पताल परिसरमा आयोजित स्वास्थ्य शिविरमा सो अस्पतालका कर्मचारी, जनहित समाज र भद्रकाली युवा क्लबका युवा, इएनडीपी डेभलपमेन्ट बैंक एवम् स्थानीय जनताले विभिन्न तवरले सेवा-सहयोग उपलब्ध गराएका थिए । मानवशरीरको अत्यन्त महत्त्वपूर्ण अङ्ग मुटुसम्बन्धी जानकारी दिने कार्यक्रम तथा निःशुल्क स्वास्थ्ाोपचार सेवा उपलब्ध गराएर त्रिपाठी प्रतिष्ठानले प्रशंसनीय काम गरेको भन्दै स्थानीय जनताले तारिफ गरेकोले भविष्यमा पनि यस्ता सेवामूलक कार्यक्रम आयोजना गर्न प्रेरणा मिलेको प्रतिष्ठानका अध्यक्ष रामशरण त्रिपाठीले बताउनुभयो ।

भट्टराई र राणाको निधनमा शोक
निर्झ दिलचेत वाङ्मय प्रतिष्ठानले नेपाली काङ्ग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ८७ वर्षको उमेरमा गत फागुन २० गते देहान्त भएकाले आस्था, निष्ठा र त्यागको एउटा अविचलित युगपुरुषलाई नेपाल र नेपालीको सधैंका लागि गुमाउनुपरेको भन्दै गहिरो दुःख र शोक व्यक्त गरेको छ । नेपालआमाका सच्चा सपुत र नेपाली समाजका परम् हितचिन्तक स्वर्गीय कृष्णप्रसाद भट्टराईको जीवनी पाटो युगलाई सधैं प्रेरणादायी रहिरहने प्रतिष्ठानद्वारा जारी वक्तव्यमा भनिएको छ ।
यसैगरी प्रसिद्ध उपन्यासकार डाइमनशमशेर राणाको ९४ वर्षको उमेरमा भएको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति भएको भन्दै वसन्ती, सेतो बाघ, सत्प्रयास, अनिता, प्रतिबद्ध, धनको धब्बा, गृहप्रवेशजस्ता उपन्यासका सर्जक राणाको निधनले सिङ्गो साहित्य जगत्लाई मर्माहत बनाएको र दिवङ्गत आत्माद्वय कृष्णप्रसाद भट्टराई र डाइमनशमशेर राणाको चिरशान्तिको कामना गरेको छ । बैठक निर्झर दिलचेत वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामेश्वर राउत मातृदासको अध्यक्षतामा बसेको थियो ।