दरबारबिनाका राजाको सम्मान-बबिता बस्नेत

दरबारबिनाका राजाको सम्मान-बबिता बस्नेत


हिजो जस्तै लाग्छ, दुई वर्षअघि राजाले दरबार छोड्दा नारायणहिटीअगाडिको सडकमा केही झुन्ड मानिस अनेक प्रकारका नारा लगाउँदै ओरालो लागेको मृगलाई खेदिरहेकाझैं देखिन्थे । केही टेलिभिजन च्यानलहरू भीडसँग ‘भक्स पप’ लिन व्यस्त थिए । दुई सय चालीस वर्षको इतिहास मेटिँदा तिनीहरूको प्रतिक्रिया थियो- अबको नेपाल समृद्ध हुनेछ, सामन्ती संस्काररहित हुनेछ, जनताको हुनेछ, नेपाली जनता बल्ल सार्वभौम भए, अब सबै जनताको भयो, आदि आदि । राजपरिवार हात हल्लाउँदै चुपचाप बाटो लागे, त्यसपछिको केही समयसम्मको नेपालको राजनीति राजपरिवारका सदस्यप्रतिको गालीगलौजमै बित्यो । त्यतिबेलाको माहौल यस्तो थियो मानौँ यो मुलुकमा अहिलेसम्म जे भएन त्यो राजसंस्थाकै कारणले भएन र अब जे हुन्छ त्यो सबै राम्रो मात्रै हुन्छ । राजाको बहिर्गमनमा राजसंस्थाको मायाले चित्त दुखाउने र आँसु बगाउनेहरू नभएका होइनन् तर तिनले आँसु बाहिर देखाउन सकेनन्, आफू प्रतिगामी भइने डरले बाहिर निस्किएनन्, कोठामा ढोका लगाएर टेलिभिजन हेर्दै चुकचुकाउनुको खासै अर्थ थिएन । त्यस्तो एउटा ठूलो जमात थियो जो यो मुलुकलाई एकताको सूत्रमा बाँधिराख्न राजतन्त्र आवश्यक छ भन्ने मान्यता राख्थ्यो, व्यक्तिपिच्छेका प्रवृत्तिहरू फरक हुन सक्छन् तर राजसंस्था भनेको छुट्टै कुरा हो भन्ने सोच राख्नेहरूले पनि केही बोल्ने र गर्ने अवस्था थिएन । राजा ज्ञानेन्द्र र उहाँको परिवारले नारायणहिटी छोड्दै गर्दा कसैले सोचेको पनि थिएन कि दुई वर्ष नबित्दै भूतपूर्व भइसकेका तिनै राजाको यही मुलुकमा जयजयकारका लागि उभिएको भीड नियन्त्रण गर्न सुरक्षाकर्मी र सर्वसाधारणलाई हम्मेहम्मे पर्नेछ । नसोचेको त्यही कुरा अहिले भइरहेको छ । पूर्वराजाप्रति नेपाली जनताले गरेको सम्मानले के दर्शाइरहेको हो भनेर बुझ्नै नसकिनेगरी सर्वसाधारण असाधारण सबैलाई आश्चार्यचकित बनाइदिएको छ ।
यो प्रचण्ड गर्मीमा पूर्वराजा किन तराईको भ्रमणमा निस्किनुभयो र तराईवासीले त्यति ठूलो श्रद्धा किन व्यक्त गरे – उहाँलाई गरिएको जयजयकार हिन्दू धर्मसँगको आस्था, राजसंस्थाप्रतिको मोह या राजनीतिक दलका नेताहरूप्रतिको वितृष्णा के हो – उहाँको भ्रमणमा मानिसको भीड र व्यक्त विचारहरूले यस्ता अनेक प्रश्न गर्ने ठाउँ छोडिदिएको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता मात्र नभएर सर्वसाधारणहरूका निम्ति समेत असुरक्षित मानिँदै आएको तराईमा बिनासुरक्षा हिँड्दा उहाँलाई कुनै असुरक्षाको अनुभूति भएन । के तराई अब सुरक्षित भएको हो – तराईवासीले भने, ‘राजाको सुरक्षा दिन सुरक्षाकर्मी चाहिँदैन, हामी जनता नै काफी छौँ ।’ हिन्दू मन्दिरहरूको दर्शन गर्न त्यहाँ पुग्नुभएका पूर्वराजालाई हिन्दूले मात्र होइन मस्लिमहरूले पनि त्यत्तिकै स्वागत गरे, हात जोडेर नमस्कार मात्र गरेनन् उहाँलाई भेट्न र देख्न पाएर अनुग्रहित भएकोसमेत बताए । पूर्वराजाको हातमा कुनै शक्ति छैन भन्ने कुराको जानकारी हुँदाहुँदै पनि काङ्ग्रेस, एमाले, माओवादी, मधेसवादीलगायतका दलहरूलाई भोट हाल्ने सर्वसाधारणले उहाँसामु बिन्ती बिसाए, गुनासाहरू जम्मा गरेर लेखिएको पत्र हातैमा थमाए । स्वभावैले धेरै मानिस शक्तिका पुजारी हुन्छन्, तर तराईवासीले त अचम्मै गरे । शक्तिविहीन राजालाई शक्तिमा भएको बेला जस्तै गरी स्वागत-सत्कार गर्दै भेट्न पाएकोमा खुसी व्यक्त गरे । दरबार नै छोडिसकेका राजाको वरिपरि जम्मा भएको भीड कुनै करबलले जम्मा गरिएको थिएन । उहाँको कुनै दल या समूह छैन त्यसैले पार्टीहरूका झैं कार्यकर्ता या सदस्य हुने कुरै भएन । जो आए मनले मानेर आए या केहीचाहिँ नजिकबाट अनुहार हेर्नकै लागि पनि आएका हुन सक्छन् । तर, जे भए पनि पूर्वराजाले प्राप्त गर्नुभएको यो सम्मानले राजसंस्थाको लोकप्रियता बढिनै सक्यो भन्ने अर्थ लागिनसके पनि राजा र राजसंस्थाप्रति जनता गम्भीर ढङ्गले सकारात्मक देखिएकोचाहिँ भन्न सकिन्छ । सामान्यतया मौसमका हिसाबले भन्ने हो भने यो मधेस घुम्ने समय होइन । अहिले त पहाडी या हिमाली क्षेत्रमा घुमघाम गर्ने बेला हो तर उहाँ किन तराई नै जानुभयो – यो पनि जिज्ञासाकै विषय हो शायद । मन्दिर दर्शनकै निम्ति जाने भए पहाड र हिमाली क्षेत्रमा पनि धेरै नाम चलेका मन्दिर छन्, तर राजाको रोजाइ यो मध्यगर्मीमा किन मधेस नै पर्‍यो या मधेसकै जनताले किन राजालाई निम्त्याए – शायद हिन्दू धर्मावलम्बीहरूको संरक्षक राजा मात्रै हुन सक्छन् भन्ने मान्यताले यसमा काम गरेको छ । जहाँसम्म मुस्लिमहरूको कुरा छ, हिन्दू भए पनि नेपालका राजाप्रति मुस्लिम समुदायको अनास्था कहिल्यै पनि थिएन ।
वास्तवमा नेपालको राजपरिवारले जनताको चाहना र भावना बुझ्नै पाएको थिएन न त जनताले नजिकबाट उनीहरूलाई भेट्न र आफ्ना कुराहरू राख्न पाएका थिए । विगतमा राजाहरू पाँच विकास क्षेत्र भ्रमणका नाममा जिल्ला-जिल्ला त पुगे तर राज्यले महिनौँ लगाएर पहिला नै तयार गरिदिएको तामझामबीच सर्वसाधारणको कुनै पहुँच नै पुगेन । त्यतिबेला राजपरिवारले या सर्वसाधारणले चाहेर एक-अर्कालाई भेट्न पाएका होइनन्, राजाहरूले जसलाई भेटे ती उनीहरूका आसेपासेले सिफारिस गरेका कारणले भेटे, तिनले जे कुरा राखे उनीहरूले त्यही पत्याए । राजाहरूको भ्रमणका बेला जम्मा हुने मानिसलाई ‘सुकिला मुकिला’ भएर आउन उर्दी नै जारी गरिन्थ्यो, जनताले भोगिरहेको वास्तविकतालाई नेपालको राजपरिवारले जस्ताको तस्तै आत्मसात् गर्नै पाएन । यता त्यतिबेला राजाहरूले लगाउने पोसाक पनि त्यस्तै हुन्थ्यो, किन हो थाहा छैन तर जिल्ला भ्रमणमा जाँदा राजाहरू -राजा वीरेन्द्र र ज्ञानेन्द्रलाई देखियो) प्राय: सैनिक पोसाकमा हुन्थे । पोसाककै कारण पनि जनतालाई राजाभन्दा पनि सेनाका प्रमुखलाई भेटेझैं हुनु स्वाभाविकै थियो । सर्वसाधारण र सेनाको पोसाक लगाएको मान्छेबीचको दूरी जहिले पनि लामै हुन्छ र त्यही दूरी त्यतिबेला राजपरिवारका सवालमा पनि रह्यो । तर, अहिले नेपाली जनताले शक्तिमा नभए पनि शायद आफूले चाहेजस्तो साधारण भेषमा हिँड्ने सर्वसाधारण ‘राजा’ पाए जो आफूजस्तै बिनातामझाम सार्वजनिक यातायातमा -सार्वजनिक एयरलाइन्स) चढेर आफ्नो गाउँ आइपुग्छ, जोसँग निर्धक्क आफ्ना दु:खसुख बाँड्न पाइन्छ । केही नगरोस् सही तर जसको आफ्नै पृष्ठभूमि छ, जो पदका लागि विदेशी गुहार्दैन, बरु आफैं पद-प्रतिष्ठा छोडेर सदियौंको इतिहासलाई नयाँ मोड दिँदै चुपचाप बस्न राजी हुन्छ । तराईका जनताले मात्रै होइन हिमाल र पहाडका जनताले खोजेको पनि यस्तै राजसंस्था थियो जो धेरै कुराको संरक्षक बनोस्, तर राजनीतिक रूपले आफैं सक्रिय नबनोस् । राजनीति सधैं विवादास्पद हुने हुँदा राजनीतिभन्दा माथि विवादरहित संरक्षकको खाँचो नेपाली जनतालाई शायद हिजो थियो, आज पनि छ र भोलि पनि रहनेछ ।