के गणतन्त्र यसैका लागि हो ?-बबिता बस्नेत

के गणतन्त्र यसैका लागि हो ?-बबिता बस्नेत


हिजोआज राजधानीका गल्लीगल्लीमा भेटिने विदेशी अनुहारहरू देखेर ‘अहा, हाम्रो देशमा कति धेरै पर्यटक आउन थाले, जताततै हिँडिरहेका छन्’ भन्ने सोचियो भने त्यो गलत हुनेछ । तपाईंलाई भेट्नासाथ एउटा पुस्तिका भिडाएर उनीहरूले भन्ने छन्, ‘प्रभुलाई मान्नुस्, जीवनमा दुःखबाट मुक्ति पाउनुहुनेछ ।’ यो दुनियाँमा दुःख र तनावबाट मुक्ति नचाहने को होला र ? सबै मानिस यही चाहन्छन् । नेपाली भाषामै गरिने उनीहरूको अनुरोधलाई बुझ्नेले ओहो हाम्रो देशमा क्रिश्चियन धर्मको प्रचार कति धेरै बढेको भन्दै पन्छिएर हिँड्छन् भने नबुझ्नेहरू विदेशीले नेपाली बोलेको देखेर दङ्ग पर्दै के हो कसो हो भनी सोधी-खोजी गर्छन् । यो क्रम केही समययता निकै बढेको छ । माओवादी आमहडतालका बेला चक्रपथमा साङ्ले घेराउ गरिरहँदा धर्म प्रचारको एउटा समूहले ललितपुरको एकान्तकुना चोकमा आन्दोलनकारीलाई ‘मिनिरल वाटर’ बिस्कुटलगायतका खानेकुराहरू बाँडिरहेको थियो । खानेकुरा बाँड्दै उनीहरू भनिरहेका थिए-तपाईंहरूको आन्दोलन सफल होस् । संयोगले साँझ पाँच बजेतिर त्यही बाटो हिँडिरहँदा पानी बाँड्दै गरेकी एक महिलालाई मैले सोधेकी थिएँ- आन्दोलनको सफलताको कामना गर्नुभयो के का लागि हो ? उनले प्रश्न नबुझेर हो या के, भनिन्- प्रभुले उहाँहरूको साथ दिनुहुनेछ । नेकपा माओवादीले विदेशी प्रभुको धुनधान विरोध गरिरहेका बेला उनी अर्कै प्रभुको साथको कुरा गरिरहेकी थिइन्, भनिन्- माओवादीहरू धर्मप्रति उदार भावना राख्छन्, माओवादीकै कारण नेपाल हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष बन्यो त्यसैले पनि माओवादीप्रति क्रिश्चियनहरू आभारी छन् । त्यसो त, युरोपेली देशहरूको माओवादीप्रतिको झुकाबलाई पनि क्रिश्चियन धर्मको प्रचारप्रसार र प्रबर्द्धनसँग जोडेर हेर्न थालिएको छ ।
काठमाडौं र आसपासका ठाउँहरूमा मात्र होइन धेरै टाढाटाढाका पहाडी र हिमाली जिल्लाहरूमा पनि क्रिश्चियन धर्मको प्रचार तीव्रत्तर रूपमा बढिरहेको छ । अरू त अरू हिन्दू धर्मावलम्बीहरूको चर्चित तर्ीथस्थल गोसाइकुण्ड जाने बाटोमा समेत केही विदेशी गोरा अनुहारका युवाहरू नेपाली ढाका टोपीमा सजिएर धर्म प्रचारमा तल्लीन रहेको भेटियो । रसुवा जिल्लास्थित गोसाइँकुण्ड जाने बाटोमा तिनीहरूले हामीलाई एउटा पुस्तिका देखाउँदै आग्रह गरे- किन्नुस् पाँच रुपैयाँ हो । नकिन्ने भनेपछि उनीहरूको प्रश्न थियो- सित्तैमा लाने त लानुस् । झर्र्रो नेपाली भाषा बोल्ने ती युवाहरूको हातमा शान्ति श्रेष्ठका नामबाट ‘करुणा’ लेखिएको एउटा पुस्तिका थियो । त्यसै बाँड्नुभन्दा अलिकति भए पनि मूल्य राखेमा पैसाले किनेको सामानको महत्त्व हुने ठानी सानो मूल्यमा पुस्तिका बिक्री गर्न खोजिएको स्पष्ट थियो । अलि वर आएपछि बोराभरि सामान बोकेका दुर्इजना भरिया भेटिए, ती बोरामा तिनै किताबहरू रहेछन् । गोरा युवाहरू आफू नेपाली ढाका टोपी लगाएर अघिअघि, धर्म प्रचारका सामग्री बोकेका निमुखा भरिया पछिपछि हिमाली क्षेत्रमा यसप्रकारको सङ्गठित धर्म प्रचारको दृश्य आर्श्चर्यलाग्दो थियो । साथमा रहनुभएकी हरिप्रियाजीलाई भने- ल हर्ेर्नुस्, हाम्रो देशमा धर्मनिरपेक्षताको अर्थ । उहाँले विभिन्न जिल्ला जाँदा देखिएका अनेक दृश्यका उदाहरण दिनुभयो । पछि थाहा भयो जिल्लामा एउटा एफएम रेडियो क्रिश्चियनकै नाममा दर्ता भएको रहेछ, सञ्चालनमा भने आइसकेको छैन । रसुवामा मात्रै होइन अन्य धेरै जिल्लामा क्रिश्चियन धर्म प्रचारका निम्ति एफएमहरू खुलेका छन्, दर्ताको क्रम जारी छ । कतिपय एफएम रेडियोहरू धर्मकै नाममा छैनन् तर कार्यक्रमहरू भने नियमित छन् ।
नेपालमा हिन्दू र बौद्ध धर्मावलम्बीहरू प्रायः एक-अर्काका सबै धार्मिक रीतिरिवाजहरू अवलम्बन गर्छन् । धार्मिक र सांस्कृतिक चालचलन फरक भए पनि मुस्लिम समुदायसँग सौहार्दपूर्ण सम्बन्ध छ । एक-अर्काको धर्ममा हस्तक्षेप कसैले पनि गर्दैनन्, तिमी मुस्लिम बन भनेर इस्लामहरूले कहिल्यै नमाजका सारांशहरू बाँड्दै हिँड्दैनन् न त हिन्दूहरूले आफ्ना धर्मग्रन्थहरू । मानिसलाई असाध्यै नराम्ररी गाली गर्नुपर्‍यो भने यसले धर्म छोड्यो या धर्मै छोडेपछि के लाग्छ भन्ने गरिन्छ । यसको ठ्याक्कै अर्थ आफूले मानिराखेको धर्म त्यागेर अन्त जाने नभए पनि पुर्खादेखि मान्दै आएको धर्म छोड्नु या अर्को धर्म अपनाउनु भनेको सानोतिनो कुरा भने अवश्य होइन । अर्काको देशमा पुगेर धर्म परिवर्तन गराउँदै हिँड्नु त झनै खतरनाक कुरा हो । धर्मजस्तो संवेदनशील विषयमा यसरी खुल्लमखुला प्रचारप्रसार गर्नु र गरिबीको फाइदा उठाउँदै विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउनु वैदेशिक धार्मिक हस्तक्षेप हो । हामीकहाँ अहिलेसम्म वैदेशिक हस्तक्षेपको कुरा गर्दा राजनीतिक हस्तक्षेपको मात्रै चर्चा हुने गरेको छ त्यो पनि आफ्नो अनुकूलताको आधारमा । धार्मिक हस्तक्षेप राजनीतिक हस्तक्षेपभन्दा संवेदनशील कुरा हो जुन हस्तक्षेप हाम्रोजस्तो राष्ट्रियता र धार्मिक पहिचानको सवाल अत्यन्त जीर्ण भएको मुलुकमा मात्रै हुन्छ । गरिबी मात्रै यसको कारण होइन, आफ्नो धार्मिक पहिचानप्रतिको गौरव नभएका र आफ्नो भूमिमा जसले जे गरे पनि हुने कमजोर राज्य भएका देशहरू धार्मिक हस्तक्षेपको सिकार बन्दै आएका छन् । हामी त्यसको सिकार बन्ने क्रममा छौँ । धार्मिक रूपले मानिसहरूलाई सङ्गठित गरिसकेपछि त्यसको परिणामको खोजी अनेक रूपबाट भइरहेको हुन्छ । हिन्दू धर्मावलम्बीको जस्तो धार्मिक समूह बनेपछि भजनकीर्तन गरेर मात्रै अन्य समूहहरू बस्दैनन्, धर्मका नाममा फरक-फरक ‘इन्ट्रेष्ट’ले काम गर्ने अनेक समूहहरू छन् । यो हाम्रोजस्तै अवस्था भोग्ने मुलुकमा जहाँ पनि हुन्छ । कुनै बेला अअफ्रिकन मुलुकहरूमा अहिले हामीकहाँ जस्तै हातमा बाइबल र बाइबलका सारांशहरू बोकेर मानिसहरू काला जातिलाई सहमत गराउन गाउँगाउँ चहार्थे । यस सर्न्दर्भमा दक्षिण अअफ्रिकाकी अधिकारकर्मी बिन्नी मण्डेलाकी हजुरआमाको कथन उल्लेखनीय छ, बिन्नी सानै हुँदा उनलाई काखमा राखेर गोरा जातिको बारेमा कहानी सुनाउँदै हजुरआमाले भनेकी थिइन् रे, ‘पहिला हामीसँग प्रसस्त जग्गाजमिन थियो र उनीहरूसँग बाइबल, अहिले हाम्रो हातमा बाइबल छ र उनीहरूसँग जग्गाजमिन ।’ धर्मका नाममा आफ्ना विभिन्न एजेण्डाहरू पूरा गर्ने परिस्थिति निर्माण गर्ने गरिएका अनेक उदाहरणहरू छन् । धर्मनिरपेक्षताको अर्थ धर्म परिवर्तनका निम्ति अभियानको लाइसेन्स होइन, त्यसैले यसप्रकारको वैदेशिक धार्मिक हस्तक्षेपबाट मुलुकलाई मुक्त राखौँ । अहिले धेरैको मनमा लागिरहेको छ, के यो मुलुकमा गणतन्त्र आएको यस्तै गतिविधिका लागि हो ?