नयाँ श्रीमतीसँग बाँधिएका इमरानमाथि दोस्री पत्नीको संगीन आरोप

नयाँ श्रीमतीसँग बाँधिएका इमरानमाथि दोस्री पत्नीको संगीन आरोप


पाकिस्तानका चर्चित क्रिकेट खेलाडी इमरान खान तेस्रो विवाह गरेर चर्चामा आएका छन् । ६५ वर्षीय इमरान खानले ४० वर्षीया बुसरा मनेकासँग हालै विवाह गरेका हुन् । उनको यो तेस्रो विवाह हो । यसअघि इमरानले बेलायतकी अर्बपतिकी छोरी जेमिमा गोल्डस्मिथसँग पहिलो विवाह गरेका थिए ।

खानको पहिलो विवाह सन १९९५ मा भएको थियो । उनी त्यसबेला विश्व क्रिकेटकै चर्चित पाकिस्तानी खेलाडी थिए । जेमिमा र इमरानको वैवाहिक सम्बन्ध ९ वर्षसम्म चलेको थियो । उक्त सम्बन्धलाई दिगो राख्न जेमिमाले धर्म परिवर्तन गरी इस्लाम बन्ने कबुल गरेकी थिइन् । साथै बेलायत छोडेर पाकिस्तानमा आएर बसेकी थिइन् ।

तर, यति गर्दा पनि उनीहरूको वैवाहिक सम्बन्धले दिगो रूप लिन सकेन । सन् २००४ मा ९ वर्षपछि सम्बन्धविच्छेद भएको थियो । त्यसपछि राजनीतिमा होमिएका इमरानले पाकिस्तानमा तहरिक–ए–इन्फास पार्टी खोलेर सक्रिय राजनीतिमा लागेका थिए ।

पार्टीमा होमिएपछि विवाह गर्न बिर्सिएका इमरानले पारिवारिक दबाबमा सन २०१५ दोस्रो विवाह गरेका थिए । इमरानको दोस्रो विवाह टीभी प्रस्तोता रेहम खानसँग भएको थियो । खानले दोस्रो विवाह निकै सुखद रहने अनुमान गरे पनि त्यो गलत साबित भयो । उक्त विवाह १० महिनासम्म टिकेको थियो । दोस्रो विवाह १ वर्ष पनि नटिक्नु इमरानको अवैध सम्बन्ध भएको उनकी दोस्रो पत्नी रेहम खानले आरोप लगाएकी छिन् ।

दोस्रो पत्नी रेहम खानले विवाहपश्चात् पनि इमरान खानले अन्य स्त्रीसँग अवैध सम्बन्ध राखेको आरोप लगाएकी छिन् । रेहमले आफू इमरानको पत्नी हुँदासमेत उनले बुसरासँग डेटिङ गरेको खुलासा गरेकी छिन् । रेहमले इमरान प्यारका लागि भरोसा गर्न लायक नभएको भन्दै उनले आफूलाई धोका दिएर पछिल्लो तीन वर्षदेखि बुसरासँग सम्बन्ध बनाउँदै आएको ‘द टाइम्स’लाई दिएको अन्तर्वार्तामा बताएकी छिन् । साथै इमरान र बुसराले दुई महिनाअघि अर्थात् १ जनवरीमा निकाहा गरेको रेहमले खुलासा गरेकी छिन् । इमरानले आफूसँग विवाह गर्नुअघि पनि यसरी नै निकाहा गरेको बताएकी छिन् ।

इरमानले ६५ वर्षको उमेरमा विवाह गरेपछि उनको पाकिस्तानमा मात्र नभई विश्वभरि चर्चा भइरहेको छ । पाकिस्तानी एक मिडिया रिपोर्टअनुसार इमरानलाई तेस्रो विवाह गर्न पार्टीमा निकै दबाब रहेको थियो । यही दबाबले गर्दा खान तेस्रो विवाहका लागि तयार भएको बताएको छ । बुसरासँगको सम्बन्धका कारण विपक्षीहरूले यसलाई विशेष मुद्दा बनाएका थिए । परिणाम हालै पञ्जाबको लोधरण जिल्लामा भएको निर्वाचनमा इमरानको पार्टीले पराजयको मुख देख्नुपरेको थियो । उक्त निर्वाचनमा प्रभावशाली नेता पराजित हुनुमा इमरान र बुसराको सम्बन्ध कारण मानिएको थियो ।

पाकिस्तानमा यसै वर्ष सन् २०१८ को जुलाईमा आमनिर्वाचन हुँदै छ । यो निर्वाचनमा इमरानको तहरिक–ए–इन्साफ र नवाज सरिफको मुस्लिम लिग पार्टीबीच कडा टक्कर हुँदै छ । आमनिर्वाचनमा इमरान र बुसराको सम्बन्धले विपरीत प्रभाव पार्ने सन्त्रासले इमरानको तेस्रो विवाह गरेका हुन् । इमरानको विवाहपछि पार्टीले अहिले राहतको सास फेरेको पनि सूत्रले दाबी गरेको छ । इमरानको विवाह गत साता पाकपट्टनको एक सम्मानित पिरू दर्जाकी बुसरासँग भएको थियो । उक्त विवाह निकै सादा तरिकाले लाहोरमा सम्पन्न भएको पार्टीका प्रवक्ताले पुष्टि गरेका छन् ।