एक अथक र गतिशील योद्धाको अवसान

एक अथक र गतिशील योद्धाको अवसान


– इन्द्रबहादुर बराल

नेपालको राजनीतिमा सदा चर्चाको शिखरमा रहेका नेपाली काङ्ग्रेसका सर्वाधिक लोकप्रिय नेता खुमबहादुर खड्काको निधनले पार्टी–पङ्क्तिमा मात्र नभई राष्ट्रको चिन्ता गर्ने तमाम नेपाली तप्कामा शोक र चिन्ता पैदा गराएको पैंतालिस दिन पुगेको छ । दुनियाँमा कुनै पनि नेता वा राजनेताको आलोचना नभएको विरलै परिवेश होला । त्यसको अपवाद खुमबहादुर खड्का पनि थिएनन् । तथापि, प्रजातन्त्रको पुर्स्थापनाको लामो यात्रामा बीपी कोइरालाजस्ता सर्वकालिक राजनेताको सामीप्य र विश्वासमा रहेर निर्वासन जीवन बिताउने सीमित व्यक्तिमध्ये एक खुमबहादुर खड्का थिए ।

कलिलै उमेरमा महामानव बीपी कोइरालाको सङ्गत र मार्गनिर्देशनबाट अभिप्रेरित खड्का नेपाली काङ्ग्रेसका एक अविश्रान्त र गतिशील अनि अत्यन्त लोकप्रिय नेताको रूपमा स्थापित थिए । उनीसँग सङ्गठन निर्माण गर्ने गजबको कला थियो । कुनै पनि दलका लागि सङ्गठन चुस्तदुरुस्त राख्नु महत्वपूर्ण पक्ष हो, जसका लागि विचार र नेतामा विवेक आवश्यक हुन्छ । यी दुवै गुणका धनी खड्काले कार्यकर्तालाई विचारले मात्रै समेटेनन्, उनले आफ्नो विवेकलाई पनि गुम्न दिएनन् र नेपाली काङ्ग्रेसका कार्यकर्ता जो खड्काको सामीप्य पुग्दथे, ती सबैलाई ढुक्कको छहारी प्रदान गर्ने अभूतपूर्व गुण वा विवेक थियो उनमा ।

काम गर्ने क्रममा भए–गरेका त्रुटिका बाबजुद उनीबाट कुनै कार्यकर्ता टाढिएनन्, बरु उनको प्रशंसा नै गरिराखे । आफू अन्याय नगर्ने र अन्याय गरेको पनि नसहने खड्काको स्वभाव हुँदा आफ्नै सङ्गठनको षड्यन्त्रको जालोमा फस्न बाध्य हुनुपऱ्यो । त्यति हुँदाहुँदै पनि उनी कहिल्यै निराश र हतोत्साही भएनन्, बरु अझ बढी क्रियाशीलता देखाए । फलतः पार्टीको १३औँ महाधिवेशनबाट पनि सर्वाधिक लोकप्रिय नेताको रूपमा उनी स्थापित भए ।

अत्यन्तै गम्भीर प्रकृतिको रोगका बाबजुद अविश्राम तवरले कार्यकर्तासँगको भेटघाटमा व्यस्त देखिने खड्काको निधनले वास्तवमै नेपाली काङ्ग्रेसले मात्रै होइन मुलुकले नै प्रजातान्त्रिक आन्दोलनको एक होनहार योद्धा र हिन्दूराष्ट्र पुनर्स्थापना अभियानका एक जुझारू अभियन्ता गुमाएको छ । कहिल्यै हरेश नखाने सधैँ एकनासले उत्साहपूर्वक सङ्गठनमा लाग्ने खुमबहादुर खड्काको निधनले पार्टीलाई अपूरणिय क्षति पुगेको छ । सम्भवतः त्यो क्षति पूरा गर्न या यस्तै अर्को महायोद्धा जन्माउन काङ्ग्रेसलाई निकै कठिन पर्नेछ भनी ठोकुवा गर्दा दिवङ्गत खड्काको सवालमा न्याय नै हुन्छ ।

नेपालीले बीपीजस्ता जननेतालाई पनि नचाहेर पनि गुमाएका छौँ, गणेशमान सिंहजस्ता साहस र त्यागका प्रतिमूर्तिलाई पनि गुमायौँ भने किसुनजीजस्ता सन्तनेता पनि हामीबाट खोसिएका छन् । सरल जीवन उच्च विचारका धनी भीमबहादुर तामाङजस्ता अन्य पनि आज हाम्रासामु छैनन् । तथापि, नेपाली काङ्ग्रेसको सङ्गठनलाई नेपाली जनताबीच स्थापित गराइराख्न सामूहिक प्रयत्न जारी नै छ । नेपाली काङ्ग्रेसमा खड्काजस्ता कुशल सङ्गठनको ठूलो अभाव छ । धेरै पढालेखा युवाहरू पनि छन्, तर तिनीहरूमा खड्काको जस्तो साङ्गठनिक सीप र कला अझै देखिएको छैन ।

अहिले खण्डखाँची पर्न गई काङ्ग्रेस केही खुम्चिएको अवस्था छ । यसो हुनुको पछाडि झिनामसिना कारणभन्दा पनि प्रमुख रूपमा आपसी मनोमालिन्य र वामएकताको प्रभाव नै हो । यो यथार्थता स्वीकार गरेको अवस्थामा अवश्य पनि काङ्ग्रेसको भविष्य सुनिश्चित हुने पक्का नै छ । अब हामीबाट बिदा लिइसकेका लोकप्रिय नेताप्रति हाम्रो आस्था र विश्वास साँच्चै हो भने उनबाट सङ्गठन गर्ने कला सिक्न जरुरी छ ।

गम्भीर प्रकृतिको रोगका बाबजुद अविश्राम तवरले कार्यकर्तासँगको भेटघाटमा व्यस्त देखिने खड्काको निधनले वास्तवमै नेपाली काङ्ग्रेसले मात्रै होइन मुलुकले नै प्रजातान्त्रिक आन्दोलनको एक होनहार योद्धा र हिन्दूराष्ट्र पुनर्स्थापना अभियानका एक जुझारू अभियन्ता गुमाएको छ । कहिल्यै हरेश नखाने सधैँ एकनासले उत्साहपूर्वक सङ्गठनमा लाग्ने खुमबहादुर खड्काको निधनले पार्टीलाई अपूरणिय क्षति पुगेको छ । सम्भवतः त्यो क्षति पूरा गर्न या यस्तै अर्को महायोद्धा जन्माउन काङ्ग्रेसलाई निकै कठिन पर्नेछ भनी ठोकुवा गर्दा दिवङ्गत खड्काको सवालमा न्याय नै हुन्छ ।

तल्लो तहमा बसेका समाजले थोरबहुत पत्याएका सामाजिक कार्यकर्ताको बलमा नेपाली काङ्ग्रेस टिकेको हो । र, यस्ता कार्यकर्ताका लागि पनि दिवङ्गत नेता खड्का प्रेरणाका स्रोत थिए । खड्काको निवासमा कार्यकर्ताको सधैँ भिड हुने गर्दथ्यो । उनी कार्यकर्ताको पीरमर्का राम्रोसँग बुझ्दथे । पार्टीमा खड्काजस्ता धेरै केन्द्रीय सदस्य थिए र छन्, तर ती सबै कार्यकर्ताको सहज पहुँचमा थिएनन् र छैनन् । यस्तोमा खड्काबाट कोही कार्यकर्ता वा साथीभाइ निराश भएर फर्केको चर्चा सुनिँदैन ।

सङ्गठन निर्माण गर्ने भनेको कार्यकर्ताको भावनासँग एकाकार हुनु पनि हो । नेता भएपछि सबै मैले मात्र जानेको छु भन्ने दम्भले काङ्ग्रेसलाई धेरै क्षति पुऱ्याएको छ । जुन कुरा नेता खड्काले राम्रोसँग बुझेको छनक पाइन्थ्यो । सम्भवतः त्यही भएर होला उनी सबैको हाईहाई हुन सफल भएको हुनुपर्दछ । अन्य नेताहरूमा खड्काजस्तो सङ्गठन गर्ने क्षमता भएजस्तो देखिन्न । अधिकांश नेता कार्यकर्ताहरू केही माग्नै आएका हुन् कि झैँ गरी टकटकिने गरेको पनि पाइन्छ ।

नेता खड्काको निधनको खबर ०७४ साल चैत १६ गते साँझपख सामाजिक सञ्जालबाट सनसनी रूपमा फैलियो । नयाँदिल्लीस्थित एपोलो अस्पतालबाट स्वास्थ्यलाभ गरी फर्केलान् र पार्टी सङ्गठनलाई तीव्रता दिन क्रियाशील हुनेछन् भन्ने आशामा बसेका काङ्ग्रेसजन र गाई काटेर खान पाउनुपर्छ भन्ने अभिव्यक्तिका विरुद्ध क्रूद्ध भएका हिन्दूवादीहरूको व्यग्रतापूर्ण प्रतीक्षामा तुषारापात हुन पुग्यो । नेपाली काङ्ग्रेसका मात्र होइन पछिल्लो समय हिन्दुहरुको आशाको केन्द्र बन्न लागेका नेता खुमबहादुर खड्काको निधनले चोट पुऱ्याएको छ । सँगै बसेका दुई छिमेकीमध्ये एउटाको धर्मको आस्थाको केन्द्रको रूपमा रहेको गौमातालाई पूजा गर्ने अर्कोले त्यही गाई काटेर खान पाउनुपर्छ भन्नेहरूले सजिलै अवतरण हुने अवसर पाए ।

सरकारी तथ्याङ्क हेर्दा नेपालमा हिन्दूहरू ८१ प्रतिशतभन्दा बढी छन्, तर भरपर्दो नेतृत्व गर्ने एकजना पनि नदेखिनु लाजमर्दो अवस्था देखियो । यसर्थ पनि खुमबहादुर खड्का नेपाली काङ्ग्रेसको नेताका साथै सारा हिन्दूहरूको पनि नेता बन्न सकेको तथ्य छर्लङ्ग छ ।

सरकारी तथ्याङ्क हेर्दा नेपालमा हिन्दूहरू ८१ प्रतिशतभन्दा बढी छन्, तर भरपर्दो नेतृत्व गर्ने एकजना पनि नदेखिनु लाजमर्दो अवस्था देखियो । यसर्थ पनि खुमबहादुर खड्का नेपाली काङ्ग्रेसको नेताका साथै सारा हिन्दूहरूको पनि नेता बन्न सकेको तथ्य छर्लङ्ग छ । हुन त अदालतले दोषी ठहर गरी सजायसमेत भोगेको विषय उठान गरेर कतिपयले अवमूल्यन गर्ने प्रयत्न नगरेका पनि होइनन्, तर त्यसका बाबजुद स्व. खड्काले आफ्नो अथक मिहिनेत र राजनीतिक गतिशीलताले त्यस्ता आरोपलाई छायामा पारिदिएका थिए ।

मानिसको जीवनमा उचारचढाव आइराख्ने एउटा निरन्तर प्रक्रिया हो । त्यसलाई सहेर अनेक टीका–टिप्णीलाई पर्वाह नगरी अघि बढ्ने एक अथक र गतिशील व्यक्तित्व गुमाउनुपर्दा सर्वत्र निःसन्देह ठूलै पीडाबोध भएको छ । खुमबहादुर खड्काको आवश्यकता वा महत्व नेपाली काङ्ग्रेस, सनातन हिन्दूवादी र विवेकशील नेपालीजनमा खट्किरहनेछ भन्दा अत्युक्ति ठहरिनेछैन ।