अमिताको प्रेम र नामहीन सम्बन्ध

अमिताको प्रेम र नामहीन सम्बन्ध


-दीपकमणि दाजुभाइ
पहिलोचोटि हामीले उसलाई शालीन र शान्त देख्यौँ ।
त्यसो त मुस्किलले एक दर्जनचोटि मात्र हामीले उसलाई भेटेका छौँ । पहिलोपटक हामीले उसलाई भेट्दा ऊ एकदमै छुच्ची र बेढङ्गको स्वास्नीमानिसजस्तो लागेको थियो । उसको बोलीमा रहेको रुखोपना भेटेको महिनौँसम्म पनि हाम्रा कानमा गुन्जिरहे ।
‘अहिले भेट्नुहुन्न भने पनि भेट्नुहुन्न । कति भन्नुपर्‍यो । तपाईंहरू जानुस् ।’
त्यति सरल र शालीन मानिस यस्तो कर्कशा स्वास्नीमानिसको चङ्गुलमा परेछन् भन्ने हामीलाई लागिरह्यो । वर्षौं पहिलेको कुनै दिन थियो । हामी कृष्णप्रसाद भट्टराईलाई भेट्न गएका थियौँ र उसैले हामीलाई भेट्न दिइन् । उसले भनेकी थिई, ‘अहिले भेट्नुहुन्न भने पनि भेट्नुहुन्न । कति भन्नुपर्‍यो । तपाईंहरू जानुस् ।’ हामीले हाम्रो कवितासङ्ग्रह ‘आन्दोलनले छटपटाएका कलमहरू’ उसैलाई छाडिदियौँ र भन्यौँ, ‘यो किताब किशुनजीलाई दिनु है ।’
उसले हुन्छ त भनी । तर हामीलाई त्यो ६० पृष्ठको मसिनो किताब उसले किशुनजीलाई दिन्छे जस्तो लागेको थिएन । हामीले सम्झियौँ- दु:ख गरेको आफ्नो पहिलो कवितासङ्ग्रह उसले कतै फालिदिन्छे । तर, त्यस्तो भएन । उसले किशुनजीलाई हाम्रो कवितासङ्ग्रह ‘आन्दोलनले छटपटाएका कलमहरू’ दिएकी रहिछ । त्यसपछिको भेटमा किशुनजीले हाम्रो कविताको किताबको प्रसङ्ग हामीलाई सुनाउनुभयो ।
भर्खरै हाम्रो किशोरकाल सकिएको बेला थियो त्यो । किशुनजीको खुला राजनीति र हाम्रो कलेज जीवन सुरु एकै साथ भएको हो । किशुनजीको खुला र उदार व्यक्तित्व हाम्रा लागि प्रेरणाको स्रोत बन्यो, बनिरह्यो । उहाँको निष्ठाको राजनीति र समस्यासँग हाँसेर सामना गर्ने स्वभाव हाम्रा लागि आदर्श नै बन्यो । उहाँलाई भेट्न हामीलो पटकपटक प्रयास गरे पनि त्यही स्वास्नीमानिस हाम्रा लागि सधै बाधक बन्थिन् ।
तर किशुनजी जब राजनीतिबाट बाहिरिनुभयो र ठूलो डिप्रेसनमा फस्नुभयो । त्यसपछि पनि ती स्वास्नीमानिसलाई किशुनजीसँग छायाजस्तै भेटिरहेपछि उसप्रतिको हाम्रो धारणा नै बदलियो । पदमा रहँदा र स्वस्थ हुँदा त दुनियाँ नै पछि लाग्छ । यो कुनै नौलो कुरा होइन । तर, पद नहुँदा र स्वास्थ्य बिग्रदा पनि साथ दिनु साँच्चिकै ठूलो कुरा हो ।
सन्दर्भ हो कृष्णप्रसाद भट्टराईकी सहयोगी अमिता कपालीको ।
किशुनजीको निधनपछि ललितपुरको बाँडेगाँउमा अमितालाई भेट्दा हाम्रो उसप्रतिको श्रद्धा र आदरभाव उर्लिएर आयो । एउटी उमेरदार महिला जसले आफ्नो जीवनको सुर्वण दिनहरू एउटा बूढो र सन्त मानिसको सेवामा बिताई । जो सदैव किशुनजीलाई भगवान्झै सेवा गरिरही । उसको यो समर्पणभाव चानचुने कुरा होइन । किशुनजीसँग रहँदा उसले कति भनाइ र विरोधहरू सुन्नुपर्‍यो । किशुनजी र अमिताको सम्बन्धका विविधतापूर्ण आयामलाई बुझ्न नसक्ने थुप्रैले उनीहरूबीचको नातालाई हाँसो र ठट्टामा नै सीमित बनाए पनि । किशुनजीलाई उपचारका लागि भारत लैजाँदा अमिताले कन्तविजोग व्यहोर्नुपर्‍यो । त्यसको लेखाजोखा उससँग मात्रै छ । उपचारका लागि पैसा नहुँदा कति हण्डर खानुपर्‍यो भन्ने कुरा उसैलाई मात्र थाहा छ । यी सबका बाबजुद पनि उसको किशुनजीप्रतिको आस्था र समर्पणमा कुनै कमी आएन । उसले किशुनजीको सेवामा कुनै कसर बाँकी राखिनँ ।
अमिता को हो किशुनजीको ?
या अमिता को होइन किशुनजीको ?
हामीलाई लाग्छ, अमिता नभएको भए किशुनजी दस वर्ष पहिले नै बितिसक्थे । सय दिनअघि किशुनजीले आफ्नो जन्मदिन मनाइरहँदा भनेका थिए, ‘म सय वर्ष बाँच्छु र फेरि एकचोटि प्रधानमन्त्री हुन्छु ।’ किशुनजीमा यो आत्मविश्वास अमिताले भरिदिएकी हो । अमिताको सेवा र सद्भावले नै किशुनजीमा बाँच्ने उत्साह बढेको हो । नामहीन सम्बन्धका लागि अमितामा देखिएको त्याग र समर्पणकै प्रतिफल हो किशुनजीको दीर्घजीवन ? नत्र अव्यवस्थित, अविवाहित र अव्यावहारिक किशुनजीको के हविगत हुन्थ्यो होला ? किशुनजीको जीवनमा अमिता नहुँदी हो त किशुनजीको अन्त्य पनि शैलेजा आचार्यको झै हुने थियो भन्ने हाम्रो ठम्याइ छ ।
यतिखेर हामी अमिता र किशुनजीबीचको त्यो नामहीन सम्बन्धलाई सम्मान गरिरहेका छौँ । हरेक स्थितिमा पुरुष र महिलाका सम्बन्धलाई साँघुरो आँखाबाट हेर्ने समाजमा पनि प्रेम र आस्थाको सबल सम्बन्ध स्थापित गर्न सफल अमिताको सम्मानका लागि हामीले यी शब्दहरू लोखिरहेका छौँ ।
हो, आज ऊ निकै शान्त र शालीन छे ।
उसको दुई दशकभन्दा बढी साथ र सद्भाव छुटेको छ । घरपरिवार र सम्पूर्ण सम्बन्धहरू छाडेर रोजेको नामहीन सम्बन्ध टुटेको छ । नेता, कार्यकर्ता र पूरै समाज वैरी बनाएर जोगाएको प्रेम र आस्थाको प्रतिमूर्तिले महाप्रस्थान गरेको छ । अमिताको यतिखेरको पीडालाई ऊबाहेक अरू कसले अनुभूत गर्न सक्ला ? कसले बुझ्न सक्छ, ऊभित्र दगुरिरहेको एक्लोपनको यो आभाषलाई ? कसले सुन्न सक्छ, अमिताभित्र यतिखेर गुञ्जिरहेको मौनताको कोलाहललाई ?
सेतो परिधानमा शान्तसँग रहेकी ऊ अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न आउने सबैलाई हेरिरहन्छे । यो भीडको बीचमा उसले किशुनजीका ती एकांकी दिनहरूलाई सम्झिरहेकी हुनुपर्छ । कहाँ थिए यी मानिसहरू जतिखेर उसले किशुनजीलाई उपचारका लागि भारत लगिरहेकी थिई ? उपचार खर्चका लागि भारतकै कुनै गुरुलाई अमिताले गुहारिरहेका बेला कहाँ थियो यो भीड ?
उसको रसिलो आँखा र शालीन अनुहारकै बगलमा थियो- महाप्रस्थानमा रहेका किशुनजीको पार्थिव शरीर ।