अनाथको संरक्षक भन्दै डोनर धम्क्याउँदै

अनाथको संरक्षक भन्दै डोनर धम्क्याउँदै


pathakmanchटुहुरा बालबालिकाको संरक्षण गर्ने नाममा ललितपुरको धापाखेलमा खुलेको ह्याप्पी होम इन्टरनेसनल स्कुलका सञ्चालकहरूले विदेशी डोनरलाई धम्क्याउन थालेपछि स्लोभाकियाका तीन नागरिकसहित सो स्कुलका शिक्षक असुरक्षित बनेका छन् । स्कुलका सञ्चालक विश्वप्रताप आचार्य र पूजा पोख्रेलले स्कुलका नाममा खोलेको एक वेबसाइडमा राखिएको ७० जना बालबालिका टुहुरा रहेकाले आफूहरूले उद्दार गरेर संरक्षण गरेकोसहितको कथा हेरेर एक बालबालिकाबराबर मासिक ६० युरो डलर स्लोभाकियाका जुजना, मार्टिन र इभाले सहयोग गर्दै आएका थिए ।
आफूले संरक्षण गरेका बालबालिकालाई हेर्न नेपाल आएका उनीहरूले यहाँ आएपछि वेबसाइडको कथा र वास्तविकतामा फरक पाएपछि सो विषयमा असन्तुष्टि प्रकट गरेका थिए । त्यसपछि सो स्कुलको यथार्थ बताउने शिक्षक किशोर कुँवर र विदेशी डोनर सञ्चालकहरूको गुण्डागर्दीपछि असुरक्षित बनेका हुन् ।
स्कुलमा आश्रय लिइरहेका बालबालिका, डोनर र शिक्षकहरूले अनाथको नाममा बाबुआमा भएका बालबालिकालाई ललाइफकाइ राखेर मोटो रकम असुलेको र अहिले आएर उल्टै अपरहण र बेपत्ता बनाउनेसम्मका धम्की दिइएको गुनासो पोखेका छन् । उनीहरूका अनुसार निःशुल्क पढाइदिने लोभमा आमाबाबुलाई फकाएर स्कुलमा ल्याइएका बालबालिकालाई सञ्चालकद्वयले कुट्ने, पिट्ने, आश्रममा खाना पकाउन र लुगा धुन लगाउनेसम्मका काम गराई यातना दिने गरेका थिए ।
डोनर स्लोभाकियाका नागरिकले आफूहरूको सहयोगको दुरुपयोग भएको भन्दै स्कुलमा बाबुआम हुँदाहुँदै पनि राखेका ६५ जनालाई अभिभावककै जिम्मा लगाउने र बाँकी टुहुरा पाँचजनालाई विश्वासिलो बालगृहको जिम्मा लगाउने तयारी गरे पनि आफूहरूलाई अपहरणको कोसिससहित धम्क्याउने गरेको डोनर जुजना र शिक्षक कुँवरले दाबी गरका छन् । सञ्चालकको दादागिरीविरुद्ध उनीहरूले जिल्ला प्रहरी कार्यालय ललितपुर, पर्यटक प्रहरी भृकुटीमण्डप र केन्द्रीय बालकल्याण समितिमा उजुरी गरे पनि उनीहरूले सञ्चालकहरूलाई नै संरक्षण गरिरहेको मार्टिनको गुनासो छ ।
सोही स्कुलमा बस्ने छोइसाङ तामाङ पनि आफूहरूलाई फकाएर स्कुलमा ल्याएर यातना दिएको बताउँछिन् । आफूले बारम्बार आमाबाबासँग जान्छु भन्दा पनि नदिएको उनको भनाइ छ ।
– ऋषिप्रसाद अधिकारी, धापाखेल

गलत सरकारी निर्णयको आडमा भ्याउने भए भूमाफियाले
गणतन्त्र स्थापनापछि नेपाल ट्रस्टको नाममा आएको जग्गा भूमिसुधार ऐनविपरीत गत भदौ २५ गते बाबुराम भट्टराई नेतृत्वको सरकारले मोहीलाई नै फिर्ता गर्ने निर्णय गरेपछि यस अनुचित सरकारी निर्णयको गलत फाइदा उठाउन भूमाफियाहरू सक्रिय बन्न थालेका छन् । तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको नामबाट नेपाल ट्रस्टमा नामसारी भएको सरकारी जग्गा हडप्न भूमाफियाले आफैँ सक्कली मोही भन्दै चलखेल थालेका छन् । जब कि भूमिसम्बन्धी कानुनअनुसार सरकारी जग्गामा मोहियानी हक लाग्दैन । तर, सरकारले कानुन लत्याउँदै मातातीर्थको एक सय रोपनीभन्दा बढी जग्गा बाँड्ने निर्णय लिएको छ ।
उता, वास्तविक मोहीसँग घरायसी कागज गरेर जग्गा उपयोग गर्दै आएका र लाखौँ मूल्य पर्ने जग्गा थोरै मूल्यमा लिएर भोगचलन गर्दै आएका व्यक्तिहरूले उक्त सरकारी निर्णयको आडमा जग्गा आफ्नो नाममा सार्न सक्रियता देखाएबाट उक्त निर्णय गराउनमा भूमाफियाहरूकै विशेष दुर्नियत थियो भन्ने आशङ्का गर्न सकिने प्रशस्तै आधार खडा गरिदिएको छ । मोहीको जग्गा हडप्न लागिपरेका केही व्यक्तिले मालपोत कार्यालय पुगेर कर्मचारीलाई समेत तत्काल जग्गा दर्ता गर्न दबाब दिन थाल्नुले भूमाफियाहरूको पहुँच उपल्लोस्तरसम्म नै रहेको लख काट्न अलमलिनुपर्दैन । वास्तविक मोहीलाई भन्दा यस्ता भूमाफियालाई दर्ताका लागि हतारो देखिनुले पनि यही प्रमाणित गर्छ ।
मोहीको नाममा बाहिरी चलखेल बढिरहेको बेला मातातीर्थमा मोहीलाई सघाउने भन्दै निवेदन सङ्कलनका लागि समिति गठन भएको छ । यसमा ओमप्रकाश शर्मा, गंगाराम श्रेष्ठ, पुष्कर केसीलगायतका व्यक्ति अगुवा बनेका छन् । उनीहरूले स्थानीयको निवेदन सङ्कलन गरी मालपोत कार्यालयमा केही दिनअघि सामूहिक निवेदन दर्ता पनि गराएका छन् । तर, सरकारी निर्णयअनुसार मोहीले पाउने जग्गा फिर्ताका लागि निवेदन सङ्कलनमा जुटेका ओमप्रकाश भुसाल नै वास्तविक मोही होइनन् । उनले केही समयअघि नै मोहीवालासँग जग्गा खरिद गरेर घर बनाएका हुन् । जग्गाको खरिदबिक्री कार्यमा सक्रिय रहेका व्यक्तिहरू जग्गा दर्तामा सक्रिय रहेका छन् । त्यस्तै, मालपोत कार्यालयमा लेखापढी गर्ने व्यक्तिहरूको पनि त्यसमा संलग्नता रहेको छ । वास्तविक मोहीलाई भने जग्गा आफ्नो नाममा आउन लागेको पनि जानकारी छैन । वास्तविक मोहीलाई फकाएर सस्तोमा जग्गा आफ्नो बनाई दर्ता गर्नेहरूको चलखेल निकै बढेको छ ।
– राजाराम थापा, मातातीर्थ, काठमाडौं