१००८ स्वामीबाट भुजेल सम्मानित

१००८ स्वामीबाट भुजेल सम्मानित


चक्रपाणि पाठक स्मृति समाजले समाजमा उल्लेख्य काम गरेको भन्दै विभिन्न पाँच विधाका व्यक्तित्वलाई सम्मान गरेको छ । रूपन्देहीका वरिष्ठ समाजसेवी स्वर्गीय चक्रपाणि पाठकको स्मृतिमा आयोजित एक विशेष कार्यक्रममा गुल्मी तम्घासका रुद्रबहादुर भुजेललगायतका पाँचजनालाई सम्मान गरिएको थियो । हरिहर सन्न्यास आश्रम देवघाटका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भुजेललाई ऋष्यऋङ्ग्य ऋषिले तपस्या गरेको ऐतिहासिक र धार्मिक रेसुङ्गाको संरक्षण कार्यमा सक्रिय भूमिका निर्वाह गरेकोमा सम्मान गरिएको थियो ।

एजाज आलमलाई समाजसेवा गरेबापत सम्मान गरिएको थियो भने पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखेरलका प्रेस सल्लाहकार शेरबहादुर केसीलाई समाजका विकृति र विसङ्गतिविरुद्ध कलम चलाएर प्रशंसनीय काम गरेको भन्दै सम्मान गरिएको थियो भने शिक्षातर्फ प्रा.डा. बाबुराम ज्ञवालीलाई सम्मान गरिएको थियो । युवा गतिविधिबाट दृष्टिविहीन युवा कुशल आचार्यलाई सम्मानित गरिएको थियो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै १००७ स्वामी ज्ञानानन्द महाराजले समाजका मान्छेहरू जन्मन्छन् र मृत्युवरण पनि गर्छन् । कतिपय मान्छे जीवित रहँदा पनि समाजका कसिङ्गर बन्छन् र मरेतुल्य हुन्छन् भने कतिपयचाहिँ मृत्युवरण गरेपछि पनि बाँचिरहन्छन्, अमर रहिरहन्छन् । त्यसरी मृत्युपश्चात् बाँचिरहने व्यक्तित्व चक्रपाणि पाठक रहेको उहाँको भनाइ थियो । सम्मानित व्यक्तित्वतर्फ इङ्गित गर्दै साधारण लेखपढ मात्रै भएका चक्रपाणिले यहाँको विकास, समाज सुधारमा जुन उल्लेख्य कार्य गर्नुभयो, अहिले सम्मानित भएका व्यक्तित्वहरूले उहाँको मार्गलाई पछ्याउन सक्नुभयो भने चक्रपाणिप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

तिलोत्तमा नगरपालिकाका मेयर वासु घिमिरेले स्वर्गीय पाठकले यस भेगमा पुऱ्याउनुभएको योगदानको नगरपालिका र स्थानीय सरकारले उच्च सम्मान गर्ने बताउनुभयो । समाजका अध्यक्ष गोपाल भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा बालकृष्ण भट्टराई र सम्मानित व्यक्तिले आ–आफ्ना धारणा राखेका थिए । २०६२ सालमा स्थापित चक्रपाणि पाठक स्मृति प्रतिष्ठानले हरेक वर्ष पाँचजनालाई सम्मान गर्दै आएको छ । सम्मानपत्र, स्वर्ण पाठक दोसल्ला ओढाएर नगद दिएर सम्मान गर्ने त्यसैको व्याज र अन्य स्रोतबाट सम्मान गर्ने गरेको समाजका अध्यक्ष गोपाल भट्टराईले बताए ।