बेलायतको राजपरिवारमा नयाँ सदस्यको आगमन

बेलायतको राजपरिवारमा नयाँ सदस्यको आगमन


बेलायतका राजकुमार विलियम्स र केट जोडीले तेस्रो सन्तानलाई जन्म दिएका छन् । तेस्रो सन्तानको रूपमा उनीहरुलाई पुत्रलाभ भएको छ ।

बेलायतको केन्सिङ्टन प्यालेसद्वारा जारी एक विज्ञप्तिका अनुसार ‘डचेस अफ क्याम्ब्रिज’ (केट)लाई सोमबार बिहानै अस्पताल लगिएको थियो । बेलायती समयअनुसार बिहान ११ बजेर १ मिनेटको समयमा केटबाट छोराको जन्म भएको विज्ञप्तिमा उल्लेख छ । शिशुको तौल ३.८ किलोग्राम रहेको र नवशिशु र आमा दुवै स्वस्थ रहेको बताइएको छ ।

गएको जुलाई २०१३ मा राजकुमार विलियम तथा राजकुमारी केटको पहिलो सन्तानको रूपमा नवराजकुमार जर्जको जन्म भएको थियो भने त्यसको दुई वर्षपछि मे २०१५ मा दोस्रो सन्तानको रूपमा नवराजकुमारी शार्लटको जन्म भएको थियो । नयाँ शिशु ब्रिटिश राजगद्दीको उत्तराधिकारीको रूपमा पाँचौँ स्थानमा रहनेछन् ।

राजपरिवारमा नयाँ सदस्यको जन्मभएको खबरले बेलायती नागरिक हर्षित बनेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजकुमारी केटलाई राखिएको लन्डनको सेन्ट मेरिज अस्पतालबाहिर सर्वसाधारण तथा सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको थियो ।