‘रानीमहल’मार्फत निकिता बन्लिन् त रानी ?

‘रानीमहल’मार्फत निकिता बन्लिन् त रानी ?


‘मिस नेपाल’ घोषित भएका प्रायजसो सुन्दरीको गन्तव्य नेपाली सिनेमा हुने गरेको छ । मिस नेपाल हुनुको अर्थ यो होइन कि तिनले अभिनय फाँटमा फालहान्नैपर्छ । तर, ट्रेन्ड यस्तै देखिँदै आएको छ । मिस नेपाल बनेका प्रत्येकजसो युवतीले नेपाली फिल्मकी हिरोइन बन्ने प्रयत्न गरेकै हुन्छन् । यीमध्ये धेरैले असफलता हात पारेका छन् भने सीमित पात्रलाई थोरबहुत सफलता पनि मिलेको पाइन्छ ।

यसरी फिल्ममा प्रवेश गर्ने पूर्वमिस नेपालको पछिल्लो उदाहरण बन्न पुगेकी छिन्– निवर्तमान मिस नेपाल निकिता चन्दक । सन् २०१७ की यी मिस नेपालले चलचित्र ‘रानीमहल’मा केन्द्रीय भूमिका निर्वाह गर्ने गरी साइन गरेको नेपाली सिनेक्षेत्रमा चर्चा छ । यसरी रानीमहलमार्फत सिने–संसारमा प्रवेश गर्न लागेकी निकिताको ‘सौन्दर्य’ त तमाम कला तथा सौन्दर्यप्रेमीले देखिसकेकै छन्, तर उनभित्र अभिनय प्रतिभा कति छ या छैन भन्ने त रानीमहल बनेर प्रदर्शनमा आएपछि नै थाहा हुनेछ ।

यसअघि नवोदित नायिका वर्षा सिवाकोटीलाई साइन गरिए पनि रहस्यमयी किसिमबाट उनी रानीमहलबाट ‘आउट’ भएकी थिइन् । कतिपयले वर्षा स्वयम्ले उक्त फिल्म छाडेको बताएका छन् भने उनमा घमण्डीपनले घर गरेको र शरीर पनि आवश्यकताभन्दा बढ्ता नै पुष्टिएकोले निर्माण पक्षले नै ‘बाहिर’ जाने ढोका देखाएको चर्चा पनि चलेको सुनिन्छ । तथ्य जे भए पनि बिस्तारै खुल्दै जाला, अहिलेका लागि चाहिँ पूर्वमिस नेपाल निकितालाई फिल्म प्रवेशको ढोका खुलेको छ । हिमाल न्यौपानेको निर्देशनमा निर्माण हुने रानीमहलले निकितालाई नेपाली चलचित्र क्षेत्रमा ‘रानी’ बनाएर स्थापित गर्छ कि अधिकांश पूर्वमिस नेपालकै नियतिमा पुऱ्याउँछ, प्रतीक्षाकै विषय बनेको छ ।