रामनगर जंगलमा सूर्य नेपालका कर्मचारीको नौ लाख लुटियो

रामनगर जंगलमा सूर्य नेपालका कर्मचारीको नौ लाख लुटियो


महोत्तरीको गौशाला नगरपालिका–१ रामनगर जंगलबाट लाखौँ रुपैयाँ लुटिएको छ । आज बेलुकी गौशालाबाट बर्दिवासतर्फ जाने क्रममा अज्ञात समूहले नगद रु नौ लाख र एकथान मोबाइल लुटेको हो ।

बर्दिवासस्थित सूर्य नेपाल डिलरका कर्मचारीले बजारमा संकलन गरेको नौ लाख नगद र एक थान मोबाइल अज्ञात समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ ।

जिल्लाको औरही, गौशालालगायतका बजारबाट पैसा संकलन गरी ज१च ८९९ नंको बोलेरोमार्फत साँझको समयमा बर्दिवासतर्फ जाँदै गरेको अवस्थामा बीच जंगलमा पुगेपछि सो लुटपाट भएको सशस्त्र प्रहरी बेसक्याम्प रामनगरले जानकारी दिएको हो ।

बताइएअनुसार सूर्य नेपालको बर्दिवासस्थित डिलरबाट खटिएका कर्मचारी उद्धव पराजुलीसँग मोटरसाइकलमा आएका केही अपरिचित समूहले गाडी रोकी लुटपाट गरेको हो । प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान गरिरहेको छ, तर अहिलेसम्म लुटेरा समूहको कुनै सुराग मिलेको छैन ।

यता महानगरीय प्रहरी वृत्त दरबारमार्गले एक थान पेस्तोल र पाँच राउण्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले ठमेल ज्याठाबाट ७.९९ एमएम लेखेको पेस्तोल र पाँच राउण्ड गोलीसहित मकवानपुर घर भएका पुकार शिकारीलाई आज दिउँसो पक्राउ गरेको हो ।