काङ्ग्रेसमा तत्काल परिवर्तनको सम्भावना न्यून

काङ्ग्रेसमा तत्काल परिवर्तनको सम्भावना न्यून


नेपाली काङ्ग्रेसलाई सुधार्नुपर्ने निष्कर्षमा उक्त पार्टीका केन्द्रीय सभापतिदेखि स्थानीय वडा तहको कार्यकर्तासम्म पुगेको पाइएको छ । ‘काङ्ग्रेस बदलिनुपर्छ’ यतिबेला सबै काङ्ग्रेसजनको जिब्रोमा यो वाक्य झुन्डिएको छ, तर काङ्ग्रेसको सुधार कहाँबाट शुरु गर्नुपर्छ भन्ने प्रश्नको जवाफ खोज्न सक्ने अवस्थामा कोही देखिएका छैनन् र काङ्ग्रेसलाई बदल्न आफैँ बदलिनुपर्छ भन्ने सत्य स्वीकार गर्न पनि सभापति शेरबहादुरदेखि सक्रिय सदस्यधारीसम्म तयार देखिँदैनन् ।काङ्ग्रेसलाई बदल्ने प्रयोजनका लागि शुरु गरिएको केन्द्रीय कार्यसमितिको बैठक नेता खुमबहादुर खड्काको निधनका कारण दुई साता स्थगित भएर आगामी ९ गते आइतबारदेखि पुनः शुरु हुँदैछ । बैठकमा नेताहरूले आफ्नो विचार प्रकट गर्दै आएका छन् र फेरि पनि विचार प्रकट गर्ने क्रम जारी राखिने निश्चित छ ।

केन्द्रीय समितिका अधिकांश नेताहरू निर्वाचनमा महापराजय र पार्टीको दुरावस्थाको लागि सभापति शेरबहादुर देउवाले जिम्मेवारी लिनुपर्छ भन्ने धारणा राख्दछन्, तर स्वयम् सभापति देउवाचाहिँ पराजय र दुरावस्थाको जिम्मेवारी कुनै हालतमा नलिन दृढ छन् । नेतृत्व परिवर्तनको आवाज जोडदार ढङ्गले उठिरहेका बेला देउवा भने ‘काङ्ग्रेसलाई सबभन्दा ठूलो दल नबनाईकन छोड्दिनँ’ भन्ने फुइँ लगाउँदै गाउँ डुल्न थालेका छन् । काङ्ग्रेस सुधार्नुपर्छ भन्ने चिन्ता सबैले गर्ने, तर कहाँबाट कसरी सुधारको शुरुवात हुनुपर्छ भनी स्पष्ट मार्गचित्र प्रस्तुत गर्न कसैले नसकेको अवस्थाबाट अहिले काङ्ग्रेस गुज्रिएको छ ।

कम्युनिस्ट पार्टीको एकलौटी सरकारले प्रजातन्त्रलाई प्रतिकूल दीर्घकालिक असर पुऱ्याउने अनेकौँ निर्णय गरिसकेको छ, तर काङ्ग्रेसले त्यसको प्रतिवाद गर्ने सामर्थ्य दर्शाउन सकिरहेको छैन । सभापति देउवा ‘ग्याङ अफ फोर’को कब्जामा रहेको महसुस काङ्ग्रेसका आमनेता तथा कार्यकर्ताले गरेका छन् । ‘ग्याङ अफ फोर’मा देउवापत्नी आरजु राणा, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाण रहेको बताइन्छ । यो गिरोहले देउवाका हितैषीहरूलाई समेत देउवासम्म पुग्न अड्चन पैदा गर्ने गरेको बताउन थालिएको छ ।

कम्युनिस्ट पार्टीको एकलौटी सरकारले प्रजातन्त्रलाई प्रतिकूल दीर्घकालिक असर पुऱ्याउने अनेकौँ निर्णय गरिसकेको छ, तर काङ्ग्रेसले त्यसको प्रतिवाद गर्ने सामर्थ्य दर्शाउन सकिरहेको छैन । सभापति देउवा ‘ग्याङ अफ फोर’को कब्जामा रहेको महसुस काङ्ग्रेसका आमनेता तथा कार्यकर्ताले गरेका छन् । ‘ग्याङ अफ फोर’मा देउवापत्नी आरजु राणा, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाण रहेको बताइन्छ ।

अरू त अरू पूर्ण खड्का, एनपी साउद, डा. नारायण खड्का, रमेश लेखक, डा. प्रकाशशरण महत र सुरेन्द्र पाण्डेजस्ता नेताहरूसमेत ‘ग्याङ अफ फोर’को भूमिकाबाट ‘प्रताडित’ रहनुपरेको बुझिएको छ । देउवालाई अगाडि राखेर ‘आफ्नो काम फत्ते गर्ने’ र देउवालाई बदलिन नदिनसमेत उनीहरूले नै मुख्य भूमिका निर्वाह गर्ने गरेको महसुस काङ्ग्रेस नेताहरूले गरेका छन् । चीनमा माओ त्से तुङ पार्टी प्रमुखको रूपमा रहँदा उनकी पत्नी चियाङ चिङले जसरी केही आफ्नो मुठ्ठीका नेतालाई मात्र माओको वरिपरि घेरा लगाएर शासकीय व्यवहार प्रस्तुत गर्ने गरेकी थिइन्, त्यसैगरी आरजु राणाले पनि शासकीय व्यवहार देखाउने गरेकी छिन् । आरजुको व्यवहारबाट हैरान भएकाहरू पनि न सभापति देउवामाथि हावी भएको ग्याङ अफ फोरलाई पन्छाउन सक्ने अवस्था छन्, न देउवालाई बदल्ने क्षमता नै उनीहरूले देखाएका छन् ।

देउवालाई नेतृत्वबाट बिदा दिइनुपर्छ भन्नेहरू पनि खुला हृदयले एकजुट हुन सकिरहेका छैनन् । देउवालाई विस्थापित गरेको अवस्थामा कसलाई नेता बनाउने भन्ने विषयमा एक मत हुन नसक्दा देउवासँग असहमत पक्ष पनि तत्काल नेतृत्वमा देउवा नै रहिरहुन् भन्ने चाहन्छन् । शेरबहादुर देउवालाई नेता प्रकाशमान सिंहले एक्लै चुनौती दिइरहेका छन्, तर प्रकाशमानलाई नेता स्वीकार गर्न रामचन्द्र पौडेल र डा. शशाङ्क कोइरालालगायत तयार छैनन् । पौडेल र कोइरालाले पनि देउवाको तत्काल विकल्प बन्ने क्षमता प्रस्तुत गर्न सकिरहेका छैनन् । उनीहरू आफू देउवाको निर्विकल्पित विकल्प बन्ने आकाङ्क्षा राख्दछन्, तर भूमिकाचाहिँ दिलेन्द्र बडूले जत्तिको पनि निर्वाह गर्न सकिरहेका छैनन् ।

पार्टीको युवा पुस्ता पनि विभाजित हुन पुगेको छ र, पार्टीलाई आफ्नै विशिष्ट तथा मौलिक एजेण्डामा फर्काउनुपर्छ भनेर कसैले पहल गरिरहेका पनि छैनन् । त्यसैले काङ्ग्रेसमा तत्काल कुनै प्रकारको परिवर्तन आउने सम्भावना देखिएको छैन । आफ्नै या कुनै कारणले कम्युनिस्टहरूको बर्बादी भएमा मात्र आफ्नो दिन फर्कने आशा गरेर बस्नुपर्ने स्थितिमा काङ्ग्रेस पुगेको छ ।