जातीय छुवाछुतविरुद्ध अभियान गरिने

जातीय छुवाछुतविरुद्ध अभियान गरिने


मुलुकमा विद्यमान जातीय छुवाछुत विरुद्ध ‘साझा आवाज’ अभियान विभिन्न जिल्लामा सञ्चालन हुने भएको छ । नेपाल राष्ट्रिय दलित सामाज कल्याण संघ (एनएनडीएसडब्लुओ), एफसीए र मिडिया एड्भोकेसी ग्रुप (म्याग)को संयुक्त कार्यक्रमका रुपमा गरिने उक्त अभियान जाजरकोट, कालिकोट, सुर्खेत, सिराहा र महोत्तरीमा सञ्चालन गरिने जानकारी दिइएको छ ।

काठमाडौंमा गरिएको साझा आवाजको शुभारम्भ कार्यक्रममा नेपाल राष्ट्रिय दलित कल्याण संघका अध्यक्ष त्रिलोक चन्द विश्वासले अभियान जातीय छुवाछुतविरुद्ध केन्द्रित हुने बताउनुभयो । दलित समूदायमाथिको विभेदलाई न्युनीकरण गर्ने उद्देश्यले गर्न लागिएको सो अभियानले गैरदलित, दलित, ग्रामीण भेक तथा शहरमा हुने विभेद हुँदै सर्वसाधारणदेखि नीति–निर्माण तहसम्मलाई लक्षित गरिएको छ । शुभारम्भ समारोहमा बोल्दै विभिन्न सरोकार पक्षले दलितको विषयमा वकालतसँगै जीविकोपार्जनका कार्यक्रम पनि अघि सारिनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा उपमहान्यायधिवक्ता कृष्ण पुडासैनी, मानवअधिकार आयोगका हरि ज्ञवाली, युरोपियन युनियनका प्रतिनिधि राडेक रोकिटा, म्यागकी अध्यक्ष बबिता बस्नेत, रक्षा शर्मा, चक्रमान विश्वकर्मा, पम्फा परियार, रामबहादुर विश्वकर्मा, सीमा शर्मा, गिता चिमौरिया, मन्सुर सुनार, रवि विश्वकर्मा, मोतिलाल विश्वकर्मा, राम बहादुर रिजालले बोल्नुभएको थियो ।

म्यागकी अध्यक्ष बबिता बस्नेतले दलितमाथिको विभेद आत्मसम्मानसँग जोडिएको बताउनुभयो । एनएनडीएसडब्लुओका कार्यकारी निर्देशक मोहन सिंह सुनारले कार्यक्रमको अवधारणा तथा यसले पार्न सक्ने प्रभावका बारेमा प्रस्तुति गर्नुभएको थियो ।