अधिराजकुमार धीरेन्द्रकी पुत्री भन्छिन्- ‘नेपाली बन्न खोज्दा धेरै दुःख पाइयो’





‘नेपाली भएर जन्मिएँ, नेपाली भएरै बाँच्न र मर्न चाहन्छु, तर मलाई मेरै देशले नेपाली बन्नबाट वञ्चित गर्न खोज्दै छ, मैले न्याय माग्न कहाँ जाने हो,’ उनले भावुकतामिश्रित आक्रोश प्रकट गर्दै भनिन् । उनी अर्थात् श्रेया राज्यलक्ष्मी शाह, तात्कालिक अधिराजकुमार धीरेन्द्रकी सुपुत्री, गत आइतबार घटना र विचारसँग आफ्नो वेदना पोख्दै थिइन् । नेपालीभन्दा अङ्ग्रेजीमा आफ्नो भावना प्रकट गर्न सहज मान्ने श्रेयाले अगाडि भनिन्, ‘मैले मेरो देशबाट खोजेको नागरिकताको प्रमाणपत्र हो । म जन्मिएको शिक्षण अस्पतालद्वारा उपलब्ध गराइएको जन्म प्रमाणपत्रलगायतका दस्तावेज उपलब्ध गराउँदा पनि मलाई नागरिकताको प्रमाणपत्र दिन आनाकानी गरेको देखेर म स्तब्ध भएकी छु ।’

श्रेयाको जन्म आमा जया पाण्डे शाहको कोखबाट वि.सं. २०४५ साल असार २ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भएको थियो । त्यसको एक वर्षअघि २०४४ (अप्रिल २१, १९८७) सालमा अधिराजकुमार धीरेन्द्रसँग दक्षिणकाली मन्दिरमा गई विवाहबन्धनमा बाँधिएकी जयालाई धीरेन्द्रको वैवाहिक जीवनबारे थाहा थियो । त्यसैले धीरेन्द्रको प्रेम–प्रस्तावलाई उनले शुरुमा अस्वीकार गरेकी थिइन्, तर पछि धीरेन्द्रपत्नी तात्कालिक अधिराजकुमारी प्रेक्षासँग सम्बन्धविच्छेद भएको कागजपत्र प्रस्तुत गरेपछि मात्र जया धीरेन्द्रप्रति सकारात्मक बनेकी थिइन् । जयालाई विधिवत् पत्नी बनाउन इच्छुक भए पनि धीरेन्द्रले प्रेक्षालाई झैँ धुमधामका साथ विवाह गर्न बडामहारानी ऐश्वर्यका कारण सकेनन् । त्यसैले घरसल्लाहबमोजिम दक्षिणकालीमा वैवाहिक समारोह सम्पन्न भएको थियो ।

जयासँग विवाह भएको केही समयपछि धीरेन्द्रले आफू नेपालमा असुरक्षित रहेकोले बेलायत जान चाहेको बताउँदै बेलायत बस्नका निम्ति उतैकी कोहीसँग पेपरम्यारिज (कागजी विवाह) गर्नुपर्ने बाध्यता रहेको जानकारी जयालाई दिएका थिए र त्यसमा जयाको असहमति पनि भएन । तर, पछि तिनै ‘पेपरम्यारिजवाली’बाट पनि धीरेन्द्रको छोरी जन्मियो । यसरी अर्की महिला साथमा भए पनि धीरेन्द्रले जयासँगको सम्बन्ध तोडेका भने थिएनन् । निरन्तर सम्पर्कमा थिए । त्यसैबीच वि.सं. २०५३ सालमा जया पनि आफ्नै छोरीलाई लिएर संयुक्त राज्य अमेरिकातर्फ लागिन् । पति धीरेन्द्रसँग सल्लाह गरेर नै उनी यसरी अमेरिका गएकी थिइन् । तर, पछि धीरेन्द्रले नेपालमै बाँकी जीवन बिताउने इच्छा प्रकट गर्न थाले र पत्नी जयासँग भन्ने गर्दथे, ‘छोरी तेह्र वर्षकी भएपछि ऊ बुबासँग नै हुनुपर्छ ।’ ०५६/५७ सालतिर धीरेन्द्रको बसाइ धेरैजसो नेपालमै हुन थालेको थियो । पति धीरेन्द्रको आग्रहपछि जयाले पनि नेपाल फर्कन जुलाई ५ तारेख (२०५८ साल) को टिकट लिएकी थिइन् । तर, जुन एक (जेठ १९) मा नै राजदरबार हत्याकाण्डमा धीरेन्द्रको ज्यान गयो । दुःखद् संयोग, तेह्र वर्षपछि सँगै राख्ने भनिएकी छोरीले तेह्र वर्ष पूरा गरेको दिन धीरेन्द्रको देहावसान भएको तेह्रौँ दिन परेको थियो ।

पछि धीरेन्द्रले नेपालमै बाँकी जीवन बिताउने इच्छा प्रकट गर्न थाले र पत्नी जयासँग भन्ने गर्दथे, ‘छोरी तेह्र वर्षकी भएपछि ऊ बुबासँग नै हुनुपर्छ ।’ ०५६/५७ सालतिर धीरेन्द्रको बसाइ धेरैजसो नेपालमै हुन थालेको थियो । पति धीरेन्द्रको आग्रहपछि जयाले पनि नेपाल फर्कन जुलाई ५ तारेख (२०५८ साल) को टिकट लिएकी थिइन् । तर, जुन एक (जेठ १९) मा नै राजदरबार हत्याकाण्डमा धीरेन्द्रको ज्यान गयो । दुःखद् संयोग, तेह्र वर्षपछि सँगै राख्ने भनिएकी छोरीले तेह्र वर्ष पूरा गरेको दिन धीरेन्द्रको देहावसान भएको तेह्रौँ दिन परेको थियो ।

आफ्ना पतिको देहावसान भएपछि जया अमेरिकामै हिन्दू रिवाजअनुसार किरिया बसेकी थिइन् । आफ्नी पुत्री श्रेयालाई उच्च शिक्षा दिलाउनु मात्र उनको मुख्य कर्तव्य बनेको थियो । अमेरिकाको बस्टनस्थित मिडिल सेक्स कम्युनिटी कलेजमा ‘एल्डर केयर’ विषयको अध्ययन गर्दै रहेकी पुत्री श्रेया अमेरिकाको पासपोर्ट ग्रहण गर्न इच्छुक भइनन् । नेपाली भएरै बाँच्छु र मर्छु भन्ने अठोट उनको थियो र छ । पहिले लिइएको हस्तलिखित पासपोर्टको सट्टामा एमआरपी लिन उनी गत अक्टोबरमा नेपाल आएकी थिइन् । एमआरपी पाउन नागरिकताको प्रमाणपत्र पेस गर्नुपर्ने भएपछि श्रेया नागरिकताको प्रमाणपत्र लिन सम्बद्ध कार्यालयहरू धाइन्, तर कतैबाट पनि उनलाई सहयोग भएन । दुई महिनादेखि उनको पढाइ छुटेको छ । नागरिकताको प्रमाणपत्रबिना पासपोर्ट नबन्ने र पासपोर्ट नभएपछि अमेरिका जान नसक्ने अवस्थामा श्रेया छिन् । उनी भन्छिन्, ‘यो हदसम्मको ‘अनफेयर’ व्यवहार आफ्नै देशमा गरिन्छ भन्ने मैले कहिल्यै सोचेको थिइनँ । मैले आफूलाई नेपालीको रूपमा राखिरहन खोज्दा यसरी सताइएकी छु ।’

वास्तवमा श्रेयाले नेपाली बन्न नचाहेर अमेरिकन नागरिक बन्न चाहेकी भए उनका निम्ति यसप्रकारको कठिनाइ उत्पन्न हुन सम्भव थिएन । एकातिर आफ्नो पिता अधिराजकुमार भएको आमरूपमा स्थापित गराउनुपर्ने समस्या त छँदै छ, आफ्नी आमालाई खुसी राख्न र औपचारिक शिक्षा पूरा गरेर आफूलाई समाजमा स्थापित गर्न पनि श्रेयाले सङ्घर्ष गरिरहनुपरेको छ । अब यसमाथि नेपाली प्रशासकहरूले नागरिकताको प्रमाणपत्रको झमेला थपिदिएका छन् । एउटा संभ्रान्त परिवारकी छोरी यतिबेला जुन स्थितिबाट गुज्रँदै छिन् यसले जनताका निम्ति भएको भनिएको राजनीतिक परिवर्तनलाई धेरै नमिठोसँग गिज्याइरहेको अनुभूति गराउँदै छ । विभिन्न प्रशासनिक अखडामा हरेक जिज्ञासा मेट्न भावनात्मक साहस जुटाउनुपर्ने स्थितिमा श्रेया पुगेकी छिन् । प्रशासक, साथी र नातेदारहरूको अवाञ्छित प्रश्नहरूबाट उनी हैरान छिन् । हाम्रो एउटा जिज्ञासा मेट्ने क्रममा उनले आफ्ना आँखाबाट टप्कन लागेका आँसु बलपूर्वक निल्दै भनिन्, ‘म यही मेरो देशमा जन्मिएकी हुँ । यसलाई मेरो घर ठान्दथँे र असाध्यै माया लाग्थ्यो यो मुलुकको । माया त अहिले पनि लाग्छ नै । तर, नागरिकताको प्रमाणपत्र लिन खोज्दा मैले जे–जस्ता कुराको सामना गर्नुपरेको छ यसले मलाई स्तब्ध बनाएको छ । म नेपाली नभए के हुँ त भन्ने प्रश्न मैभित्र जन्मिएको छ । एउटी महिलामाथि न्याय दिन नखोज्ने यो राज्यले आमदेशवासीलाई कसरी न्यायिक व्यवहार गर्न सक्ला भन्ने प्रश्न मभित्र उत्पन्न भएको छ ।’

धीरेन्द्रपुत्री श्रेयाको कुरा सुनिसकेपछि हामी पुनः मोडियौँ उनकी आमा अर्थात् धीरेन्द्रपत्नी जयातर्फ । जिज्ञासा राख्यौँ– के तपाईंलाई धीरेन्द्रसँग विवाह भएकोमा पश्चाताप छ ?

‘अँ हँ ।’ जयाले भनिन्, ‘हामीले खुसीसाथ विवाह गरेका थियौँ । बडामहारानी सरकार (ऐश्वर्य)को स्वभाव अलिक कडा थियो । त्यसैले उहाँले आफ्नै सुरक्षालाई लिएरसमेत चिन्ता व्यक्त गर्ने गरिबक्सन्थ्यो । बेलायत गइबक्सेपछि बाइस महिनाकी छोरीलाई लिएर म पनि उतै बस्न गएकी हुँ । हामी खुसी थियौँ, विवाह गरेर गल्ती भयो भन्ने मलाई कहिल्यै लागेको थिएन र अहिले उहाँ यो संसारमा होइबक्सन्न, तथापि मलाई उहाँसँगै रहेको अनुभूति हुन्छ । तर, जीवन राम्रोसँग बित्छ जस्तो लागेको थियो, यसरी तितरबितर हुनुपर्ला भन्नेचाहिँ कहिल्यै लागेको थिएन । एउटा गीत छ नि ‘जिन्दगीले कहाँ ल्याइपुऱ्यायो’ भन्ने, यसो सम्झँदा कहिलेकाहीँ त्यस्तै लाग्छ । अब कुनै ठूला आकाङ्क्षा छैनन् । छोरी सबल नागरिक भएकी हेर्न चाहन्छु । यतिबेला नागरिकतासम्बन्धी विषयलाई लिएर हामीले जुन प्रकारको विपत्तिको सामना गर्नुपरेको छ, यसबाट मुक्ति मिल्यो भने हामी सबभन्दा खुसी हुनेछौँ । कसैका प्रति हाम्रो कुनै गुनासो रहनेछैन ।’

तत्कालीन अधिराजकुमार धीरेन्द शाहसँग पत्नी जया

श्रेयाको पास्नीको एक झलक

बाल्यावस्थाकी श्रेयासहितको जयाको पासपोर्ट

जिल्ला प्रशासन कार्यालयले श्रेयालाई प्रदान गरेको नाबालिक परिचयपत्र

श्रेयाले अध्ययन गरेको रातो बंगला स्कुलको प्रमाणपत्र

त्रिवि शिक्षण अस्पतालले प्रदान गरेको श्रेयाको बर्थ सर्टिफिकेट

प्रतिक्रिया