‘गलत हल्ला चल्यो’ : पूर्व ‘श्री ५’का संवाद सचिव

‘गलत हल्ला चल्यो’ : पूर्व ‘श्री ५’का संवाद सचिव


पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र कुनै पनि दलविशेषलाई मिलाउन या फुटाउन लागिनपरेको सम्बद्ध पक्षले जनाएको छ । पूर्व श्री ५ बाट विभाजित राप्रपालाई एकताबद्ध तुल्याउन क्रियाशील हुनुभएको भन्नेबारेमा उहाँको सचिवालयको ध्यानाकर्षण गराउँदा सचिवालयले यसप्रकारको प्रचारबाजी गलत भएको स्पष्ट गरेको छ ।

उहाँका संवाद सचिव डा. फणिराज पाठकको भनाइ छ, ‘पूर्व श्री ५ बाट कुनै पार्टीलाई मिलाउने या फुटाउने उद्देश्य राखेर कुनै क्रियाकलाप भएको छैन, न कुनै नयाँ पार्टीको परिकल्पना नै उहाँबाट भएको छ । पार्टीविशेषसँग पूर्व श्री ५ लाई जोडेर किन प्रचारबाजी भइरहेको हो, हामीले बुझ्न सकिरहेका छैनौँ ।’

पूर्व श्री ५ बाट झापामा राप्रपाको सबै घटकका नेताहरूलाई सामूहिक भेट दिएर एकताबद्ध रहन सुझाव दिनुभएकोले यसप्रकारको हल्ला चर्चा शुरु भएको होइन र भन्ने हाम्रो प्रश्नमा डा. पाठकको जवाफ थियो, ‘त्यो एउटा संयोग मात्र थियो । झापा सवारी हुँदा त्यहाँ समाजका लब्धप्रतिष्ठित कतिपय महानुभावहरूलाई भेट्ने काम भएको हो । पार्टीविशेषलाई एकताबद्ध गराउने या फुटाउने उद्देश्यबाट कसैलाई भेटिएको थिएन । विभिन्न व्यक्तिहरूसँग भेट्ने क्रममा राप्रपासम्बद्ध नेताहरूसँग पनि भेट भएको थियो । तर, कुनै पार्टीलाई एकताबद्ध गराउन भेट गरेको भन्ने चर्चा किन चल्यो हामी चकित परेका छौँ । पूर्व श्री ५ महाराजाधिराज यसप्रकारका राजनीतिक क्रियाकलापमा नभएको म स्पष्ट गर्दछु ।’