दुर्गा तिवारीको स्मृतिमा फुटबल प्रतियोगिता

दुर्गा तिवारीको स्मृतिमा फुटबल प्रतियोगिता


शहिद दुर्गा तिवारीको स्मृतिमा रुपन्देहीको पक्लिहवास्थित कृषि क्याम्पसको खेल मैदानमा रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ । एमाले उपमहासचिव तथा रुपन्देही ३ बाट निर्वाचित सांसद घनश्याम भुसालले आइतबार प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।

प्रतियोगितामा जिल्लाका ११ वटा क्लबले भाग लिएको संयोजक सुरज पौडेलले जानकारी दिए । केबिआई उद्योगले मुख्य प्रायोजन गरेको खेलको संयोजन अनेरास्ववियु पक्लिहवा कृषि क्याम्पसले गरिरहेको छ । वैशाख २ गते देखि शुरु भएको खेल प्रतियोगिता ११ दिन सम्म चल्ने छ । प्रतियोगिताका विजेताले नगद रू ५० हजार जित्ने छ भने उपविजाले ३० हजार ।

पक्लिहवा कृषि क्याम्पसले ५ नम्बर प्रदेश टुक्राउँन हुँदैन भनेर शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरिरहेको बखत सहादत प्राप्त गरेका युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको स्मृतिमा दोस्रो पटक खेल आयोजना गर्न लागेको हो । दुर्गा तिवारीको हत्या २०७३ साल पुस ४ गते देवदहको खैरेनीमा गोली हानी निर्ममता पुर्वक भएको थियो । उनको हत्यामा संलग्न मुख्य आरोपी मनोज पुनलाई कारवाहीमा प्रहरीले केही महिनाअगाडि खैरेनीमै इन्काउन्टर गरेको थियो ।

सांसद घनश्याम भुसालले दुर्गा तिवारीको स्मृतिमा आयोजना भएको यस कार्यक्रममा आफु आउन पाएको भन्दै खुसी ब्यक्त गरे । कार्यक्रममा विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिका मेयर हरिप्रसाद अधिकारी, अतिथिमा सिद्धार्थनगर नगरपालिका वडा अध्यक्ष थानेश्वर पौडेल र दिपक थापा, अनेरास्वविय केन्द्रिय सदस्य सिर्जना छेत्री, अनेरास्ववियु रुपन्देही जिल्ला किमिटी अध्यक्ष लेखनाथ खनाल, अनेरास्ववियु रुपन्देही छेत्र नं ३ इन्चार्ज लक्ष्मी केसी लगायतको उपस्थिति रहेको थियो ।

दुर्गा तिवारीको स्मृतिमा आयोजित उक्त कार्यक्रममा उनका दाजु तथा केबिआई उद्योगका संचालक चक्र तिवारी र दुर्गा तिवारी स्मृति प्रतिष्ठानका अध्यक्ष सिद्धिचरण भट्टराई पनि उपस्थित थिए । औपचारिक कार्यक्रम क्याम्पस कमिटी अध्यक्ष उत्सव पाण्डेको अध्यक्षता तथा सचिव निराजन तिमिल्सिनाको संचालनमा भएको थियो ।

– पुनहरि बेल्बासे