पार्टी एकताका लागि ओली-प्रचण्ड भेट वार्ता हुँदै

पार्टी एकताका लागि ओली-प्रचण्ड भेट वार्ता हुँदै


एमाले र माओवादीका शीर्ष नेताहरु अहिले विहान पार्टी एकताका लागि जुट्दैछन । आइतबार हुने भनिएको बैठक नभएपछि अहिले अहिले विहान १० बजेका लागि बैठक तय गरिएको हो ।

आइतबार बैठक नभएपछि माओवादी अध्यक्ष प्रचण्ड आरामका लागि भन्दै सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टमा पुगेका थिए । ओली–प्रचण्डबीच भएको फोन वार्ताले सोमबार पार्टी एकताका लागि बैठक बस्ने सहमति भएपछि प्रचण्ड सुकुटेबाट फर्किएको बुझिएको छ । प्रचण्ड सिधै ओली निवास बालुवाटार पुग्नेछन् ।

वैशाख ९ गते पार्टी एकता घोषणा गर्नका लागि एमाले र माओवादीबीच यसअघि नै सहमति भइसकेको छ । तर, केही प्राविधिक विषयमा कुरा मिल्न बाँकी रहेकोले एकता पक्रियामा केही उल्झन आएको बताइन्छ ।

विधानको प्रस्तावनामा जनयुद्ध शब्द, चुनाव चिह्न र केन्द्रीय समितिमा रहने दुवै दलका सदस्य संख्याको विषयमा एमाले र माओवादीबीच सहमति हुन सकेको छैन । एकता प्रक्रियाको मुख्य गाँठो यिनै विषय भएकोले दुबै पार्टीका आ–आफ्नो अडान भने कायमै छ । माओवादी चुनाव चिह्नमा केही हदसमम लचक देखिएपनि माओवादी पार्टीको विधान प्रस्तावनामा जनयुद्ध शब्द राख्नुपर्ने र केन्द्रीय समितिमा बराबरी सदस्य संख्या हुनुपर्ने अडान राख्दै आएको छ ।

बैशाख ९ गते एकताको मिति तय गरेपनि कुनैपनि विषयमा सहमति हुन नसकेका कारण एकता प्रक्रिया लम्बिने हो की भन्ने शंका बढेको एमाले-माओवादीका नेताहरु नै बताउँछन् ।

माओवादी केन्द्रका प्रचण्डनिकट एक नेताका अनुसार आगामी ९ गते पार्टी एकता हुन सक्ने सम्भावना टरिसकेको छ । एकताको प्रयत्न जारी रहने हुनाले अर्को मिति कहिलेका लागि तोकिने हो, त्योचाहिँ अहिले नै एकीन नभएको उनले बताए ।