न्यायाधीशले अतिरिक्त समय दिँदा बढ्यो मुद्दा फर्छ्यौट

न्यायाधीशले अतिरिक्त समय दिँदा बढ्यो मुद्दा फर्छ्यौट


सर्वोच्च अदालतले नौ महिनामा आठ हजार ३ सय २४ मुद्दा फर्छ्यौट गरेको विवरण सर्वाजनिक गरेको छ । आजदेखि नियमित पत्रकार सम्मेलन शुरु गर्दै सर्वोच्चले यसबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले साउनदेखि चैतसम्म आठ हजार ३२४ मुद्दा फर्छ्यौट गरेको जानकारी दिए । गत वर्षभन्दा यो वर्ष मुद्दा फर्छ्यौट बढेको उल्लेख गर्दै गत वर्ष २७ हजार ९२९ मुद्दामा २९.८ प्रतिशत मात्र मुद्दा फर्छ्यौट भएको उनले जनाए ।

विसं २०७४ भन्दाअघि २१ हजार १७३ मुद्दा र विसं २०७४ मा छ हजार ७५६ मुद्दा सर्वोच्चमा परेका थिए । अतिरिक्त समयमा न्यायाधीशले काम गरेको र एउटै प्रकृतिका मुद्दालाई एकै ठाउँमा ल्याएर सुनुवाइ गर्दा मुद्दा बढेको उनको जिकीर थियो ।

जानकारी दिइएअनुसार सर्वोच्चमा अझै १९ हजार ६०५ मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको छ । अदालतमा गत वर्ष दुई वर्ष नाघेका चार हजार ४३१ र पाँच वर्ष नाघेका एक हजार २२६ मुद्दा फर्छ्यौट गरिएको छ, जसको प्रतिशत क्रममा ३३.९६ प्रतिशत र ३५.५४ प्रतिशत रहेको छ ।

ज्ञातव्य छ, सञ्चारमाध्यमलाई अदालतका न्याय सम्पादनबारे जानकारी गराउने उद्देश्यले हरेक आइतबारदेखि बिहीबारसम्म साँझ ५ देखि ५ः३० बजेसम्म र शुक्रबार ३ः३० देखि ४ बजेसम्म सर्वोच्चले पत्रकार सम्मेलन गर्ने भएको छ ।

तस्बिर रासस